डेभिड लिस्टर

सन् १९८९ को भ्यालेन्टाइन्स डेको दिन जब इरानका सर्वोच्च नेता आयोतल्ला खुमेनीले चौथो उपन्यास भर्खर निकालेर नाम बटुलेका सलमान रूस्दीमाथि फतवा जारी गरे, त्यो बेला एउटा साहित्यकारमाथि अत्याचारको सांस्कृतिक समाचार मात्र थिएन, यो त त्यो बेलाको सबैभन्दा ठूलो राजनीतिक समाचार पनि थियो ।

मैले नै द इन्डिपेन्डेन्ट पत्रिकाको प्रथम पृष्ठमा बाइलाइनसहित समाचार लेखेको थिएँ । पुस्तक निस्केको एक वर्ष पनि भएको थिएन । सटानिक भर्सेजमा ईश्वरपुत्र मोहम्मदसँग स्वप्नील प्रसंग उल्लेख गरिएको भन्दै यसले केही मुस्लिम समुदायलाई उत्तेजित बनाएको थियो । यसलाई ईश्वरप्रति अनादर भएको उनीहरूको भनाइ थियो ।

फतवाको समाचार प्रकाशित भएको भोलिपल्ट इन्डिपेन्डेन्ट पत्रिकाका संस्थापक सम्पादक एन्ड्रियास ह्विटम स्मिथ मेरो डेस्क छेउ आएर लगभग धम्कीको भाषामा भने, ‘कसरी हुन्छ, यो लेखक चाहियो मलाई ।’

मार्गरेट थ्याचरको सरकारले तत्काल रूस्दीलाई सुरक्षा मात्र दिएन, सुरक्षित बसोबास थलो पनि उपलब्ध गरायो । धेरैले रूस्दीलाई नायक मान्लान् तर सरकारमा त्यसबेला उनलाई खलनायक मान्नेहरू पनि थिए । तीमध्ये एक मन्त्री थिए, नोर्मन टेबिट । उनी रूस्दीलाई खलपात्र नै मान्थे । अर्का मन्त्री सर ज्योफ्रे होवी पनि निर्गतिलो पुस्तकका लेखकलाई सरकारले यत्रो मान्यता दिनु वाहियात हो भनी बिबिसीसँगको वार्तामा भनेका थिए ।

तर रूस्दी कति लोकप्रिय थिए भने साहित्य क्षेत्रमा उनका अनगिन्ती साथी थिए । पूरा कला क्षेत्र उनको सुरक्षा, उनको पक्षमा उभियो । तर ब्राडफोर्डमा भएको एउटा प्रदर्शनीमा रूस्दी र उपन्यास द सटानिक भर्सेसविरूद्ध नाराबाजी भयो । यो यति हिंस्रक प्रदर्शनी थियो कि उनको गलाको फन्दा बन्न पुग्यो ।

सेफ हाउसमा झण्डै दशक बिताउँदा कहिलेकाहीँ उनी बाहिर झुल्किन्थे । उनले दुई पटक आफ्ना पक्षधर र विपक्षीमाझ आफ्ना भनाइ राखे ।

कुनै बेला प्रहरीप्रति उनी ज्यादै आक्रामक धारणा राख्थे तर जुन बेलादेखि प्रहरीहरूले उनको सुरक्षाका लागि मिहिनेत गरेको पाए, त्यस बेलादेखि उनले आफ्नो रक्षक, साथी र सहयोगी ठाने ।

उनी २० औँ शताब्दीको अन्त्यताकाका प्रतिभाशाली लेखकका रूपमा उदाएका थिए । र, पछिल्ला दशकमा त उनले सारा चर्चा र लोकप्रियता बटुलेका थिए । उनले त मार्टिन एमिस र इयान म्याकइवानलाई समेत पछि पारिदिए ।

उनको दोस्रो उपन्यास मिडनाइट्स चिल्ड्रेन सन् १९८१ मा बजारमा आएको थियो । यो ऐतिहासिकता र म्याजिक रियालिजमको एउटा उम्दा नमुना उपन्यास बन्न पुग्यो । यसले भारत विभाजनलाई नजिकबाट नियालेको छ र यसका मुटु कँपाउने अप्ठेरा र मनोवैज्ञानिक ऐंठनका बारेमा बेवाकसँग बोलेको छ । निस्कनेबित्तिकै यो लोकप्रिय मात्र भएन, बुकर पुरस्कारसमेत हात पार्यो ।

सबैले उनको लेखनी साह्रै राम्रो मान्छन् तर यसको पछाडि उनी एउटा विज्ञापन एजेन्सीमा कपिराइटरका रूपमा काम गर्दा हासिल गरेको खुबीलाई बिर्सन्छन् ।

उनका विरूद्ध जुलुस भए, उनको उपन्यासका कारण दंगा पनि भयो । उनका अनुवादक हमलामा परे, घाइते भए, एक जना जापानी अनुवादक त मारिए नै । कयौँ मुलुकले उनको उपन्यासलाई प्रतिबन्ध लगाए, अझै लगाइरहेकै छन् ।

यसका बाबजुद पनि उनी ठान्थे, मैले तिखो गरी अझै लेख्न सकेको छैन । म अझै आलोचनात्मक रूपमा लेख्न सकिरहेको छैन । लेख्नु पर्थ्यो ।

सन् १९९८ मा नयाँ सरकार आएपछि इरानले उनीविरूद्धको फतवा अन्त्य गरेको घोषणा गर्यो । त्यसको लगभग ९ वर्षमा बेलायतले उनलाई सर घोषित गर्दै नाइटहूड प्रदान गर्यो । पछि उनी बेलायत छाडेर अमेरिका बसाइँ सरे र त्यहीँ आफूलाई सुरक्षित महसुस गरेका थिए तर उनी सुरक्षित थिएनन् भन्ने उनलेजस्तै अरूले पनि निकैपछि मात्र बुझे ।

(बेलायतबाट प्रकाशित हुने द इन्डिपेन्डेन्ट पत्रिकामा प्रकाशित संस्मरण)