यतिबेला म शीतका थोपामा भिजेर आगोका झिल्काको राप लिँदै छु । कविताको सिमसिमे पानीमा भिजेर कविताकै उष्मतामा यो विचलित मनलाई सेकाउन पाउँदा मलाई नैसर्गिक अनुभव भइरहेको छ । भनिन्छ – “Everything in this universe has dual nature.”

हो ! प्रत्येक वस्तुकै दुइटा पाटा हुन्छन् – राम्रो-नराम्रो , सही-गलत , शान्त-रौद्र , मूर्त-अमूर्त आदि । भगवान् शिवका पनि दुइटा रूप थिए, एउटा रौद्र अर्को शान्त । भगवान् श्रीकृष्णमा पनि दुई चरित्र पाइन्छन् । त्यसैगरी भिन्न भिन्न परिस्थिति र परिवेशमा मान्छे पनि अलग अलग रूपमा ढल्न विवश हुन्छ अथवा परिस्थितिले उसलाई रूप फेर्न बाध्य गराउँछ । हाम्रो मन पनि तरङ्गको वाहक हो, हर्षले झुमेको बेला यो मनले खुसीका गीत गाउँछ, रमाउँछ र केही बिग्रिएको, भत्किएको देख्यो भने अथवा अहित कुरामा प्रतिवाद गर्छ, अन्यायमा विद्रोह गर्छ, हुङ्कार गर्छ। जसरी गरेकाछन् दार्जिलिङ खरसाङकी कवि तथा शिक्षिका रचना अनाकारका कविताहरूले । उनका कविताले कहीँ आगोका झिल्का ओकलेका छन् भने कतै शीतल समीर भई बहेका छन् । कहीँ ज्वाला भई दन्केका छन् भने कतै शीतजस्तै कोमल र शीतल छन् ।

यहाँ चर्चा गर्न खोजिएको उनको सङ्ग्रहमा रहेका कविताहरू हुन् ।

कविताहरू “शीतका थोपा र आगोका झिल्का” नाउँ दिएर दुई भागमा विभक्त गरिएका छन् । मोठ ३१ वटा कविता समावेश भएका यस कृतिमा “शीतका थोपा” मा जम्मा १८ वटा कविता गाभिएका छन् भने आगोका झिल्कामा १३ वटा कविताले स्थान पाएका छन्।

अनाकारका कविताहरू सूर्यको तेज किरण सँगसँगै जुनेलीको शीतलता पछ्याउँदै हिँडेको देखिन्छ।

कवि परिचय :
नाम : रचना राई ´अनाकार´
जन्मस्थान : खरसाङ , दार्जीलिङ
माता : स्व. सुशीला देवान,
पिता : स्व. के के राई
शिक्षा : बी.ए, बी.एड
पेशा : शिक्षिका, ग्लेनहील पल्बिक स्कुल खरसाङ

साहित्य र भाषाको निम्ति मरिमेट्ने बहुमुखी प्रतिभाकी धनी कवि रचना अनाकार कविता वाचन गर्नमा अति सिपालु छिन्। आकाशवाणीमा वार्ता रेकर्डिङ गर्ने, काञ्नजङ्घा एफ.एममा कविता वाचन गर्ने, साहित्यको विभिन्न कार्यक्रम सञ्चालन गर्ने जस्ता कार्यहरूमा रुचि राख्ने मृदुभाषी, बहुभाषी, मिलनसार कवि रचना अनाकार पेशामा एकजना शिक्षिका हुन् । नेपाली र अङ्ग्रेजी भाषामा बराबर कलम चलाउने कवि अनाकारका प्रकाशित कृतिहरूमध्ये “क्रान्तिको शंखनाद गर्न तिमी अब ब्युँझ ” ( नेपाली कवितासङ्ग्रह ) सन् २००२ मा प्रकाशित हुन्छ भने त्यसको लामो समयको अन्तरालपछि अर्को एउटा काव्य कृति “शीतका थोपा अनि आगोका झिल्का” प्रकाशित हुन्छ । उहाँको “Fragments” (२०२१ मा प्रकाशित) शीर्षक अङ्ग्रेजी कविता कृतिले काव्य जगतमा एउटा अलग्गै स्थान बनाउन सफल भएको छ, जसको महक दार्जिलिङको सीमा नाँघेर उत्तरपूर्वका अरू अरू राज्यमा पनि फैलिसकेको छ । यसको अतिरिक्त कविका हातमा केही प्रकाशोन्मुख कृतिहरू पनि छन्, समय र सुविधा मिल्दा कविले चाँडै त्यी कृतिहरू पनि प्रकाशित गर्ने छिन् ।

