साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

फेरि बल्झियो खाटो बसेको घाउ

सेविका सुवेदी

भित्तामा झुण्डाइएको घडीले रातको बाह्र बजेको संकेत गरिसकेको छ । तर पटक्कै निद्रा छैन । निष्पट्ट अँध्यारो रात सुनसान छ । मनमा उठेका उथलपुथल छालहरुले शरीर रन्न तातिएको छ । झ्याल खोलेर टाउको बाहिर निकाल्छु, चिसो हावाले केही शितलताको महसुस हुन्छ तर बाहिर मात्र भित्रको सुनामी उस्तै छ, सुनसान सडक, आकाशका ताराजस्तै झिलिमिली बत्तीले सजिएको शहर टाढा टाढासम्म नियाल्छु । अहँ, कतै पनि आफ्नोपन भेट्दिनँ ।

निराशाको कालो बादल मडारिँदै आएर छोपेजस्तो चारैतिर अन्धकार देख्छु । पूरा नभएका सपनाले घच्घच्याएजस्तो, जिस्काएजस्तो । खै किन हो कुन्नी ? आफैँसँग हारेजस्तो ।

कोसिस गर्छु, साहस बटुलेर हाँस्ने । अहँ, सक्दिनँ । पटक्कै सक्दिनँ । फेरि नियाल्न पुग्छु, त्यही शहरलाई, लाखौँ मान्छे यिनै कंक्रिटका महलभित्र निसास्सिएका छन् । लाग्छ, मेराजस्तै लाखौँका सपना तुहिएका होलान् यही खाल्डोभित्र ।

bahulako diary small and inside post

आमा केही छिन निदाएकाले मनलाई केही सान्त्वना मिलेको छ । तर कता कता सहारा खोजिरहेछ । “तँ पीर नगर, म छु”, भन्ने मान्छेको अभाव महसुस भएको छ । अनायासै फर्कन्छु, त्यो बालापनमा ।

माटो र ढुंगाको सानो घर, जस्ताको छानो चिटिक्क थियो । आमाको मिहिनेत घर र करेसाबारीमा छर्लङ्ग देखिन्थ्यो । आँगनमा पाइला राख्नसाथ जोकोहीले आमाको प्रशंसा सुरु गर्थे;

सेविका सुवेदी

कति सफा घर !
सागसब्जी कस्तो राम्रो सप्रिएको !
फूल बगैँचा उस्तै सुन्दर ! आदि ।

पल्लो आँगनबाट बाजेले जवाफ फर्काउँथे, “यस्तो जाँगरिली आइमाई त यो गाउँमै छैन । यो रामे मोराको भाग्य बलियो रहेछ । अल्छे मोरो ! संगतले आजभोलि त अल्ली जाँगरिलो भाछ ।”

बाले जवाफ फर्काइहाल्थे, “हैन बाजे, म अल्छे भाको भए हजुरको तीन खला खेत कस्ले जोत्यो त ! एघार वर्षको उमेरदेखि यही माटोसँग खेल्या छु, हजुरका छोराले हलो समाएका छैनन् ।”

बाजे अलि शान्त स्वरमा जवाफ फर्काउँथे, “तँलाई मात्र जोताएको छु र मोरा ?” सबै हाँस्थे । आमा मुसुमुसु हाँस्दै भित्र पस्नुहुन्थ्यो ।

बा सबेरै उठेर खेत जानुहुन्थ्यो । आमा घरको सारा काम भ्याएर मलाई स्कुल पठाई बाको लागि खाना बोकी खेतमा जानुहुन्थ्यो । साँझ दुवै जना कहिले घाँस दाउरा त कहिले अन्नको भारी लिएर बाजेको पिँढीमा बिसाउँथे । पसिनाले निथ्रुक्क भिजेका कपडा शरीरमा लपक्क टाँसिएका हुन्थे । बाको तालुमा नाम्लोको डाम छर्लङ्गै देखिन्थ्यो । कुर्कुच्चा पट्पटी फुटेका हुन्थे । भारी बिसाएर लामो स्वास फेर्न नपाउँदै बज्यै बाँकी कामको लिष्ट भिराउँथिन् । आमा नसुनेझैँ गरी घरतर्फ लाग्नुहुन्थ्यो, बा त्यही भारीमाथि ज्यान ढलाएर घुर्न थाल्नुहुन्थ्यो ।

