असारको अन्तिम शुक्रबार । त्यो दिन गोधुलीमै ड्युटी छोँडे । र हान्निएँ “मौलामा बाँधिएको राँगो“ खोज्न बजार । दौड्दै पसिना पुछ्दै बुकमार्ट प्रा.लि. गैरापाटन पोखरामा पुगेँ । चिप्ले ढुङ्गाको पछाडिपट्टि फिस्टेल हस्पिटलसँगै जोडिएको एउटा बिल्डिङमा छ । त्यहाँ पुग्ने बित्तिकै किताबका अनेक र्याकहरुमा मैले आँखा दौडाएँ ।

’मौलामा बाँधिएको राँगो’ किताबले केही समयदेखि बजार हल्लाइरहेको थियो । किताबबारे अनेक प्रतिक्रियाहरु आइरहेका थिए । विशेष गरी सामाजिक सञ्जाल र विभिन्न अनलाइन पोर्टलहरुमा । म आफैं पनि कविता मन पराउने भएकाले यी सबै कुराहरु नजिकबाट नियालिरहेको थिएँ । मैले यो किताब त्यो हिसाबले मात्र खोज्न गइरहेको थिइन् । त्यसका पछाडि तमाम कारण र सन्दर्भहरु थिए र छन् ।

कवि नवीन अभिलाषी एउटा कवि नै भएर बाँच्ने मानिसजस्तो लाग्छ । किनकि धेरै कविहरु दोहोरो जीवन बाँचेका छन् । म आफैंले पनि कविताकै लागि आयु सिध्याउन सकिरहेको छैन, तर लेखिरहेको छु । कवितामाथि नवीन अभिलाषी कहिल्यै ठट्टा गरेनन् । निक्कै सचेतता पूर्वक कविता लेख्छन् । उनले लेख्नका लागि मात्र होइन, कारण सहित लेख्ने र त्यसका असर र प्रभावलाई स्वीकार गर्ने, जिम्मेवारी लिने बलियो कवि हुन् उनी ।

विशेष गरी पश्चिम नेपालको भूगोल कविता लेखनको हिसाबले कमजोर छ । समालोचनाको दृष्टिकोणले त्यस्तो नदेखिएला वा देखिएला पनि, तर हामीले पश्चिम नेपालको कविता लेखनमा नवीन अभिलाषीलाई सम्भावनाले भरिएका कविको रुपमा देख्छौँ । किनकि पश्चिम नेपालको कविता लेखन भए पनि सचेत पूर्वक लेख्ने तथा अभियानको रुपमा लेख्ने प्रवृति र त्यसमाथिको बहस विमर्श गर्ने परिपाटी निक्कै कम छ । बितेको एक दशकदेखि कवि नवीन अभिलाषी एउटा मिसन लिएर लेखिरहेका मानिस हुन् ।

अभिलाषीको लेखन र उनको अभियानबारे म नजिकबाट हेरिहेको छु । त्यो अभियान पश्चिम नेपालको कविता लेखनको अभियान मात्र होइन र थिएन । नेपाली कविता लेखनबारे समीक्षा गर्ने र विश्लेषण गर्ने ल्याकत मसँग नभए पनि उनको अभियान र लेखनले पारेको प्रभावबारे म परिचित छु ।

बुकमार्टभित्रका र्याकमा मैले ’मौलामा बाँधिएको राँगो’ किताब खोज्दै थिएँ । एक जनाले सोध्नुभयो…

– तपाईंलाई कुन पुस्तक चाहिएको ?

नवीन अभिलाषीको “मौलामा बाँधिएको राँगो” कवितासङ्ग्रह ।

– ए… छ नि आजै मात्र धेरै जनाले लानुभयो ।

दोस्रो तलामा रहेछ साइनबोर्ड नदेखेर भेट्न गाह्रो भयो नि मलाई ।

– नवीन अभिलाषी तपाईंको साथी हो कि के हो ?

हजुर हो ।

– त्यसैले त खोजी खोजी आउनुभयो । अनि यो पुस्तक लेख्ने त पत्रकार पनि होइन र ?

हजुर पत्रकार पनि हो तर खासमा उहाँ कवि नै हो । भनेँ र पुस्तक हातमा लिएर सुम्सुम्याउँदै फर्किएँ ।

समीप वैरागी

किताब हातमा परेपछि एउटा छटपटाहट चलिरह्यो । एक किसिमको बेचैनीजस्तै । किनकि नवीन अभिलाषीका फुटकर कविताहरु पढिरहेको मलाई थोकमा पढ्ने अवसर मिलेको थियो ।

