लोकजनको कला यानी लोककलामा भित्तेचित्रण र भूमिचित्रण प्रमुख विधा मानिन्छ। किनभने भित्ता र भूमि सर्वसुलभ आधारभूमि पहिचान गरी आदिम कलाकारले नै सर्वप्रथम रोजेका थिए। चित्रकलाको स्थायी सृजनाको लागि त्यो रोजाई कृषि सभ्यताकालीक र मध्यकालीक कलाकारहरूमा मात्र होइन, समसामयिक आधुनिक युगका कलाकारहरूमा पनि लोकप्रिय र सर्वसुलभ छ। यद्यपि प्राविधिक रूपले चित्र बनाउन आधारभूमि भित्ते र भूमि तयार गर्ने आफ्नो सुविधाअनुसार स्तरीयतामा सुधार र परिवर्तन हुँदैआएको छ। यद्यपि यसै आधारमा भित्ते र भूमिको स्तर परिवर्तन, स्थायित्वका साथै ती आधारभूमिमा बनेका चित्रहरूको स्थायित्व र आधारभूमि तयार गर्ने प्रविधिसम्बन्धी स्तरीयताको विषयमा शोधाध्यायन जारी छ। जसमा चित्रांकन शैली, विषयवस्तु चयन तथा रंगयोजना र विधानको पनि उत्तिकै महत्त्वका साथ हेरिन्छ। प्राचीन कालमा जब मानव पर्वतीय गुफामा निवास गर्न लाग देखि, चित्रकलाको परम्परा शुरु भएको हुनुपर्छ । प्राचीन गुफाको चित्रांकनलाई यसको प्रमाणको रुपमा लिन सकिन्छ।
भित्तेचित्र कला (Mural) सबैभन्दा पुरानो चित्रकला हो। मिथिलान्चल र राजस्थानका भित्तेचित्रहरू चित्रकलाका दृष्टिले धेरै समृद्ध प्रदेश हुन्। प्रागैतिहासिक युगको ऐतिहासिक दृष्टिमा पहिले माटोको भाँडा बनाउने गरिन्थ्यो। तर केही समयपश्चात् लोकजनले माटोको प्रयोग भित्तामा चित्र बनाउनको लागि गर्न थाले। कलाको अद्भुत माध्यम हो माटो । सबैभन्दा पहिले माटोसँगको साक्षात्कार, माटोको घर, बामे सर्दा आँगनको माटो टिपी मुखमा हालेको स्वाद, आँगन लिप्दा आउने माटोको सुगन्ध, पहिलो चोटि माटोमा पानीको प्रतिविम्ब, यस्ता अनेक पक्ष छन्, जसले हामीलाई स्मृतिमा गाँस्ने गर्छ ।
माटो पहिलो महाकाव्य हो, जीवनको । माटोमाथि काव्य मात्र होइन महाकाव्य नै लेखिएका छन्। माटोबिना हामी एक छिन पनि जीवित रहन सक्दैनौं। मानव सभ्यताको विकासमा माटोको ठूलो भूमिका छ। कमिलाको घर, चराको गुँड, मुसाको दुलोजस्ता प्रकृतिका चमत्कारी कुरा हेरेर नै मानिसले पनि आफ्नो घर माटोले बनायो । उसलाई यतिले मात्र पुगेन । माटोले बनेका घरलाई चित्रले सजाउन थाल्यो। यो नै मूर्ति शिल्प र भित्ती उत्कृण भए।
मलाई अझै पनि झिनो सम्झना छ, हजुरआमाले माटोको चुलो बनाउँदा पहिलो चोटि मैले पनि चरा बनाएको थिएँ। हजुरआमाले चरोजस्तो नबनेपछि सच्याई दिनुभो। यसरी मेरो कला सिकाइको पहिलो गुरु हजुरआमा बन्नुभयो ।
