कसैले एउटा पुरानो पारिवारिक फोटो मेसेन्जर ग्रुपमा हालेर पठायो। पारिवारिक भाइटीकाको फोटो रहेछ। उसले मोबाइल फोनको स्क्रिनमा चोर औंला र माझी औंलालाई विपरित दिशामा घिसारेर फोटोलाई ठूलो बनाएर हेर्यो। फोटोमा भएका एक एक सदस्यलाई हेर्दै थियो। फोटोमा भानुलाई पनि देख्यो। धेरै वर्ष पछि उसले भानुलाई देख्यो। भानुलाई देख्ने बित्तिकै उसलाई पुराना कुराको याद आयो। भानुसँग बिताएका हरेक पलहरु याद आयो। भानुको स्मरणले मात्रै पनि आनन्द अनुभूति गर्यो। अहिले भानु आफूसमक्ष नहुँदा मन कुँडिएर आयो।
आफू बसेको फलैंचाबाट उठेर घरको पछाडिपट्टि गयो। एकछिन चारैतिर नजर घुमायो। बारीको ढीकमा केराका घारी थिए। अहिले पनि छन्। सँगै एउटा तुथोको रुख थियो। अहिले छैन। आँखा घुमाउँदै गयो। परालको टौवा बनाउन मिल्ने बडेमानको भिमलको रुख हेर्यो। यो रुखले उसका पुर्खादेखि कति पिँढी बेहोर्यो होला? त्यसको देब्रे तिरको बारीको भिरालो फेरमा आरुको रुख देख्यो। अनायास उसका पाइला आरुको रुखतिर बढे। वसन्तको आगमनसँगै नयाँ पालुवा फाट्टफुट्ट देखिन्थे। उसले हात पालुवातिर बढायो तर बीचैमा रोकिए। उसले हात आरुको बोटको हाँगामा अड्यायो।
पालुवा छुन मन थियो तर सकेन। कति कोमल हुन्छ पालुवा। उसको मस्तिष्कले फेरि भानुको याद गर्यो। भानु पनि पालुवा जस्तै कति कोमल र मायालु थियो सानोमा।
सानो छँदा ऊ सुतिरहेको बेला उसकी आमाले एक दिन भर्खर जन्मिएको भानुलाई ल्याएर उसको बिस्तरामा पल्टाई दिइन्।
सानो बच्चालाई कसरी समाउने भन्ने थाहा थिएन। डराई डराई हातमा लियो। कति राम्रो थियो भानु। साना हात खुट्टा। सानो मुख। हँसिलो र सुडौल अनुहार। माया लाग्दो भकुल्ले। भानु आँखा चिम्म गरेर स्वाँ स्वाँ गरी सुतिरहेको थियो। ‘भानुले किन आँखा हेर्दैन?’ उसले आमालाई सोध्यो। ‘बच्चाको कामै खाने, सुत्ने, आची सुसु गर्ने अनि फेरि खाने अनि सुत्ने। अहिले सुतिराखेको छ। त्यसैले अहिले हेर्दैन,’ आमाको जवाफ थियो।
उसलाई भानुको अनुहार छुन मन लाग्यो र हात बढायो। उसकी आमाले ‘आँखा न घोच्नु नि’ भनेर सम्झाइन्। ‘आमा यसलाई मसँगै राख्छु है?’ उसले सोध्यो। ‘तैंले राखिस् भने यसलाई दूध कसले खुवाउँछ? भानुले आफ्नी आमा खोज्यो भने के गर्छस्?’ आमाको प्रतिप्रश्न थियो। उसलाई यी प्रश्नहरूको उत्तर के थाहा? उसलाई भानु असाध्यै मन पर्यो त्यसैले सँगै राख्न खोजेको।
भर्याङनेर भानुकी आमाले सुनिरहेकी रहेछ। कराई हाली। शायद दूध खुवाउने बेला भएको थियो कि? आमाले भानुलाई लगिन् तर ऊ भानुकी आमाको डरले भर्याङनेर जानै सकेन।
हुन पनि भानुकी आमालाई सबैले खराब छे भन्थे। खन्चुवा पनि अति धेरै रे! जति दिए पनि नअघाउने। भर्खर घोगा लागेको मकै पनि उभीउभी भाँचेर खान्छे भन्ने हल्ला थियो गाउँमा। कसैले देखाइदेखाइ खायो भने भानुकी आमालाई खपी नसक्नु हुन्थ्यो। खोस्नै तम्सिन्छे भन्थे। भानु त्यसको ठीक उल्टो थियो। सज्जन अनि गमिलो।
