लोक संस्कृति, परम्परा, रहन-सहन र स्थान विशेषको वास्तु, स्थापत्यमा त्यो कलाको अर्न्तनिहित नै हुन्छ जो हाम्रो आनन्दको लागि बनाइएको हुन्छ । कहिलेकाहीँ कला वृहद् स्तरमा काललाई नियोजित गर्छ । गत साता नेपाल र भारतबीचको सम्बन्धलाई सुदृढ गर्ने लक्ष्यका साथ चारदिने “कृष्णोत्सव” श्री कृष्णको लीलास्थली, वृन्दावनमा भारत-नेपाल संगीत एवं दृश्य कला संगोष्ठी बिपी कोइराला भारत–नेपाल फाउण्डेसन र श्री चैतन्य प्रेम संस्थान वृन्दावनको संयुक्त तत्वावधानमा निम्तो पाई सोमबारदेखि भारतको वृन्दावनमा कार्यशाला सुरु भै विहीबार सम्पन्न भएपछि, म जयपुरतिर मोडिएँ । उदेश्य आइसिए ग्यालरी जयपुरव्दारा आयोजित “मिथिला उत्सव” शीर्षकमा मेरो एकल चित्रकला प्रदर्शनीको आयोजना आईटीसी राजपुतानाको वेलकम आर्ट ग्यालरी जयपुर, राजस्थान भारतमा सहभागी हुनु थियो । ग्यालरीको अनुरोधमा केही थान कलाकृति नेपालबाट पठाएको थिएँ र केही कलाकृति भारतमा रहेको मेरो कलाकृति संकलन गरी जम्मा बीस थान कलाकृतिको प्रदर्शन गर्ने चाँजोपाँजो मिलाइएको थियो ।
कला, लोक संस्कृति, सभ्यताको शहर जयपुरलाई पिंक सिटी यानी गुलाबी नगर पनि भनिन्छ, जो परम्परा र ऐतिहासिक महत्त्वका लागि प्रसिद्ध छ । युनेस्कोले यो सहरलाई जुलाई 2019 मा वर्ल्ड हेरिटेज सिटीको मान्यता दिएको थियो । यो शहरको वास्तुकार विद्याधर भट्टाचार्यको नाम सम्मानले लिने गरिन्छ ।
मेरालागि चित्र बनाउनु कुनै सेतो क्यानभासमाथि कुनै रङ भर्नु वा त्यसमाथि रेखा वा आकृतिको समुचित रूपले कोर्नु मात्र होइन । मेरो चित्रशृंखलाले कतिपय स्तरमा हेर्नेलाई कुनै यात्राको लागि आमन्त्रण पनि गर्दछ । यस्तो यात्रा जसले बाहिरी लोकबाट भित्र लिएर जान्छ र भित्रबाट बाहिर । यथासम्भव जहाँ स्वयंलाई असल समय र सत्यसँग साक्षात्कारको अनुभूति हुन्छ ।
कला आयोजनासँग आवश्यक हुन जान्छ, उसको व्याख्या । संगीत, नृत्य, नाट्य र चित्रकला आदि कला संस्कृतिको जीवन्तता हो । यसको प्रस्तुतमा हामी कहाँ सूचनात्मक दृष्टि त छ, तर विचार प्रायः ओझलमा छ । कला हाम्रो मनमा बस्छ, जहाँ हामी आफूलाई खोज्न सक्छौं । तर कला प्रस्तुतिको जति महत्त्व छ, त्यतिकै त्यसमा सूक्ष्म दृष्टिले लेखिन र व्याख्यायित गरिनु पनि पर्छ। लेखिनु मात्र सूचनाप्रद, समाचारको रूपमा हुन्छ भने त्यसको कुनै सार्थकता हुँदैन, त्यो त मात्र जानकारी हुन्छ । जसको सर्वाधिक प्रयोग हामीले गरिरहेका छौं ।
