हामी २० औँ शताब्दी सकेर एक्काइसौँ शताब्दीको शुभराम्भ प्रियडमै छौँ भन्दा कसैको आपत्ति नहोला । तर नेपालको हिसाबमा भन्ने हो भने हामी वि.सं. २१०० को नजिकमा छौँ । हिजोको शताब्दीहरुले अनेकौँ रोग व्याधीहरु भोगे कति लेखोटमा रहे , कति रहेनन् त्यो समयसापेक्ष रह्यो । विश्व जगतलाई हेर्दा त ईसापूर्व ८ हजार वर्ष पहिले विफरबाट सुरु भएको पाइन्छ । त्यो समयमा करोडौँको मानवीय क्षति भएको पाइन्छ । अन्य महामारीहरु आउनेजाने क्रम भए नि उती वास्ताका साथ चासो गरेको पाइन्न । नेपालमा पनि औल लाग्ने, हैँजाजस्ता अनेकौँ माहामारी आए । तर यो शताब्दीमा यसअघि अनेकौँ महमारीको झल्को आए पनि विश्वका मानव जगतलाई अलासतलास बनाउन सकेन। तर जब २०१९ मा चिनको वुहानबाट कोभिड १९ नामको १९ वर्षे तन्नेरीले संसारै हावाकावा बनाइदियो । त्यो तन्नेरी आफ्नो दलबलसहित विश्व यात्रामा निस्कियो । त्यो यात्रा अनेकौँ छेकबारका बाबजुत पनि नेपालमा २०७६, चैत ११ मा प्रवेश गरेरै छाड्यो र सेवा सुवधाले सम्पन्न, म संसार हाँक्छु भन्ने साम्राज्यलाई घुँडा टेकाएको कोभिड, कोरोनाले हाम्रो जस्तो जाली फटाहाहरुलाई संगठित गराउँदै राजनीतिले हाँकेको देशलाई त थिलथिलो नबनाउने कुरै भएन । कोरोनाले देशमा पाइला राख्ने बित्तिकै नेपाललाई पुरापुर अपाङ्गजस्तो बनाइदियो र घरमै थन्काइदियो । झण्डै तहसनहसकै अवस्थामा पुराइदियो । त्यो बेला दैनिक सयौं सङ्क्रमित र बढ्दो मृत्युदरको समाचारहरुले वैराग्यता र नैराश्यतातर्फ धकेलिरहेको थियो । लगभग २, ३ महिना त दुनियाँको मै हु भन्ने हुङ्कारवालाहरुलाई नि एउटा पराकाष्ठाको छिडीमा थन्काइदियो ।
दम्भ, अहङ्कार, प्रतिसोध के हो भन्ने कुरा पनि कोभिडले राम्रै परिभाषित गरिदियो । रोग, भय भन्ने कुरो त सबैभन्दा उदारवादी हुँदा रहेछन् । ऊ त सबैलाई समान व्यवहार गर्दो रहेछ । न आफ्नो, न बिरानो ?, न धनी, न गरिब ?, न ठूलो न सानो ? यी चिजहरुको असर र प्रभाव समान हुने । मान्छेहरुभन्दा कत्ती गुना मितव्ययी व्यवहार ? कत्ती भेदभावरहित ? सानो उदाहरण नै लिम न , गाउँमा केही छैन सब सहरमा छ भन्दै गाउँको रुखोपाखो बेचेर सहरमा करोडौँको महल बनाएर बसेकाहरु पनि चैत ११ पछि त त्यही गाउँमा फर्केको हो नि ? तब हामीले के ठूलो कुरा गर्नु ? अझ यसो पनि भनौँ ठूलठूलो रोगव्याधीले त हामीलाई पर्यावरणतिरै फर्क त भन्दो रहेछ । कोरोना भएको छ कि छैन भनेर हामी धेरैले तितेपाती खोजी खोजी, नभेटे जंगल गएर ल्याएर नि सुँघेका छौँ । हामी मानिस साना साना कुरामा सङ्किणता पालेर बसेका