नेपाली साहित्यको वर्तमान परिप्रेक्ष्यमा आख्यान विधाअन्तर्गतको उपन्यास, कथा, निबन्ध र यात्रानिबन्ध (नियात्रा, यात्रासंस्मरण आदि) मध्य सङ्ख्यात्मक रुपमा थोरै लेखिने र पुस्तकाकारमा पनि थोरै प्रकाशित हुनेमा पर्दछ उपन्यास । उपन्यासलाई लामो साहित्यिक कथा र यसलाई चरित्रप्रधान गद्य महाकाव्य पनि भनिन्छ । अर्थात् उपन्यास कथाको बृहत् रुप हो, जसलाई विभिन्न अध्यायहरूमा विभक्त गरिएको हुन्छ । सायद त्यसैले पनि होला उपन्यासलाई धारावाहिक रुपमा प्रकाशन गर्ने चलन पनि छ तर त्यो हाम्रो नेपाली साहित्यिक परिवेशमा अत्यन्त न्यून मात्र पाइन्छ । हामीकहाँ भने उपन्यास सङ्ग्रहकै रुपमा प्रकाशित भएपश्चात् मात्र पाठकको हातमा आइपुग्छ ।

वर्तमान नेपाली साहित्यमा उदीयमान लेखिकाको रुपमा परिचित कल्पना खरेलको नविनतम् उपन्यास “रानीतलाउ” यसै वर्षको गत असार महिनामा प्रकाशित भएको छ । यद्यपि यसले घुम्टोउघारी (विमोचन) को साइत अझै पाइसकेको छैन तापनि मेरो हातमा भने आइपुगेको छ । यो उनको तेस्रो उपन्यास हो । यस पूर्व उनका दुई उपन्यास – समलिङ्गी सम्बन्ध र लभ इन् जेरुसलेम तथा रागीनी शीर्षकको कथासङ्ग्रह प्रकाशित भइसकेका छन् । यसको अलावा क्षितिजपारिका शब्दहरू (गीतिसङ्ग्रह) पाठक सामु आइसकेको छ । प्रारम्भमा गीतकार र कथाकारको रुपमा परिचित खरेल अहिले हरेक दुई वर्षको अन्तरालमा उपन्यास प्रकाशित गरेर उपन्यासकारको रुपमा देखा परेकी छन् । उनको यो उपस्थिति महत्त्वपूर्ण ठहर भएको छ ।

साहित्यका विधामा चाहे त्यो कथा, उपन्यास, कविता, नाटक, निबन्ध आदि जे भएन तापनि तिनमा उल्लेखित काल्पनिक पात्रहरू नै सजिव पात्रको प्रतिनिधि हो । तिनै काल्पनिक पात्रहरूको माध्यमबाट हाम्रो समाजको चरित्रचित्रण गरिएको हुन्छ, समाजलाई उजागर गरिएको हुन्छ र जीवनलाई स्पर्श ।

काठमाडौंको रानीपोखरी र पाल्पाको रानीमहल आफैंमा चर्चित र जीवन्त ऐतिहासिक धरोहर हुन् । यी दुवैले पाएको ख्याती नेपालगञ्जको रानीतलाउले नपाएको होला तर कल्पनाको रानीतलाउकै शीर्षकमा लेखिएको उपन्यासले रानीतलाउको चिनारी र ख्यातीलाई अब केही हदसम्म भए पनि बढावा दिनमा मद्दत मिल्छ भन्ने कुरामा मतभेद हुन सक्तैन । उपन्यासकार कल्पनाले नेपालगञ्जस्थित रानीतलाउकै सेरोफेरोमा रहेको समाजको जातीय, धार्मिक, भाषिक, सांस्कृतिक, आर्थिक र सामाजिक अवस्थाको चरित्रचित्रण गरेर उपन्यास सिर्जना गरेकी छन् । रानीतलाउलाई केन्द्रविन्दुमा राखेर बहुजाति, बहुभाषी र बहुसंस्कृतिका साथै जाति, धर्म, संस्कृति, परम्परा, मूल्य र मान्यता आदि मुख्य विषय बनाएर लेखिएको यस उपन्यास पूर्णतः आञ्चलिक हो ।