माटो सर्वत्र उपलब्ध छ। माटोबाहेक सबै माध्यम मलाई यान्त्रिक लाग्छ। भनिन्छ, पुरापाषाण कालपछि नवपाषाण युगमा प्रवेश गर्दाको समयमा कृषिको आविष्कार र पशुपालनको परिणामस्वरुप मानवले पहिलो चोटि अन्न उत्पादन गर्न सक्षम भयो। तत्पश्चात अन्य चिजबारे सोच्न थाल्यो। यसरी कृषिकर्मसँगै पशुपालन, बुनकरी, गृह निर्माण सँगसँगै मृत्तिका शिल्पको श्री गणेश भयो होला। सर्वप्रथम उब्जाइएको अन्न भण्डारण र आउँदा वर्षका लागि बीऊ संचयको खोजले काँचो माटोले भाँडोको आविष्कार गर्यो भन्न सकिन्छ। बाँसको संरचनामा माटोको लेप लगाई तयार पारिएको संरचनाले सुरक्षित र सहज अन्न भण्डारण गर्यो। आज पनि तराई भेगमा कोठी र भकारीको रुपमा हामीकहाँ विद्यमान छ। सर्वप्रथम माटोबाट भाँडो बन्यो र यो संसारको पहिलो उत्पादन थियो। संसारको सबैभन्दा पहिलो यंत्र कुम्हालेको चाक (चक्र) थियो। संसारको पहिलो कारखाना कुम्हालेको भट्टी भयो। आज संसारको पर्यावरण खतरनाक अवस्थामा आउँदा विकल्प माटो र कुम्हाले नै हुन्। कुम्हाले जाति होइन, कर्म हो। चम्रकार जाति, होइन कर्म हो । यहाँ कर्म प्रधान हो ।
अनुमान गरिन्छ, कृषि र मृत्तिका शिल्पजस्ता क्रान्तिकारी खोजको श्रेय महिलालाई जान्छ। किनभने कृषिको प्रारम्भिक अवस्थामा आफ्नो आवास क्षेत्र वरिपरि उम्रेका जगली घाँसपातबाट अन्न निकाल्ने प्रयोगको अगुवाई महिलाहरुले गरे। यसरी खाना पकाउने क्रममा चुलो बनाउन गिलो माटो उपयोगमा ल्याइएको हुनुपर्दछ। यसरी आवश्यकताअनुसार मृत्तिका शिल्पको विस्तार हुँदै गएको हुनुपर्दछ।
हाम्रो देश कृषि प्रधान देश हुनाले हामीकहाँ गाउँको संख्या धेरै छ। केही हदसम्म भौगोलिक स्थिति, धार्मिक तथा सामाजिक संस्कार र आर्थिक तथा राजनीतिक कारणले प्रत्येक गाउँको सामाजिक एवं आर्थिक व्यवस्था एकअर्को भन्दा भिन्न छ। जसले विभिन्न जातजातिको छुट्टाछुट्टै क्षेत्र विशेषमा बसोबास हुनु र उसको खान-पान, रीति-रिवाजमा पनि अन्तर हुनु स्वाभाविक हो। यसरी तिनको हस्तशिल्प र कलाकर्ममा पनि विभिन्नता हुने गर्छ। जसलाई किसान संस्कृति भन्न सक्छौँ।
किसान संस्कृतिको महत्त्वपूर्ण पक्ष हो, माटो। खेतीको लागि खनजोत र सिँचाइ, भित्तेचित्र र मृत्तिका उत्कीर्णन कला, हस्तकला, गायन तथा नृत्य जीवन्त कलाको रुपमा रहिआएको छ। जो हाम्रो मौलिक कला हो। जो आज पनि हाम्रो लोक परम्पराको रुपमा परापूर्वकालदेखि रहिआएको छ। मध्य तराई मिथिलादेखि शुरु भै पूर्वी तराईको भूभागमा विकसित भएको पाइन्छ । विषेशत: कोशी नदीको वारिपारि थारु समुदायका घरका भित्ताहरूको उद्भूत कलाको लोकको विस्तृत स्वरुप देखन पाइन्छ। जसले थारु समुदाय तथा यस क्षेत्रको मात्र नभै हामी सम्पूर्णको कला विशिष्टता हो। परम्परागत रूपमा महिलाकै हातबाट घरको भित्तामा आफ्नो मनमा उठेका स्वाभाविक कल्पना तथा उद्वेगलाई घरकै खर बाँस, गोबर, माटो जस्ता घरेलु सामग्रीबाट लिपपोत गरी तयार पारिएका भित्तामा प्राकृतिक रङबाटै विभिन्न स्वरूपमा चित्राङ्कन हुने गर्दछ। यस्ता चित्र सामान्यतः परम्परागत सांस्कृतिक विधि–विधान विवाह, व्रतबन्धजस्ता सामाजिक संस्कारको बेला तथा चाडपर्व पूजाआजा, व्रत–त्योहार, आदिमा लेखिन्छ। भित्तिचित्रमा भित्तामा ज्यामितिक आकार, कलापूर्ण अभिप्राय, पारम्परिक आकल्पन, सहज बनावट र अनुकरणमूलक सरल आकृतिमा निहित स्वच्छन्द आकल्पन, उन्मुक्त आवेग र रैखिक ऊर्जा र चाक्षुष सौन्दर्य सृष्टि हुने गर्छ।
