‘साताका पुस्तक’ स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरुलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उदेश्य हो । अगामी दिनमा पाठक तथा स्रष्टाहरुको सहयोगले यस स्तम्भलाई थप सशक्त रुपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ ।

यसैक्रममा ‘साताका पुस्तक’मा यो साता पाँच पुस्तक । ‘रानाथारू समुदायमा प्रचलित लोककथा तथा मिथक’देखि ‘सपनाको व्यापारी’सम्मसम्म; पुस्तककाे छाेटाे परिचयसहित ।

=======

१. भाषिक अध्ययन परम्पराः सम्प्रदाय र अवधारणा

प्रा.डा. देवीप्रसाद गौतम र डा. शालिकराम पौड्यालकृति “भाषिक अध्ययन परम्पराः सम्प्रदाय र अवधारणा”मा ऐतिहासिक भाषाविज्ञानका विविध सम्प्रदाय र परम्पराका बारेमा अध्ययन गरिएको छ । कृतिलाई “भाषिक चिन्तनको पूर्वीय र पाश्चात्य परम्परा”, “संरचनात्मक भाषाविज्ञान”, “भाषिक विश्लेषणको संरचनावादी पद्धति”, “रुपार्थपरक व्याकरण”, “व्यवस्थापरक सम्प्रदाय”, “रुपान्तरण व्याकरण” र “कारक व्याकरण” गरी सात एकाइको अध्ययन गरिएको छ ।

“भाषिक अध्ययन परम्पराको अध्ययन आफैँमा चुनौतीपूर्ण र जटिल कार्य हो । तथापि त्रिभुवन विश्वविद्यालयले निर्धारण गरेको स्नातकोत्तर तहको पाठ्यक्रममा समाविष्ट पाठ्यवस्तुलाई समेटेर यस पुस्तकलाई तयार गरिएको हो ।”, पुस्तकको लेखकीयमा लेखकद्वयले लेखेका छन्, “यसमा भाषिक अध्ययन परम्परासँगै प्रमुख सम्प्रदाय र तिनका अवधारणालाई सरल तरिकाबाट प्रस्तुत गरिएको छ । यसबाट शिक्षण सिकाइ कार्यलाई अवश्य नै मार्गनिर्देश हुने छ भन्ने अपेक्षा रहेको छ । प्रस्तुत पुस्तक तयार गर्ने क्रममा भाषाविज्ञानका नेपाली अध्येता तथा विभिन्न विदेशी विद्वान्हरुका पुस्तकलाई सन्दर्भ सामग्रीका रुपमा उपयोग गरिएको छ ।”

पुस्तकलाई भुँडीपुराण प्रकाशन गृहले बजारमा ल्याएको हो । २ सय २८ पृष्ठमा फैलिएको कृतिको मूल्य ३ सय ९० रुपियाँ रहेको छ ।

 

२. रानाथारू समुदायमा प्रचलित लोककथा तथा मिथक – इन्द्र चौधरी

रंगकर्मीको छवि बनाएर पत्रकारिता गरिरहेका इन्द्र चौधरीको अनुसन्धानात्मक पुस्तक हाे,  रानाथारू समुदायमा प्रचलित लोककथा तथा मिथक । नेपालको सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा मात्र बसोबास रहेको रानाथारू समुदायमा रहेको प्रचलित लोककथा र त्यसको मिथकबारे किताब मुख्य विषयवस्तु समेटिएको छ ।

‘लोकसमुदायद्वारा रचना गरिएका मौखिक र परम्परामा जीवित परम्परित कथाहरू नै लोककथा हुन् । यसमा लोकआस्था, लोकआस्था, लोकविश्वास, लोकसंस्कृति र सामाजिक प्रत्यक्ष प्रभाव रहेको हुन्छ,’ लेखक चौधरी भन्छन्, ‘लोकसमुदायको मनोरञ्जन र शिक्षाको मूल माध्यम पनि लोककथा नै हो ।’

किताबमा रानाथारू समुदायमा प्रचलित ‘करमुओ और सपनो,’ ‘सदासुर्का और सदाबिर्छ,’ ‘सोरठ’ लगायत १२ कथासङ्ग्रहित छन् । त्यस्तै पुस्तकमा रानाथारू समुदायमा प्रचलित विभिन्न थर–उपथर, चालचलनबारे मिथक तथा किम्बदन्तीहरू पनि समावेश गरिएका छन् ।

पुस्तकलाई नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको हो ।

 

३. हिति प्रणाली – पद्मसुन्दर जोशी

०७८ का लागि ‘मदन पुरस्कार’को उत्कृष्ट ८ पुस्तकको सूचीमा पर्न सफल, पद्मसुन्दर जोशीको अनुसन्धानात्मक पुस्तक हो ‘हिति प्रणाली’ । पुस्तकमा काठमाडौं उपत्यकाको एक अद्वितीय जल व्यवस्थापन प्रणाली हिति प्रणालीलाई समेटिएको छ । हिति प्रणालीले लोपोन्मुख सम्पदाको संरक्षण र सम्वद्र्धनमा भूमिका खेल्दै आएको छ । हितिलाई मल्लकालमा विकास भएको जल व्यवस्थापनको महत्वपूर्ण प्रणाली मानिन्छ ।

