साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कोरोना डायरी ४२ः लुसी ग्लुक

Chovar Blues Mobile Size

मंगलबार १८ कार्तिक २०७७

बिहानैदेखि प्रतिज्ञाअनुसार परम पावन दलाइ लामामा लागेँ । हिन्दू, बौद्ध, इसाइ, यहूदी आदि मतका गूढ रहस्यहरू पढ्दै गएँ । यस पुस्तकका यी पाठहरुका नखुलेका पात्र र घटनालाई खुलाउँदै लानू भनी अनुवादकलाई सल्लाह दिँदै अघि बढ्दै थिएँ । एघार बजेतिर भाइले सम्झाएअनुसार माथेमा सरलाई फोन गरेँ ।
श्री केदारभक्ति माथेमा सर्वप्रथम ता शहीद धर्मभक्त माथेमाका परिवार । ठूलो संस्कार र प्रतिष्ठा भएका प्रजातन्त्रवादी विद्वान् र प्रशासक । हाम्रा पालाका अंग्रेजी गुरुपछि त्रिविका नामी सुधारवादी कुलपति । अनि जापानका लागि नेपालका राजदूत । अनेक आन्दोलन बौद्धिक अग्रणी, हाम्रा शिक्षा प्रणालीका सुधारक सचेतक लामो जीवन सङ्लो चरित्रका ।

हाम्रो भाइका एक आदर्श हुनुहुन्छ माथेमा सर । एकपल्ट भाइ बिरामी पर्दा उनलाई हेर्न हाम्रो घर (कीर्तिपुर) नै आउनुभएको म पनि एकदुईपल्ट झम्सीखेल पुगेँ ।
एकदिन भाइले एउटा सानो गमलामा एभोकाडोको सानो विरुवा लिएर आए । माथेमा सरको उपहार । त्यसलाई घरपर्तिर पछिल्तिर भानसपरि रोप्यौँ, पानी हाल्यौँ, जाग्यो बढ्दै गयो । खनेर त्यहीँ जमिनमा सा-यौँ । तर बीस वर्षअघि रोपेको पहिलो एभोकाडो लटरम्म फुल्न थाल्यो, हँगाले आकाश छोयो, सप्रेका तिघ्रा जत्रो फेद लगायो, बारीको मल चुस्तो छ तर फल्दैन । त्यसको पाँच वर्षपछि घरमाथिको अर्को बारीमा रोप्यौँ नर्सरीको बोट त्यो पनि कहालिएर बढ्यो । बिजुलीका तार नाघेर उँभो लाग्यो । बारै महीना कालो गुर्धुमदेखि टलरम्म फुल्छ तर फल्दैन । त्यसको पाँचवर्षपछि तेस्रो रोप्यौँ त्यो पनि त्यत्रै भो । गतवर्ष तीन वटा वृक्षहरू डङकिडङ ढाल्यौँ । मूढा लडायौँ पात मकाए ।

यो माथेमा सरले दिएको उपहार पनि धेरै अग्लो भयो । आकाश छुने गरिको तर सानो छ एकदम लिङ्गुरो बाँस जस्तो । आशा थिएन तर छिमेकीले भन्यो त्यो फुल्यो, चिचिला लाग्यो । गर्दागर्दा पातला दाना देखिए । पाक्न छ महीना लाग्दोरहेछ अस्तिको हप्ता सूर्यले टिपे । धेरै अग्लो आंकुशे टाँगाले अर्को रुखमा चढेर मात्रै ।

