कथा पढ्नुअघि
समय खेर जान नदिन मैले छोटा-लामा रूसी कथा मूल भाषाबाट अनुवाद गरेँ । रूसी भाषाको सन्दर्भमा यहाँ लाटो देशको गाँडो तन्नेरी जो म आफूलाई ठान्छु । यी कथाहरूको छनोटको आधार चाहिँ यिनले दिने सन्देशहरू हुन् । म रूपलाई भन्दा सारलाई अलिकति भए पनि बढी महत्त्व दिनुपर्छ भनी ठान्छु ।
यी अनुवादहरू मूल कथाबाट टाढिएका छैनन् । अनुवादमा मैले मूल कृतिका संरचना र भावलाई सकेसम्म उतार्ने प्रयास गरेको छु । अर्थात् यहाँ भएका कथाहरू अनुवाद हुन्, व्याख्या होइनन् । मूल कृतिलाई व्याख्या गरेर गरिएको अनुवाद, जुन भाव अनुवादले बढी चिनिन्छ, मा लेखकको उपस्थिति कम हुन्छ, अनुवादकको बढी । यो मेरो निजी धारणा हो । रूसीमा यी कथाहरू पढ्दा सरर सर्छन् । यहाँ त्यसो नभएकोमा मेरो कमजोरी हो ।
अगाडि तपाईंले यो कथाको लेखकको नाममा एन्टन चेखभको ठाउँमा आन्तोन छेखफ नाम देख्नुभएर अचम्म मान्नुभयो होला । यसो गर्नु म ठीक ठान्दछु किनकि हामी अंग्रेजीका सबै खाले नाम-पदहरू पनि त्यसैगरी रूपान्तर गर्छौं । रूसीका चाहिँ किन यसो गर्न नहुने ? अर्थात् रूसीको ताल्स्तोइलाई हामीले टाल्स्टाय किन भन्नु पर्ने ? आलोचना स्वीकार्छु, त्यो पनि सहर्ष ।
यसअघि मैले शिसम प्रकाशन बालाजुबाट २०७५ मा ‘बसिबियाँलो’ किताब निकालेको थिएँ । त्यही बसिबियाँलोका कथाहरू नियमित रूपमा साहित्यपोस्टमा प्रकाशन हुनेछन् । कथा पढेर प्रतिक्रिया पाउनेछु भन्ने आशा गरेको छु ।
डा. बलराम अर्याल
बेनामी
Без заглавия
पाँचौं शताब्दीमा अहिलेजस्तै हरेक बिहान सूर्य उदाउँथ्यो अनि हर साँझ ऊ सुत्न जान्थ्यो । बिहान जब उसका पहिला किरण शीतसँग चुम्मा खान्थे तब धरती जीवन्त हुन्थिन्, हावा खुसी प्रफुल्लता अनि आशाको आवाजले भरिन्थ्यो, तर साँझमा उही धरती चुपचाप हुन्थिन् र रातको कठोर अन्धकारमा डुब्थिन्, दिन दिनजस्तै हुन्थ्यो, रात रातजस्तै, यदाकदा बादल उर्लिन्थ्यो, आक्रोशले मेघ गर्जिन्थ्यो वा आकाशबाट छुट्टिएका ताराहरू खस्थे वा डरले पहेँलपुर पादरी दगुर्दै आउँथ्यो र आफ्ना दाजु भाइ पादरीहरूलाई भन्थ्यो- उसले गिर्जाघरको बाहिर एउटा सिंह देखेको थियो भनेर । बस् यत्ति ! यसपछि दिन दिनजस्तै बित्थ्यो, अनि रात रातजस्तै ।
पादरीहरू काम गर्थे र भगवानको प्रार्थना गर्थे, उनीहरूका प्रमुख पादरी चाहिँ आरगन बजाउँथे, ल्यटिनी कविता रच्थे, संगीतका नोटेशनहरू लेख्थे, यी अद्भूत पादरीमा एउटा असामान्य प्रतीभा थियो, उनी आर्गन यस्तो कलाले बजाउँथे कि बूढा भन्दा बूढा पादरीहरू पनि जसको जीवनान्तमा श्रवण शक्ति बोधो भइसकेको हुन्थ्यो । जब उनको खोपीबाट आर्गनका आवाज सुनिन्थे, तब आफ्ना आँसु रोक्न सक्थेनन्, जब उनी केही चीजको बारेमा बोल्थे, जस्तै रूख बिररूवाहरू, जङ्गली जनावरहरू, वा समुद्र जस्ता सामान्य चीजहरूको बारेमा नै किन नहोस् मुस्कान वा आँसुबिना त्यो सुन्न सकिन्थेन । उनी स्वयमका आत्मामा तिनै तारहरू बज्दा हुन्, जुन उनको आर्गनका तारहरूमा बजेजस्तै लाग्थ्यो ।