निलीमा आचार्य (असम)

विषय प्रवेश :

कवि अनाकारको “शीतका थोपा र आगोका झिल्का” शीर्षक काव्यकृति साहित्य सिर्जना गरी साहित्यको साकार स्वरूप निर्माणमा आफ्नो अमूल्य योगदान दिएर इतिहासको पानामा गुमनाम रहेका प्रथम सर्जकहरूप्रति समर्पण गरिएको छ। यसो गरेर ती महान् तथा अनाम व्यक्तिसत्ताहरू तथा उनीहरूको त्यागलाई उचित सम्मान दिने प्रयास गरेकी छन् कवि अनाकारले।

मलाई यहाँनेर हिन्दी साहित्यका प्रख्यात निबन्धकार रामवृक्ष बेनीपुरीजीको एउटा कथन याद आउँछ – ” हमारा देश आजाद हुआ सिर्फ उनके बलिदानों के कारण नहीं जिन्होंने इतिहास में स्थान पा लिया बल्की उन लोगों के कारण जिन्होंने आजादी के लिए अपने आपको अनाम उत्सर्ग कर दिया ।”

समाजबाट ओझेल परेका अथक परिश्रमी योद्धाहरूलाई उचित न्याय दिलाउन तत्पर कवि अनाकारका कविताहरू समाजका दर्पण हुन् । समकालीन समाजको छवि उनका कविताहरूमा स्पष्टरूपले झल्किएको छ। उनका कविताहरूमा शीतको कोमलताको साथसाथ विद्रोहका ज्वाला पनि दन्किएका छन् । भनिन्छ – “The eyes are the mirror of the soul and reflect everything that seems go be hidden . At the same way literature is the mirror of the society and it can reflect the society on it.”

रचना अनाकारले कवितामा समाजको तत्कालीन चित्र यसरी उतारेकी छन्

१.
” एउटा सत्यको
निर्मम हत्या भएको हेरिरहन्छ
मौन बन्छ सडक
फेरि एउटा वीर पुरुषको
तातो रगतको भुल्काले
आफ्नो छाती रक्ताम्मे भिजाएर….
आर्तनाद गर्छ/ चिच्याउँछ
मेरो आहत दार्जीलिङ “
(फेरि एउटा अध्याय रगतको मसीले लेखिन्छ)

२१-५-१० को दिन भएको विभत्स हत्याकाण्डको प्रतिवाद गर्दै रचना गरिएको यस कवितामा अलग राज्य गोर्खाल्यान्डको माग गरिएको बेला बङ्गाल सरकार र गोर्खालीहरूको बिच भएको आपसी द्वन्द्वमा सहिद भएका गोर्खाली नेता तथा आहतहरूको तथा निर्विकार दार्जीलिङका मानिसहरूको यथार्थ चित्र उतारेकी छन् कवि अनाकारले । उनको यो कविताले दुखका आँसुको साथसाथै आक्रोशका आँसु पनि झारेको छ । प्रतिवाद गरेको छ यस निर्मम हत्याको विरुद्ध।