त्यो हर्षको कुरो थियो । हाम्रो गार्डेन मा रोप्न विरुवा पठाउने अथवा सारिदिने व्यक्तिहरूलाई म कहिल्यै भुल्न सक्तिनँ । कसरी भुलिन्छन र ज्यामिरको विरुवा पठाइदिने आमालाई, एभोकाडो पठाइदिने गुरु माथेमा सरलाई लहरे आँप ल्याइदिने दाजु हिरण्य भोजपुरेलाई, कागतीबोट गमलासँगै पठाइदिने रामबहादुर पहाडीलाई, रातोदिन कहाँकहाँबाट खोज्दै ल्याएर फूलका विरुवा सार्ने गोड्ने, पानी लगाउने, प्रत्येक बोट फुलेपछि चर्चा गर्न अञ्जनालाई ।
माथेमा सरसित एकछिन भलाकुसारी भो ।
तपाईंहरुलाई के कस्तो छ गोविन्दजी ?
राम्रो छ सर । जगत्को स्थिति भयावह लाग्न थाल्यो । आजदेखि बेलायतले पुनः एक महिने लकडाउन ग-यो । हामी यता दुईटा ताला ठोकेर बसेका छौँ
किन दुईवटा नि ?
कोही नआओस् भनी एउटा बाहिरबाट अनि हामी कतै जानुनपरोस् भनी भित्रबाट अर्को । उहाँ एकछिन् हाँसेर भन्नु भो— हाम्रा पनि त्यस्तै छ । दुई जना मात्र छौँ । सधैँ गेट लागेकै हुन्छ ।
तर कोरोना लागेपछि हाम्रो हेल्थ पनि राम्रो भयो ।
कसरी सर ?
कसरी भने सबै काम आफैँ गर्छौं ।
त्यसपछि एकछिन एभोकाडोको महीमा सुनाउनु भो— कस्ताले खाने, कसरी खाने, के कस्ता फाइदा आउँदा ।

sagarmani mobile size

यो उहाँको भेराइटी ता नौनी घिउजस्तो छ, ठूलो लोहोरो फल्ने । भाइले भनेका त्यो रुख बढेर यतिखेर धुरीभन्दा अग्लो बरकै रूख भएको छ अरे ।

माथेमा सरको सदाको चिन्ता छ शिक्षा व्यवस्थामै । राजीतिक हस्तक्षेपले बिगा-यो भन्ने पीर छ । मचाहिँ ‘पाष्ट केअरिङ’ भन्ने पद छ, वास्ता नगर्ने भन्ने । त्यो अवस्थामा छु । काण अधिनायकवादीले सत्ता कब्जा गरेपछि तपाईंको स्वरको, भावनाको, बोलीको, चिन्ताको, आस्थाको जनसोचको— केहीको गणना हुँदैन ।
कार्तिक १९ गते बिहीबार म पूर्वप्रभातमै ब्यूँझेँ र उठेर स्टडीतिर लागेँ । आकाशमा किञ्चित मलीन जून थिए । भाग्दाभाग्दै कीर्तिपुर गम्बाको शिरमा बसेर करुणा भाव बर्साइरहेका । भर्खरै तीन बज्दै छ, सर्वत्र महासुनसान छ । त्यसैले महाशान्ति पनि । काठमाडौँमा २२ डिग्री तापक्रम देखाउँछ तर अलिकति चिसो होला भनेर आज ऊनी शर्टमाथि कोट ओढेको छु ।

आज धरै कस्सिएर काम गरौँला भन्ने वाचा गर्दै चढेको थिएँ । नभन्दै पवित्र दलाइ लामाकृत उत्तरधार्मिक विमर्श कृतिका बाँकी पृष्ठ पल्टाएँ । अलिक ठूला अक्षरमा छापिएका १८५ पृष्ठ थिए; हिजो १४२ पुगेर बिसाएको थिएँ । आज बिहानभरिमा बाँकी पृष्ठ सिध्याउँछु भन्ने थियो । तर चढेर मात्रै सिध्याउने कुरो होइन, ठूलो विश्वास लिएर अनुज पुस्ता हाम्रो द्वारमा आइसकेपछि त्यहाँको के कस्ता त्रुटि र अभाव छन् कुनुकुन अमिल्दा ठाउँ लाग्छन्, तिनमा दृष्टि दिनु प-यो, एकछिन रोकिनु, अर्को रंगीन मसीले चिनो लाउनू, किनारामा केही उल्लेख गर्नु पनि प-यो । त्यसो भयो भने फेरि मैले उनीसितै बस्नु पर्दैन । त्यो हेरेरै उनी सन्देह गर्न सक्छन्, मिलाउन सक्छन् । डेरिडाले भनेका छन्— प्रत्येक ज्ञानजस्तो लाग्ने कुरामा सन्देह गर्न सिक ।

