पछिल्लो समय नेपाली काव्य साहित्यमा विभिन्न उपविधाहरूको जन्म भइरहेको छ । यी प्रयोगहरू लघुतम कविताका रूपमा आइरहेका छन् । यस्ता उपविधाहरू मध्ये कतिपयका सैद्धान्तिक आधार र अवधारणाहरू सार्वजनिक भइसकेका र परिष्कारको क्रममा छन् भने कतिपयका तयार हुँदैछन् ।

यसै सन्दर्भमा नेपाल प्रज्ञा प्रतिष्ठान काव्य विभागद्वारा साउन २० गते नेपाली कविताका लघुतम उपविधाबारे एक विमर्श कार्यक्रम आयोजना गरियो । प्रज्ञा प्रतिष्ठानकै सभाकक्षमा आयोजित सो विमर्श कार्यक्रम कुलपति, सदस्य सचिव, काव्य विभाग प्रमुख र प्राज्ञसभा सदस्य तथा प्राज्ञहरू, प्राध्यापक, लेखक, साहित्यकार र विभिन्न उपविधाका प्रवर्तक तथा सर्जकहरूको उपस्थितिमा सम्पन्न भएको थियो ।

विनोद नेपाल

नेपाली कविताका लघुतम उपविधा शीर्षकको कार्यपत्र प्रस्तोता हुनुहुन्थ्यो सहप्राध्यापक डा.यज्ञेश्वर निरौला । डा.निरौलाले मुक्तक, हाइकु, सिजो, ताङका, सेनर्यु,सेन्यु, सेदोका, रुबाई, एलाक, साइनो, कोपिला, बाछिटा, सुसेली, उदक, खोरिया, क्रिमुक, झर, छेस्का, तप्कना, पिरामिड, रम्बास, टुक्का कविता, छोक, कूट पद्य,सायरी, दोहा, सोरठा, चौपाई,, आल्हा, पूरबी, केस्रा, खिचडी, युग्मक, आगो, शीत, तियाली र पञ्चाङ्ग समेत कूल ३६ वटा उपविधाका बारेमा उदाहरणसहित सङ्क्षिप्त जानकारी गराउनुभयो । कार्यपत्रमा उहाँले उपविधाहरू आउनुलाई सकारात्मक ठान्दै यसले साहित्यको विकासमा टेवा पुर्याउने धारणा राख्नुहुँदै यिनको दीर्घजीवनको लागि शुभेच्छा व्यक्त गर्नुभएको छ ।

सो कार्यपत्रमाथि दुईजना टिप्पणीकारले टिप्पणी गर्नुभयो । टिप्पणीकारपछि कार्यक्रमका सहभागीहरूका धारणा बुझ्ने प्रयास भयो । केहीले छुटेका उपविधा पनि समेटी यथाशक्य सम्पूर्ण उपविधा समेटियून् भन्ने सुझाव दिएभने केहीले टिप्पणीकारका टिप्पणी र त्यसमा प्रयुक्त भाषा शैलीमाथि प्रश्न उठाए ।

कार्यक्रमको अन्त्यमा, प्रतिष्ठानका जिम्मेवार व्यक्तिहरूबाटै ‘कतिपयले प्रज्ञा प्रतिष्ठानले उपविधाका कृति पनि प्रकाशित गरिदेओस् भन्ने चाहना व्यक्त गरेकाले उपविधाहरूको अध्ययन गर्ने प्रयास भएको’ बताइयो । उहाँहरूले कार्यपत्र केही हतारमा तयार भएकाले कमी कमजोरी रहेको स्वीकार गर्दै छुटेका उपविधा समावेश गर्ने र केहीमा असान्दर्भिक प्रसङ्गसमेत जोडिएकाले तिनमा आवश्यक संशोधन गरी शुद्ध र पूर्ण कार्यपत्र तयार गरी त्यसलाई प्रतिष्ठानकै कुनै प्रकाशनमा प्रकाशित गरिने कुरा जानकारी गराउनुभयो । सोही क्रममा उपविधाका सैद्धान्तिक मान्यता भए ती तथा प्रकाशित कृतिहरू काव्य विभागमा उपलब्ध गराइदिन अनुरोध समेत गरियो ।