हुन्छौँ । मानिस कति क्रुर रहेछौँ ?, भन्ने कुरा पनि कोभिड प्रियडमै हेर्यौँ । हामी एकपल्ट कोभिडको समयलाई नियालौँ न हाम्रो पर्यावरणको सुन्दरता कति सुन्दर थिए ? उत्तरतिरका हिमालहरु, पहाडका हरियालीहरु र तराईतिरका समथर भुभागहरु कन्चनता थियो । तर कोभिडको लकडाउन समाप्तीसङ्गै वातावरणमा आएको प्रदूषणले देखाइदियो मानिस कति लालची हुँदा रहेछौँ ? लकडाउनपश्चात् वनविनासमा, चुरे दहन, खोलानालामाथिको आक्रमणजस्ता कुरामा सक्रिय देखिए । यसको मतलव हामी प्रकृति विनासमा बारम्बार आक्रमण गरिरहेका हुन्छौँ ।
जजसले कोरोनाको लकडाउनलाई जसरी बुझे पनि, भोगे पनि कवि कलाकार तथा सर्जकहरुको निम्ति महत्त्वपूर्ण टर्निङ पोइन्ट बन्यो । पट्यार लाग्दो अनि त्रादसीपुर्ण लकडाउनमा विद्वत्वर्ग र अध्येताहरुले मत्त्वपूर्ण कामहरु गर्ने समयको रुपमा लिए । जीवन कहालीलाग्दो त्यो क्षणबाट उन्मुक्त हुन, विश्व जगतले भोगेको त्यो कठिनतालाई सहजता बनाउन कवि, लेखक, अध्येता र अभियानताहरुले विविध आयाम र अभियानहरु सन्चालन गरे । विफरजस्ता अन्य महामारीहरुमा यस्ता कामहरु भए भएन त्यो खोजीको विषय हो, त्यो समयमा अहिले जस्तो प्रविधिको पहु्ँच नहुनुको पीडा छँदै थियो । तर कोरोना कहरमा केही रचनात्मक कामहरु भए । कला र सिर्जनाहको क्षेत्रमा त उल्लेख्य । जस्तै: काठमाडौबाट क्वारेन्टाइनमा कविता (कवि: श्रवण मुकारुङ) , लकडाउनमा सिर्जना शृङ्खला ( स्वर्णिम साहित्य समाज), जेफाले सिर्जना डबली (युवराज ठकुरी), शब्द दृष्य (एकराज थापा) लगायत ऊ बेला नाम कहलिएका भचुर्अल साहित्यिक अभियानहरु हुन् । कतिपय अभियान दस्तावेजीकरण भइसकेको छ भने कतिपय चाहिँ अहिले पनि निरन्तर चलिरहेको छ । जेफाले सिर्जना डबलीले त आफ्नो पचासौं विशेष अङ्क (जेफाले सिर्जना उत्सव–२०७८) मनाइसकेको छ । त्रादसी र वैराग्यको मनोविज्ञानबाट सिङ्गो मानव जातिलाई उन्मु्क्त गराउन यस्तै प्रविधिमैत्री अभियानहरु देखिने क्रममा अलिपछि आकालझुक्कल “साहित्यपोस्ट” र त्यसका केही खुराकहरु नि देखिन्छ । अभियानहरु छ्यास छ्यास्ती भएकोले सुरु सुरुमा अरु जसरी नै हेरिन्छ, देखिन्छ । तर जब “पोष्टर कविता” साप्ताहिक रुपमा सामाजिक सन्जाल फेसबुकमा भेटिन्छन् , तब “साहित्यपोस्ट”को चियोचर्चा सुरु हुन्छ । त्यसभित्रका मरमसलाहरुको खोजी चासो उहीँ रफ्तारमा बढ्छ । अनि त “पोष्टर कविता”ले साहित्य पोष्टको उचाइलाई सगरमाथामै पुराइदिएको महसु्स सबैमा हु्न्छ । कवितामा नयाँ पुस्ता केही नयाँपन खोजिरहेका थिए, जुन साहित्य पोष्टमार्फत “पोस्टर