कलामाथि लेख्दा त्यो बेला मात्र सार्थकता हुन्छ, जब समय सन्दर्भसँग कला र कलाकारको विधा विशेषको अन्तर्निहितलाई जनसमक्ष ल्याउनु सकोस् । दृष्य- श्रव्य कलामा देखिने, सुनिने संसार भन्दा पर भाव संवेदनाको आकाश सृजना गर्छ । यो आकाश कलाकृतिमा रमेर मात्र सृजना गर्न सकिन्छ । समीक्षाले रचनाको समानान्तर र विभिन्न स्तरमा रचनाभन्दा पनि माथि राखिन्छ, किनकि समीक्षाले हामीलाई कलासँग प्रेम गर्न सिकाउँछ । कलाको समग्र परिवेशलाई बुझ्ने प्रक्रिया भन्दा अगाडि यो जीवनसँग जोडिएको व्यापक र उदात्त दृष्टिकोणले पनि हामीलाई जोडछ । यसले बन्छ, कलाको रसिक संसार । अतीतलाई माया गर्दै आधुनिकतासम्म मिथिला उत्सवले सौन्दर्यको संसारसँग जोड्दै जीवनलाई जोड्ने प्रयास हो । यहाँ रचिएको कलाकृति भित्रको आन्तरिक स्वरूपको सत्यान्वेषण धेरै महत्त्वपूर्ण छ । यसमा इतिहास, दर्शन, मनोविज्ञान र पदार्थविज्ञानको थोरै मात्र भए पनि आभास दिन सकोस् भन्ने मेरो प्रयास हो । तसर्थ कतिपय ठाउँमा कलाको व्याख्या जरुरी हुन जान्छ । कलाकारले पनि आफ्नो कलाबारे बोल्नु र लेख्नु पर्ने अवस्था छ ।
यो भूमि ( जयपुर) कवि, कलाकार, साहित्यकार, शिल्पकारको कार्यस्थल हो । सँगै यो नगर आफ्नो कला परम्पराको लागि पनि विश्वविख्यात छ, यहाँ म मेरो कलाकृतिको मिथिला उत्सव प्रदर्शन गर्न पाउँदा रोमान्चित छु । यो प्रदर्शनीले विश्वकलाको परिदृश्यसँगै कलाका विविध आयामलाई बुझ्ने अवसरको रुपमा रहने छ, हामी जहाँ छौं, यात्रा त्यहीँ बाट शुरू गर्नुपर्छ । जो जहाँ छ, त्यहीँबाट यात्रा शुरू हुन सक्छ । जन्म उत्सव हो भने मृत्यु पनि उत्सव हो । उत्सवले हामीलाई जिउन सिकाउँछ, अगाडि बढ्न सिकाउँछ । पारिजातको फूल फुल्छ, प्रात: आफ्नो आधारभूमिलाई परिजात आफ्नो फूलले ढकमक्क ढाकेर जीवनदात्री धरतीलाई अभिनन्दन गर्छ । धानको रोपाईं उत्सव हो भने कटाई उत्सवको नयाँ शृंखला । कृषि उत्पाद अन्न उत्सवको प्रारम्भ गरी चराचुरुङ्गीको भोजन उत्सवको खुल्ला मौन निमन्त्रण हो ।
प्रकृति, संस्कृति, कृष्णलीला, राम सेतु, भुकम्प त्रासदि, प्रविधि, पर्यावरण तथा भातृत्वजस्ता विषय समेटिएका करिब- करिब बीस चित्रहरू प्रदर्शनमा राख्दा कसरी लिइएला, दर्शकले कस्तो मान्लान् भन्ने जिज्ञासा थियो । फरक–फरक विषयलाई मिथिला शैलीमा तयार पारेर ‘मिथिला उत्सव’मा प्रस्तुत गर्ने प्रयास गरेको थिएँ । मेरो कलाको उद्देश्य नै प्रत्येक कलाकृतिले उत्सवको कथा भनोस् भन्ने थियो ।
उद्घाटन समारोहमा सेन्टर फोर डेभलपमेन्ट फोर वालेन्टरी सेक्टर को चेयरम्यान बिधायक मुमताज मसीहले पानसमा दियो बाली प्रदर्शनीको शुभारम्भ गर्नु भयो। विधायक मसीहले नेपालीय मैथिली कला जयपुरमा हेर्दा रोमान्चित रहेको बताउनुभयो । नेपाली चित्रकार सुमनको यो प्रदर्शनीले एक अर्कासँग अन्तरक्रिया, विचार आदानप्रदान र रचनात्मक सम्भावना खोज्ने अवसर मिलेको भन्दै उहाँले यस्तो प्रदर्शनीले नेपाल तथा भारतबीचको सम्बन्धलाई बलियो बनाउने आशा व्यक्त गर्नु भयो ।
