सिद्धहस्त नियात्राकार श्री राजेन्द्रप्रसाद अर्यालज्यूले करिब छ महिना अगाडि मलाई दुइटा जुम्ल्याहा कृति पठाउनु भएको हो, “अनुपमा” र “आजको मान्छे ”। “अनुपमा” वरिष्ठ कथाकार एवं गीतकार सीता अर्यालज्यूको गीति-काव्य हो । सीताजी राजेन्द्रकी धर्मपत्नी हुनुहुन्छ । “आजको मान्छे” राजेन्द्रप्रसाद अर्यालज्यूको कवितासङ्ग्रह । यो सङ्ग्रहको नेपालमा धेरै चर्चा परिचर्चा भइसकेको हो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आँगनमा पनि यस कृतिको बारेमा बृहद् अन्तर्कृया हुँदा म आफैं पनि उपस्थित थिएँ, जूममार्फत । कवि अर्यालले मसहित धेरै व्यक्तिहरू र कृतिहरूको सन्दर्भ जोडेर दर्जनौं लेखहरु प्रकाशित गर्नु भएको छ । चर्चामा रहेको राजेन्द्रको “आजको मान्छे “ कवितासङ्ग्रहको लिखित रुपमा आफ्नो धारणा व्यक्त गर्न मलाई छ महिना लाग्यो । यो मेरो व्यस्तताले पटक्कै होइन उहाँको जस्तो कलमको अभावले मात्र हो ।

सृष्टिमा आनन्ददायी सृष्टि चेतनामयी छ । चेतना शून्यता निष्प्राणता हो । चेतनाले विश्वात्मालाई एक सूत्रमा बाँधेको छ । चेतन जगतको सर्वश्रेष्ठ प्राणी मानिस हो । बुद्धि, विवेक, दया, क्षमा, प्रेम, सहानुभूति आदि गुणहरु मानिसमा विद्यामान हुनाले मानव जीवन सर्वोत्कृष्ट बनेको हो। सर्वोत्कृष्ट मनबाट उत्पादित साहित्य नै लोक हितकारी हुन्छ।

साहित्य आन्तरिक अनुभूति र संवेदनाको अभिव्यक्त रुप हो । मान्छेका आन्तरिक भावहरु समान हुन्छन् । प्रकट गर्ने, महसुस गर्ने र सोच्ने तरिका फरक भए पनि घृणा, मोह, प्रेम र वात्सल्यताजस्ता भाव मानव जातिमा समान रुपमा पाइन्छ । तसर्थ साहित्यको मूल भाव पनि समान छन्, हाम्रा भावनाहरु समान छन्।

अध्ययन गर्दै जाँदा साहित्यिकार अर्यालको भनाइ आफ्नै भनाइजस्तो लाग्दछ । उहाँले हालसम्मको विभिन्न क्षेत्रको लामो अनुभवमा जुन सामाजिक विसङ्गति ,विडम्बना र कटु अनुभव पार गर्नु भएको छ, त्यसैको उपज हो “आजको मान्छे” कवितासङ्ग्रह । यस सङ्ग्रहमा एकाउन्न अभिव्यतक्ति समावेश छन् । यी मध्ये “आजको मान्छे”, “छिमेकी”, “वर्तमान”, “तासको घर” र “उदास जिन्दगी” लगायतका विविध र्शीर्षक रहेका कविताहरूले मनलाई भावक बनाउँछन् । मनभित्र एउटा आकृति सिर्जना गर्दछन् कि पाठकको मन उद्वेलित हुन्छ । समष्टिगत रुपमा हेर्दा कविले सरल तथा सहज शब्दहरु संयोजन गर्दा यो कृतिमा उत्कृष्ट रचनाकारको छवि देखा परेको छ । म यसलाई कविको प्रसिद्धि ठान्दछु ।

तीर्थराज अधिकारी

यसलाई रोचक बनाउन विभिन्न प्रसङ्ग जोडिएको छ । नेतामा चमेराको जस्तो गुण हुनु पर्दछ; जस्तै चमेरोले आफ्नो आवाज कुनै वस्तुमा ठोकाउँछ र त्यो आवाज प्रत्यावर्तन भएर आएपछि थाहा पाउँछ त्यो के हो भनेर ।

“झुसिलो यो वर्तमानमा
आफ्नो त परै जाओस्
पुर्खाहरुले आफैंलाई
रगतमा चोबल्दै
समयको कुचीले निर्माण गरेको
राष्ट्रकै सिमानाको सुरक्षा छैन
पराईको जाउलोमा हुर्केकाहरु
गरिबीको अलख जगाएर
विकास-निर्माण र प्रगतिको
छद्म रामनामी ओढ्दै
ब्रह्मलूट मच्चाइरहेछन् ”
(नियति परदेशीको, ४५)

कविता साहित्यको एउटा विधा हो । यसमा मनको भावना कुनै भाषाद्वारा कलात्मक तवरले अभिव्यक्त गरिन्छ । कविता समय सापेक्ष हुनु जरुरी छ । कवितालाई समयको उपज भन्न पनि मिल्दछ । कविता साधनामा भावना पनि चाहिन्छ, केवल कलम र कागजलेमात्र कविता बन्दैन । कविको सत्य र विज्ञानको सत्यमा फरक हुन्छ । विज्ञानको सत्य वस्तुपरक हुन्छ भने कविताको सत्य भावनापरक । कविमा शब्द शक्ति हुन्छ । शब्द र अर्थको सम्बन्ध नै शब्द शक्ति हो भने कविता ब्रह्म रुप हो । मैले यही रुप देखेको छु कवि राजेन्द्रको यस काव्य “आजको मान्छे” मा । उनले शब्दलाई राम्ररी खेलाएका छन्, केलाएका छन् र संयोजन गरेका छन् । त्यसैले त अंग्रेजी कवि डब्लु एच आडेन भन्ने गर्थे- “प्ले विथ् द वर्डस्” अर्थात शब्दसित खेल्न सिक ।