रानीतलाउ वरिपरि विविध जाति, भाषा र परम्परा भएका मानिसहरूको बस्ती छ । त्यस बस्तीभित्रका किशोर–किशोरीबीचको प्रेम नै उपन्यासको प्रमुख विषय बनेको छ । उपन्यासका सबै पात्रहरूमार्फत् जाति, भाषा, धर्म, कर्म, संस्कृति, माया पिरती, जीवन र जीवन भोगाइका अनेक पाटाहरूको सविस्तार उल्लेख गरिएको छ । एक हिसाबले भन्ने हो भने उपन्यासका सबै पात्रहरू जीवन्तजस्तै लाग्छन् । उपन्यास यौटा अविरल बग्ने नदीझैं सलल बगेको छ । अन्तरजातीय प्रेम, विविध धर्म, किशोरावस्था, मिलन, बिछोड, आपसी सदभावका साथै कलह र संघर्ष आदि विषय उपन्यासको विशेषता हो । रानीतलाउ वरिपरि अवस्थित समाज जहाँ धर्म, जाति, भाषा र सांस्कृतिक परम्परा मिश्रित रहेको छ, त्यो समाजका किशोर किशोरीबीचको आपसी माया पिरतिको कथामा उपन्यास र त्यस समाजको सामाजिक परम्परा र धर्मको कारण दुई भिन्न धर्मका किशोर–किशोरीबिचको प्रेम कथा र गाथाले उपन्यास कौतुहलपूर्ण र रोचक बनेको छ ।उपन्यासका पात्रहरूको चरित्र र उनीहरूको किशोरावस्थाको चञ्चलता, प्रेमभाव र मनोदशालाई राम्ररी चित्रण गरिएको छ । उपन्यासकार खरेलको कल्पना शक्ति र सरल शैलीमा लेख्न सक्ने क्षमता उपन्यासमा प्रष्ट भएको छ । भाषा शैली सरल छन् । भन्न खोजेको कुराहरूमा कतै पनि द्विविधा पाइन्न ।

दिव्य गिरी

रानीतलाउको छेउछाउबाट प्रारम्भ भएको उपन्यास अन्ततः कैलालीको चिसापानीसम्म पुग्दछ । उपन्यासकी प्रमुख पात्र वा नायिका रेखाको किशोरावस्था र उनले आमाबाट सुनेका आफ्नै जीवनकथाहरूबाट प्रारम्भ भएको उपन्यास विद्यालयदेखि कलेजसम्मका विविध घटना, परिस्थिति, प्रेम प्रसङ्गमा उठेका अनेक प्रश्नहरू, पारिवारिक अवस्था, अन्तरजातीय प्रेम र विवाहका बारेमा देखिएका अनेक मतभेद, भागी विवाह, आफूले चाहेकी केटीको निम्ति युवाहरूबिच भएको कुटपिट, गरिबीको कारण पढाई छोडेर देह व्यापारमा लाग्नु परेको बाध्यता, छोरीको निम्ति अन्तरजातीय विवाह समेत गरिदिने परिवारको विवशता आदिभित्रको सेरोफेरोमा उपन्यास अघि बढेको छ । हिन्दुकी नवजात शिशुलाई मुस्लिम धर्मकी फरिदाले दूध खुवाएको प्रसङ्गले मातृहृदयलाई कुनै पनि धर्म र जातिको बन्देजले रोक्न सक्तैन भन्ने सन्देश छ । त्यसैगरी आफ्नी दिदी–बहिनी नभएको कारण अन्य जातकी नारीबाट राखी बाँधिएको घटना पनि रोचक छ ।

मिश्रित समाजमा अन्तरजातीय सम्बन्ध र प्रेम हुन्छ भन्ने मूल धारणालाई उपन्यासले विस्तृत घटना र परिघटनामा उल्लेख गरेको छ । उपन्यासमा पिङ्की, लतिफ, बब्लु, रेखा, बुँदनी, सायता, रोशन, रन्जन, प्रशान्त, दीपक, महिमा, अनिता आदि पात्रहरू छन् र तिनीहरूकै चाहना, इच्छा र प्रेमको वरिपरि बाँधिएको छ उपन्यास । समाज वा परिवारमा आर्थिक नै सबैभन्दा ठूलो विषय बनेको । गरिबीकै कारण पढाइमा अब्बल भएर पनि चाँदनी देह व्यापारमा होमिन बाध्य हुन्छे भने लतिफ पनि रिक्सा चलाउन ।

अन्तरजातीय किशोरकिशोरीबिच एकआपसमा मायापिरती गर्ने पिङ्की र लतिफ अनि रेखा र बब्लुको जीवनमा अनेक मोडहरू आउँछन् । पिङ्कीलाई मातापिताले भारतमा बिहे गरिदिने निश्चित भएपछि पिङ्की र लतिफलाई भगाउनमा रेखाले प्रत्यक्ष भूमिका निभाउँछे । अन्ततः दुई वर्षपछि पिङ्की र लतिफ घर फर्किन्छन् । उनीहरूलाई स्वीकार्न बाध्य हुन्छन् उनीहरूको परिवार । त्यसै गरी पिङ्कीलाई मन पराउने रन्जन र लतिफबीच पिकनिकबाट फर्किदा कुटाकुट हुन्छ र पिङ्की लतिफसँग भागेपछि रन्जन दिन–रात रक्सीमा डुब्न थाल्छ । त्यसैगरी रेखा र बब्लुबीच विवाह गरिदिन रेखाको परिवार राजी हुन्छन् तर रेखाकी हजुरआमाको अकस्मात भएको निधनले उनीहरूको विवाह रोकिन्छ । यसैबीच बब्लु विवाह नै नगरी वैदेशिक रोजगारको निम्ति जापान जान्छ । जापानबाट पठाएको पैसाले उसको पनि राम्रो घर बन्छ । त्यो देखेपछि रेखाकी आमा बब्लुसँग छोरीको विवाहप्रति बढी सकारात्मक हुन्छिन् । तर दुर्भाग्य कि बब्लु नेपाल फर्किनुभन्दा पहिले नै हृदयघातबाट उसको निधन हुन्छ । अन्तमा रेखाप्रति एकोहोरो माया गरिरहने प्रशान्त रेखालाई स्वीकार्ने प्रस्ताव राख्छ र उपन्यास यतिकैमा समाप्त हुन्छ ।

