त्यो शहरको तीन तले बिल्डिङको तेस्रो तलामा एउटा पुस्तक पसल उसले देखेको धेरै वर्ष अघिको कुरो हो । त्यहाँ धेरै प्रकारका पुस्तकहरू उसले देखेको र सात वटा पुस्तक किनेको पनि थियो । त्यही पसलको नाम हो न्यु बुक्स हाउस । उसलाई अझ पनि राम्ररी थाहा छ, त्यस पसलको नाम । अहिले ऊ त्यही पुस्तक पसल भएको शहरमा आइपुगेको छ, स्थानान्तर भएर । उसले सर्वप्रथम त कुनै दिन त्यही पुस्तक पसलमा गएर केही नयाँ पुस्तकहरू किन्ने विचार ग-यो ।
एक आइतबार झमक्क साँझ परेपछि ऊ त्यो पुस्तक पसलतर्फ लाग्यो । बिल्डिङको सिँढी उक्लेर ऊ तेस्रो तलामा पुग्यो । ऊ त्यहाँ साढे छ बजेतिर पुगेको थियो । तर तेस्रो तलाका दोकानहरू सबै बन्द र अन्धकार थिए । त्यो पुस्तक पसलमा मात्र बिजुली बत्ती जलिरहेको थियो । त्यो पसल खुल्लै थियो । सायद आइतबार भएर अन्य पसलहरू बन्द भएको जस्तो लाग्यो उसलाई । ऊ त्यहाँ पुग्यो तर पसलमा कोही पनि थिएनन्। पसलमा झुन्डिएका र ताकमा राखिएका
पुस्तकहरूमाथि उसका आँखाद्वय अड़िएका थिए ।
“भित्र कोही हुनुहुन्छ ?” उसले सोध्यो तर जवाफ आएन । सायद पुस्तक विक्रेता बाहिर गएको होला भनी उसले सोच्यो । केहीबेर पर्खने विचार गरी टेबलमा सजिएका पत्रिकाहरूको समूहबाट एउटा पत्रिका निकालेर पढ्न थाल्यो ।
केही क्षणपछि एउटी युवती त्यहाँ आई अनि उसलाई राम्ररी हेरेर पसलको भित्रपट्टि भएको कोठामा पसी । त्यो युवती बाहिर निस्केर उसलाई के चाहियो भनी सोध्ने छे भनेर उसले सोचिरहेको समयमा झ्यापझ्याप दाह्रीजुँगा भएको अधबैँसे व्यक्ति आएर उसलाई राम्ररी हेरेर केही नबोली पसलभित्रको कोठामा पस्यो; जहाँ केहीबेरअघि युवती पनि पसेकी थिई।
उसले बोलायो –“दाजु!”
अचानक युवतीको पीड़ामय चीत्कार सुनियो। ऊ झसङ्ग भयो । त्यहाँ बस्न उसलाई उचित लागेन । पढ्दै गरेको पत्रिका टेबलमा राखेर ऊ त्यहाँबाट जान लागेको बेला भित्रबाट आवाज आयो । त्यो पुरुष आवाज थियो ।
“भाइ, एकछिन ल।”
फर्केर भित्रपट्टि हे-यो उसले र भनिपठायो, “हवस् दाजु !”
“एकछिन पर्खनुहोला,” त्यो पुरुष आवाज फेरि आयो ।
पर्खाइको दस मिनट बितिसक्दा पनि त्यो पुरुष बाहिर आएन । उसलाई भने अझै पर्खिनु कि फर्किनु भइरह्यो । यत्तिमा भित्रबाट नै त्यो पुरुष बोल्यो, “सरी भाइ,तपाईंलाई पर्खाएँ । तपाईंलाई कुन पुस्तक चाहिन्छ छान्दै गर्नुहोस् । नत्र यहाँ भित्रै आउनुहोस्। यहाँ पनि धेरैवटा नयाँ पुस्तकहरू राखेको छु । आउनुहोस् भित्रै।”
“हुन्छ,” भनी ऊ पनि कोठाभित्र पस्यो तर पसलको भित्री कोठाको हृदय विदारक दृश्य देखेर ऊ झण्डै अचेत भयो । भित्रपट्टि भुइँमा त्यो युवती रगतपच्छे भएर छटपटाइरहेकी थिई अनि त्यो पुरुष भने घाँटीमा पासो लगाएर सिलिङको पङ्खामा झुन्डिरहेको थियो । भुइँ युवतीको रगतले रङ्गिएको थियो ।
ऊ त्यहाँबाट कहालिँदै भागेर बिल्डिङको सिँढीबाट ओह्रालो झर्दा सिँढीमा नै लडेको थियो । त्यसपछि के भयो उसलाई केही थाहा छैन तर आँखा खोलिँदा आफूलाई सरकारी अस्पतालको सर्जिकल वार्डमा पायो उसले । चोट लागेकोले ब्याण्डेज लगाएर बाँधिएको थियो उसको टाउको । दुखिरहेको थियो त्यो चोट । कम्मर पनि दुखिरहेको थियो उसको । जघन्य हत्या र आत्महत्या देखेर उसको मन-मस्तिष्कमा खल्याङमल्याङ मच्चिरहेको थियो । उसको आङ पनि सिरिङ सिरिङ भइरहेको थियो ।
त्यो पुस्तक पसलमा किन त्यसरी त्यो युवतीको हत्या र त्यो व्यक्तिको आत्महत्या घटित भए? भन्ने प्रश्नले उसलाई टोकिरहेको थियो। “कतै पुलिसले मलाई नै पक्राउ गर्ने त होइन,” भन्ने आशङ्काबोधले ऊ भित्रभित्रै भयग्रस्त पनि थियो ।
