

पूर्ण वैद्य
पूर्ण वैद्य
सिंगै शहरभरि
हिउँद आएर
दिन बिछ्याई सुकाइरहेछ
मानिसहरु त्यसमा बसी
आआफ्नो समय छोडाउँदै खाइरहेछ
मानौं, बदाम हो समय
यात्रा जिन्दगीको ।
कसैलाई डढेको छ त यो
कसैलाई कुहिएको छ, कसैलाई टर्रो
कसैलाई भने झुरुमझुरुम स्वादिलो
सुकाइराखेको एउटै जिन्दगीको सहभागितामा
एउटै शहरका मानिसहरुमा
समय छोडाउँदै खाइरहेकाहरुको मुहारमा
फरक फरक छ मुड
उनीहरुको खुशी र रिसको डिग्री फरक फरक छ
समयको स्वादको कुरा उठ्यो कि
झगडा हुने नै त्यसैले
यसलाई फेर्नु पर्ने वा फेर्नु नपर्ने कुरामा ।
सबैले रमाइलोसँग दिन काट्न भनेर नै
बिहानैदेखि मानिसहरु आ–आफ्नो रगत पसिनाले
पोल्टा भरिभरि समय लिएर आइरहेछन्
दिन फिजाउन ल्याएको घामको नाङ्लोबाट
जिन्दगी नै समयको एउटा पोको हैन र ?
केही घाम र छाँयाको
केही हावा र हुस्सुको
केही वर्षहरुको पोको यो !
तर एउटै थलोका मानिसहरुको भागमा पनि
एउटै समय कतै काँचो, कतै पाको
कतै मीठो, कतै टर्रो किन हुन्छ ?
कसले कस्तो संस्कारमा भुटेर ल्याएको हो यो समय ?
कतिले भन्छन्—
हिजोको बीउ नै उन्नत छैन
समय रोप्ने यहाँको माटो र हावापानी नै उपयुक्त छैन
त्यसको हुर्कने संस्कार नै खराब छ आदि–इत्यादि … …
तर चुपचाप … …
दिनहुँ यस शहरमा, बिहानको ढोका उघ्रनासाथ
यहाँ समयका बिस्कुनहरु सुकाउन ल्याउँछन् — भित्र्याउँछन्
भित्र्याउँछन् र फेरि — सुकाउन ल्याउँछन्
शायद आउँदा समयमा कीरा नलागोस् भनेर होला !
समयको यस हाटबजारमा
नपाइएला झैं हतार–हतारमा मानिसहरु
हात परे जति समयमा
दिनहुँ आफ्ना जीवन भिजाउँछन्
तेल पोख्दा हतार हतारमा बत्ती भिजाए झैं
कोही बल्छन् धपक्क उज्यालिएर
केही धिपधिप धमिलिएर
कति त धुँवामै सिद्धिन्छन्
यी आयुका बत्तीहरु
समयका बीजहरु
तर चुपचाप समय … …
प्रत्येक जीवनबाट थोपा थोपा चुहिएर
प्रत्येक बस्तीबाट बगिरहेछ
चुपचाप … … चुपचाप … …
यद्यपि विरोध छ भित्रभित्रै टन्न टन्न
तैपनि फुट्न नसकुञ्जेल
एउटा मौन युग बग्छ युग भित्रभित्र
मेरो साँझ–बिहानको किनारै किनार
म पनि यही समयबाट
चुहिँदै गइरहेको छु
तप्प … तप्प … यस भुइँमा
एउटा समय मबाट पनि चुहिँदै झरिरहेछ
थोपा … थोपा … टप्किँदै छ
जहाँ यस माटोको भविष्य भरिँदै आइरहेछ ।
कवि परिचय
भक्तपुरमा जन्मिएका कवि पूर्ण वैद्य (ई. १९४१ — २०२१) आधुनिक नेपालभाषा साहित्यका अग्रज साहित्यकारमा पर्छन् । उनी कविता र निबन्धमा गरी दुइपटक (१९६४ र १९७२) ‘श्रेष्ठ सिरपाः’ पुरस्कारबाट सुशोभित हुने लेखक हुन् ।
लाइब्रेरी अफ कांग्रेसले दक्षिण एसियाली साहित्य अभिलेखीकरणमा उनका १७ कविताहरूको वाचन सुरक्षित गरिएका छन् । अस्वीकृत साहित्य पुरस्कार (२००२) र नेपाल प्रज्ञा नेपाल साहित्य पुरस्कारबाट पनि सम्मानित पूर्ण वैद्यका कविता र निबन्ध सङ्ग्रहका पुस्तकहरू प्रकाशित छन् ।
गएको सालको भाद्र महीनामा कोभिडको प्रकोपबाट उनको देहावसान भएको थियो । जनै पूर्णीमाको दिन जन्मिएका उनको जन्म जयन्तिको अवसरमा यो कविता प्रस्तुत छ ।
अनुवादकः आर. मानन्धर



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१ पुष २०८२, मंगलवार 