म पण्डित बाजेको आँगनमा खेलेर हुर्किएँ । साथीहरुले, “तिम्रो घर कुन हो ?”, भन्दा म त्यही घरलाई आफ्नो भन्दिन्थेँ । तेरो–मेरो, ठूलो–सानो, राम्रो–नराम्रो, कुनै भेद थिएन । सबै आफ्नो अनि सबैको प्यारो । बाजेको रुखो बोली, बज्यैको नमीठो गाली, सबै प्रिय लाग्थ्यो । मेरो नजरमा सबैभन्दा नजिकका साथी यिनै दुई थिए ।

म मस्त निद्रामा छँदा शंख र घण्टाको आवाजले ब्युझाउँथ्यो । जुरुक्क उठेर दगुर्दै बाजेको आँगनमा तुलसीको मोठ नजिक पुग्थेँ । दुवै हात जोडेर आँखा बन्द गर्थेँ । बाजेको नजर प–यो कि छैन ? बीचबीचमा आँखा खोलेर बाजेको अनुहारमा हेर्ने प्रयत्न गर्थेँ । लामा लामा जुँगाभित्रबाट मुख खोलेर मुसुमुसु हाँस्दै भन्थे, “यो लाटो रामेकी छोरी खुब बाठी छ, चलाख छ ।”

पूजा सकेपछि एक दुई रुपियाँका सिक्कासहित फलफूल मेरा हातमा आइपुग्थे । म फुरुङ्ग पर्दै भित्रतिर दौडन्थेँ, ठूलो शरीर, कालो वर्ण, ठूल्ठूला आँखा हेर्दा सक्कल डरलाग्दो देखिए पनि सायद मनका कोमल थिए होला बिहानै गाउँका मान्छे सहयोगको लागि हात पसार्दै आइपुग्थे ।
दैनिक स्कुलबाट फर्किएपछि बज्यैले बिहानको बचेको बासी भात दिनुहुन्थ्यो, कपाकप खान्थेँ । अनि भाडा माझ्ने, कुचो लाउने, पानी बोक्ने काममा बज्यैलाई साथ दिन्थेँ । मीठो–नमीठो, यो खान्छु, त्यो खान्छु भन्ने मौका कहिल्यै पाइनँ ।

कहिलेकाहीँ बाजेले कथा सुनाउनु हुन्थ्यो, ध्यान दिएर सुन्थेँ । मनमनै आफूलाई तिनै कथाको पात्रभित्र पाउँथेँ । कहिले आफू पनि त्यस्तै हुने कल्पनामा रमाउँथेँ त कहिले तिनै पात्रसँग विद्रोह गर्थेँ ।

बाजेसँग वन जान्थेँ । ठूल्ठूला रुखमा चढने हिम्मत गर्थेँ । कुनै काम गर्दिनँ, सक्दिनँ भन्ने बानी थिएन । त्यही भएर बाजे फुर्काइरहनु हुन्थ्यो ।

साँझ आमा फर्किएपछि मात्र घर जान्थेँ । दिनभरको कामको थकाई भए पनि आमा फेरि खाना बनाएर खुवाउनु हुन्थ्यो । उहाँको मुहारका कहिल्यै दुःख, निराशा र रिस देखिदैन थियो । बा चाहिँ रिसाइरहनुहुन्थ्यो, “यी शासकको कहिलेसम्म नोकर भएर बस्नु, जति काम गरे नि मीठो खान, राम्रो लाउन हाम्रो भाग्यमा लेख्या छैन क्यारे ! न त कुनै दिन फुर्सद छ । अब हुन्न ! छोरी पनि ठूली भई । अब म विदेश जान्छु । यिनको गुलामी गरेर उँभो लागिन्नँ । यसरी न तलाईँ खुसी दिन सक्नु, न त छोरी पढाउनै ।”

”अरु सबै कुरा गर, तर छोडेर जाने कुराचाहिँ नगर है ! विदेशमा के पैसा फल्छ र ? दुःख त जहाँ पनि गर्नु परिहाल्छ नि !”, बाको कुराले आमा मुखमा पुगेको गाँस पनि छोडेर रुन थाल्नुहुन्थ्यो ।

“हामी टुहुरा, बा आमाजस्ता बाजे बज्यै छन् । दुई छाक खान पुगेकै छ । मीठो मानेर खाए सबै मीठो हुन्छ । हामी साना मान्छे, यही घरमा हुर्कियौँ । साहु हुन्, सारा गाउँले मानेका छन् । केही वचन त सहनेैे प–यो नि ! आफूभन्दा ठूला मान्छेसँग रीस राख्नु हुन्न, दशा लाग्छ । गाउँको पढाइसकेपछि बाजेले नै माइला दाइसँग शहर पढ्न पठाउँछु भन्या छन् छोरीलाई ।” आमा सम्झाउनु हुन्थ्यो ।