भाषा, साहित्य र संस्कृतिको पक्षमा काम गरिरहेको नेपाल प्रज्ञा प्रतिष्ठानले केही समय यता लेखिँदै आएका विभिन्न उपविधाबारे चासो राख्नु र तिनका बारेमा विमर्श चलाउनु आफैंमा अत्यन्त राम्रो कुरा हो । आधिकारिक व्यक्तिहरूले नै यो प्रारम्भ मात्र भएको र धेरै गर्न बाँकी रहेको बताएका सन्दर्भमा वर्तमानमा विकास भइरहेका उपविधाप्रति प्रज्ञा प्रतिष्ठान गम्भीर छ भन्ने र यसमा अझ धेरै काम हुने कुरामा आशावादी हुन सकिन्छ ।
हरेक कुरामा समयसमयमा परिवर्तन आउँछ भने विद्वान्, बुद्धिजीवीहरू र सचेत वर्ग संलग्न हुने साहित्यमा समयानुकूल परिमार्जन, सुधार एवम् नयाँनयाँ अवधारणको विकास हुनु स्वाभाविक हो । तर यथास्थितिवादीहरू, जसले परिवर्तनलाई स्वीकार गर्न सक्दैनन्, चलिरहेको नै सबथोक हो र यो भन्दा अर्को हुन सक्दैन अनि आफूले जे जानेको छ त्यो भन्दा अरु सबै गलत र अनुचित भन्ठान्छन् तिनले नयाँ शैलीका लेखनप्रति नकारात्मक धारणा राख्ने र नकारात्मक टिकाटिप्पणी गर्ने गरेका छन् । सोही विमर्श कार्यक्रममा पनि एक टिप्पणीकारले उपविधाहरूका बारेमा प्रज्ञा प्रतिष्ठानले देखाएको चासोलाई नै अनुचित ठान्ने र अनावश्यक प्राथमिकतामा राखेको भन्दै असन्तुष्टि पोख्नु त्यसैको उदाहरण हो ।

के लेखनमा नयाँ शैली आउनु वा नयाँनयाँ स्वरूपमा साहित्य सिर्जना गर्नु गलत हो ? पक्कै होइन । सबैले महाकाव्य–खण्डकाव्य लेख्न सक्दैनन् । नयाँ शैलीका लेखनको विरोध गर्नेहरूले नै पनि लघु रचनामै रमाइरहेको देखिएकै छ । सबैसँग उस्तै क्षमता पनि हुँदैन । जसले जे सक्छ त्यही लेख्ने हो, सबैले सबै विधाका साहित्य सिर्जना गर्न सक्दैनन्, सबै देवकोटा र मैनाली हुन सक्दैनन् । कसैले कविता काव्य कसैले आख्यान–उपन्यास, कथा, लघुकथा लेख्ला, कसैले नाटक लेख्ला, कसैले निबन्ध लेख्ला त्यो आआफ्नो रुचि र खुबीको कुरा हो । यस सन्दर्भमा कसैलाई पनि कुनै कुरा लेख्न बाध्य पारिनु हुँदैन । लेख्न चाहनले विकल्प पाउनुपर्छ ।

समयले प्रविधिलाई अंगालेको छ । यो प्रविधिको समय हो र प्रविधिमैत्री लेखन आजको आवश्यकता मात्र होइन अपरिहार्यता पनि हो । अहिले मानिस व्यस्त पनि हुँदै गएका छन् । जीवनयापन कठिन हुँदै गएको र समयको अधिकाधिक सदुपयोग गर्ने आजको मानिसका चाहना र कतिपय अवस्थामा बाध्यता पनि भइरहेको छ । अनि मानिसका आआफ्ना जिम्मेवारी त हुन्छन् नै तिनबाट पर रहन सकिँदैन । यस्तो समयमा लामा रचना पढ्ने, लेख्ने समय जुटाउन गाह्रो पनि हुन्छ । यसले साहित्यका पाठकको सङ्ख्या घट्दै गएको छ । त्यस्ता व्यस्त र बेफुर्सदिला लेखक पाठकले पनि साहित्य पढ्न पाउनुपर्छ, र समय नभएका पाठकलाई उपयोगी हुने छोटा अर्थात् लघु आकारका रचना पनि लेखिनुपर्ने कुरा अनिवार्य भइसकेको छ । पाठक मात्र होइन लेखनमा रुचि भएकाहरू नै पनि बेफुर्सद भएका कारण आफूसँग भएको लेखन क्षमता प्रदर्शन गर्न असमर्थ भइरहेको अवस्था पनि छ । यसकारण पनि छोटा खालका रचनाहरू प्रिय भइरहेका छन् । तिनका पाठक र लेखकको सङ्ख्या बढ्दो छ । छोटा अर्थात् लघु आकारका रचना सामाजिक सञ्जालमैत्री भएका छन्, जुन आजको अपरिहार्यता हो ।