उनी रिसाएका छन् वा बहुतै खुसी छन्, वा यदि केही डरलाग्दो वा महान चीजबारे बोल्न शुरू गर्दै छन् भने एउटा भावुक प्रेरणाले उनीमाथि कब्जा जमाउँथ्यो । उनका चमकदार आँखामा आँसु बग्थे, चेहरा रातो हुन्थ्यो, अनि आवाज मेघजस्तै गर्जिन्थ्यो, पादरीहरू उनलाई सुन्दाखेरि अनुभूत गर्न सक्थे कि कसरी उनको प्रेरणाले उनीहरूका मनहरूलाई जकडिरहेको छ भनेर । यी अद्भूत तथा अलौकिक क्षणहरूमा उनको शक्ति असीम हुन्थ्यो । अनि यदि उनले आफ्ना बृद्धहरूलाई समुद्रमा हाम फाल्ने आदेश दिए भने पनि उनीहरू सबले, बिना अपवाद प्रफुल्ल भएर उनको इच्छा पूरा गर्न हतारिँदा हुन् ।
उनका संगीत आवाज तथा कविताहरू जसमा उनी भगवान, आकाश तथा धरतीको प्रशंसा गर्थे । पादरीहरूको लागि अपार खुसीको श्रोत बन्थे । यस्तो हुन्थ्यो कि जीवनको एकरसतामा रूख बिरूवा, फूल, वसन्त तथा शरद उनको न्याश्रो मान्थे । समुद्रको हल्लाले उनीहरूको आवाजलाई थकित पार्थे । चरा चुरूङ्गीका गायनहरू अब उनीहरूलाई नमीठा लाग्ने हुन्थे । तर बृद्ध प्रमुखका प्रतीभा जीवनको लागि रोटीजस्तै उनीहरूलाई हरेक दिन आवश्यक पर्थे ।
दशौं वर्ष बिते सब दिन दिनै हुन्थ्यो, अनि रात रातै, जङ्गली जनावरहरू र चरा चुरूङ्गीहरूबाहेक गिर्जाघरको नजिक एउटै आत्मा पनि देखिन्थेन, निकटत्तर मानव बस्ती टाढा थियो, अनि गिर्जाघरबाट त्यहाँसम्म वा त्यहाँबाट मठसम्म पुग्न अन्दाजी ३५०० फूट मरूभूमि पार गर्नु पर्थ्यो । मरूभूमि ती मानिसहरू मात्र पार गर्ने निश्चय गर्थे जो आफ्नो जीवनप्रति नफरत गर्थे, जीवनबाट सन्यास लिएका हुन्थे, अनि गिर्जाघरतर्फ जानेहरू चिहानतिर जाने जस्तै हुन्थे ।
यसैले पादरीहरूलाई कतिसम्मको आश्चर्य लाग्यो होला ? एक दिन राती जीवनलाई प्यार गर्ने सहरिया लाग्ने सामान्य पापी मानिसले उनीहरूको ढोकामा ढकढक्याउँदाखेरि मठ प्रमुखसँग आशिर्वचन र पूजा गर्न पाउन बिन्ती गर्नुभन्दा पहिले यो मानिसले रक्सी र खानाको माग गरेन । सहरबाट मरूभूमिमा ऊ कसरी पर्यो भन्ने प्रश्नमा उसको लामो शिकारी कथाले जवाफ दियो, शिकार गर्न गएको थियो, थप पिएछ र बाटो बिरायो, मठमा प्रवेश गर्ने र आफ्नो पाप पखाल्ने प्रस्तावमा उसले मुस्कान र “म तपाईँहरूको वैचारिक साथी होइन” भनेर जवाफ दियो ।
टन्न खाई पिई गरेपछि उसले आफ्नो सेवामा खटिएका पादरीहरूलाई हेर्यो र भन्यो केही पनि गरिरहनुभएको छैन तपाईँहरूले ! तपाईँहरूलाई मात्र थाहा छ खाने र पिउने , यसरी आत्मा बचाउँछन् र सोच्नुहोस् त्यो बेलामा जब तपाईँहरू यता शान्तिमा बस्नुहुन्छ, खानुहुन्छ, पिउनुहुन्छ, भगवानबारे सपना देख्नुहुन्छ, उता तपाईँहरूका निकटहरू मरिरहेका छन् र नरकमा जाँदै छन्, यसो हेर्नुहोस् त सहर बजारमा के हुँदैछ भनेर, एकथरी भोकले मरिरहेकाछन्, उता अरू चाहिँ आफ्नो सुन कहाँ राख्ने भनेर थाहा नपाएर आफूलाई व्यभिचारमा डुबाउँदै छन् र मार्दै छन्, महमा डुबेको झिंगासरी, छैन मानिसहरूमा कुनै आश्था, न त कुनै विश्वास ! उनीहरूलाई बचाउने काम कसको नि ? कसको हो सिकाउने काम ? मेरो त होइन होला नि ? जो बिहादेखि बेलुकासम्म मदमत्त हुन्छ । शान्त चित्त, प्रेमिल मन तथा आश्था भगवानले तपाईँहरूलाई यिनीहरू यहाँ चार दिवार बीचमा बसून् र केही नगरून् भनेर दिएका हुन् त र ?
