चार वर्षअघि आफ्ना पितालाई भेट्न लेबनान गएका २४ वर्षे हादी मातर त्यहाँबाट फर्किएपछि निकै फेरिएको उनकी आमा सिल्भाना फार्दोसले बताएकी छन् । लेबनानमा आफ्ना बुवा हसन मातरसँग करिब एक महिना (२८ दिन) बिताएका हादी त्यहाँबाट फर्किएपछि एक्लो महसुस गर्ने गरेको, एकान्तमा बस्न रूचाउने गरेको प्रतिक्रिया सिल्भानाले बताएकी छन् ।

‘बाउछोराको त्यति राम्रो जमेजस्तो लागेन,’ डेली मेलसँग कुरा गर्दै सिल्भानाले भनिन्, ‘त्यहाँबाट आएपछि कम्तीमा छोरो आफूमा केही ऊर्जा भरेर आउला, त्यहाँको दुःख देखेपछि यहाँको सुखको मूल्य बुझ्ला भन्ने सोचेकी थिएँ तर न त उसले स्कुले शिक्षा नै पूरा गर्न सक्यो, न त सामाजिक नै हुनसक्यो । उसले आफ्ना बहिनीहरूसँग पनि कुनै कुरा गर्न चाहेन । खाली आफ्नो कोठामा आफूलाई थुनेरै समय गुजार्यो ।’

हादीकी आमा यतिबेला ४६ वर्षकी छन् । लेबनानमा जन्मिएकी उनले छोरा लेबनानबाट फर्किएपछि के भयो, किन यस्तो भयो आफूले बुझ्न नसकेको प्रतिक्रिया दिएकी छन् ।

‘दिनभरि सुत्नु र रातभर जाग्राम बसेर अनेक खाने कुरा खोज्ने गर्थ्यो । उसले आफूलाई बेसमेन्टमै सीमित राख्ने गरेको थियो ।

गएको शुक्रबार एक्कासि एफबिआईले उनको घर छापा मार्दा मात्र यत्रो उधुम मच्चिएको उनले चाल पाइन् । उनले सलमान रूस्दी नामक व्यक्तिको नाम कहिल्यै नसुनेको र छोरोले गरेको हमलाप्रति दुःख व्यक्त गर्दै शिघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् ।

उनका दुई जुम्ल्याहा छोरीहरू यतिबेला १४ वर्षका छन् र दाइको व्यवहार र खबरबाट चकित परेको बताएका छन् ।

उता लेबनानी पितासँग यारोन शहरका मेयरले कुरा गर्न खोज्दा कसैसँग पनि कुरा नगर्ने प्रतिक्रिया दिएको द टाइम्स अखबारले लेखेको छ । समाचारस्रोतहरूका अनुसार, जुन ठाउँमा हादी मातरका बुवा बस्ने गरेका छन्, त्यो ठाउँ लेबनानको ग्रामीण क्षेत्र पर्ने गर्छ । यस क्षेत्रमा इरानी प्रभाव बढी छ ।

हादी मातरको फेसबुक प्रोफाइलमा इरानी नेताका तस्बिरहरू राखिएको देखिन्छ । पछिल्लो समय रूस्दीलाई आक्रमण गरिएलगत्तै ती तस्बिरहरू हटाइएको एफबिआईले जनाएको छ । हादी नाउँका अनेक व्यक्ति हुने हुनाले उसैको फेसबुक हो कि होइन भन्ने अहिलेसम्म यकिन भने भइसकेको छैन । हादीलाई अझै सोधपुछ गरिदैछ ।

उता जर्मनीले रूस्दी आक्रमणमा इरानको पछिल्लो कदमले भूमिका खेलेको प्रतिक्रिया दिएको छ । सन् २०१९ मा रूस्दीविरोधी गतिविधिका लागि इरानी सरकारले भित्रभित्र आफ्ना गतिविधिहरूलाई बढावा दिएको आरोप जर्मनीले लगाएको हो ।

उता इरानले भने औपचारिक रूपमा भने कुनै प्रतिक्रिया दिएको छैन । इरानी सैनिक नजिक मानिएको एउटा अखबार जामे जामले फुटेको आँखामा पट्टी बाँधिएका रूस्दीको कार्टुन बनाएर तल शैतानको एउटा आँखा फुट्यो शीर्षक दिइएको छ ।

फतवा जारी भएका यी ३३ वर्षे अवधिमा द सटानिक भर्सेसका ४४ वर्षे जापानी अनुवादक हितोसी इगारासीलाई १९९१ मा इसुकुबा विश्वविद्यालयको उनकै कार्यालय छेउमा छुरी हानी हत्या गरिएको थियो । सोही अवधिमा इटाली भाषाका अनुवादक इतोरे काप्रिओलोलाई पनि उनको मिलान शहरस्थित घरमा छुरी हानिएको थियो । दुई वर्षपछि टर्किस भाषाका प्रख्यात अनुवादक अजिज नेसिनलाई हत्या गर्न उनी बसेको सिभास शहरस्थित होटलमा विषालु ग्यासले आक्रमण गरिएको थियो । उनी उम्कन पुगे पनि अन्य ३७ जनाको तत्काल ज्यान गएको थियो । यो घटनाको केही महिनापछि द सटानिक भर्सेसका नर्वेजियन प्रकाशक विलियम नेगार्डलाई उनको ओस्लोस्थित निवास छेउ तीन पटक गोली हानिएको थियो । उनी सो घटनामा बाँच्न भने सफल भएका थिए ।

पुस्तक निस्कनेबित्तिकै १९८९ मा मुम्बईमा सो पुस्तक विरोधी दंगामा १२ मानिसको ज्यान गएको थियो भने यस्तै किसिमको विरोध प्रदर्शन हिंसात्मक गतिविधिमा परिणत हुँदा पाकिस्तानी राजधानी इस्लामाबादमा पाँच जनाको मृत्यु हुन पुगेको थियो ।

बेलायतले लेखक सलमान रूस्दीलाई २४ घण्टे सुरक्षा दिएको थियो । नाम फेर्दै लुक्दै हिँड्नु परेको थियो । उनले त्यो बेला आफ्नो नाम जोसेफ एन्टन राख्नु परेको थियो । पहिलो छ महिना त उनले ५६ वटा डेरा सर्नु परेको थियो ।

तस्बिरहरूः एपी