अचानकसँग गएको यो चित्रकला इन्टरनेटमा पुलुक्क देखियो। सन् १५२० जुन ७ अर्थात् आजकै दिन (गएको साता) को घटनालाई इंगित गरी बनाइएको यो घटना भन्नाले बेलायती राजा हेनरी अष्ठम र फ्रान्सेली राजा फ्रान्सिस प्रथमको भेटघाटको अवसर हो। जसलाई क्याम्प अफ द गोल्डेन ब्रोकेडका रूपमा चिनिन्छ, जुन हालको फ्रान्सेली भूभाग कलाइसमा पर्छ।
कलाइसको यो क्षेत्र पहिला बेलायती अधिनस्थ भूभागमा पर्थ्यो। बेलायतीहरू फ्रान्ससँग बेलाबेलामा झिकिकटक गरिरहन्थे र सोही अवसरमा त्यो बेला यो भूभाग बेलायती भागमा परेको थियो। बारम्बारको युद्धलाई किनारा लगाउन राजा फान्सिस प्रथम र हेनरी आठौँले जुन ७ देखि २४ सम्म (१७ दिन) यही ठाउँमा क्पाम्प गाडेर बसे ताकि झगडालाई किनारीकृत गर्न सकियोस्।
त्यो बेला मुस्लिम सल्तनत (अटोमन अम्पायर) को बिगुल युरोपको मुटुमै पुगिसकेको थियो। हालको टर्कीबाट शुरू भएको उनीहरूको साम्राज्य उत्तरी अफ्रिका हुँदै दक्षिणी युरोप कतिपय भूभागमा पनि तिनले कब्जा जमाइरहेका थिए। यो भेला चाहिँ अटोमन शक्तिलाई रोक्न, आपसी वैरभाव अन्त्य गरी क्रिश्चियन साम्राज्यमाथि आइपरेको संकट समाधानका लागि गरिएको थियो।
तर यो भेला चाहिँ फ्रान्सेली महान् कि बेलायती भनी ‘देखाउन’ गरिएको म्याराथनजस्तो प्रतीत हुन्थ्यो त्यो बेला। त्यो बेला फ्रान्सिस र हेनरी दुवै उही उमेरका, उस्तै प्रख्याति बटुलेका राजा भएकाले यी दुईमध्ये को महान् भन्ने जान्ने चासो सबैलाई थियो। दुवैलाई बराबरी देखाउन त्यो बेलाका मन्त्रीहरूलाई निकै गाह्रो भएको थियो। कोही कुनै भन्दा कम छैनन् र बढी पनि छैनन् भन्ने पार्नु निकै कठिन पनि थियो।
फ्रान्सिस र हेनरीलाई बसालिएको ठाउँ पनि यति गणना गरी राखिएको थियो कि दुवैको ठाउँले एकअर्कालाई हेर्दा न होचो, न अग्लो, न धेरै ठाउँ न त साँघुरो, ठिक्क मिलाएजस्तो बनाइएको थियो। भनिन्छ, यी सबै कुरा त्यो बेलाका कार्डिनल वाल्सीले गरेका थिए। यहाँ रहुञ्जेलसम्मका लागि दुवै ठाउँमा उत्तिकै र उस्तै खेल, प्रतियोगिता, टेन्ट, गलैँचा, महोत्सव, संगीत लगायतको व्यवस्था गरिएको थियो।
राजा हेनरीका लागि अस्थायी दरबार बनाइएको थियो, जसमा १० मिटर अग्लो पर्खालसमेत थियो। पर्खालमा चित्रकलाका अनेकन् उम्दा नमुना पेश गरिएको थियो। छानो फेब्रिकबाट बनाइएको थियो र त्यो पनि रंग्याइएको थियो।
‘दरबार’का वरिपरि २ हजार ८ सय टेन्ट खडा थिए ताकि दर्शन भेटका लागि निम्त्याइएकाहरूका लागि सबै किसिमको व्यवस्था मिलाउन सकियोस्। यहाँ १५ दिने भ्रमणमा दुवै देशका राजाले विविध प्रतियोगितामा भागसमेत लिए। धनुकाँणदेखि कुस्तीसम्म तिनले हेरे तर कहिल्यै पनि फ्रान्सिस र हेनरी साथी हुन सकेन। एकले अर्कोलाई को धनी र सक्षम भन्ने देखाउने होड थियो त्यहाँ। हेनरीलाई बढी त्यो देखाउनु पर्थ्यो। तथापि यो बैठकले त्यो बेलाको युरोपमा ठूलो प्रभाव पार्यो।
त्यसो त यो भेटको दुई वर्षसम्म पनि आङ्ल-फ्रान्सेली युद्ध जारी रह्यो तर यो भेलाकै कारण दुई देशबीचको शान्ति सम्झौता गर्ने प्रस्थान बिन्दुसमेत भयो। बेलायती र फ्रान्सेली झगडा रोकिनुको अर्को कारण के पनि थियो भने एकअर्कालाई होचो देखाउनका लागि रचिएका अनेकन् तिकडम, आडम्बर प्रदर्शनका कारण फ्रान्स र बेलायत आर्थिक मन्दीमा परे। जसका कारण जारी युद्ध रोक्नु उनीहरूको बाध्यता पर्यो।
यो चित्रले दुई शक्तिसम्पन्न देशका शासकको अहं प्रदर्शनको उच्च नमुना मात्र पेस गर्दैन, साथमा बेलायतले एक समय जितेको भूभाग दोहन गर्ने जग्गाका रूपमा परिचित कलाइस गुमाउनुको कारकका रूपमा समेत चिनिन्छ। हुन त त्यो फ्रान्सेली भूभाग थियो तर शक्तिले जितेको हुनाले त्यो भूभागप्रति बेलायतलाई कहिल्यै माया लागेन। स्थानीयप्रति कहिल्यै सहानुभूति प्रकट गरिएन। फेरि मुख्य भूमिभन्दा टाढाको क्षेत्र भएकाले जितिएको क्षेत्र भए पनि स्थानीयबासीलाई बेलायतको भरभन्दा फ्रान्सेलीकै भर बढी थियो। जग्गा बेलायतीले जिते तर त्यसलाई कहिल्यै आफ्नो भूभागका रूपमा माया गरेनन्। जसका कारण सम्झौता गर्नुपर्दा उनीहरूले त्यस भूभागलाई सहजै छाडिदिए।
कहिलेकाहीँ देश भनेको भूभाग मात्रै हो कि त्यहाँका जनता पनि हुन् भन्ने कुरा उठ्छ। फाइदा मात्र लिने तर सुविधा नदिने शासक भए भने त्यस्ता शासकलाई जनताले पनि त्यागिदिन्छन् र शासकले पनि त्यस्तो ठाउँलाई झिँजोका रूपमा लिन्छन्।
यो क्याम्प बसेको घटना पाँच सय वर्ष बितिसक्यो तर त्यसले बुझाउने सान्दर्भिकता भने सायदै बित्ला।