कविताको विभिन्न तत्त्व मध्ये भाव तत्त्व, बुद्धि तत्त्व, कल्पना तत्त्व र शैली तत्त्व प्रमुख तत्त्व मानिन्छन्। कविताको भाव सौन्दर्य र विचार सौन्दर्य मूल विषय हुन् । कवि मनको अनुभूतिबाट कविता सृजना हुन्छ । यस कवितासङ्ग्रहमा कवि असाध्य गम्भीर देखिन्छन् । उनका कवितामा लोक तत्त्व समेटिएको भेटिन्छ । यसैले उनका कविताहरू महान् छन् । किनभने आजको साहित्यमा लोक तत्त्व अनिवार्य मानिन्छ । यसमा कुनै प्रकारको स्वार्थी भावना , छल, कपट आदि अलोकप्रिय तत्त्वको आभाष रहँदैन।
उद्धरणः-

“आस्थाको केन्द्र
माया, ममता अनि सद्भावको सगरमाथा
लामो समयदेखि
सत्ताको लुछाचुँडी गर्ने
उर्वरभूमि बनेको छ
इमान्दारिता, विश्वास र निष्ठा
निरन्तर गुमाइरहेका छन् अगुवाहरु
सन्त्रास र भयको
प्रतीक बनेका छन्
उपदेश दिन सिपालु यी
उदाहरण बन्न सकेनन्
राष्ट्रसेवाको नाममा
गरिबी अनि अविकासको भतेर पस्कन
अहोरात्र लागिरहेछन्
लाग्छ, देशको भविष्यप्रति नै
बन्चरो हान्ने महायज्ञमा
लिप्त छन् नेताहरु ”।
(चिनारी पेज ९४)

नोट – दुइटा अनुहार भएको एउटा मान्छे उन्नइसौं शताब्दीमा इङ्ल्याण्डमा जन्मिएको थियो। उसको नाम एडवर्ड मोर्डेक थियो। तेइस वर्षको उमेरमा उसले आत्महत्या गर्यो। कसैले यो झुट्टा समाचार पनि भन्दछन्।

यस संसार र जीवनलाई हेर्ने दृष्टि बहुत कठिन छ। यस विषयका धेरै प्रश्नहरु अनुत्तरित छन्। त्यसैले कवि “आजको मान्छे”मा आफ्नो कलमबाट यसरी प्रस्तुत भएका छन् ।

“दया र करुणा हृदयको शब्दकोषबाटै हराएर
युद्धमा होमिएको पेस्तोलझैं
निष्ठुरी भएको छ !
हिजो बाँदरबाट बनेको मान्छे
आज मान्छेबाट राक्षस बन्दै गएको छ।”
(“आजको मान्छे” पेज १७)

आजको मान्छे व्यष्टिवादी भयो समष्टिवादी भएन भन्ने कविको जिकिर हो।

यो कवितासङ्ग्रह उपदेशात्मक पुञ्ज होइन । एउटा साहित्यकार वैचारिक रूपबाट प्रतिबद्ध हुनै पर्दछ । वैचारिक प्रतिबद्धताले लेखकीय स्वतन्त्रतामा कुनै आँच आउँदैन । यदि कुनै साहित्यकार आफ्नो भूमिकाको पालना गर्दछ भने उसको विचार सबै सभ्य समाजको लागि सहज रुपमा ग्राह्य हुन जान्छ,अन्यथा लेखकीय स्वतन्त्रतामा प्रतिघात उत्पन्न हुने सम्भावना बढेर जान सक्दछ । साहित्यकारले सामाजिक न्याय, आस्था , विश्वास एवं दर्शनको हस्तान्तरण गर्दै आएको हुन्छ, कहिल्यै पनि आफ्नो भूमिकाबाट चिप्लिएको हुँदैन। यसकै निरन्तरता स्वरुप वर्तमान समयका साहित्यकारहरु समाज र राष्ट्रको सच्चा पहरेदार बनेर सुदृढ समाज निर्माणमा समर्पित हुन सकेका देखिन्छन्। उनले कति ठाउँमा पाठकलाई प्रेरित गरेका छन् भने कति ठाउँमा सम्वाद । यो कवितासङ्ग्रह पढ्दा मलाई जुन आनन्द प्राप्त भैरहेको छ त्यो अनुभूति सम्प्रेषण गर्न मैले सकिराखेको छैन ।

कुनै सुन्दर फूलले जस्तै उहाँका रचनाले सुवास युक्त महक छरिरहुन, मेरो शुभकामना।

पुस्तकको नाम -आजको मान्छे
विधा- कवितासङ्ग्रह
कविता संख्या-५१
पेज संख्या-१२४
लय- एउटा पद्य “जन्मभूमि गोरखा” पेज ४३ र एउटा गीति लय “मन बस्न मान्दैन” पेज ५२।
बाँकी मुक्त लय, गद्य कविता।