“कतिवटा युग फेरिएर गइसके तर शतप्रतिशत नारी मर्यादापूर्ण जीवनको हकदार बन्न सकेका छैनन् ।” – डा. वीणा हाङ्गखिम

सृष्टिको सुरुवातदेखि नै हाम्रो सभ्यातले, नारीलाई शक्ति स्वरूपका रूपमा पुकारा गर्दै आयो । सृष्टिको स्रोत उनै हुन् भन्यो । प्रकृति पनि उनै हुन् भन्यो । सृष्टि र संहार गर्ने पनि उनी नै हुन् भन्यो । देवी, स्वरस्वती, लक्ष्मीको रूपमा उनैलाई पुज्यो । फेरि पटक पटक अपमानित उनै हुनु पर्यो । इतिहासमा ठूला ठूला भूल भए । पौराणिककालीन सीता र द्रौपदीले अझै न्याय पाएका छैनन् । युगयुग नभुलिने त्यो अक्षम्य गल्ती भएको छ । यता वर्तमान समयका सीता र द्रौपदीले फेरि कति युग पर्खिनु पर्ने हो, सम्मानित बचाइको लागि । हत्या, हिंसा, बलात्कारको घटना आउँदो युगमा समेत थामिएला जस्तो छैन । अझ भनौँ कहिल्यै नथामिएला । स्थिति त्यस्तै छ । अपमान, असुरक्षा, अभद्रता त्यस्तै केही सहनको लागि नारीको जन्म हुने गर्छ शायद । तर होइन । यो प्राकृतिक नियति होइन । यो त हाम्रै नारी विद्वेषी, अमैत्रीपूर्ण चेतनाले निर्मित परम्परा हो । जसले एउटा संस्कारकै रूप लिएको छ । यस्तो अनैतिक परिस्थितिमा दार्जीलिङकी डा. वीणा हाङ्गखिमले नारी आवाजलाई समवेत स्वर दिएकी छन् । नारी संवेदना तिनै स्वरहरूको संकलित रूप हो ।

स्थापितदेखि नवोदित स्रष्टाका कथा, कविता, उपन्यासमा गरिएको समीक्षामूलक सिर्जना आरम्भमा त निबन्ध संकलन होला भन्दै थिएँ, होइन रहेछ । विवेच्य पुस्तकसँगै डा. हाङ्गखिमको सिर्जनात्मक रचना पढेको आभास हुने नारी संवेदना वैचारिक लाग्छ । महिला र पुरुष सर्जकका रचनामा नारीका अनुभूति, नारीका विचार, नारीका दृष्टिकोणलाई पर्गेल्ने प्रयत्न गरिएको छ । सँगै कृतिकारको साहित्यिक परिचय, विधागत परिचय र कृति, रचनाको अन्यपक्षलाई समेत मूल्याङ्कन गरिएको छ । समग्र पक्षलाई हेरिएको छ । विशेषतः नारीका संवेदनालाई ख्याल गरिएको छ ।

नेपालका, उता दार्जीलिङ, डुवर्स, पूर्वोत्तर क्षेत्रका गरी एक्काइस जना साहित्यकार र उनका कृति समाविष्ट नारी संवदेनामा पुरुष स्रष्टा केही कम्ती छन् । कविता काव्यको आवृत्ति भइरहन्छ । त्यसको अनुपातमा उपन्यास थोरै छ । कथा केही बढी छ । निबन्धात्मक कृति यस सङ्ग्रहमा एउटै परेको छैन । नाटक, एकाङ्की दुवै छैनन् । अरू विधा हेरी कविता निकै उर्वर देखिन्छ ।

