याद छ भाइ तँलाई त्यो रात
ज्वरोले च्यापेर सिकिस्त बनाएको बेला
आमाले रुँदै तँलाई च्यापेर सुतेको दिन ?
तर आज अंश माग्दा
तैले आमाको काख माग्न सकिनस्

तैँले त त्यो दिन पनि बिर्सेछस्
नभए आज अंश माग्दैगर्दा
बाको काँध कसरी छुटाउँथिस् होला र ?
जुन काँधमा चड्न
तेरो र मेरो झगडा पर्ने गर्थ्यो
भाइ,
मैले चाहिँ कसरी भुल्न सकेँ हुँला है
तँलाई सहरमा राखेर पढाउँदा
बेँसीको तीन रोपनी जग्गा बेचेको ?

अनि कसरी बिर्सेँ होला
तेरो बिहे खर्चको लागि
पाखोबारी सस्तैमा बेचेको ?

आमाले कुँडेमा दूध तताएर
कुराउनी कोर्दैगर्दा
बाहिरबाट मलाई चुकुल लगाइदिएर
तँ नै भान्सामा छिटो पुग्थिस्
तर आज ,
बालाई दमले गार्हो पार्यो भन्दा
तँ तेरै घरको ढोकाको
भित्रबाट चुकुल लगाएर बसेको छस्
अनि आइपुगेको छस्
बाको सास गएपछि
सबैभन्दा अन्तिममा ।।

मलाई अझै याद छ
मेरो बिहेमा
माथ्लो घरको बस्नेत दाइको कोट

तल्लो घरकी थपिनी भाउजूको सुन
पैँचो मागेर
मैले मेरो बिहे उतारेको दिन
याद त मलाई त्यो पनि छ
तेरो बिहेमा तीन तोला सुन
दुईवटा खसी
चारवटा गाडी
तेरो बिहेमा तँ खुसी भइनस् सायद ,
जति तेरो बिहेमा म खुसी भएँ

आमालाई महिला समूहमा
मिस्री बाँडेको दिन
आमाले कान्छाले खाओस् भन्नुहुन्थ्यो
अनि तँ मुख चबाउँथिस्
तर गुलियो मलाई हुन्थ्यो
आज तैले अंश माग्दा
मेरो माया अलिकति दे किन भनिनस् ?

भाइ,
तैँले परालको कुन्यूमा अन्जानमै आगो लगाइस्
बालाई मैले हो भनेर
बाको पिटाइ मैले सहेँ

तर

आज अंश माग्दैगर्दा
त्यो दिनको पराल लान्छस् दाइ भनेर किन सोधिनस् ?
तैँले अंश खोजेर
सम्पति लिएर गइस्
अनि मैले आमालाई पाल्ने होइन
आमासँगै बस्ने सौभाग्य पाएँ ।

ए सहरमा बसेर वकालत पढेको मेरो भाइ
अब तँ आफैँ भन् त
यो रगतको युद्धमा
मैले जितेँ कि तैँले जितिस् ???

(हामीले भाइरल कविता शीर्षकमा नयाँ स्तम्भ सुरू गरेका छाैँ , जसकाे सुरूवात कवि निरज दाहालकाे कविता ‘अंश बाँडफाँड’बाट गरिएकाे छ । याे  कविता बेला–बेलामा  फेसबुक पेज तथा ग्रुपहरूमा वास्तविक सर्जकको नाम उल्लेखै नगरी भाइरल बनिरहेकाे हुन्छ भने कतिले आफ्नै नाममा राख्ने गरेकाे  पनि पाइन्छ । हामी हरेक साता यस्ता कविताहरूकाे खाजी गरेर यहाँहरूसमक्ष प्रस्तुत गर्ने प्रयास गर्नेछाैँ। )