हाम्रो देशमा वैदेशिक रोजगारमा जाने युवाहरूको विदेशमा अकस्मात मृत्यु हुने गरेको विषयलाई उपन्यासमा लेखिकाले ज्वलन्त रूपमा प्रस्तुत गरेकी छन् । यो सत्य घटनासँग सम्बन्धित छ । कल्पनाले उपन्यासमा वर्णन गरेका विविध घटनाक्रमलाई नियाल्दा यौटा प्रसङ्ग चाहिँ नमिल्दो देखिएको छ, त्यो के हो भने प्रसिद्ध घोडाघोडी तालको किम्बदन्तिअनुसार विष्णुको श्राप पाएर लक्ष्मी घोडी भएर तालमा बसेपछि विष्णु धेरै समयसम्म एक्लै बसे । एक दिन ब्रह्माजीले विष्णुसँग लक्ष्मी खै भनेर सोधेपछि विष्णुले ध्यानदृष्टिले हेर्दा विष्णुको नाम लिँदै लक्ष्मी घोडीको रुपमा तालमा बसेर तड्पिरहेको देख्छन् र विष्णु स्वयम् घोडाको रुप धारण गरी त्यही तालमा जान्छन् भन्ने प्रसङ्ग छ । यहाँ अलिकति नमिलेको प्रसङ्ग के भने विष्णु स्वयमले श्राप दिएपछि लक्ष्मी घोडीको रुपमा परिणत भई तालमा बसेको कुरा विष्णुलाई थाहा नहुने भन्ने होइन । उनले लक्ष्मीलाई ध्यानदृष्टिले हेर्नुपर्ने थिएन । बरु ब्रह्माले नै ध्यानदृष्टिले हेरेको भन्ने प्रसङ्ग राखेको भए सान्दर्भिकता मिल्थ्यो भन्ने मात्र मेरो धारणा हो ।

जे होस् लेखनमा जो कोहीको पनि केही कमी कमजोरी हुन्छन् तर त्यसलाई गौण मान्नु पर्दछ । समग्रमा उपन्यासले रानीतलाउको प्रतिनिधित्व गरेको छ । अन्तरजातीय प्रेम, विवाह, मिलन, विछोड र पुनर्मिलनका कथाहरूलाई विस्तृत रुपमा अभिव्यक्त गरिएको छ । मञ्जरी प्रकाशन गृहले प्रकाशित गरेको यो उपन्यास दुईसय अठासी पृष्ठको छ । नयनाभिराम आवरण र सुन्दर छपाईको कारण पनि उपन्यासको गुणवत्तामा खोट लगाउने ठाउँ छैन ।

कवि एवम् नियात्राकार डा.दामोदर पुडासैनी “किशोर” ले उपन्यासलाई साङ्गोपाङ्गो केलाउनु भएको छ । पुडासैनीकै शब्दलाई उद्धृत गर्दछु ➽ ‘रानीतलाउ यथार्थवादी उपन्यास हो । सशक्त कथाशैलीले उपन्यास सफल बनेको छ । बोलीचालीका शब्द प्रयोग र सरल रेखामा अघि बढ्ने भाषाशिल्पका कारण कल्पना खरेलको उपन्यास लेखनीले धेरै शुभ सङ्केत देखाएको छ …’ (पृष्ठः ११) । यसबाट पनि थाहा पाउन सकिन्छ कि खरेलको उपन्यास लेखनी ।

‘नेपालगञ्जको केन्द्र मानिने रानीतलाउलाई विम्ब बनाएर लेखिएको रानीतलाउ उपन्यास त्यहीँको परिवेशको शब्दगुच्छाको माला हो ।’ लेखिकाकै कलमले लेखेका यी वाक्यहरूले बताउँछ कि यो उपन्यास के हो भन्ने ।

अन्तमा उपन्यासकार कल्पना खरेलको यस उपन्यासले अवश्य पनि पाठकको ध्यान आकृष्ट गर्नेछ र नेपाली साहित्यको भण्डारमा विशेष गरी उपन्यास विधामा यसले अवश्य पनि महत्त्वपूर्ण योगदान पुर्याउनेछ भन्ने विश्वास छ । उपन्यासकार खरेलको आगामी लेखन अझ सशक्त बन्दै जाओस् । हार्दिक बधाई तथा शुभकामना ।