साहित्य अकादेमी त्यस्तै अनेसासद्वारा सम्मानित हाङ्गखिम विशेषतः कवि हुन् । त्यसपछि समालोचक, अनुवादक, सम्पादक पनि हुन् । भावानुवाद (२००४), अन्तर समानान्तर (२००८), अग्निपर्व (२०१२), उज्यालो पोखिएपछि (२०१७) त्यस्तै अङ्ग्रेजीमा ँयिखगच या भ्mयतष्यल (भावनाहरूको स्वाद) जस्ता उनका कविता सङ्ग्रह यस अघि नै प्रकाशित भइसकेका छन् । उनको अङ्ग्रेजी कविता जेनिफर राईद्वारा अनुवाद भएको छ । कृति विमर्श समालोचना पुस्तक (२०१४) र शरद क्षेत्री, भारतीय साहित्यका निर्माता (२०१६) त्यस्तै अनुवाद र सम्पादनका अन्य कृति पनि रहेका छन् । विभिन्न सम्मान, पुरस्कार र संलग्नताले पनि डा. हाङ्गखिमको व्यक्तित्वलाई बुझ्न सकिन्छ ।

सदियौँदेखिको मौनता भङ्ग हुन थालको समय छ । किनारीकृत आवाज ब्यूँझिएका छन् । डायास्पोरिक स्वर फैलिएका छन् । त्यस्तै नारी आवाज पनि सशक्त हुन थालेको छ । नारीवादी लेखक, समालोचक, अभियान्ता पनि सक्रिय छन् । त्यसै मध्येका कोही अलिक उग्रवादी पनि छन्, जो पुरुष सत्ताको विरोध र अपमान जति धेरै गर्न सक्यो त्यति सच्चा नारीवादी भइन्छ भन्ने छन् । यस अवस्थामा नारी र पुरुष दुवै समान अस्तित्वका छन् । सहअस्तित्व र समन्वयमा मात्रै हाम्रो समाज स्वस्थ र सन्तुलित हुन सक्छ, अब एउटा यस्तो सोच आउन जरुरी छ । डा. हाङ्गखिमको नारी संवेदना त्यस्तै एउटा सन्तुलित स्वर हो । विरोध र समर्थनदेखि दूर रहेको, समाजको वास्तविकता बोलेको द्रष्टा आवाज, कसैको पक्षमा छैन । हाङ्गखिमलाई यसरी उदार नारीवादी समालोचकको रूपमा हेर्न सकिन्छ ।

अनिता पन्थी

सर्जक र उसका कृतिमा निष्पक्ष वक्ता भएर नारी संवेदना कहाँ छ ? कस्तो छ ? कति छ ? त्यही खोजिएको छ । कतिपय कृति, रचना नारीवादी दृष्टिले भन्दा पनि अन्य अवधारणामा, सही तरिकाले अर्थिएका छन् । विगतको समय र परिवेशमा नारीले अलिक बढी नै अवसाद भोग्नु परेको छ । वर्तमान समय त्यति कठोर छैन जति विगतका दिनहरू थिए । अबका नारी त्यसरी दबिएर, खुम्चिएर बस्ने छैनन् । साहित्यमा त्यसै अनुरूपको चेतना आउन थालेको छ । उनीहरूले आफ्नो परिभाषा आफैँ बनाएका छन् । तर महिला हिंसा अझै रोकिएको छैन । यसको अर्थ हो उनीहरू (महिला) अझै सबल हुन बाँकी छ । धेरै बाँकी छ ।

नेपालको अवस्थालाई हेर्दा नारी सशक्तीकरणको यो प्रारम्भिक चरण हो । पुरुषको अत्याचार खपेका महिलाहरू एक समय यसरी जमजमाउने छन् कि, आफूमाथि दमन गर्नेलाई प्रतिशोधको रूप लिनेछन् । बदलाको भावनामा ती उग्र हुनेछन् । त्यो क्रोध साम्य हुन एउटा युग सकिनेछ । अपमान र अपराध सहँदा सहँदै सहनशीलताले सीमोल्लङ्घन गरेपछि, अन्तर्मनबाटै विद्रोह जन्मिन थाल्छ । त्यसबखत परिस्थिति अर्कै हुनेछ । देवी, काली, महाकालीको रौद्र रूपले पुरुष सत्ता निश्चय कहालिने छ । हो त्यतिखेर महिला होइन पुरुष हिंसाको अवस्था सिर्जिन थाल्ने छ । त्यसपछिको समय के हुन्छ यसै भन्न सकिँदैन । महिला र पुरुष समान पहुँचका, समान शक्तिका हुन्छन् या त मातृसत्ताको उदय हुन सक्छ । यस्तो हुनु एउटा स्वाभाविक प्रक्रिया हो । हरेक युगमा अतिवादका कारण नववाद जन्मिने गरेका छन् । किनारीकृत स्वर त्यसैको एउटा उदाहरण हो । भरे पुरुष हिंसाको चरमोत्कर्षमा फेरि नारीसत्ताको अन्त्य निश्चित छ । दब्ने उठ्ने यो भइरहन्छ । जुन प्राकृति क्रिया हो ।