उपलब्ध सूचना र ज्ञानको संकलन गरी हिति प्रणालीको प्राविधिक पक्ष र व्यवस्थापनका स्थापित पद्धति तथा हाल हिति प्रणालीमाथि भइरहेको व्यभिचार र पुनिर्निर्माणका सम्भावनालाई समेटेर पुस्तक तयार पारिएको लेखक जोशीले बताएका छन् ।

काठमाडौं उपत्यका सभ्यताको पानी प्रणाली र सांस्कृतिक परम्पराका ज्ञाता पद्मसुन्दर जोशी सहरी विकासका योजनाकारसमेत हुन् । उपत्यकाको पूर्वाधार विकासका साथै सम्पदा जगेर्नामा सक्रिय उनी पेशाले इन्जिनियर हुन् ।

पुस्तकलाई नेपालयले प्रकाशनमा ल्याएको हो । पुस्तकको बजार मूल्य १ हजार ४९५ रुपैयाँ तोकिएको छ ।

 

४. घाँसखेती – रामप्रसाद गौतम

सरल र सजिलो घाँसखेती गर्ने सिकाउँदै घाँसमा आधारित पशुपालनलाई बढाउने उदेश्यले नेपाल कृषिवन बीउबिजन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद गौतमले तयार पारेको पुस्तक हो, घाँसखेती । नेपालमा कृषकहरु व्यावसायिक पशुपालनतर्फ आकर्षित भए पनि व्यावसायिक घाँसखेती सञ्चालन गर्नेतर्फ भने ध्यान दिइएको पाइँदैन । परम्परागत रुपमा घाँस पाइने मौसममा प्रशस्त घाँसहरु खेर जाने र सुक्खा समयमा घाँसको आपूर्ति कम भई पशु उत्पादनै घट्ने समस्या देखिन्छ । गौतमले पुस्तकमार्फत यसै समस्यालाई सामधानउन्मुख बनाएका छन् ।

”विकासको गतिमा अगाडि बढिरहेको अवस्थामा, समय र युग सुहाउँदो कृषि प्रविधिको आवश्यकता अवश्य छ ।”, पुस्तकको लेखकीयमा गौतम लेख्नछन्, “नेपाल एक कृषिप्रधान देश हो । हरियो वन नेपालको धन भनाइ सबै नेपालीको हो । यहाँ जल, वनजङ्गल, जडीबुटी तथा पर्याप्त प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको छ । … यस्तो अवस्थामा कृषि क्षेत्रलाई एउटा आधुनिक दिशातर्फ लैजानु जरुरी हरेको देखिन्छ, साथमा कृषकहरुलाई पनि नयाँ नयाँ किसिमका खेतीप्रविधि तथा उत्कृष्ट किसिमको बालीनालीका बारेमा जानकारी गराउनु आवश्यक देखिन्छ ।”

पुस्तकलाई भुँडीपुराण प्रकाशन गृहले बजारमा ल्याएको हो । १ सय ४४ पृष्ठमा फैलिएको कृतिको मूल्य २ सय ५० रुपियाँ रहेको छ ।

 

५. सपनाको व्यापारी

तीन दशकदेखि लेखनमा सक्रिय टर्किस लेखक मिनिके गिन्युसको बाल चित्रकथा ‘सपनाको व्यापारी’लाई कथालयले नेपाली भाषामा प्रकाशन गरेको हो । कथालाय इन्कका निर्देशक राजीवधर जोशीले गरेको अनुवादमा वागर अघाईका चित्र समावेश छन् ।

यो मूलतः चराहरूको कथा हो । सँगसँगै कथाका लेखक आफै पनि पात्रका रूपमा प्रस्तुत छन् । कागहरूको देशमा सपनाका व्यापारी चरा आउने कुराले सानो पंखी चरा निकै फुरुङ्ग परेको छ । किनकि ऊ सानो भएपनि उसका सपना निकै ठूला छन् ।

सानो पंखी चरा सपनाका व्यापारी आउने कुराबारे उल्लु काकालाई सोध्छ । एकाएक आकाशमा देखिएका रंगीबिरंगी चराले बहुमूल्य सामान लिएर कागहरूको देशमा आइपुग्छन् । तिनीसँग अरुहरुले आफ्नो रुचिअनुसारको सामान किन्छन् । ठूल्ठूला सपना बोकेर हिँड्ने सानो पंखीको रोजाइमा कुन सामान पर्यो होला ? के त्यसबाट ऊ खुसी भयो होला ? यसरी यसमा सानोपंखीको मनोदशालाई  प्रस्तुत गरिएको छ ।

सात वर्ष वात्सल्यभन्दा माथिका बालबालिकाका लागि पढेर सुनाउन, पुस्तकबारे छलफल गर्न तथा नौ वर्षमाथिका बालबालिकाले आफै अध्ययन गर्न यो कथा उपयुक्त छ ।