‘पर्फेक्ट पोट्रेट’ भन्छन्, तर खुट्याउनै नसकिने, क्यामराले हो कि कुचीले उतारेको फोटो थियो । विष्णु श्रीले उतारेको सो फोटोकम कवि दिपा मेवाहाङ राई थिइन् । आभुषण फेसन मोडलिङतिर जानुपर्ने खाल्को मान्छे तर कवि रहिछन् । उनैको ‘यादको सन्दुक’ नामक सङ्ग्रहको विमोचन कार्यक्रममा मैले पनि सहभागिता जनाउने अवसर पाएँ । बानेश्वरस्थित मण्डला थिएटरमा तीन बजे म पुग्दा स्टेज बाहिर सानो झुण्ड मानिसहरू हाँसिरहेका थिए । ती भन्दै थिए, ‘केही पाठकहरु बिहान आठैबजे याँ गेटमा कविलाई भेट्न सिङ्गै मुटु हातमा लिएर धर्ना बसेका थिए, कवि उपस्थित छैन भन्ने थाह पाएपछि हस्रक्क परे ।’
भटमासकालो स्किनी युवाले निधार ठ्याप्प हानेर बोल्यो, ‘हे कर्म ! मलाई कुरुपता दियौ, गरिबी दियौ यतिसम्म ठिकै छ कि, तर पाउँदै नपाउने सपना देख्ने रहर चाहिँ किन भिडायौ ?
‘सबै रहर सुनाउनै पर्छ भन्ने छैनौ । क्वै क्वै रहरले त भुसुक्कै गाल पार्छ । अलिक उस् गर्नुपर्छ ।’ साथीले सम्झायो ।
कार्यक्रम सुरु भएको जनाऊ घण्टी बज्यो । सतत भित्रतिर बग्दै गरेको भिडलाई पछ्याएँ । बस्नको लागि सिट खोज्दै थिएँ, मलाई ठुस्स गन्हाउने एकजना मान्छे त्यहीँ रहेछ, अँध्यारोमा झण्डै मसार्न पुगेछु । अन्तै मोडिएँ । बिस्तारै हल उज्यालो लाग्दै गयो । सबैले मलाई नै चियो गरिरहेका छन् भन्ने भ्रमले निकैबेरसम्म रनन बनाइरह्यो । मुड बदल्न स्टेजको रमिता हेर्न थालेँ । अगाडि चारवटा कुर्सी लहरै थियो । कुर्सी पछाडि मूर्तिहरु, भाँडाकुँडाहरु, थुन्से पेरुङगा अनि अरु केके सामानहरु थिए । हलको अन्तरिक्षमा तिनिक्क तन्काएको ठूलो रुमालमा लेखिएको थियो, ‘यादको सन्दुक, विमोचन समारोह’
‘आजका प्रमुख आकर्षणको केन्द्र कवि दिपा मेवाहाङ भौतिक रुपले हामीमाझ हुनुहुन्न । तर…’ उत्घोषकलाई गिज्याएर सबैले गलल हाँसिदिए । उत्तरोत्तर प्रगतिको हार्दिक श्रद्धाञ्जली भन्ने खालका उनको शैलीलाई सुधार्दै फेरि बोले, ‘कवि कोरियामा हुनुहुन्छ ।’ उसपछि कुर्सीमा अतिथिहरू फटाफट बोलाइए । अरु कार्यक्रमझैं त्यो दिनको कृयापलाप सलल बगेको थिएन । अड्किी पड्की चल्दै थियो । मानौं, त्याँ साँच्चैको प्रोग्रामको लागि अभ्यस्त हुन तालिम गरिँदैछ ।