सहरीयाका यी जड्याहा शब्दहरू आँटिला र अपमानजनक थिए, तर प्रमुख पादरीमाथि भने यिनले अचम्मसित असर पारे, बृद्ध प्रमुख पादरीले आफ्ना पादरीहरूतिर एकपल्ट फेरि हेरे, नीला भए, अनि भनेः दाजु भाइहरू, यसो त उनी सत्य बोल्दै छन् ! साँचो हो गरीब मानिसहरू कुबुद्धि र कमजोरीले गर्दा अभाव र अनाश्थामा मरिरहेका छन्, अनि हामी चाहिँ ठाउँबाट सर्ने होइनौँ मानौँ यो हामीलाई कुनै मतलबको कुरा होइन, किन मैले नजाने र उनीहरूलाई क्राइष्टबारे याद नदिलाउने जसलाई उनीहरूले बिर्सिएका छन् ?
सहरीयाका शब्दहरूले बूढालाई निकै उत्साहित गर्यो, भोलिपल्टै आफ्नो लौरो लिए, साथी भाइहरूसँग बिदा भए, अनि सहर जान भनेर निस्किए, यता पादरीहरू संगीतबिना अनि उनका प्रवचन र कविताबिना रहे ।
बूढाको न्याश्रोमा बिताए उनीहरूले महिना एक अनि अर्को, तर बूढा भने फर्किरहेका थिएनन्, अन्ततः तेश्रो महिना बितेपछि उनको लौरोको परिचित आवाज सुनियो, पादरीहरू उनको स्वगतमा आतुरिए र उनलाई प्रश्नहरूले छोपिदिए, तर उनी भने यसबाट प्रशन्न हुनुको साटो नमीठोसँग रोए र एक शब्द पनि बोलेनन्, पादरीहरूले देखेः उनी एकदम बूढा भएछन्, दुब्लाएछन्, उनको अनुहार थकित थियो, र गहिरो शोक देखाइरहेको थियो त्यसले अनि जब उनी रोए, यस्तो मान्छेको भाव झल्काए, जसलाई अपमान दिइरहेको छ ।
पादरीहरू उनीसँगै रोए र सङ्सङ्गै उनीहरूले सोध खोज गर्न लागे । उनी किन रोएका, उनको अनुहार किन यति उदास छ भनेर, तर उनले एक शब्द पनि बोलेनन्, बरू आफ्नो कोठामा गए र बन्द भए । उनी आफूकहाँ सात दिन बन्द रहे, केही खाएनन्, पिएनन्, आरगन पनि बजाएनन्, तर रुन्थे । आफ्ना पदरीहरूका ढोकाका ट्वाक ट्वाक र कोठाबाट निस्किने र आफ्ना दुःख पीडाहरू बाँडचुड गर्ने आग्रहरहरूका जवाफ गहिरो मौनताले दिन्थे उनी ।
अन्ततः उनी बाहिर निस्के । आफ्ना सबै पादरी साथी भाइहरूलाई जम्मा गरेर उनले रुञ्चे चेहरा, शोक र असमञ्जसताको भावसहित भन्न थाले, उनीसित यी अन्तिमका तीन महिना के भएको थियो भनेर । उनको स्वर शान्त थियो, आँखाहरू मुस्कुराउँथे, उनले गिर्जाघरबाट सहर जाँदाको आफ्नो पथ वर्णन गर्दाखेरि । बाटोमा उनको लागि चराहरू गाउँथे, खोला खोल्साहरू गुनगुन गर्थै, अनि मीठा, नयाँ आशाहरूले उनको मन उद्द्वेलित गर्थे उनी हिँड्दै जान्थे, अनि अनुभूत गर्थे आफूलाई त्यो सिपाही, जो रणभूमिमा जाँदै छ र विजयप्रति ढुक्क छ । सपनाहरू देख्दै हिंड्थे उनी, गीत कविताहरू रच्थे, अनि पत्तै पाएनन् पथ कसरी कसरी सकियो भनेर !