कविता”ले पूरा गरिदियो । पोष्टर कवितामा देशकै कहलिएका मै हुँ भन्ने कविहरु पनि लोभिए । देशका प्रख्यात कविहरुले पनि पोष्टर कवितामा आफ्नो कविता छापेका छन् । अनि सबैको ध्यान त्यतै केन्द्रित भयो । यसका सम्पादक कवि “रवि रोदन”लाई पोष्टर कविताका पाठक र प्रेषकहरुलाई सम्हाल्न धौ धौ परेको हुनुपर्छ । सर्जकमा धैर्यता हुन्छ, विवेकपूर्ण ढङ्गले काम गर्छन् त्यसकै उदाहरण होला प्रेषकहरुको चापलाई जसोतसो रवि रोदनले व्यवस्थापन गरे । अहिले यो विशेष अङ्क स्थगित छ । पाठकहरु यसको स्वाद फेरि चाहिरहेका छन् ।
कान्तिपुर दैनिकको जागिर छाडेर नेपाली साहित्यको उन्नयनमा केही नयाँ ढङ्गले काम गरौँ भनेर पत्रकार एवम् साहित्यकार अश्विनी कोइरालाले २०७७ साल बैशाख २५ गते, बुद्ध जयन्तीका दिन अवसर पारेर ‘साहित्यपोस्ट’को शुभराम्भ गरे तर कोरोना कहरको कारण भने जति काम गर्न नसकेको बताउँछन् । अझै प्रतिशत काम बाँकी नै रहेकाले साहित्य पोष्ट अरु परिष्कृतरुपमा आउने विश्वास दिलाउँछन् कोइराला । “हामी भिडमा विश्वास गर्दैनौँ….। साहित्यपोस्टको यो सारागर्भित भनाई अझ नाराभन्दा नि अरु अर्थ नलाग्ला । यसले राम्रै छाप छोड्यो, नेपाली साहित्याकासमा । उनकै अनुभव सुन्ने हो भने सुरुवाती समयमा साहित्यपोस्ट हेर्ने मान्छे अति कम थिए । तर जब चौघेराहरु फराकिलो बनाउँदै गए तब साहित्यपोस्ट नहेरी नसक्ने अवस्थामा नेपाली साहित्यका पाठकहरु पुगेका छन् । भिडमा विश्वास नगरे पनि अब साहित्यपोस्टलाई भिड थाम्न हम्मे हम्मे पर्ने छ । त्यो विश्वासको भिड हुने भएको हुनाले सस्तो लोकप्रियता र अराजक हुनेछैन । त्यो भिडलाई बरु गर्व गर्ने ठाउँ हुनेछ । अनलाइन म्याग्जिनको निम्ति यो अविश्वसनीय उपलब्धी हो । त्यो विकराल महामारीबाट सुरु भएको अभियान यो गतिमा तीव्रता लिने अभियान अथवा कदम साहित्यपोस्ट नै हो । उसको धैर्यता र वेग हेर्दा यो लहडले भन्दा जिम्मेवारीबोधसहित थालिएको कदम हो भन्दा कोही नहिच्किचाउलान् । साहित्य पोष्टको आजको यो लोकप्रियतामा केही कडीहरु छन् । त्यो हामीले भुल्नै हुन्न । प्रत्येक दिनलाई विशेष अङ्क हुने गर्दछ । जस्तै: आइतबार प्रवाश साहित्य, सोमबार विश्व साहित्य, मङ्गलबार आख्यान , बुधबार गैराअख्यान, बिहीवार कविता विशेष , शुक्रबार नयाँ पुस्ता र शनिबार कला (ललितकला, मूर्तिकला, सिनेकला र जीवनकलामा आधारित सामग्री ) विशेशाङ्क प्रस्तुत गरिन्छ । यो काम त्यति सहज छैन । यहाँबाट पनि प्रष्ट हुन्छ कि साहित्यपोस्ट नेपाली कला र साहित्यप्रति कति समर्पित छ भनेर ?