सोशल वेलफेयर बोर्डका चेयरम्यान डा. अर्चना शर्माले मिथिला र जयपुर, बज्रभूमी सीता र राधाको क्रिडास्थल हो । जहाँ लोककला संस्कृतिको परम्परा छ, जो हाम्रो धरोहर हो । यस्तो प्रदर्शनीले भारत र नेपालको सिर्जनात्मक प्रतिभा प्रदर्शन गर्ने मात्र नभई वर्तमान कला परिदृश्यसँग राम्ररी परिचित कलाकारको हैसियतले दुवै देशका कलाकारबीच आपसी समझदारी निर्माणमा पनि योगदान पु-याउनेमा उहाँ विश्वस्त हुनुहुन्थ्यो ।
जयपुरको यो भ्रमणले मलाई यहाँको कला विरासतलाई नजिकबाट नियाल्ने र बुझ्ने अवसर दियो । जसरी फूल र फल नै कुनै रुखको एक मात्र लक्ष्य हुँदैन त्यस्तै यात्राको पनि अन्तिम लक्ष्य, कुनै स्थानमा पुगेर आनंद अनुभूति मात्र होइन । कुनै स्थानमा पुगेर मन प्रफुल्लित र फल्लित हुन्छ, त्यो मात्र एउटा पड़ाव हुन्छ । फल अफ्नो गर्भमा भावी वृक्षको बिउलाई जस्तै जोगाई राख्छ । त्यसरी नै कुनै एक रमणीय स्थानको यात्रा आफूसँग अर्को स्थान वा स्थानको बिउको अंकुरण पनि हामीभित्र हुन्छ ।
कलाअनुरागी सुधीर माथुरले प्रदर्शित कलाकृतिमा सामाजिक, सांस्कृतिक, मानवीय तथा प्राकृतिक विषय कलात्मक रुपमा आएको र कलाकार सुमनले समाज, धर्म, संस्कृतिसँग जोडिएर मानवजाति निरन्तर समयको गति पछ्याउँदै अगाडि बढेको मान्यतालाई रङ र रेखामार्फत अभिव्यक्त गरेको भन्दा मलाई खुसी लाग्यो । पृथ्वीमा हरेक वस्तु, मान्छे तथा उसका गतिविधि समयको चक्रसँगै परिवर्तित हुँदै गए । विकासक्रममा मानव समाजको सिकाइ, भोगाइका अनन्त कथा छन् । ती कथालाई यहाँ यतिबेला एकल चित्रकला प्रदर्शनी ‘मिथिला उत्सव’ मार्फत कला नगरी जयपुरले पनि फरक अनुभूत गरेको छ । प्रस्तुत मिथिला चित्रमा सामाजिक मान्यता राख्ने धार्मिक तथा सामाजिक पक्षसँग जोडिएका विविध सन्दर्भको चक्रलाई चित्रण गरिएको धेरैले रूचाए । देवीको सिर्जनाबाट उत्सव सुरु भई सल्हेश लोकगाथामा यो चित्र टुंगिएको छ । धार्मिक मान्यतानुसार उत्पत्ति र विनासको चक्रलाई पनि विश्वास गरेर कलामा कथालाई उधिनिएको छ, जो सृजनात्मक क्षमताको उत्कर्ष हो भनी माथुरले टिप्पणी गर्दा मलाई खुसी लाग्यो ।
क्युरेटर हेम राणाले कार्यक्रममा भनेको कुरा मलाई चित्त बुझ्यो । उहाँले भन्नुभयो, विशेष गरी मिथिला कलालाई आधार बनाएर चित्रकारले मैथिल तथा अन्य समाजको समकालीन मुद्दालाई उठान गर्दै आएको र चित्रमा मिथिला समाजको लोकपरम्परा, धर्म, संस्कृति सँगै सिंगो प्रकृतिमाथि भएका अतिक्रमणका विषयलाई केलाइएको छ । लोककलाको सौन्दर्यमय प्रस्तुति वा कलात्मक अभिव्यक्ति प्रतिभाशील लोकजनबाट हुने गर्दछ । जो यहाँ प्रत्यक्ष देख्न सकिन्छ ।”
म कलाकार रवि ठाकुरको आतिथ्यमा बसेँ । त्यहाँको न्यानो बसाई मेरा लागि अविस्मरणीय रह्यो । राणा र ठाकुरप्रति म आभारी छु । वरिष्ठ कलाकार लोक चित्रकारको साथले यात्रालाई अझ सुखद बनायो ।
artistsuman.scd@gmail.com
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।