कार्यक्रम सुरुभयो, अतिथिहरुले भटट गुनासाहरू ओकल्न थाले । मानौं कि लेख्ने नियम उहाँहरुसँग छ र दिपाको कविता नियममा पटक्कै बसेन । चलन पुरानै छ, जस्तो कि साहित्यका किताबहरु पनि पाठ्यपुस्तकझैँ बाध्यतावश पढ्नुपर्छ । चलन नयाँ छैन, जस्तो कि कृति मन परेन भने सो बारे लेख्न÷बोल्न कर छैन । चलन यो पनि विद्यमान छ कि, एउटै कृतिमा विभिन्न स्वादका सृजना हुनुपर्छ । जस्तो कि, एउटै बोटमा सुन्तला, कागती, आँप, कटहर, कोदो मकै सबै फलून् । हाम्रो बुझ्ने बानी यो छैन कि, प्राकृतिक रुपमा यसरी फल्दैन । र, कुनै कुनै कृतिमा प्राकृतिक पाराले सृजनाहरू संकलन गरिएका हुँदा रहेछन् । भन्नाले दिपाका कविताहरु उस्तै रङका भएछन् ।
अतः दिपाका ‘यादको सन्दुक’मा प्राकृतिक फलजस्तै धेरै कविताहरू एकै प्रकारका रहेछन् । ‘प्रेम’ नामका ती फलहरू चिचिला पनि होइन, पहेंलपुर पाकेको पनि होइन । अलि कटमेरा टर्रो स्वादका । भन्नाले प्रायः प्रेमले दिएको तिता अनुभवहरू । जस्तैः रस अर्कैले खाइदियो सिर्फ सम्झनाका खोस्टा मात्र आफूसँग छ । गुलियो (लब पर्दै गरेको, पर्लाजस्तो) चाहिँ रहेनछ ।
ल, शीर्ष कविता पढौँ है त–
भरखरै,
शरीरका अङ्ग अङ्ग छोएर
निस्किएको छ धुवाँ
कपालका केस्रा केस्रा स्पर्श गरेर
गएको छ बतास
पातहरूलाई सुस्तरी छोएर
झरेको छ झरी
उसै गरी छोएर गएको छ
मलाई तिम्रो यादले ।
…
….
यसरी नै पटक पटक
विक्षिप्त हुन्छ मन
अनततः मभित्रको ‘म’ले मलाई प्रश्न गर्छ
‘यति खतरनाक यादहरू पठाउनेलाई
आखिर यति धेरै याद किन गर्छस् तँ ?’
(यादको सन्दुक, पेज ४९)
बैँशालु उमेरमा सबैभन्दा धेरै सताउने सायद प्रेमले नै होला । र, दिपाले आफूजस्तै उमेर समूहका लागि कविता कोरिन् होला । युवावस्थामा हुने प्रेमलाई समाजमा मूल्य सस्तो दिए पनि त्यही अवस्थाका व्यक्तिलाई भने निकै महँगो मूल्य तिराउँछ सायद । पटक–पटक प्रेममा फरिरहनेहरुका लागि त झन् युवावस्था देखि बुढेसकालसम्मै जीवनमा अनेक उतारचढाव भोगिरहेका व्यक्तिहरु समाजमा प्रसस्तै भेटिन्छ । सम्पूर्ण प्राणी जगतलाई प्रेम गर्नु मानवीय स्वभाव हो; तर आफू उमेरका विपरित लिङ्गमा मात्र प्रेममा पर्नु चाहिँ व्यक्तिगत स्वभाव हो । यो सबै व्यक्तिमा लागू हँदैन । दिपाका अधिकतम कविताहरु व्यक्तिगत स्वभावमा चल्ने प्रक्रियाको पेरिफेरिमा घुमिरहेको पाइन्छ ।
तिमी छुटेपछि
सम्झौता गरेर बाँचेको छु
आफ्नो अस्वस्थ्य मुटुसँग
सम्झौता गरेर सम्झनाहरुसँग
बस,
बाँकी एक थोपा याद
बाँकी वाचाहरु । (वाचाहरु, पेज ५२)