त्यसो त साहित्यपोस्टले नयाँ पुस्ता र कृतिलाई प्रोत्साहनको निम्ति हरेक वर्ष लेखकको डेब्यु २ बटा पहिलो कृतिहरूलाई ५०–५० हजारका दरले दुई जना लेखकलाई पुरस्कार दिइने गरेको छ । यस्तै हरेक साता नयाँ लेखकलाई हौसला दिन १–१ विधागत प्रतिस्पर्धा (यसअन्तरगत) लघुकथा, गजल, मुक्तक, बाछिटा, फोटो कविता प्रतियोगिता हुने गरेको छ । भावना मात्र हैन प्राक्टिस अझ यसलाई यसो भनौं व्यवहारिक रुपले पनि दृढ छ साहित्य पोष्ट । साहित्यपोस्टले धरर्मराएको साहित्यिक पत्रकारितालाई विश्वसनीयताको मानक बनाएको छ । यो चौतर्फी लगानीका साथ निरन्तर अघि बढीरहेको छ । हिम्मत गर्दै निरन्तरता दिने हो भने साहित्यपोस्ट अबको केही वर्षपछि आम साहित्यका पाठकको ढुकढुकी बन्नेमा दुइमत छैन । साहित्य पोष्टमा एउटा अभियान जस्तै थियो ‘पर्यावरणीय साहित्य’ त्यो अलि कम देख्छु । त्यो पनि पृथ्वी जगतका निम्ति अर्को जिम्मेवारी कदमको रुपमा लिन सकिन्छ । अहिले पर्यावरणसँग सम्बन्धित अनेकौँ अभियानहरु हुने गर्दछ उनीहरुसँग सहकार्य गर्ने हो भने यो अभियान अरु खुड्किलो पार गर्ने छ । योसङ्गै साहित्यपोस्टका लेखहरु/खुराकहरु खोजमुलक र सत्य र तथ्यपरक हुनुले पनि यसको गरिमा बढेको छ । नेपाली साहित्यमा हामीले अनुभूति गरेको गरिमा, मधुपर्क अनि राष्ट्रिय साप्ताहिकहरुले दिइने शनिबारे साहित्यिक अङ्कहरु आए पनि यसरी सबै खुराकहरु अटाउन्नथ्यो, अनेक अप्ठ्याराहरु उल्लेखित पत्रपत्रिकाहरुको छँदैछ । साहित्यपोस्ट दैनिक र अनलाइन भएकोले पनि यो कार्य अलि सहज भएको हुनसक्छ । दैनिकरुपमा विशेशाङ्कको निम्ति खुराकहरु खोजिमेली यो काम कम चुनौतिपूर्ण त कहाँ पो छ र ? साहित्यपोस्टले यी कठिनाइहरूलाई पन्छाउँदै नेपाली साहित्यका पाठकहरूलाई सन्तुष्टि दिने काम गरेको छ । त्यसकै उपज मान्नुपर्छ, विश्वभर रहेका नेपालीभाषी कवि-लेखकहरूको केन्द्र बनेको छ साहित्यपोस्ट, जसलाई साधुवाद नभनी सुख्खै छैन ।
अन्त्यमा, सुझाव दिनु र विरोध गर्नु जति मजा र आनन्द आउँछ ? तर आफूले गर्न जति अप्ठेरो केही छैन । यसर्थ ‘पोष्टर कविता’ विशेषाङ्क चाहिँ पुन: सुचारु भैदिए अरु सुनमा सुगन्ध हुने थियो भन्ने अपेक्षाका साथ आगामी दिनमा अरु भन्दै , लेख्दै गरौँला । फेरि पनि साहित्यपोस्ट र यसका माउते अश्विनी कोइरालाप्रति साधुवाद ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।