आफू नारी हुनाको कारण मैले यस्तो कुरा गरेकी होइन । सम्भावित युगको एउटा चर्चा मात्र गरेकी हुँ । हरेक युगमा महिला र पुरुष समान होऊन्, म यही चाहन्छु । महिलाले पुरुषलाई दबाउनु पर्छ म भन्दिनँ अनि महिला पनि कहिल्यै नदबिऊन्, पुरुष पनि नदबिऊन् । कोही ठूलो छैन कोही सानो पनि छैन । प्रकृतिले नित्य समभावले हेर्ने गर्छ । उसले कुनै भेद राखेको छैन । जति भेद छ त्यो हामीले नै सिर्जना गरेको एउटा अवधारणा हो । नारीवाद, पुरुषवादका सम्बन्धमा प्रकृति सदा अनभिज्ञ छ । एकले दोस्रोको सम्मान गर्ने हो भने, हामीले कहिल्यै कुनै वादको वकालत गर्न आवश्यक पर्ने छैन ।

वर्तमान समयमा पुरुष-पीडित महिला मात्रै छैनन् । महिला-पीडित पुरुष पनि उतिकै छन् । यता नारी संवेदनामा पुरुष पीडक दुःखी आवाजहरू प्रशस्तै छन् । मातृत्व प्रेम छ । महिला सहनशीलताका कुरा छन् । प्रकृति, धर्ती, नारी एउटै स्वभावका, एउटै कुलधर्मका अनेक रूप हुन् । भोलिका दिनमा पुरुषको पीडित मनोदशाले पनि अवश्य साहित्यको रूप लिने छ । हो त्यतिखेर नारीवादी समालोचना जस्तै पुरुषवादी समालोचनाको पनि उदय हुने छ । नारी संवेदना जस्तै अर्कोपालि हाङ्गखिम पुरुष संवेदनाका बारेमा केही लेख्ने छिन्, विवेचना गर्नेछिन् । किनकि समयले त्यसो गर्न लगाउने छ । हाङ्गखिमको यस कृति (नारी संवेदन) मा वर्तमान होइन विगतको समाज धेरै छ । वर्तमानको समय पनि केही छ । ती विवेच्य सिर्जनाहरू सबै यथार्थ पृष्ठभूमिमा रचिएका छन् । काल्पनिकता थोरै पनि छैन । बरु संवेदनाका रागहरू छन् । कमला राईकृत शब्दहरूको एकान्तबास त्यस्तै संवेदना पैदा गर्ने खालको एउटा कविता सङ्ग्रह हो । पुत्रशोकमा परेकी जननी आफूलाई धैर्य गर्दै भन्छिन्:

अनि तिम्रो कानैमा मैले भनेँ
जाऊ छोरा
तिमी निश्चिन्त जाऊ
तिम्रो समय पुग्यो
रहल काम मै गरुँला
मै बोकूँला तिम्रो भार
आखिर आमा हुँ नि त
हामाले के गर्न सक्दिनन् र !
(पृ—१७)

आमा हुनु भनेको जस्तो कठोर, निर्दयी, सन्तप्त परिस्थितिको पनि सामना गर्न तयार हुनु हो । यहाँ कमला राई पनि तयार भएकी छन् ।
ऊ जुन भूगोलमा बसोबास गरे पनि उसको संवेदनाले दोस्रो व्यक्ति द्रवीभूत हुन्छ । किनकि सबैमा उस्तै मानवीय संवेदना हुन्छ । अझ भनौँ सुख, दुःख बोध गर्ने, खुशीमा रमाउने सम्पूर्णको मन उस्तै हुन्छ । संवेग सिर्जना गर्ने हृदय पनि त उस्तै हुन्छ ।