कोहबर लेखन, अष्टमीको लेखन भित्ती मृत्तिका उत्कीर्णन कला, मृगण शिल्पमा सामा-चकेवा वा घरायसी प्रयोजनका सामग्री निर्माण वा वास्तुशिल्पजस्ता पक्ष नेपालमा भित्ती चित्र ‘कोहबर’ मैथिली, भोजपुरी, अबधी र थारुहट क्षेत्रहरूमा अत्यधिक महत्त्वपूर्ण मानिन्छ। यी समुदायहरूको विवाह संस्कारका विधि विधान कोहबरबाटै सुरु भएर कोहबरमै आएर समाप्त हुन्छ। विवाह निश्चित भएपछि कोहबर घर, दुलाहा पक्ष र दुलही पक्ष दुवैतिर बनाउने प्रथा छ। विवाहको तैयारीको क्रममा महिना दिन अगाडि नै ज्योतिषद्वारा साइत हेराएर कुलदेवी देवताको स्थान रहेको घरको एक भागमा कोहबर घरको लागि लिपपोत गरी तयारी गरी दुलहीको माइतीमा बनेको कोहबर घरमा वैवाहिक संस्कारहरूका विधि विधानमात्र गरिन्छ भने दुलहा पक्षको कोहबर घरमा विवाहको विधि विधान सम्पन्न गर्नका साथै सुहागरात मान्ने विशेष कोठा पनि हुन्छ। कोहबर घरलाई पुरै चित्रकारीले सजाउने परम्परा रहिआएको छ।
भित्ती चित्रणको ऐतिहासिक सांस्कृतिक वैभव र बहुमूल्य परम्परा आज पनि एउटा जीवन्त कलाकृतिको रूपमा हामीसँग छ। हुन त यो हाम्रा पुर्वजले हस्तान्तरण गरेको शीप शैली हो, जसमा हामी गर्व गर्नैपर्छ । पूर्वदेखि पश्चिमसम्मको मधेसको भूभागमा परम्परागत घर निर्माणमा बाँस, खर, गोबर, माटोको प्रमुखता हुने गरेको छ। बाँस, गोबर, माटो सभ्यता, हाम्रो संस्कृति र संस्कारको कथा हो। भित्तिचित्र विभिन्न पर्व-उत्सव तथा अवसरमा गरिन्छ तर मृत्तिका उत्कीर्णन यस्तो अवसरमा गरिँदैन। किनकि माटोबाट अलंकरण गर्न सजिलो हुँदैन, सँगै समय पनि धेरै लाग्ने हुन्छ। मुख्यतः माटोको भित्तामा अलंकरण घर बनाउँदा सँगसँगै गरिन्छ र विशेष गरेर वर्षा ऋतु सकिएपछि। किनकि बर्खामा खर, बाँस, भित्ताको माटो गलेर जान्छ। अतः प्रतिवर्ष यसलाई मर्मत गर्नुपर्ने हुन्छ। बर्खा सकिएपछि वा खेतीपातीबाट फुर्सद भैसकेपछि फुर्सतको बेलामा महिला, पुरुष तथा केटाकेटीले आफ्नो समय यसमा बिताउने गर्छन् । प्रायः असोज महीनामा भित्तिचित्र बनाउने धेरै पुरनो परिपाटी हो। वर्षा ऋतुपश्चात मानिसले भत्केका भित्ता कमिला, बिच्छी, कीरा फट्याङ्ग्रा, गंगटो आदि सरीसृप जन्तुसँग सुरक्षित हुन गाईको गोबर प्रयोग गर्न सिके। यो कुराको जानकारी विश्वकोष ( इन्साकलोपिडिया ) मेरी हजुरआमाबाट मैले पाएको थिएँ । गोबरमा उभरांकन सुगम हुने हुँदा मलिलो, चिल्लो, सेतो माटोमा रुपाकंरण गर्नका लागि गोवरको मिश्रण गर्न थालियो । गोबर, माटोले लिपेको आँगन भित्ता रातो, सेतो, खैरो विभिन्न रङ्गको माटोले नै बनाएको संस्कारजन्य चित्र वा सजाबटी लोक चित्रले कुनै न कुनै रुपमा हाम्रो ध्यानाकर्षण गरिरहन्छ।
