तीज हिन्दु नारीहरुले मनाउने एउटा महत्त्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइन्छ । तीजमा भगवान् शिवको आराधना गरिनुका साथै नाचगान र मनोरञ्जन समेत गरिन्छ । पौराणिक कथाअनुसार महिला प्रेमले मान्यता र सफलता पाएको दिन तीज हो । हिमालय पुत्री पार्वतीले शिव पति पाउन निरहार व्रत गरेको र शिवलाई पतिका रुपमा पाएको दिन हो । हिन्दु कथामा आधारित तीज बिस्तारै पर्वको रुपमा विकसित भयो । पार्वतीको सिको गर्दै आफूले रोजेको वा असल पति पाउन बिहे नभएका व्रत बस्ने चलन रह्यो । बिहे भएकाहरु भने आफ्नो पतिको दिर्घायुको लागि व्रत बस्न थाले ।
तराई समुदायमा तीज पतिको दिर्घायुको लागि व्रत बस्ने पर्वको रुपमा प्रचलित रहेको छ अझै पनि । पतिको सु-स्वास्थ र दीर्घायुको लागि दिनभर निरहार व्रत बस्दछन् । पतिको खुट्टाको जल खाएर मात्रै अर्को दिन व्रत तोड्दछन् । पहाडी महिलाका सन्दर्भमा भन्दा तीज हिन्दु महिलाको लागि सुखदुःख साट्ने, मीठो खाने, राम्रो लगाउने र माइती तथा आफन्त भेट्ने, व्रत बस्ने पर्वको रूपमा रहेको छ । माइती पक्षले आफ्ना चेलीहरुलाई माइत बोलाउछन्, माइती नहुनेले दिदीबहिनी, माहली तथा आफन्तहरुले बोलाएर जमघट गराउँछन् । खासमा चेलीबेटी बोलाउने र खुवाइने काम जनै पुर्णिामाबाट सुरु हुन्छ भने नाचगानको क्रम चाहिँ साउने सक्रान्तीबाटै सुरु हुन्छ ।
वर्तमानमा तीज
विशेषगरी हिन्दु महिलाले मनाउँदै आएको यो चाड अहिलेको अवस्थामा हिन्दु महिलामा मात्रै सिमित रहेन सबै समुदायले मनाउने गर्दा महिलालाई एकताको सूत्रमा बाधेको छ । विभिन्न जातजातिका चाडपर्वहरुमा रमाइलो गर्ने गर्दै गर्दा एक अर्काको बिचमा संस्कृतिको हस्तान्तरण र आदान प्रादान भएको छ र साथै सम्मान पनि बढेको छ ।
तर अहिलेका महिलामा भने पहिले पहिलेका महिलाले जस्तै व्यक्तिपिच्छे गित जुराउने गाउने प्रतिभा र प्रवृत्ति रहेन । अझ विशेषगरी सहरी भेगमा । मौलिक गितको सट्टामा व्यवसायी कलाकारको भर पर्नु परेको छ । तीजको गित निकाल्न तछाडमछाड गर्दै गाउने र नाच्ने कलाकारहरुले वास्तविक तीजको अर्थ र महत्त्व पुरै बिर्सेको पाइन्छ । तीज गितलाई उत्ताउलो रत्यौली र दोहोरी गितमा ढालेका छन् । अधिकांश तीज गितहरुमा तीजको लय र भाका नै छैन ।
अहिलेका तीज गितहरुले महिला अधिकार र स्वतन्त्रताको प्राप्तिको पर्वको रुपमा गाइने गितमा महिलाहरुलाई नै होच्याइएको पाइन्छ । भद्दा र अस्वभाविक माया प्रेमका कुरामा समर्पित भएका छन् । रत्यौलीजस्ता गित गाइएको देखिन्छ सुनिन्छ । लवाइ खवाइ दुबैमा भड्किलोपन छ ।
तीज भड्किलो कि स्वभाविक ? के भन्छन् त समाजशास्त्री ?