पछाडि कभरमा लेखिएको छ–‘‘दिपा मेवाहाङ राई प्रेमको कविता लेख्छिन् । प्रेम अर्थात आत्मा स्वीकृतिको । प्रेम अर्थात जीवन सङ्घर्षको । प्रेम अर्थात पहिचानको । प्रेम अर्थात जीवन र जगतप्रतिको । प्रेम अर्थात प्रेमको । जीवनका आरोह–अवरोहमा अनुभूत गरेका अनेकौं चुनौतीहरु, अन्तरमनका द्वन्द्वहरु, आम मानिसभित्र आइपर्ने बाधाहरु यी सबैलाई प्रेमपूर्वक कविताको बिम्बमा उतार्छिन् । उनको कविता शैली विनम्र छ । विनम्र छ र नै शालीन विद्रोह छ । कठोर अप्ठ्यारा वा समस्याहरुसित नभागी सकारात्मक आत्मसात गर्ने मनोविज्ञानसहित उनका कविताहरुले मानिसहरुलाई अरु गतिशील हुन प्रेरित गर्छन् । धोकामा पनि ऊर्जा प्राप्त गराउने प्रेमिल कविताहरुको सङ्ग्रह हो, ‘यादको सन्दुक’ ।’’
जीवनको लोरी गाउँदा गाउँदै
बैंशको मध्य भागमा आइपुग्दा
फूल फुलेको मन पर्नै छाड्यो ।
मनभित्र भय पस्यो साँझको घाम देख्दा
बाटोले आफ्नै गतिमा तान्न थाल्यो
सपनाको भुमरीले अठ्याएर
ल्याइपुर्यायो अर्कै भूगोलमा ।
(सपनाको सीमा, पेज ७१)
दिपाले प्रेमबाहेक एकदुई कविता जीवनबारे पनि लेखेकी छन् । जो परदेशको दुःखबारे वर्णन गरिएको छ । उनका कविताहरुले जीवनमा दुःख आइलाग्नुको कारण भनेर कसैलाई दोष दिएकी छैनन् । यति हो, जीवन ज्यूँने क्रममा भेटिएका उकालीको थकान र ओरालीका दुःख अनि दम्साइलो सुखहरुलाई कविता बनाएकी छन् । हुन त मान्छे वैंशमा सबै नै कवि गायक बन्छ भन्छन्, दिपालाई पनि परदेशको दुःख र घर परिवारसँगको बिछोडले नै कवि बनाएको हो कि भन्ने लाग्दछ । किन भने उनका लेखनको विषय नै बिछोड, एक्लोपन, थकान र रहर आदि रहेका छन् । उनले न देशको बेथितिसँग गुनासो गरिन् न त कुनै निरंकुशतामा माथि नै प्रश्न गरिन् । सिर्फ गुनासो छ त जीवनप्रति । चाहनाप्रति । दैदिनान आइपर्ने बाधाहरुप्रति ।
एकोहोरो अर्लामसँग
बिहान बिम्झिन्छ
म पनि बिम्झिन्छु ।
एक पोको सपना बोकेर
परदेश हिँडेको म जोगमाया
सम्झिदै भुटिभात
टोक्छु सुक्खा रोटी हतारहतार
चढ्नु छ जीन्दगीको गाडी
कहिलेसम्मको गन्तव्य हो ?
पुग्नु छ पसिना रोप्ने बगैंचासम्म ।
(अर्लाम, पेज ७३)
दिपाले आफ्नो कुरामा लेखेकि छन्–‘उसो त कवितासङ्ग्रह नै भनेपछि पढिरहनुहुने तपाईंहरुको मनभित्र ‘ओ हो, भयङ्कर कविताहरु होलान्’ भन्ने लाग्न सक्छ । तर पन्ना चहार्दै जाँदा भने झुटो सावित हुनसक्छ । अनुहारमा निराशाको रेखा जोडतोडले दौडन सक्छ । त्यसका लागि अगाडि नै माफी चाहान्छु । किन कि यी कविताहरु कुनै कवि हुने लालसाले लेखिएका होइनन् । आफ्नै मन बहलाउन भावनालाई अक्षरमा उनेर लेखिएका हुन् ।….’