नारी संवेदनामा मैले, वीणा हाङ्गखिमलाई पढ्दैछु या त विवेच्य कृति या त त्यस कृतिका स्रष्टालाई । ठ्याक्कै भन्न सकेको छैन । ती स्रष्टासँग प्रत्यक्ष संवाद गर्दैछु जस्तो बोध गराउन सक्नु हाङ्गखिमको समालोचकीय कुशलता हो । लेखक र उसका कृति अनि समालोचकको त्रिकोणात्मक सम्बन्ध, यसमा स्पष्ट देख्न सकिन्छ । प्रायः समीक्षा समालोचनामा सर्जक र समीक्षक ओझेलमा परेका हुन्छन् । विश्लेष्य कृति मात्रै टक्रक्क देखिन्छ । त्यस्तै कतिपयमा स्रष्टा र कृति दुवै आउँछन् । स्वयं समीक्षक भने त्यसमा मिसिएको हुँदैन । प्रस्तुत आलेख कसले तयार ग¥यो भन्ने सम्म आभास रहँदैन । तर हाङ्गखिमको यस ग्रन्थमा उनको साहित्यिक र समालोचकीय व्यक्तित्व दुवै एकसाथ आएको छ ।

हामीले अघिदेखि भन्दै आयौँ समीक्षा, समालोचनाको पाटो शुष्क निरस हुन्छ । तर होइन । डा. गोविन्दराज भट्टराईका उत्तरआधुनिक ऐना, उत्तरआधुनिक विमर्शजस्ता समालोचना पुस्तक पढेपछि मेरो दृष्टि बदलियो । रूढतामा त्यस्तो थियो । तर अहिले नवीन शैली आएको छ । समालोचनालाई एउटा सिर्जनात्मक लेखन बनाउने शैली । कृतिमा रिक्तता खोज्ने र भर्ने शैली । विपठन शैली । विनिर्माणिक शैली । डा. भट्टराईले नेपाली समालोचनामा यस किसिमको क्रान्ति ल्याए । वास्तवमा समालोचनाको अभिप्राय कृति संरचना, पात्र, दृष्टिविन्दु, उद्देश्य र समालोचना सिद्धान्तको आधारमा विश्लेषण गर्नु मात्र होइन ।

पाठकलाई त्यस्ता कुरा अध्ययन गर्नुको केही लाभ छैन । लेख्नुको पनि लाभ छैन । तृप्ति मिल्दैन । भनौँ न त्यस किसिमको सामग्री अध्ययनको आवश्यता पनि पर्दैन । कृतिको परिचयात्मक ज्ञानको वास्तवमा उसलाई जरुरतै छैन । उसको पठन धेय त्यो होइन । कम्तीमा पठन पश्चात् उसले सिर्जनात्क सुखबोध गर्न सकोस् । केही जानोस् केही सिकोस् । कृतिको वैचारिकतामा केही ज्ञान मिलोस् ।

रुढ समालोचना फ्याक्ट्रीबाट उत्पादित सामानजस्तै एउटै रूप, आकार र बनोटको हुन्छ । एउटा माल हेरेपछि अर्को हेर्न आवश्यकै पर्दैन । त्यसमा केही नवीनता र विचारको खोजी हुँदैन । केवल संरचनात्मक चिरफार हुन्छ । शैद्धान्तिक अवधारणा हुन्छ । त्यही अनुरुप कृति रचियो रचिएन भनेर मूल्याङ्कन हुन्छ ।

डा. हाङ्गखिमको नारी संवेदना त्यस्तै नवीन शैलीको छ । अगाडिको समीक्षात्मक लेख पढ्दै गर्दा, अब यसपछि कुन चाहिँ कृति समीक्षा गरिएको होला जस्तो एउटा उत्सुकता पैदा गर्ने खालको छ । एउटै कविता, एउटै कथालाई लिएर पनि लामो विश्लेषण गर्न सक्ने, धेरै कुरा भन्न सक्षम हाङ्गखिमको समीक्षात्मक व्यक्तित्व सबल लाग्छ । प्रभावक छ त्यो लेखन । बेला बेला उनको समीक्षामा कृतिभन्दा पनि स्रष्टा व्यक्तित्वले प्रभाव पारेको हो कि एउटा भान पनि हुन्छ ।