निम्न उद्भूत ‘कुटीर सज्जा’ हो जसले तपाईंको घरलाई मूलतः सौन्दर्यमय प्रस्तुति वा कलात्मक अभिव्यक्तिलाई द्योतन गर्दछ। जुन घरधनि वा कलाकारको शिल्प र शैलीसँग सम्बन्धित हुन्छ। उद्भूत भित्ताको अगाडिको भाग डिजाइन गर्ने शैली हो। उद्भूतको वास्तु तत्त्वको प्राचीन इतिहास छ। यो भारत, फारस, मिस्र अमेरिकामा प्रयोग गरिएको छ। धेरैजसो प्राचीन रोम र ग्रीसको धार्मिक भवन मन्दिरहरूको साजसज्जाको लागि प्रयोग गरिएको पाइन्छ । आधुनिक डिजाइनमा पनि आफ्नो मैलिकता र प्रासंगिकता बनाइराख्यो। धेरै जसो आज यो मोल्डिंग, सजावटी मोल्डिंग वा पैनलको रुपमा व्यापक प्रयोग हुँदैछ।
हाम्रो जीवन्त लोक परम्परामा घर बाहिरको भित्तामा सतही मूर्तिको रुपमा र घरभित्र ‘चक्का’ ‘तक्खा’ फर्निचरको रूपमा, मोखा सजावटी अलंकरण अद्यापि विद्यमान रहेको छ। चक्काको कलात्मक स्वरुप कलाकारको आवश्यकता र उपयोगिता अनुरुप हुने गर्छ। यसमा उपयोग हुने खर, बाँस, डोरी, माटो जस्ता निर्माण सामग्री सजिलै उपलब्ध हुने गर्दछ।
यो निर्माणको प्रविधि अत्यन्त सहज र सरल हो। धेरैजसो भित्ता लिप्ने बेलामा नै गिलो माटोको प्रयोग गरिन्छ र यो काम महिलाको जिम्मामा पर्ने गर्छ । भित्ता सुकेको छ भने पानीले भिजाई गिलो बनाई माटोले सतहलाई चिल्लो बनाइन्छ। भित्ताको सतहमा पत्रपत्र वा तहगत रूपमा काम गरिन्छ। समान्यतः पहिलो परतमा माटोमा गोबर, धानको भुस, परालको ढुटो मुछी बाँसले बनेको टाटीमा लेपन गरिन्छ। गोबरको मात्राले भित्तालाई कडापन प्रदान गर्छ र मजबुत बनाउँछ । तसर्थ गोबरको मात्राको प्रमुख हुने गर्दछ। पहिलो परतको लेपनपछि एक दुई दिन सुकाउनु पर्दछ। त्यसपछि आलंकनको काम थालिन्छ। दोस्रो चरणमा माटोमा गोबर भुसको मात्रा फरक हुन जान्छ ।
पूर्वी तराईमा माटो मुछ्दा जुटको मसिनो टुक्रा र कपास प्रयोग गरिन्छ। जसले गर्दा अलंकरणमा चिल्लोपन ल्याउँछ र आकृतिको रुपाकार बनाउँदा सहजता प्रदान गर्छ। यो अलंकरण भित्ताको सतहबाट माथि उठेको भाग हुने गर्दछ। अलंकरण्को विषयवस्तु निश्चित हुँदैन। किनकि यो खास अवसर वा उत्सवका लागि गरिँदैन, जस्तो भित्ती चित्र बनाउँदा देखापर्छ। यसको उदेश्य आफ्नो घर तथा परिवेशलाई सुन्दर बनाउनु हो।
तराईमा बसोबास गर्ने प्रत्येक जाति समुदायको आफ्नो बानी ब्यहोरा, आवश्यकता, संस्कृति, संस्कार, अनुरुपको गृह निर्माणको वास्तुशिल्प भिन्दाभिन्दै छ्न्। जसको चर्चा, बहस र अनुसन्धान हुन बाँकी नै छ। चौकोर आकारमा चारैतिर प्रयोजन अनुसारको घर गोसाईघर, भान्साघर, भण्डारघर, सुत्ने कोठा यथास्थान हुने गरेको पाइन्छ। चारैतिर घरले घेरिएको बीच भागमा आँगन, आँगनको बीचमा मरबा, तुलसी चौरा यसरी नै दलान-दरवजा, असोरा, धुरखुर, देहैर, कोन्टा, दुमुहा, मोख, खिरकी, झरोखाजस्ता