उनको आवाज काँपेको थियो, आँखा राता राता थिए, उनी आफू रिसले चुर थिए, सहर र त्यसका मानिसहरूबारे बताउन थाल्दाखेरि । उनले जीवनमा कहिल्यै देखेका थिएनन्, उनले विचार गर्ने साहस समेत गरेका थिएनन्, जे उनले देखे सहर पास्दाखेरि । केवल यहाँ, जीवनमा पहिलो चोटि, बूढ्यौलीमा, उनले देखे र बुझे, शैतान कति बलवान हुँदो रहेछ, दुष्टता कति सुन्दर हुँदो रहेछ, अनि कति कमजोर, अपमानित र निरिह हुँदा रहेछन् मानिस् भनेर । दुखद संयोग थियो, पहिलो आवास जहाँ उनी पसेका थिए, त्यो घर व्यभिचारीको थियो । आधा सय जति मानिसहरूसँग थुप्रै पैसा थिए, जो खाँदै थिए र बेहदर पिउँदै थिए, रक्सी । रक्सीको नशामा उनीहरू गाउँथे, अनि साहसपूर्वक डर लाग्दा र अश्लील शब्दहरू बोल्थे, जो भन्न किमार्थ तयार हुँदैन भगवानसँग डराउने मान्छे असीम स्वतन्त्र, हिम्मतिला, खुसी यिनीहरू न भगवान, न शैतान, न मृत्युसँग नै डराउँथे, बरू जे चाहेको सब बोल्थे, गर्थे, अनि त्यहाँ जान्थे, जहाँ उनीहरूको होसले लैजान्थ्यो । सुनौलो माछाको फूल क्याभियरको साथमा तृणमणी अम्बर जस्तै सफा रक्सी, संभवतः अधीर रूपले महक र वास्नादार हुँदो हो, किनकी हरेक पिउनेवाला हर्षले मुस्कुराउँथ्यो र थप पिउन चाहन्थ्यो । रक्सीले पनि मान्छेको मुस्कानलाई आफ्नो मुस्कानले जवाफ दिन्थ्यो, जब उसलाई पिउँथे खुसीसाथ, टाँसिएको हुन्थ्यो ऊ, अनि पक्का थाहा हुन्थ्यो उसलाई, कस्तो शैतानी सुन्दरता लुकेको छ यो मीठासभित्र भनेर ।
बूढा, रिसले झन् बढी तातिँदै र रुँदै उनले के देखे, बयान गर्दै गए । पार्टी मनाउँदै गरेकाहरूको बीच, टेबुलमा, अर्धनग्न वेश्या उभिएकी थिई, उनले भने । प्रकृतिमा कल्पना गर्नु र पाउनु गाह्रो हुन्छ, यस्तो केही सुन्दर जलजाउँदो चीज । काला काला आँखा र मोटा मोटा ओठकी यो विकृत जीवस मस्त तरूनी, लामो कपालवानी, गहुँगोरी, निर्लज्ज तथा बेसोमती, हिउँजस्तै आफ्ना सेता दाँत देखाउँदै मुस्कुराउँथी, मानौँ भन्न चाहन्थीः “हेर्नुहोस्, म कति नग्न छु, तर कति सुन्दर छु !” सुन्दर बुनोटका शिल्क र ब्रोकेड उसको काँधबाट बारम्बार खस्थे, तर आफ्नो सुन्दरता पोशाकामुनि लुकाउन चाहन्थिन ऊ, वसन्तको माटोको कलिलो हरियाली जस्तै, उसको जिउबाट तृषित भएर । निर्लज्ज महिला रक्सी पिउँथी, गीत गाउँथी र ती सबलाई आफू सुम्पिन्थी, जो चाहन्थे मात्र ।
यसपछि, रिसका हात हल्लाउँदै घोडf दौड, गोरू दौड, ठेटर, कलाकारहरूको स्टुडियो, जहाँ माटोले नग्न महिलाहरू देखिन्थे र टाँसिन्थे, वर्णन गरे । उनी यो सब भावपूर्ण, सुन्दर तथा बहुत सुनिने गरी भन्दै थिए, मानौँ अदृश्य तारहरू जो बजाउँदै थिए, अनि पादरीहरू, जो खिचिएका थिए उनीप्रति, उनको प्रवचनप्रति तृष्णापूर्वक ध्यान मग्न भएर सुन्थे, आनन्दले सास फेर्थे । शैतानको सब अलौकिकता, दुष्ट्याइँको सुन्दरता, अनि घिनौनी महिलाको जिउको जलजलाकारको वर्णन गरेर बूढाले शैतानलाई सत्तो सराप गरे, पछाडि फर्किए अनि आफ्नो ढोकापछाडि छोपिए ।
जब उनी अर्को दिन कोठा बाहिर निस्के, मठमा एकजना पनि पादरी थिएन । उनीहरू सब सहरतिर भागिसकेका थिए ।
२०७६ चैत्र १५ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।