नारी उत्पीडन, अपहेलना, यौन हिंसा, भ्रुण हत्या, बर्बरता, घरेलु हिंसाले हाम्रो समाज अशान्त छ । नारी प्रकृतिकै सुन्दर र प्रिय सिर्जना हो । उनीहरू समाजले देखेजस्तो कमजोर छैनन् । तर उनको सहनशीलतालाई कमजोर सोचिन्छ । अनि उनको दयालु स्वभाव र नम्रतालाई काँतर भनिन्छ । तर अब स्वयंको उद्धार गर्न उनी चण्डी बन्नेछिन् ।

मणिका मुखियालाई अघिका दिनमा मैले एउटा प्रखर बलगखबबमबप भदबm समालोचकको रूपमा चिनेकी थिएँ । अझ विशेषतः उनी कवि रहिछिन् । नारी संवेदनामा उनको स्वर त्यस्तै खिरिलो छ । एउटा भु्रणले आफ्नी आमासँग जीवनदान मागेको एउटै कविता (गर्भको शिशुको क्रन्दन) ले म सम्पूर्णतः सम्मोहित भएँ । भ्रुणको मनोदशामा मेरो त वाणी नै अवरुद्ध भयो । छोरी हुनाकै कारण त्यो भ्रुणको हत्या हुन्छ—

म बाँच्न चाहन्छु आमा !
नील गगनको शीतल छहारीमा
हाँस्न चाहन्छु ।
मखमली हरियो घाँसमा
रङ्गीबिरङ्गी पुतलीसँगै
दौडिन चाहन्छु
मलाई आफ्नो न्यानो काखमा
सुत्न दिनोस् (पृ—२१) ।

सृष्टिका प्रतीक मानिने शोषित, शासित नारीहरू अधुनातन युगसँगै जुर्मुराएर उठ्न खोज्दैछन्, पुरुष प्रधान समाजमा समानाधिकार कायम गर्न । नारी अस्तित्वलाई अवमूल्यन गर्दै नारी शोषणलाई जन्मगत अधिकार ठान्ने हैकमवादी पुरुषसत्ताको विरोध र पितृसत्तात्मक समाजलाई चुनौती दिने स्रष्टाहरू आउन थालेका छन् । इन्दिरा प्रसाईंको दोस्रो सत्ता त्यस्तै एउटा कथा हो ।

कथा, उपन्यासमा प्रायः निम्नमध्यम वर्गीय पात्र पात्रा छनोट गरिएका छन् । तिनीहरूले हाम्रै समाजको, दीन दुःखीको प्रतिनिधित्व गरेका छन् । हाम्रो समाज त्यस्तै छ । नारी संवेदनमा विश्लेषित सिर्जनाहरू कुनै न कुनै तरिकाले नारीको भावनासँग मेल खाने स्थितिका छन् । उनीहरूको न्यायको लागि, हितको लागि अनि कतिपय रचनामा नारी शक्तिस्वरूपिणी हुन् भन्न खोजिएको छ, प्रकारान्तरमा । उनीहरू अपमानित भएको त्यस्तै निन्दित चरित्र टिपेर, उनीहरूको पक्षमा बोलिएको छ । कतै उनीहरू शोषित छन्, तर लेखकले न्याय दिन सकेका छैनन् । कतै कतै सुन्दर समाजको इच्छा राखेर आदर्श पात्रको चयन गरिएको छ ।

कला साहित्यमा यस किसिमको महिला सक्रियता उन्नत समाजको सूचक हो । नारा, जुलुस र विरोध गरेर महिलाले पुरुष समान अधिकार पाउनु पर्छ, पुरुष समान हुनुपर्छ भन्दैमा, महिला र पुरुष समान होइँदैन । दक्षतापूर्ण कर्मले मात्रै ऊ समस्तरीय हुन सक्छे, पुरुषभन्दा पनि अझ उचाइमा पुग्न सक्छे ।