निर्माण शैली विद्यमान छ्न्। यिनै संरचनालाई सजाउन मृत्तिका उत्कीर्णन कलाको उपयोग हुँदै आएको छ। आँगन र घर भित्रको प्रवेशद्वार तथा झ्यालको वरिपरि बनाइने मृत्तिका उत्कीर्णन र चित्र शैलीलाई मोखा कला भन्ने गरिन्छ। थारु समुदायमा मोखा विषेश रुपले सजाइन्छ। मृत्तिका उत्कीर्णनको विषयवस्तु निश्चित हुँदैन। भित्ताको तल्लो भागमा बनाइने अलंकरणलाई किनारी, कोर, तथा वाडर भनिन्छ। यसरी घरको भित्री तथा बाहिरी भागमा वाडरले निरन्तरता पाएको हुन्छ। समान्यतः यसमा पशुपक्षी, फूल-पात, ज्यामीतिय मोटिभ बनाएको पाइन्छ ।
आफूसँग भएको पाल्तु पशुपक्षीमा हाँस, परेवा, कुखरा, सुँगा, मैना, ढुकुर, मयुरजस्ता आकृति बनाइन्छ। पशुमा हात्ती, घोडा, गाई यदाकदा लहरै उँटको आकृति पनि बनाइन्छ। पशुमा हात्ती सर्वाधिक लोकप्रिय विषय हो। हात्ती मांगलिक तथा समृद्धिको प्रतीक पनि हो। मैथिली क्षेत्रमा सम्मुख हात्ती, घोडा, मयुर, माछाजस्ता आकृतिको बाहुल्य पाइन्छ। कमलको फूल, फूलपातको लहरा, सूर्य संगै मानव आकृतिमा आफ्नो दैनिकी, कृषि कार्य गरेको आकृति पनि बनाइन्छ। तर कुखराको आकृति अलंकरण गरिदैन। थारु समुदायमा मानव आकृति नगन्य देखिन्छ भने हाँस, परेवा, सुँगा, मैना, ढुकुर, मयुर सँगसँगै कुखुराको आकृति पनि बनाइन्छ।
यसरी एकै गाउँमा बसोबास गर्ने मुस्लिम समुदायको घरका मोटिभ भिन्न हुने गर्दछ। जसको मुख्य कारण इस्लाममा कुनै पनि आकृतिको नक्कल बनाउन मनाही छ। जसले गर्दा जन्दार आकृति बनाइँदैन। हुन त आजको बदलिँदो परिवेशमा देश-विदेशमा ठूलो संख्यामा मुस्लिम कलाकारहरूले आकृतिमूलक चित्र, मुर्तिका निर्माण गरिरहेका छ्न्। अत: उनीहरूको अलंकरणमा चाँद, तारा, मस्जिदका मीनार, गुवंदको आकृति बनाइन्छ। यस्ता आकृतिभित्र ऎनाको सानो-सानो टुक्रा, रंगीन सिसा, काँचको चुराको टुक्राले साज-सज्जा गरिन्छ। जसले गर्दा सजिलै बुझ्न सकिन्छ कि यो मुस्लिम समुदायको घर हो। अबको दिनमा मृत्तिका उत्कीर्णनमा सिसा, ऎनाको शिल्पको प्रयोग लोप हुने अवस्थामा पुगेको छ।
संथाल लगायत अन्य जातमा चराको चरित्र, बनावट तथा रूपाकार र विषय संथालहरुको भन्दा भिन्न हुन्छ। यस्ता चित्राकृतिमा चरित्रलाई ठोस तथा रैखिक गुणलाई सन्तुलित रुपमा सामञ्जस्यपूर्ण तरिकाले अंकित गरिन्छ। यसको बनावट हेर्दा वास्तविक बनावटभन्दा धेरै भिन्न हुने गर्छ। जसलाई हामी मनगढन्त भन्न सक्छौँ। यसका रूपाकारको उपस्थापनमा वास्तविक, सरल प्रकृति, सहजात प्रतिभा तथा आवेगको भाव स्वतःस्फूर्त रूपले विकसित भएको पाइन्छ। जो यसभित्र रहेको सौन्दर्य बोधको उदाहरण हो। आफ्नो वरिपरि पाइने विभिन्न थरीको फूलपातको चरम सरलीकृत आकारलाई रङको माध्यमले गतिशीलता प्रदान गर्छ। ईसाई मिशनरीको प्रभाव यहाँको अलंकरणमा परेको पाइन्छ। ईसाई धर्मावलम्बीको घरका भित्तामा प्रतीक चिन्ह ‘क्रॉस’लाई पनि उपस्थापित गरेका छन्, जो सर्वाधिक तराईको पुर्वी जिल्ला झापामा यानी मेची नदीको वारिपारि देखिन्छ। जहाँ संन्थाल जातिको घना बसोबास छ।