२.
“तिम्रो र मेरो
आत्मसम्मानको मूल्य
एउटै हुँदा हुँदै पनि
तर किन कहिल्यै नपुरिने
विभेदको खाल्डोभित्र
युगौंदेखि सडेर बसेको
तिमीहरूको मानसिकता “
(विस्फुलिङ्ग)

हामी मानव एउटै हुँदाहुँदै पनि हामीमा कति भिन्नता छ, कति विभेदका रेखाहरू कोरिएका छन् हामीबिच । नारी-पुरुष, निमुखा-बाठा, श्रेष्ठ-तुच्छ आदि। रचना अनाकार यसप्रकारका भेदभावहरूकी कट्टर विरोधी हुन् । उनले धानेको जीवन र भोगेको समाज पुरुषप्राधान समाज हो जहाँ नारीहरूले दोस्रोदर्जाका नागरिकसरह बाँच्नुपर्छ। यही पुरुषप्रधान समाजको कडा विरोध गर्दै लेखिएको यो कवितामा समानताको गुहार गरेको पाइन्छ । हाम्रो मनमा अघिदेखि बास गरेको झिनो सोचमाथि हुङ्कार गरेको यो कविता निमुखाहरूको निम्ति, उपेक्षित र पीडितहरूको निम्ति प्रेरणादायी बनेको छ ।

३.
“केवल तेरै आदेशमा
हामीले यसरी यात्रा गरिदियौँ
अब विद्रोह बोल्छौँ हामी ।
(विद्रोह बोल्छन् मेरा कविताहरू)

हो ! अन्याय अत्याचारको विरुद्ध विद्रोह गरेका छन् अनाकारका कविताले देशको आदेशमा आफ्नो इच्छाको विपरीत हिँड्न विवश भएका जनताहरूले अब विद्रोहको तान छेड्ने छन्। सहदैनन् उनीहरू अन्याय अत्याचार अब।

४.
“मभित्र अनवरत
एउटा भूकम्प सल्बलाइरहोस्
एउटा जीवन्त ज्वालामुखीको
महा विस्फोट भइरहोस् “
(स्फिजोफ्रेनिक मेरो वर्तमान)

हाम्रो समाजको रुग्ण मानसिकता र सङ्कीर्ण सोचाइको प्रचण्ड विरोध उठाइएको पाइन्छ यस कवितामा। कवयित्री भन्छिन् –

“हुङ्कारका गर्जनाहरू प्रतिध्वनित भइरहुन्
अनि त्यसले बेस्सरी
मेरो `हिप्नोटाइज्ड निष्क्रियतालाई
औंला उठाइरहोस् ।”

साँच्चै नै कवयित्री अनाकारका कविताहरूले न्याय, मुक्ति र समानताको माग गरेका छन्।आफ्नो हकको निम्ति आजाव उठाएका छन् । देशप्रेम, जातीय अस्मिता, अन्यायको विरोध र न्यायको स्थापनामा ओतप्रोत छन् कविताहरू । अत्यन्त संवेदनशील कवि रचनाका कवितामा समाजको अँध्यारो पाटाको विनासको कामना र निमुखाहरूको मुक्तिको प्रवल चाहना छ । यो कविता कृति पढेर म अभिभूत भएँ र कृतिमा गाभिएका “आगोका झिल्का” खण्डमा समावेश भएका १३ वटा कवितामध्ये चारवोटाको उदाहरणसहित यी कविताहरूको विश्लेषण गर्ने धृष्टता गरेँ। कविताहरू निकै उच्चस्तरीय हुँदाहुँदै बोधगम्य छन्। कविताको भावपक्ष जति कसिलो छ शिल्पपक्ष पनि उत्तिकै दर्बिलो छ। यसैले कृति पठनीय छ।

अन्त्यमा, रचना अनाकारज्यूलाई यस्तो बहुमूल्य कृति मलाई भेंट उपहारस्वरूप पठाइदिनुभएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहेँ। उहाँको साहित्यिक यात्रा अझ उन्नत होस् यही कामना गर्दछु ।