दिपाको भनाइ पढेपछि पाठकको मनमा उर्लेका गुनासाको लहर अवश्य नै घट्ने छ । ‘कवितामा बिम्ब छैन, शैली भएन, विचार छैन..’ आदि गनगन गर्नु परेन । बस्, पोखिएका भावनालाई बुझ्न पढिदिए पुग्छ । दिनदिनै जटिल बन्दै गएको हाम्रो सोंचविचारलाई कहिलेकाहीं कच्चा पदार्थकै रुपमा भावनाहरुलाई राखिँदिदा पाठकलाई उस्तो घाटा नपर्ला । कविताको उल्टा सिधा छलाङ् मार्ने शैलीसम्म नपुगी सरल तरिकाले भावना व्यक्त गरिएका कविताहरु मध्येको आमाप्रति दर्शाएको सरल अभिव्यक्तिलाई यहाँ राखेँ–
ब्रह्माण्ड र आमा को पहिलो हुन् ?
जसले सोधे पनि
निर्धक्क भएर म भन्न सक्छु
आमा ।
जमिन टेक्नु अगावै
आमाको पाठेघरको ब्रह्माण्डबाट
चिहाएको हुँ यो जगत
तसर्थ निर्धक्क भएर भन्न सक्छु
सृष्टिको संरचनामा
पहिलो लीला हुन् आमा ।
(आमा, पेज ७७)
‘रातो बाकस’ शीर्षकमा धेरैले लेखिसकेका छन् । खासमा यसले श्रम गर्न परदेश गएका परदेशीको मृत्युको संकेत गर्छ । यो दुई शब्दले एउटा सिंगो मानिसको दुःखबारे वर्णन गरिभ्याउँछ । सिङ्गो परिवारको जीवन दुःखको दहमा डुबेको कथा बताउँछ । कुनै एक महिलाको आधा शरीर जलेको÷मरेको समचार बोल्छ । वृद्ध बाआका आस्थाको धरोहर जवान छोरो हराएको सत्य बोल्छ, यी दुई शब्द ‘रातो बाकस’ले ।
अँ, दिपाले पनि रातो बाकस शीर्षकमा बाबा सम्बोधन गरेर जीवनबारे लामो कविताको माला उनेकी छन् । यो मालाको सुरुमा हरियो जलजले पण्डाहरु उनिएका छन् । जहाँ प्रेम, परिवार, हाँसो खुसी छ । मालाको मध्येभागमा एकदम अँध्यारो रङ्गका दानाहरू छन् । फेरि घुम्दै गएर अलिलि उज्यालो रङका पण्डाहरू गाँथिएका छन् । सायद, उनकै वास्तविक जीवनको कथा पो हो कि ?
साँच्ची,
सफेद बादलको स्केचजस्तै हुनुहन्थ्यो बाबा
आफू सादा भएर पनि
परिवारलाई सधैं रङ्गीन बनाउने सपना देख्नुहुन्थ्यो
त्यही सपना पूरा गर्न
रातो घाम भएको देश जानुभयो ।
अफ्सोच !
चाहतको माना नचुलिदै
हरियो रङ बदलियो
जीवनको रङ बदलियो
रातो बाकसमा भरिएर आउनुभयो बाबा ।
(रातो बाकस, पेज ८१)
यो सङ्ग्रहबाट एउटा कविता संगीतबद्ध पनि भएको रहेछ । उदियमान संगीतकार राजन मुकारुङको संगीत र ज्वाला राईको गायकी रहेको गीतलाई युटुबमा ‘मेसिन’ नामले खोजेर सुन्न सकिने जानकारी फुटनोटमा दिइएको छ । त्यो कविता यस्तो छ –
दिनभरि
यो सहरले मलाई
मेसिन बनाउँछ
समयको चालसँगै दौडाउँछ
घरि कुदाउँछ
घरि सुस्तरी हिँडाउँछ ।
(सहरले मलाई , पेज ९९)
वि.सं. २०७९को मदन पुरस्कारका लागि मनोनयनमा परेको यो ‘यादको सन्दुक’ कवितासङ्ग्रह फिनिक्स बुक्सले प्रकाशन गरेको हो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।