म पढ्न थालेँ । हिजो अबेलासम्म लागेर सकौँला भनी बसेको नसकेर सुत्न झरेको थिएँ । त्यसैले मनमा त्यो क्षतिपूर्तिको भाव लिएर बसेको थिएँ। मैले गरेका सुधार–संकेतका केही दृष्टान्त यस्ता छन्—
अस्त्रशस्त्र (५.५ ) गर्नुपर्ने शास्त्रास्त्र
बैद्यता (पृ. ६) गर्ने गर्ने बैधता
बिस फुट (पृ. १५) बीस फीट
ट्र्यापिष्ट भिक्षु (पृ. १७) फूटनोठ दिने
नालान्दा (पृ. १८) नालन्दा
उत्तरधार्मिक/अन्तर्धार्मिक (पृ. १९) एकरुप गर्नु
केन्टुकी (पृ. २०) केन्टकी
एब्बे (पृ.२०) एबे मात्र
हस्तलिखित मूलपाठ (पृ. २१) पाण्डुलिपि
डेक्सोग्राफिकल (पृ.२३) फूटनोट र शब्दार्थ पनि
क्विङ सम्राट (पृ.२५) चिङ सम्राट
मेजमानकर्ता (पृ.३९) आतिथेय

यस्ता शाब्दिक तहका कुरा भए तर धेरै ता वाक्यात्मक तहकै हुन्छन् । यो अनुभव दोहो-याउने, यसमा स्पष्टताको, यो लामो वाक्य टुक्राउने, यी कुराको पाद टिप्पणी दिने, छुटेको हेर्ने… । कति गाह्रो कुरा छ जिम्मेवारी पूरा गर्न । ठाउँठाउँ जिम्मेवारीता, हुन्छ, कतै … हुन्छ । आफ्नो दृष्टि पुगेसम्म भनिदिनु पर्छ ।

पशुपतिले १८८ पृष्ठको टुवार्ड अ ट्रु कन्शिप अव् फेश्स्लाई कत्रो त्याग र निष्ठाले यसमा उतारेका छन् । यस्तो कठिन कर्ममा केही बाधाहरु अप्ठ्याराहरु भेटिउन् भन्ने अपेक्षा पनि गरिन्छ । यसैले नयाँ पुस्ता मेरो छेउमा आइरहन्छन् भन्ने लाग्छ ।

यता म आफ्ना निबन्ध लेख्तै छु । दशैँ यताको एक महीनामा पाँच निबन्ध लेखेँ । ती राम्रा छन् भन्ने लाग्दछ । म हृदय विश्वसाहित्यतिर ढल्केको छ । त्यसको अलिकति दबाइ ल्याएर नहालेसम्म टाक्सिएको नेपाली साहित्यमा हरिया पात देखिने छैन । तर यो ज्यादा रुढीवादले गाँजेको छ, यथास्थितिको पर्खालभित्र छ । त्यसो त लैनिसिंह बाङ्देलका मुलुक बाहिर म पढिसक्न बसेको थिएँ । तर बीचैमा अरु अरु आए व्यवधानजस्ता नौला कुरा । जानु काम्वाङको तमोरक सुसेदी त्यो कलिलो सुन्दर र निर्मल भाषामा लेखिएको अतुलनीय सम्पदा । म त्यतै ढल्केँ, विजय हितानको आयो वाग्मती ब्लूज नामको कथाहरूको संग्रह । आयो यत्रो निष्ठाले नयाँ चेतनाको प्रेमले दूरदेशमा बसेर गरेको कुरा, त्यसलाई मैले नहेरिदिए के हुन्छ; अनि त्यतै लागेँ । यता मुक्ति बरालज्यूको थियो, स्वच्छ डोनाउको किनारमा— युरोपको यात्रा । यी सबै लेखनले मेरो अनुज पुस्ता हुन् ।