भानु र उसको दोस्ती भढ्दै गयो। ऊ कतै हिँड्न लाग्यो भने भानुले पछ्याउँथ्यो। स्कूल जानुअगाडि उसले भानुसँग धित मरुन्जेल खेल्थ्यो। भानुलाई स्कूल लाने विचार पनि गरेको थियो उसले तर उसकी आमाले स्वीकृति दिइनन्। ऊ स्कुलबाट फर्किंदा भानु मूलबाटो नेर कुरेर बसेको हुन्थ्यो। उसलाई देख्नेबित्तिकै भानु औधि खुसी हुन्थ्यो। उसले भानुलाई अँगालेर माया गर्थ्यो।
एक पटक औंसीको चकमन्न रातमा घर बाहिर कुकुरहरू जोड जोडले कराएको सुनेर ऊ बिउँझियो। उसकी आमाको रुघाले स्वर बसेको थियो। त्यसैले भुक्ने कुकुरहरूलाई शान्त बनाउन सक्दिनथिन्। कुकुरहरू अझै जोड जोडले भुक्न थाले। उसको बुबा घरमा हुनुहुन्नथ्यो। आमा के रहेछ भनेर बाहिर जाँदा त एउटा चोर पछाडि पट्टीको झ्यालमा झुण्डी रहेको थियो। स्वर बसेको बेला गुहार माग्न पनि सकिनन् उसकी आमाले। दाउराले हिर्काउँछु भन्दा पनि झ्याल अग्लो भएकोले छुँदै छोएन। भानु पनि त्यहीँ पुग्यो। चोर देख्ने बित्तिकै भानुमा अपार शक्ति आयो र चार हात खुट्टाले उफ्रेर चोरको पूठो समाउन भ्यायो। तर खस्न लाग्दा चोरको पुठोमा मुख खोलेर दाह्रा गाडिदियो। चोर ऐया भन्दै भुइँमा पछारियो र खुट्टा खोच्याउँदै अँध्यारोमा अलप भयो। यो कुरा उसले भोलिपल्ट उसकी आमाबाट मात्रै थाहा पायो। त्यस दिनदेखि उसको भानुप्रति माया मात्र हैन श्रद्धा र विश्वास पनि बढ्यो।
ऊ ठूलो हुँदै गयो। भानु पनि ठूलो हुँदै गयो। एसएलसीपछि ऊ शहर पढ्न गयो। क्याम्पसको बिदामा घर आउँदा भानुलाई धेरै माया गर्थ्यो। क्याम्पस जान छुट्टिने बेलामा भानुले आँखाभरि आँशु पारेर उसलाई हेरी रहन्थ्यो। साथ लैजान पनि त सक्दैनथ्यो उसले!
उसको पढाइ सकिएको थिएन, आमा साह्रै बिरामी भएर थला परिन्। घरमा उसको आमालाई हेरचाह गर्ने बुबा र दिदी हुनुहुन्थ्यो। भानु पनि थियो। अमूक भए पनि नजिकै बसेर भानुले उसकी आमालाई हेरी रहन्थ्यो। त्यसबाहेक भानुले गर्न पनि के सक्थ्यो र? आमाले नै भानुलाई हुर्काइबढाइ गरेकाले आफ्नै आमाजस्तो श्रद्धा र माया गर्थ्यो भानुले। चुपचाप आमालाई मात्र हेरी रहन्थ्यो। आमालाई गाह्रो भै ऐया गर्दा भानु पीडाले छट्पट्टिएर यताउता कुद्थ्यो। फर्केर आएर आमाकै छेउमा बस्थ्यो।
[bs-quote quote=”पढाइ सकेर जागिरको जोडजाड गर्यो उसले। आमालाई झन् सारो भयो भन्ने खबर पाएपछि जागिर खाएको ठाउँबाट दुई दिन हिँडेर घर गयो। घरमा ऊ पुग्दा अँध्यारो भै सकेको थियो। भानुले ऊ आउने थाहा पाइसकेछ। त्यही मूलबाटोमा कुरेर बसेको रहेछ। अँध्यारो भए पनि उसको आहटले चिनेर भानु जोडले रुन्चे स्वरमा करायो। उसले पनि भानुलाई अँगालेर रोयो।” style=”style-16″ align=”left” color=”#dd9933″][/bs-quote]
पढाइ सकेर जागिरको जोडजाड गर्यो उसले। आमालाई झन् सारो भयो भन्ने खबर पाएपछि जागिर खाएको ठाउँबाट दुई दिन हिँडेर घर गयो। घरमा ऊ पुग्दा अँध्यारो भै सकेको थियो। भानुले ऊ आउने थाहा पाइसकेछ। त्यही मूलबाटोमा कुरेर बसेको रहेछ। अँध्यारो भए पनि उसको आहटले चिनेर भानु जोडले रुन्चे स्वरमा करायो। उसले पनि भानुलाई अँगालेर रोयो।