पश्चिममा थारूहरूले अष्टिम्की मनाउँदा चित्रघरको पिँढीको उत्तरपट्टिको भित्तामा चित्रांकन गर्छन् जसमा विभिन्न मानव आकृति र प्राकृतिक आकृतिको बाहुल्य रहेको हुन्छ। चित्र बनाउनुभन्दा पहिले लामो तयारी गरिन्छ। पहिलो चरणमा भित्तालाई गोबर माटोले पातलो गरी लिपपोत गरिन्छ। यसरी लिपेको भित्ता सुकिसकेपछि सेतो माटो, सिलौटोमा भिजाएको अरुवा चामल पिँधेको घोल वा सेतो चुनाले सतह पोतिन्छ जसलाई ‘ढौरा’ भन्ने गरिन्छ। यसरी उज्यालो बनाई तयार परिएको भित्ता चित्रांकनको लागि तयार हुन्छ। मृत्तिका उत्कीर्णन र रङ्गले कृष्ण कथा बनाइन्छ। फूल-पातको यो मोटिभ यहाँको सुजनी तथा रुमालको कोर यानी बोर्डर, पूर्वी थारु समुदायको महिलाहरूले लगाउने अचरामा गरिएको कसिदाकारीको नमुना पनि भेटिन्छ।
मृत्तिका उत्कीर्णन अलंकरणमा रङ गर्ने प्रचलन पनि रहेको छ। चहकिलो रंगीचंगी रङको प्रयोग थारु र संथाल समुदायमा रहेको पाइन्छ। नीलो, पहेँलो, रातो र हरियो यिनको प्रिय रङ हुन्। मिथिलान्चलमा प्रायः सेतो चिल्लो माटोले लेबी- छ्छारी तयार पारिएको पृष्ठभूमिमा सेतो चुन र रामरस गेरु माटो रङको प्रयोग गरिन्छ। यो सँगसँगै नजिकको नदी वा भीरबाट उत्खनन गरी ल्याइएको विभिन्न रङको माटो संकलन गरिराखिएको हुन्छ। अर्थात यहाँ खनिज रङको प्रयोग हुने गर्दछ। थारु, संथालको घरमा विभिन्न माटो सँगसँगै बजारमा पाइने टीका रङको प्रगोग गरिन्छ। कुनै समयमा मिथिला चित्रकलामा प्रगोग हुने खनिज रङसँगै वनस्पति रङ प्रयोग हुने गर्थ्यो । तर आजको बदलिँदो समयमा खनिज रङबाहेक कलाकार बजारु रङमा निर्भर हुने गर्दछ्न्।
संथालको घरमा अलंकरणमा रगाउँदा टेक्सचरको प्रयोग पनि गरिन्छ। चराचुरुङ्गी तथा फूल पातमा रङ भर्दा पहिलो परतको रङ भरिसकेपछि माथिबाट पुनः अर्को रङ बुट्टा भरिन्छ। जसले गर्दा अलंकणमा टेक्सचर देखिन्छ। यसरी रङ्गाउँदा पनि कुनै दबाबमा नरही स्वतःस्फूर्त ढंगले गर्दछ्न्। आफ्नो आवेगलाई अतिशीघ्र रूपायित गर्ने प्रवृत्तिले गर्दा कलाकारले मनोभाव व्यक्त गर्दछन्, जो लोककलाको मौलिकता हो। प्रायः सबै समुदायको घरमा पाइने अलंकरणमा सबैभन्दा धेरै ज्यामितीय आकृति नै पाइन्छ। तथापि यसमा प्रयुक्त मोटिभको अध्ययन गर्दा, आकृति स्थानीय बोटबिरुवासँग मिल्दोजुल्दो हुने पाउँछौँ। प्राय: ज्यामीतिक रूपाकार प्रकृतिको सबै समुदायको घरमा पाइने अलंकरणमा सबैभन्दा धेरै ज्यामितीय आकृति नै पाइन्छ। तथापि यसमा प्रयुक्त मोटिभको अध्ययन गर्दा आकृति स्थानीय बोटबिरुवासँग मिल्दोजुल्दो रहेको हामी पाउँछौँ ।
artistsuman.scd@gmail.com
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।