कौशल्या मुखियाको सेतो गुलाफ (बाल कथा) ले मलाई उसै गरी छुन्छ । गरीब परिवारकी सानी केटी पढाइमा तीक्ष्ण छे । आफ्नो असहाय अवस्थाप्रति ऊ परिचित छे । एउटा अभिभूत पार्ने घटना हुँदा हुँदै पनि यो नारी उत्पीडनको कथा भने होइन ।

गरीबी, अशिक्षालगायत अरू जटिलताको प्रभाव एउटी महिलामा जति परेको हुन्छ त्यति पुरुषमा परेको हुँदैन । उसको संघर्ष त्यसै कारण पनि ठूलो हुने गर्छ । परन्तु उसको त्यो संघर्षले माथि उठाउन भने सकेको हुँदैन । किनकि हाम्रो सामाजिक संरचनाले महिलालाई सधैँ तल पार्न खोज्छ । त्यसमा प्राकृतिक समस्याले पनि केही कठिनाइ थपेको हुन्छ । पद्मावदी सिंहको निःशब्द यात्रामा दिव्या (पात्र) ले भन्छिन्, “आइमाईको खास जीवन विवाहपछि मात्र शुरु हुन्छ ।” उसो भए महिलालाई खास बनाउन पुरुष जिम्मेवार देखिन्छ । होइन त ? यसले के पनि भन्न खोजेको छ भने, नारीलाई आफैँ उठ्न हाम्रो समाजले दिँदैन । उसलाई पुरुषको सहायता चाहिन्छ, ऊ अबला छे, अनाथ छे । जुन मानसिकताले आज पनि ठूलो असर गरेको छ । महिला त्यही सोचले स्वनिर्भर हुन अझै पनि सकेका छैनन् ।

आधुनिक, उत्तरआधुकिन युगमा समेत महिलाको कठिनाइमा केही सुधार र न्यूनिकरण हुन अभैm सकेको छैन । फरक त्यति हो, उनीहरूका कठिनाइ संस्करण भएका छन् । त्यस्तै अर्को कुरा महिला पुरुषबाट मात्रै उत्पीडित छैनन् । नारीबाटै समेत प्रताडीत छन् । दोहोरो मारमा छन् ।
त्यसो त पुरुष कहीँ पनि दवावमा छैनन्, कठिनाइमा छैनन् भन्न खोजेको होइन । उनीहरूका पनि आफ्नै मर्का छन्, दर्द छन् । व्यवधान छन् । किन्तु महिलाजस्तो उनीहरू त्यति धेरै हिंसामा भने छैनन् । फेरि अर्को कुरा हाम्रो मानसिकताले पितृसत्तालाई अकारण पनि दोषी देख्ने गर्छ । आफू हेपिएको अनुभूत गर्छौँ । आफ्नो दुर्बलताको कारण पनि त्यस्तो हुने गर्छ । राम्रै कुरामा पनि खोट देख्नु त्यसैको परिणाम हो । अनि भन्छौँ—पुरुषले हामीमाथि सदियौँदेखि दमन गर्दै आए । भोलिका दिनमा महिला हिंसाको ठाउँमा पुरुष हिंसा दोब्बर तेब्बर भए पनि हामी पितृसत्तात्मक समाजका यी पुरुषहरू … भन्न छोड्ने छैनौँ ।

अहिले वृद्ध वृद्धामा एउटा हुरी चलेको छ, अन्योलको । नव संस्कारको उदयसँगै वृद्धाश्रम चालु भएका छन् । पद्मावतीको निः शब्द यात्रा उपन्यासले यस विषयमा गहिरो संवेदना उब्जाएको छ । त्यस्तै रीता ठकुरीको उपन्यास काकाकुलको तिर्खामा नारी संघर्षका कथा छन् ।