म कविता धेरै जसो साँझको समय पढ्ने गर्छु । यो समयका बलशाली कवि नवीन अभिलाषीको “मौलामा बाँधिएको राँगो“ धेरै साँझहरुमा साथी पनि बन्यो मेरो । कविताहरुमा बग्दै जाँदा कहिले फेवातालझैँ शान्त र मौन भएँ । कहिले सेती नदीझैँ सुसाइ रह्यो मेरो मन । कहिले उत्साहले चल्मलायो शरीर र चम्कियो अनुहार पनि । भावहरुले बाँधिएँ म । कवितामा उठेको कथाहरु मेरा कथाहरुजस्ता लागे । मेरो कथा लाग्नु भनेको यो समयको धेरै भन्दा धेरै युवाहरुको कथा समेटिनु हो ।

चेतना र कलाको सुन्दर संयोजन भएर “मौलामा बाँधिएको राँगो निर्माण भएको छ । गरिब, विपन्न, असहाय र तिरस्कृत मानिसले समाजमा निर्माण गर्न खोजेको हैसियत नै किताबको अर्थ हो, गरिमा हो । समाजका धेरै कथाहरुले बुनिएको छ किताब । दलित, आदिवासी जनजाति, सिमान्तकृत समुदायले अहिले उठाइरहेका मुद्दाहरु यसमा समावेश गरिएका छन् ।

म कुनै समीक्षक होइन र यो समीक्षा पनि होइन । एउटा पाठकको दृष्टिले केही शब्द लेख्ने दुस्साहस गरेको मात्र हुँ । किनकि यो किताबले उठाएका आवाजहरुमा मेरो आवाज पनि मिसाइएको महसुस गरेँ । कविताहरुमा तीव्र आक्रोश छ, अहिलेको समाजको संरचनाप्रति असन्तुष्टि छ, राजनीति र यसका प्रवृतिहरु विरुद्ध बुलन्द रुपमा विरोध गरिएको छ । एउटा कवितासङ्ग्रहभित्र यति धेरै तमाम विषयहरु उठ्नु एक प्रकारले अस्वभाविक नै होला ।

कविताले मानिसलाई जीवन जिउने कला सिकाउँछ । कविता समाज र दुनियाँ बदल्ने बलियो अस्त्र पनि हो । त्यही अस्त्र बोकेर यात्रा गरिरहेको मानिस हो, कवि नवीन अभिलाषी । कविले कवितामा आफ्नो जीवनका भोगाइ लेखेका छन्, हामी बाँचिरहेको समय लेखेका छन्, समाजका विभेदहरु लेखेका छन्, नेपाली राजनीतिभित्रका विकृतिहरु लेखेका छन् र कविले मुटुभरि प्रिय देश सजाएका छन् ।

किताब हामीजस्ता पाठकहरुको लागि महत्त्वपूर्ण सिकाइको दस्तावेज हो । तर कुनै पनि किताब पूर्ण नहुन सक्छ, यो किताब पनि पूर्ण नहोला । तर बजारमा आइरहेका कविताका किताबहरूमध्ये राम्रो भन्न लायक किताब हो ।

कवि नवीन अभिलाषीसँग हाम्रो औपचारिक भेट अझैसम्म भएको छैन । आज भन्दा १० वर्ष पहिले म साउदी अरबको मरुभूमीतिर पसिना बगाउँदै गर्दा फेसबुकमा जोडिएका थियौँ । तर मेरो जन्मभूमि धेरै पटक पुगिसकेका छन् । “मौलामा बाँधिएको राँगो“ कविता कृति आउनुभन्दा पहिले पनि रोल्पाको जलजला पहाडमा पुगेर बुकी फूल र लेकाली गुराँसहरुसँग प्रीत लाएका छन् । अङ्गालोभरिको माया बाँडेका छन् । म पनि वर्षमा ४ पटक कविको घर आँगनको बाटो भएर हिँडिरहेको हुन्छु । सायद कुनै दिन भेट हुने अवसर पनि अवश्य मिल्ने नै छ ।

“मौलामा बाँधिएको राँगो“ आउनुभन्दा पहिले दुईवटा कविता कृति प्रकाशन भइसकेको छ । ‘ईश्वरको अस्थिपञ्जर’ (२०७३) र ‘एकात्म’ (२०७६) । अघिल्लो दुईवटा कविता कृति पढ्न नपाए पनि यसपटक “मौलामा बाँधिएको राँगो“ किताब पढ्ने अवसर प्राप्त मात्र भएन, कवि नवीन अभिलाषी र उनको लेखनलाई नजिकबाट नियाल्ने मौका हो यो । मलाई लाग्छ, सङ्ग्रहमा उनले आफ्नै पनि कथाहरु मन छुने गरी लेखेका छन् ।

मेरो यो लेखनले कवि र कवितामाथि अन्याय हुन गएको खण्डमा क्षमा चाहन्छु । आगामी दिनमा प्रिय कवि नवीन अभिलाषीलाई फेरि अर्को उचाइमा हेर्न पाऊँ । बधाई तथा शुभकामना !