आकारमा साना हुँदैमा ती लेख्न सजिला र भावमा कमजोर हुन्छन् भन्ने सोच्नु मूर्खता मात्र हो । तिनले बोक्ने भाव र दिने झट्का ठूलाठूला रचनाका घुमाउरा कुराले दिन नसक्ने हुन्छ । यस्तो यथार्थलाई नबुझे नजानेझैँ लघु रचनाहरू प्रति नकारात्मक धारणा बनाउनु बौद्धिक दरिद्रता मात्र हो ।
हामी सबै जानकार छौँ आज हरेक व्यक्ति सूचनाको स्रोत बनेको छ । हरेक व्यक्ति सम्पादक बनेको छ । गुणस्तर वा भाषा शैलीको कुरा भिन्नै हो सामाजिक सन्जालले सर्जकहरूको संख्या बढाउन मात्र होइन भाषा र साहित्यको विकासमा समेत ठूलो सहयोग गरेको छ । यद्यपि भाषामा आएका विकृतिको आफ्नै पक्ष छ, तर पनि सामाजिक सञ्जालले यस क्षेत्रमा क्रान्ति नै ल्याएको कुरालाई स्वीकार गर्नैपर्छ ।

तर कतिपय विद्वान् महोदयहरू आफूलाई यथास्थितिबाट मुक्त गर्न सकिरहनुभएको छैन । कतिपय लालबुझक्कडहरू उहाँहरूकै अनुसरण गरेर, उहाँहरूकै पछि लागेर परम्परागत लेखनभन्दा भिन्न खालको शैलीका लेखनहरू स्वीकार गरिनुहुँदैन भन्नेमा लागिरहेका छन् । नवीनतम शैलीका लेखन र उपविधालाई साहित्य मानिनु हुँदैन भनेर धुवाँधार विरोधमा उत्रिरहेका छन् , होहोमा होहो मिलाइरहेका छन् । उनीहरू र कतिपय कथित बुद्धिजीवी, समीक्षक र टिप्पणीकारहरू नै पनि आरोप लगाइरहेका छन् कि यस्तो लेखनको औचित्य छैन यिनले साहित्यको बद्नाम गरिरहेका छन् । जब कि यो सरासर गलत कुरा हो । अरुको शैली सिको गरेर लेख्न तयार हुने, आफ्नै माटोमा जन्मेका नयाँ र लघुतम उपविधाहरूलाई अस्वीकार गर्ने चरित्र आफैंमा विरोधाभास हो ।

समयको कालखण्डमा साहित्य लेखनमा विभिन्न आन्दोलन र प्रयोग भएका छन् । पछिल्लो समय प्रयोगमा आइरहेका विभिन्न उपविधाहरूका सन्दर्भमा पनि तिनको गुणवत्ताको कुरा, तिनमा साहित्यका चरित्र वा गुण छन् कि छैनन्, तिनका विशेषता के हुन् र ती कुन र के कस्ता कारणले साहित्य हुन् भन्ने कुराको खोजी हुनु आजको आवश्यकता हो न कि तिनलाई निमोठ्ने वा कुल्चने धृष्टता ।

अन्त्यमा, प्रज्ञा प्रतिष्ठान नेतृत्व र काव्य विभागले नेपाली साहित्यमा देखापरेका उपविधाका प्रति देखाएको चासो अत्यन्त सराहनीय र सान्दर्भिक छ । यसका लागि सिङ्गो प्रज्ञा प्रतिष्ठान धन्यवादको पात्र छ । तर सुझाव सल्लाह लिनुपर्ने अवस्था आउँदा र त्यस्तो आवश्यकता पर्दा परम्परागत शैलीभन्दा माथि उठ्न नसक्ने सङ्कुचित मानसिकताका यथास्थितिवादीहरूलाई भन्दा परिवर्तनलाई स्वीकार आत्मसात गर्न सक्नेहरूलाई प्राथमिकतामा राखी तीसँग सरसल्लाह लिने र सोही अनुरुप निर्णय लिनेतर्फ प्रज्ञा प्रतिष्ठान नेतृत्वले ध्यान दिन सकेमा नेपाली साहित्यमा नयाँ शैलीका मौलिक लेखनले उचाइ लिने र नेपाली साहित्यको श्रीवृद्धिमा सघाउ पुर्याउन सक्ने कुरामा कुनै दुईमत हुन सक्दैन ।