मलाई कहिलेकाहीँ लाग्दछ, यी सारा प्रेमीजनबाट अलग्गिन सके धेरै गर्थेंहोला तर छुट्टिन पनि नसक्ने जस्तो हुँदोरहेछु । यसपालिकी नोबल विजयी स्रष्टा लुसी ग्लुकको अधरण पढेपछि मेरो मन पूरै परिवर्तित छ । प्रश्नकर्ताले राखेः मलाई थाहा छ, तपाईं शिक्षण कत्रो गम्भीरतासाथ लिनुहुन्छ अनि एक दशकदेखि उदीयमान लेखकका कृतिहरुको पब्लिक च्याम्पिअ हुनुहुन्छ । त्यस्तो प्रकारको मेन्टन्शिप र शिक्षण दुवै कर्मले तपाईंको जीवनलाई प्रभावित पारेका हुन् ?
उत्तर— अहो, कसरी आरम्भ गरौँ । त्यो चाहिँ मेरो तर्फबाट हेर्दा एउटा उदारताको कर्म होः शिक्षण एवम् सम्पादन । धेरै कष्ट गरेर म अन्य बाटा रोज्न चाहन्नँ । मलाई के लाग्दछ भने आफ्नो स्वार्थको अलिकति पनि लक्ष नराखी गरिने कुनै पनि कर्म यत्रो धेरै धेरै समय लिने खालको छैन । कर्म मैले नयाँ पुस्ताका लेखकसित जेजति गर्नु पर्ने हो ।
भित्री मनमा मलाई लाग्छ; म जति अंशमा एउटा स्रष्टाको रुपमा बाँचेकी छु, अनि जति मात्रामा म एक लेखकको रुपमा परिवर्तित छु त्यसको लागि म यसपालिकी नोबल विजयी स्रष्टा लुसी ग्लुकको अधरण पढेपछि मेरो मन पूरै परिवर्तित छ । त्यसका लागि म त्यो सारा त्यही कठोर कर्मले गर्दा हो । कहिले ता अत्यन्तै भिन्न र असंगत हुन्छ । मभन्दा कम उमेरकाहरू यस्तो स्वर निकालिरहेका हुँदारहेछन्, साहित्य मैले पो सुनेको हुन्न । हो, त्यो कुरा म जान्न चाहन्छु ।
वास्तवमा जुन युवा स्रष्टाको सिर्जनाबारे अनि भावप्रवणतापूर्वक म जान्न चाहन्छु त्यसले पनि मलाई केही सिकाएको छ । मैले तिनीहरूबाट कवितालाई कसरी निरन्तर राख्नु भन्ने कुरा सिकेको छु । लामा पङ्क्ति । मेले तपाईंहरूले जस्तो केही नयाँ कुरा लेखेकी छैन भनेको होइन तर म पनि त्यही केही नयाँ गर्न खोज्दै थिएँ । मैले पिटर स्ट्रेकफुका कविता पढेपछि मलाई ती रचनाको जादूले समायो । त्यसपछि म आफैँ कविता रच्न बसेँछु । त्यसबेला मलाई लाग्यो मैले उनीबाटै चोरेँछु कि क्या हो । अलिकति डराएँ पनि अनि त्यो वर्षको भेल पुरस्कार प्राप्त गर्ने उनको पुस्तक गहिरिएर पढ्न लागेँ । अरु पाण्डुलिपि पनि पढेँ । पाण्डुलिपि पनि मैले त्यसमा लेखेको कुरा उनका कृतिमा ता थिएन ता पनि मलाई लाग्यो उनलाई भेटेर क्षमा प्रार्थना गर्नु प-यो ।

कवि ग्लुक विनयशील र ज्ञानी थिइन् । अति सम्वेदनशील पनि । त्यसैले उनले आफ्नो कति समय नवपुस्ताको प्रेममा अर्पिइन, तिनकै श्रद्धाले, तिनको नवचेतना रसले आफू पनि नित्य ऊर्जावान् भएको अनुभव गरिन् ।

मभित्र पनि त्यस्तो एउटा पारस्परिक प्रेमको तन्तु छ । नयाँबाट केही नयाँ कुरा आउने ठूलो आशा र लोभ छैन । तर नेपाली साहित्यकहाँ पुग्दैछ त्यस विषयमा निरन्तर अपडेट हुने अवसर पाएको छु । विश्वसाहित्यको कुनै पक्ष नछोई नयाँ कुरा कतैबाट आउने छैन । कलिलो नेपाली साहित्यमा सबै सर्जक स्रष्टा छन् तर नयाँ शक्तिका युगलाई काँधमा बोक्ने शुरुका साधक छैनन् । सबै कुरा तात्कालीकताले निल्दैछ, सर्वसुलभताले निल्दैछ । तर पनि त्यसभित्र एक तह गम्भीर साहित्यको पत्र बस्ला ।

पढ्नुपर्ने ४ कृति— विगत र बाहुली, चकमन्नमा एकान्त, बाग्मती ब्लूज, पसिनाका पाइला… तर आज पवित्र दलाइलामामाथि केही शब्द अर्पण गर्न चाहन्छु ।

प्रतिक्रिया
Loading...