यता नीरा सुब्बाको आडम्बर कथामा छोरा बुहारीले आमालाई बेवास्ता गरेका छन् । उनको विरामीलाई अवस्थालाई ध्यान नदिएर छोरा बुहारी धर्मकर्ममा उपस्थित हुन्छन् । घर घरमा अपहेलित आमाको अवस्थालाई देखाउनकै लागि यो कथा रचिएको हुनुपर्छ । स्वयं जन्मदातृको उपेक्षा गरेर कुन धर्म प्राप्त होला ? वर्तमान अवस्थालाई यसले सम्बोधन गरेको छ, व्यङ्ग्य गरेको छ ।

एउटी नारीको भावना बुझ्नु भनेको सम्पूर्ण नारीलाई बुझ्नु हो । धर्तीलाई बुझ्नु हो । प्रकृतिलाई बुझ्नु हो । आमालाई बुझ्नु हो । जब हामी यो कुरा बोध गर्दैनौँ अनि बार बार हाम्री आमा तिरस्कृत हुन्छिन् । छोरी चेली हिंसामा पर्छन् । बलाल्कृत हुन्छन् । श्रीमती हेपिन्छिन्, दबिन्छन् । भ्रुणहरू नजन्मिँदै मर्छन् । विनीता छेत्रीकृत सलोनी कथामा किशोरी पात्रले त्यही यौन हिंसा भोग्नु परेको छ । बालशोषण भएको छ । उसको कुमारित्व धेरै अघि लुटिएको छ । फेरि जताततैबाट लुटिने सम्भावना छ । इज्जत बचाउनकै लागि नारीले भोग्नु परेका हैरानी अनगिन्ती छन् । सङ्घर्ष धेरै छन् ।

प्रतिष्ठित महिला साहित्यकार भागरीरथी श्रेष्ठ, मातृका गजमेर, बाल साहित्यकार स्नेहलता राई, गीता कार्की, सुधा एम. राईका साहित्यमा पनि प्रत्यक्ष परोक्ष नारी संवेदनाकै कुरा छन् । पुरुषको अभद्रता स्वीकारेर अगाडि बढ्न र नव इतिहास निर्माण गर्न नारीलाई आह्वान गरेकी योगिता राई भन्छिन्—

टकटकाइदेऊ पुरुषपक्ष स्वागँगे धूलोहरू
नडराऊ सम्भावनाहरूदेखि
गरिदेऊ सम्भोग ढुक्कले
चुनौतीका चट्टानहरूसँग
जन्माइदेऊ आँटी र खाँटी नयाँ परिश्रम
र, गरिदेऊ एउटा इतिहासको न्वारान (पृ—१२२) ।

महिला साहित्यकारको आवाजमा नारीका कुण्ठा र सुख दुःखका अनुभूतिहरू जति सहज स्वाभाविक हुन्छन् त्यति पुरुष स्रष्टाको वाणीमा त्यो हुँदैनन् । किनकि उनीहरूको लेखनमा नारी मनका भावना र संवेगका केवल अनुमानित अर्थहरू हुन्छन् । तर पनि यहाँ पुरुष सर्जकका अभिव्यक्तिहरू सशक्त लाग्छन् । नारी मनोदशा र दुरूह परिस्थितिलाई नजिकबाट नियाल्ने प्रयत्न गरिएको छ । नारीप्रति संवेदनशील देखिन्छन् । नारीको अगम्य शक्ति र स्वभावको वर्णन गरेका छन् । कवि सन्तोष थेवे, आख्यानकार तेराख र मणीकुमार सुब्बाका रचना पनि उतिकै गम्भीर लाग्छ । नियतिले नारीलाई किन यति धेरै खेदो गर्छ ? एउटा प्रश्न पनि छ । दृश्य अदृश्य बन्धनले उनीहरू खुम्चिएका छन् । कुच्चिएका छन् । पुरुष स्रष्टाले यस्तै अर्थ लाग्ने कुरा बोलेका छन् । जननीको महिमा गरेका छन् । कवि विमल वैद्य एकठाउँमा भन्छन्—