ऊ आमाको छेउमा गएर बस्यो। आमा इन्तु न चिन्तु अवस्थामा पुगी सकेकी रहिछन्। ‘आमा’ भनेर बोलायो। केही उत्तर पाएन। बुबाले ‘छोराे आइपुग्यो’ भनेर आमालाई सुनाउँदा टाउको उसतिर फर्काइन्। तर आमाले न बोल्न, न त आँखा नै खोल्न सकिन्। उसले आमाको हात स्पर्श गर्यो। आमा रोएको अनुभव गर्यो। हिँडेर घरमा पुगेको थियो ऊ, त्यसैले थकाइले चूर थियो। उसको बुबाले ‘हिँडेर आको थाकिस् होला अहिले सुत्न जा। केही भयो भने म उठाउन आउँला’ भन्नु भयो। ऊ सुत्न माथ्लो तलामा गयो।
भानुको जोडजोडको आवाजले उसलाई ब्युँझायो। उज्यालो भइसकेको थिएन। सुतेको कोठामा टर्चलाइट खोज्यो तर भेट्टाएन उसले। एक छिनपछि बुबा लिन आउनु भो। ‘अब तेरी आमा छैनन्, भर्खर सास गयो,’ भन्नुभयो। उसलाई भाउन्न भएर आयो। आँखा अगाडि कालोले छोप्यो। कान पनि बन्द भयो। ऊ जोडले ‘आमा’ भन्दै घोप्टो परेर रोयो। उसको बुबाले ‘यही हो संसारको रीत। तेरी आमाले सबै भन्दा रोग र सांस्कारिक दुःख कष्टबाट मुक्ति पाई,’ भनेर सम्झाउनु भयो। बाहिर भानु पनि रुँदै थियो।
आमाको क्रिया कर्मका लागि बाह्र दिनसम्म ऊ अलग्गै बस्यो। भानु कति सज्जन थियो भने उसलाई छुनु हुँदैन भनेर ऊ भन्दा टाढा बस्थ्यो। कर्म सकेको एक हप्तामा ऊ जागीरमा फर्कियो। ऊ जागीरमा फर्किने दिन झिसमिसेमै हिँडेको थियो। भानुलाई देखेन, बोलायो। भानु आएन, अँगाल्न पनि पाएन। खिन्न मनले घरबाट हिँड्यो। केही दिनपछि उसका बुबा र दिदी पनि कामको शिलशिलामा परदेश जानु भएछ। जागीरमा फर्केको करिब एक महिनापछि भानु बितेको खबर पायो। उसले भानुका अरू कुरा पनि थाहा पायो। आमा बिरामी भएदेखि भानुले मासु खाँदैनथ्यो। एकादशी, औँसी र पूर्णेमा एक छाक मात्रै शाकाहारी खाना खान्थ्यो। शाकाहारी खाना नपाएपछि घाँस भए पनि खान्थ्यो। ऊ क्रिया बसेको बेला भानुले एक छाक मात्र, त्यो पनि चोखो भेटायो भने खान्थ्यो। तुलसी मठको तल जहाँ उसकी आमालाई प्राण त्याग्ने बेलामा राखेको थियो, त्यहीँ मात्रै बस्थ्यो। त्यहीँ भानुले प्राण त्यागेछ।
ठूलो बुबाले ‘यो भानु त पुण्यात्मा रहेछ, कान्छी बुहारीको आत्मासँग जोडिएको रहेछ। युधिष्ठिरसँगै जिउँदै स्वर्ग जाने प्राणीलाई पनि सद्गत गर्नुपर्छ’ भनेर प्राण त्याग्नुअगाडि तुलसीको जल खुवाइदिनु भएछ। अरू सबै कर्म पनि गराइदिनु भएछ। भानुको आत्माको शान्तिको लागि शान्ति स्वस्ती पनि गरिदिनु भएछ। भानुलाई उसकै बारीमा गाड्न लगाउनु भएछ। भानुको पार्थिव शरीर गाडेको ठाउँमा आरुको बोट लगाइदिनु भएछ।
उसले आज आफ्नो हात अड्याइएको हाँगा त्यही आरुको बोटको हो। उसलाई भानु समीप भएको अनुभूति भयो। सम्झँदा सम्झँदै आँखाबाट बलिन्द्र धारा आँसु झरेको उसलाई पत्तै भएन।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।