बा जवाफ फर्काउनु हुन्थ्यो, “पठाए भन्ने मात्र हो । काम खानलाई, नचिन्या मान्छे हुन् यी पण्डित !”, सन्कदै उठेर हिँडनुहुन्थ्यो ।

समयको रफ्तारसँगै दिनहरु बित्दै थिए । बिस्तारै मैले बुझेका, सुनेका देखेका कुरामा फरक महसुस हुन थाल्यो । आफ्नै ठानेको पण्डितको घर आफ्नो लाग्न छोडेको थियो, बाजे बज्यैका गालीले कता कता बिझ्न थालेको थियो । गरिबी, अभाव र सम्पन्नता बीचको अन्तरले आत्माग्लानि हुन्थ्यो । बा-आमाको कडा मिहिनेत केवल दुई छाक टार्न मात्र सीमित थियो, यी सब कुराले मभित्र विद्रोह भाव जागिसकेको थियो । तर चुपचाप सहनुको विकल्प थिएन ।

बुढ्यौलीसँगै बाजे बज्यैको कचकच बढ्दो थियो । शरीर थाक्दै गएकोले होला, पहिलेजस्तो रवाफ थिएन । सबै छोराछोरी विदेश थिए, एउटा छोरो शहरमा । ती पनि चाडबाडको बेला मात्र घरमा पाइला टेक्थेँ । बाआमा प्रतिको जिम्मेवारी पटक्कै देखिदैनथ्यो तर बूढाबूढीमा भने छोराछोरीसँग बस्ने चाह स्पष्टै झल्कन्थ्यो ।

बूढाबूढीको स्याहारदेखि घरको सबै कामको जिम्मा मलाई थियो । एसएलसीपछि शहर लगेर पढाउने आश्वासन बाजेका माइला छोराले छोडेका थिए । त्यही आसमा म रमाइरमाई सारा काम गर्थेँ । मनमा अनेक सपना सजाएर त्यसैमा मक्ख थिएँ ।

आफ्नो घर थिएन, न त एक टुक्रा जमीन । यही कुरामा बाको बारम्बार गुनासो सुनेकी थिएँ । पण्डितले आफ्नै जग्गामा बाको बिहेपछि बनाइदिएको घर रहेछ, मैले बल्ल थाहा पाएकी थिएँ । ममा बाको गुनासो सम्बोधन गर्ने ठूलो इच्छा थियो ।

वैशाख महिनाको घाम चर्को थियो । केही समयदेखि बज्यैलाई सञ्चो थिएन । खुट्टा सुन्निएका थिए । खाना खाएर आमा बज्यैलाई मसाज गर्दै हुनुहुन्थ्यो । बाजे पिँढीको सुकुलमाथि लडिरहेका थिए । बा भने बिहानभरि कामको थकाई, एकैछिन आराम गर्छु, भन्दै घरभित्र छिर्नुभएको थियो ।
बाजे छोरा फर्केर आएनन् । “मर्न पाए हुन्थ्यो, सास जान पनि कति कठिन रहेछ”, भन्दै फतफताई रहेका थिइन् बज्यै । अचानक जमीन हल्लियो ।

के भो? के भयो ? भन्दा भन्दै घरका ईँटाहरु झर्न थाले । गाउँका मान्छेहरु हल्ला गर्न थाले । पिंढीबाट लतार्दै बाजेलाई आँगनमा ल्याएँ । अहो, बा घरभित्र । म जोडले चिच्याएँ, “बा, बा..।”

दौडन खोजेँ, खुट्टा चलेनन् । बल्लबल्ल घरको नजिक पुगेँ, पूरै घर गर्लम्मै ढल्यो र जमीनसँग मिल्यो । बाको आवाज बन्द भयो । आँखा धमिलो हुँदै गयो । चारैतिर अन्धकार थियो । सपनाजस्तो, मुटुको धडकन फुट्लाजस्तो गरी धड्किरहेको थियो । त्यसपछि के भयो ? थाहा भएन । होसमा आउँदा हस्पिटलको बेडमा थिएँ । आमा नजिकै अर्धचेत अवस्थामा । थाहा पाएँ, बाले संसार छोडिसक्नु भएछ । सोधेँ, बाजे बज्यै ? दुवैलाई काठमाडौँ लगिसकिएछ ।