अरू त के भनौँ !
तिमीले जस्तै मैले
घरबाहिर पाइला राख्दा
मसँगै
घरको देउता निस्किन्छ
तिम्रो पौरुषता हुर्किन नपाउँदै
घरकै छानामुनि बिल्लीपाठ हुन्छ
तिम्री पत्नी मात्रै रहिनँ अब म
कसैको आमा पनि हुँ
मैले
तिमीले जस्तै पाइला उचाल्दा
मेरो घर रुन्छ (१०२) ।

अर्का पुरुष साहित्यकार मुक्ति बरालको कान्छी एउटा बेग्लै आयामको उपन्यास हो । विज्ञान उपन्यास । साइबर र ह्युमन अग्र्यान मिश्रित पात्र कान्छीमा मानवीय संवेदना देखाइएको छ ।

दार्जीलिङकी स्रष्टा गीता छेत्री कवि मात्र होइनन्, उनी समाजसेवी पनि हुन् । ‘गङ्गोत्री’—देखि ‘गोधूलिका रङ्गहरू’ उनको कविता सङ्ग्रहको शीर्षक नै बडो आकर्षक लाग्यो ।

अग्नि परीक्षा उपन्यास मार्फत् देविका राईले हाम्रो समाजमालाई सकारात्मक हुन सन्देश दिएकी छन् । आख्यानकी नायिका गौरी अप्रत्याशीत तरिकाले बलात्कृत हुन्छे । प्रेमी देवेन्द्रले त्यो सब थाहा पाएर पनि ससम्मान उसलाई स्वीकारेर कथाको अन्त्य भएको छ ।

बेग्ला बेग्लै समय र पृष्ठभूमिका नारी लेखक अनि तिनका पात्रमा समेत मैले एउटै मनोविज्ञान पाएँ, नारी संवेदना उस्तै पाएँ । युग परिवर्तन भए पनि मानवीय संवेग कहिल्यै परिवर्तन नहुँदो रहेछ । डा. हाङ्गखिमको नारी संवेदना पढेर मैले यो कुरा थाहा पाएँ । यहाँ उनी मात्रै उज्यालिएकी छैनन् । उनको विश्लेषणमा परेका साहित्यकार र तिनका कृति रचना समेत पुनः प्रकाशित भएका छन् । यसरी समीक्षा समालोचनाले स्रष्टा र द्रष्टा दुवैको हित गरेको हुन्छ ।

नारी संवेदनाको समग्रता भनेकै नारी संघर्षका कथा हुन् । चुनौतीका कथा हुन् । भावनाका, संवेगका … । अपमान र उपेक्षाका त्यस्तै नारी शक्तिका कथा हुन् । प्रस्तुत ग्रन्थ आफैँमा एउटा समीक्षात्मक कृति हो । यसमा मैले समालोचना गर्नु भन्दा पनि पाठकीय अनुभूतिलाई विशेष ध्यान दिएकी छु । किनकि समीक्षा माथिको समीक्षामा टीका टिप्पणी गर्ने ठाउँ नै के हुन्छ र ? मैले त हाङ्गखिमको लेखलाई आधार मानेर, स्रष्टा र तिनका कृतिमा केही बेल्ने धृष्टता गरेकी हुँ । आफैँले मूल ग्रन्थ पढेर त्यसबारेमा लेख्नु र अरूको आलेखबाट उक्त कृतिलाई बुझेर लेख्नुमा धेरै फरक कुरा छ । मैले यहाँ ती कृतिबारे बोल्नु भन्दा पनि डा. हाङ्गखिमको समालोचकीय व्यक्तित्व र नारी संवेदनाका बोरेमा बोल्ने चेष्टा गरेकी हुँ । त्यसै सिलसिलामा अभिव्यक्त भएकी हुँ सर्जक र तिनका कृति सम्बन्धमा ।

अब भन्नु बाँकी त्यस्तो केही छैन । बस् डा. हाङ्गखिमको उक्त कृतिबाट धेरै कुरा सिकेँ । सिकाइको कहिल्यै अन्त्य नहुँदो रहेछ । जति सिक्दै गयो झन् बढी पाठहरू थपिँदै जाँदो रहेछ । नारी संवेदानले मलाई अरू पाठ थपेर गएको छ ।