समाजशास्त्री डा. लुइँटेल “महिलाहरुलाई तीजको कार्यक्रममा जादा सामान्य पहिरन लगाएर हुँदैन । महङ्गा सारी ढल्काउँदै गरगहनाले ढपक्क भएर हिँड्दा महिलाहरुबिच प्रतिस्पर्धा सृजना भएको छ । पार्टी प्यालेसमा तीज गित बजाएर रमाइलो गर्ने र अझ पछिल्लो समय त मदिराको समेत सिलसिला बढेको छ । उहाँका अनुसार तीज मात्र नभई सबै चाडपर्वलाई नियमन नगर्ने हो भने समाजले ठूलो संकट बेहोर्नु पर्छ । समाज र संस्कृतिले बजारलाई पूर्णरुपले थिचिसकेको छ र बजारको सिमा असीमित हुने भएकाले त्यसलाई मानिसको आम्दानीले थेग्न नसक्दा दुर्घटना निम्तिने अवस्था आउँछ । सरकारले केन्द्रिय तहबाटै एकीकृत कार्यक्रम बनाएर सबै चाडपर्व र फजुल खर्चको निरुत्साहित गर्न कदम चाल्नुपर्छ ।”
सांस्कृतिकविद् प्रा.डा. विना पौडेल “भड्किलो तीज भनेर महिलाहरुले गर्ने कार्यक्रमको विरोध गर्नु पितृसत्तात्मक सोच हो । उहाँका अनुसार संस्कृति परिवर्तनशिल छ तर परिवर्तन कतातिर उन्मुख छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । तीजका नाममा भए पनि महिलाहरु घरबाट बाहिर निस्किएका छन् । यो हाम्रो लागि अवसर हो । पर्व मनाउदा मितव्ययीता र अनुशासन चाहिन्छ तर यसैलाई लिएर बर्बादै भयो सोच्नु हुँदैन । बिहान ५ बजेदेखि राति १ बजेसम्म युवायुवतीहरु भट्टी र डिस्कोमा उफ्रिँदा विकृति नदेख्ने तर तीज कार्यक्रमलाई कसरी विकृति देखियो ?”
तीजको विषयमा महिला अधिकारर्मीहरूका बिचमा पनि मत भेद छ । कोही महिला अधिकार र स्वतन्त्रताको वकालत गर्दै तीजको रहनसहनलाई स्वीकार र समर्थन गरेको पाइन्छ भने अर्कोतर्फ तीजले महिलामाथि हुने हिँसा झन् थपेको भन्दै व्रत नबस्ने, श्रीमानको खुट्टाको जल खानु हुँदैन, पञ्चमी पूजा नगर्ने भन्दै तर्कवितर्क गरेको पाइन्छ ।
खासमा मान्छेको मनले जे गर्दा खुसी मान्छ त्यो गर्न दिनुपर्छ र गर्नु पनि पर्छ । कसैलाई के कुरामा खुसी मिल्छ कसैलाई के कुरामा । यसै त तीजको मौलिकता हराउँदै गएको छ । कसैलाई यही तीजका सबै संस्कार मान्दा रमाइलो लाग्छ जहाँ शोषणको कुरा नै आउँदैन । म आफैं पनि तीजमा व्रत बस्ने, श्रीमानको खुट्टाको जल खाने, पञ्चमी पुजा गर्ने कुरालाई सौभाग्यको रुपमा लिन्छु । यो कुरा पूर्ण आफ्नो स्वतन्त्रताको कुरा हो । यसर्थ पनि तीजलाई शोषणको रुपमा म मान्दिनँ तर भड्किलो र मौलिकताको लोप भने अवस्य भएको हो ।
कसरी मनाउने तीज ?
गीत चेतना प्रवाहको निकै ठूलो र सशक्त माध्यम हो । तीज गितको नाममा व्यवसायीहरुले संस्कृतिमाथि प्रहार गर्नु हुँदैन । महिलालाई केन्द्र भागमा राखेर मनाइने तीज आम महिलाले पनि तीज मीठो खने, राम्रो लगाउने र आफन्त भेट्ने मात्रै नभई महिला अधिकारका विषयमा सन्देश प्रवाह गर्ने उत्सवको रुपमा मनाउन जरुरी छ । सञ्चार माध्यमबाट बज्ने गित हेर्दा अश्लील शब्द र उत्तेजक नृत्य देखेर टाउको निहुराउनु पर्ने अवस्था नहोस् । महिला समानता र समविकासका शब्द, शालिन नृत्य अनुसरण गर्न सक्ने खालका हुनुपर्छ ।
तीजलाई भड्किलोभन्दा पनि संस्कृतिको रुपमा मनाउनु आवस्यक छ । सबैजनाले आफ्नो परिस्थिति हेरी घाँटीअनुसार हाड निल्नुपर्छ । कलाकारले पनि कलाको सम्मान गर्दै गित गाउदा पर्वहरुको संरक्षण गरी मौलिकता झल्काउनु पर्छ । तीजका भाका महिलाहरूलाई टेवा दिने खालका हुनुपर्छ, लज्जित गराउने होइन । कसैको देखासिकी नगरीकन सबैले आ-आफ्नो हैसियतअनुसार रमाइलो गर्दा चाडपर्वहरूलाई झनै रौनकमय बनाउन सकिन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।