हाम्रोजस्तै धेरैका समस्या थिए, कतिले परिवार गुमाएका त कति अपाङ्ग भएर बाँच्ने प्रयत्न गरिरहेका । सबैलाई नियाँले, धन्न ईश्वर ! मन टुक्राटुक्रा भए पनि शरीर त सकुशल छोडिदियौ! बाँच्ने हिम्मत गरे आमालाई हेरेर दरिलो सहास बटुलेँ । केही समय सबैको सहयोग थियो, अरुसँगै टहरोमा बास थियो ।

दिन बित्दै गए, त्यो गाउँमा बाको यादले झन्झन् सताउन थाल्यो । बस्ने मन नै भएन जमीन हल्लिन छोडेको थिएन । यस्तै अवस्थामा आमालाई लिएर गाउँ छोड्ने निणर्य गरेँ । जे त होला ! लाखौँ मान्छे अटेको त्यो शहरमा हामी कसो नअटौँला ? म आमालाई लिएर काठमाडौँ छिरेँ । कतै बाजेबज्यैसँग भेट हुन्छ कि भन्ने झिनो आशा बाँकी नै थियो ।

गाउँका एक दाइले बस्ने कोठासम्म खोजिदिनु भयो, महिनाको तीन हजार भाडा । अँध्यारो, चिसो दिउँसै बत्ती बाल्न पर्ने त्यही भए पनि रात काट्ने सहारा बन्यो ।

काम खोज्न होटल होटल चाहारेँ, बल्लबल्ल काम पाएँ । बिस्तारै गाउँ छोडेपछि आमालाई पनि बाको न्यास्रो कम हुँदै गयो । आमा ठीक हुँदै जानु भयो । एउटा घरमा काम पाउनुभयो । “घरको काम सजिलो छ, गर्छु भन्नु भयो”, मैले नि हुन्छ भनिदिएँ । अब अलि सजिलो हुँदै गयो । आमाको काम गर्ने घरमा राम्रो कोठा लिएर बस्न थाल्यौँ ।

मेरो पढ्ने चाहना दबाएरै राखेकी थिएँ । आमा हो, उहाँले मैले भन्दा बढी सम्बोधन गर्नुहुन्थ्यो, मेरा चाहनालाई । आमाछोरी सल्लाह गर्यौँ । मैले पढ्न सुरु गरेँ । बिहान कलेज जाने, दिउँसो होटलको काम छोडेर मार्केटिङ्ग गर्न थालेँ ।

एघार कक्षाको रिजल्ट पनि राम्रो आयो, बाह्र कक्षाको परीक्षाको तयारीमा थिएँ । केही समयअघिदेखि आमालाई केही समस्या देखिएको थियो । डाक्टरको सल्लाहअनुसार औषधि लिइरहनुभएको थियो । यसैबीच कोभिड–१९ को महामारी विश्वभर फैलिएका समाचार आउन थाले । चैत्र ११ बाट नेपालमा पनि लकडाउन सुरु भयो । हाम्रो काम पनि बन्द भयो । अफिस बिदा भएर सबै घरमा भएकाले आमालाई काममा आउनुपर्दैन भन्ने आदेश भयो ।

“केही समय हो, त्यसपछि सब ठीक हुन्छ,” आशा थियो । आजभोलि भन्दै दुई महिना बितिगयो । विगतको यादले आमालाई सताउन थाल्यो, दुःख अभावको घाउ बल्झिन थाल्यो । यसको प्रभाव दुई वर्षदेखि जित्दै आएको सुगर प्रेसर र दमले आमालाई जित्न थाल्यो । केही दिनदेखि धेरै चाप्दै थियो, भोक निद्रा लाग्न छाडेको छ । बाको मृत्युपछि चुरोटको सहाराले मन बुझाउने बहाना बनिसकेको थियो । आमालाई त्यसैले दमले सतायो ।

अहिले बल्ल आमा निदाउनुभयो, तर मलाई पटक्कै निद्रा छैन । किन किन, एक्लो महसुस भएको छ । बाको अभाव झनझन् खड्किएको छ । यस्तो विपतमा अलिकति आँट दिने, साथ दिने कोही नहुँदा बेसहाराझैँ भएकी छु ।

एउटा विपत्तिबाट उठ्न नपाउँदै फेरि अर्को विपत्ति, आमाको स्वस्थ्य, सबै सम्झँदा मन भारी भएको छ । आमालाई झनझन् समस्या बढिरहेको छ । यस्तो बेला न उपचार गर्ने पैसा छ, न त साथ दिने मान्छे ? थाकिसकेको घाउ फेरि बल्झिएको छ । बाले छोडेर गएको त्यो कालो दिनले किन हो कुन्नी, घरिघरि तर्साइरहेको छ ।

प्रतिक्रिया
Loading...