“कस्तो हुनुहुन्छ अहिले ?” यस प्रश्नले ऊ झस्कियो । एकजना अचिनारु व्यक्तिको प्रश्न थियो त्यो ।
“हजुर! तपाईं?” ऊ बोल्यो ।
“मेरो नाम श्याम छेत्री हो। तपाईं जुन बिल्डिङको सिँढीमा लडेर टाउको फुटी बेहोस हुनुभएको थियो; मेरो त्यही बिल्डिङको दोस्रो तलामा एउटा सानो दोकान छ । तपाईंलाई सिँढीमा बेहोस भएको देखेर मैले नै मेरा सहयोगीहरूको सहायताले तपाईंलाई अस्पतालमा उपचारको निम्ति ल्याएको थिएँ। ” त्यो अचिनारु व्यक्तिको कथनपछि ऊ मौन बस्यो । मनभित्रको खलबलीले उसले कृतज्ञता ज्ञापन गर्न पनि बिर्सियो ।
“तपाईं नि, कहाँबाट आउनुभएको यहाँ ?” त्यो व्यक्तिले सोध्यो।
“ज्यु, म सेन्ट्रल ब्याङ्कमा काम गर्छु र हालैमा ट्रान्सफर भएर यहाँ आएको । मेरो नाम अविनाश गुरुङ हो । मेरो घर दार्जिलिङमा छ। ” उसले जवाफ दियो ।
“तर त्यस बिल्डिङमा चैँ किन जानुभयो?” त्यो व्यक्तिले पुन: सोध्यो ।
“केही वर्षअघि म यहाँ घुम्न आएको थिएँ । त्यति बेला त्यस बिल्डिङको तेस्रो तलामा भएको त्यो पुस्तक पसलबाट पुस्तकहरू किनेको थिएँ । यस पल्ट पनि म त्यहाँ पुस्तक किन्न गएको थिएँ,” उसले स्पष्टीकरण दियो ।
“हँ ! त्यो न्यु बुक्स हाउसमा ?” चकित भएर त्यो व्यक्तिले सोध्यो।
“हजुर। त्यहाँ खुबै राम्रा अनि नयाँ पुस्तकहरू पाइन्छन्। म त्यही गएको थिएँ,” उसले जवाफ दियो ।
“त्यति बेला त्यो पुस्तक पसल खुल्लै थियो?” त्यो व्यक्तिले फेरि सोध्यो।
“हजुर, खुल्लै थियो।” उसको जवाफ।
“यो हुनै सक्दैन।” त्यो व्यक्ति बोल्यो ।
“किन?” उसले सोध्यो।

[bs-quote quote=”तपाईं भाग्यले बाँच्नु भएछ । अन्धकार भएपछि त्यस तलामा कोही पनि जाँदैनन् । त्यहाँ धेरै तर्साउँछ साँझ परेपछि । त्यस तलामा भएका अन्य पसलहरू पनि दिउँसोको तीन बजेपछि सबै बन्द भइहाल्छन् ।” style=”default” align=”left” color=”#dd9933″][/bs-quote]

“धेरै वर्ष भइसक्यो त्यो पसल बन्द भएको । तर त्यस दिन त्यो पसल मात्र चैँ कसरी खुल्लै थियो ?” त्यो व्यक्ति केही चकित भएर बोल्दै थियो ।
“हजुर, त्यो पसल मात्रै खुला थियो।” त्यसपछि उसले त्यहाँ घटित हत्या र आत्महत्याको घटनाबारे सबै बतायो । त्यो सुनेर आफ्नो टाउकोमा दुवै हात राख्यो त्यो व्यक्तिले। श्याम छेत्री नाम भएको त्यस अपरिचित व्यक्तिको मुखमुद्रालाई नियाल्यो उसले । आश्चर्यचकित थियो त्यो मुखमुद्रा ।
“त्यति बेला तपाईंले जुन घटना देख्नुभयो; वास्तवमा त्यो त्यस दिनको घटना होइन । धेरै वर्षअघिको घटना हो । छोरीको हत्या भएको र बाबुले आत्महत्या गरेको घटना हो त्यो । तर छोरीको हत्या कसले ग-यो ? अनि बाबुले किन आत्महत्या ग-यो ? यी प्रश्नको जवाफ आजसम्म थाहा पाउन सकिएको छैन । तर तपाईंको बयानबाट बाबुले छोरीको हत्या गरेपछि आफूले पनि आत्महत्या गरेको सूत्र थाहा पाइयो । तर बाबुले किन त्यसो ग-यो ? त्यो किस्साबारे अनुसन्धान गरिनुपर्ने सङ्केत पनि पाइयो । वास्तवमा तपाईंलाई त्यहाँ तर्साएछ । तपाईं भाग्यले बाँच्नु भएछ । अन्धकार भएपछि त्यस तलामा कोही पनि जाँदैनन् । त्यहाँ धेरै तर्साउँछ साँझ परेपछि । त्यस तलामा भएका अन्य पसलहरू पनि दिउँसोको तीन बजेपछि सबै बन्द भइहाल्छन् । त्यो न्यु बुक्स हाउस अहिले हन्टेड बुक्स हाउस भएको छ। साँच्चै,भाग्यले बाँच्नु भएछ तपाईं।”
त्यस व्यक्तिको कुरा सुनेर अहिले पो उसको आङ फुलिएर आयो । टाउकोमा लागेको चोटको दुखाइ बढ्यो । कम्मरको व्यथा पनि तीव्र भएको अनुभव भयो । मुटु जोड़ जोडले ढुकढुकियो। त्यसपछि बिस्तारै ऊ बेहोस भयो ।