‘साताका पुस्तक’ स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरुलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उदेश्य हो । अगामी दिनमा पाठक तथा स्रष्टाहरुको सहयोगले यस स्तम्भलाई थप सशक्त रुपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ ।
यसैक्रममा ‘साताका पुस्तक’मा यो साता छ पुस्तक । ‘ऊनको डल्लो’देखि ‘रिटायरमेन्ट एट फिप्टी’सम्मसम्म; पुस्तककाे छाेटाे परिचयसहित ।
=======
१. ऊनको डल्लो – खेमराज पोखरेल
केही समयबाट अमेरिका बस्दै आएको साहित्यकार खेमराज पोखरेलको कथासङ्ग्रह हो, “ऊनको डल्लो” । कथाकार पोखरेल ग्रामीण, सहरीया र विदेशको भावभूमिमा निर्मित यी विभिन्न कथाहरुको परिवेश र पात्रअनुसारको मनस्थिति खोतल्न, वणर्न गर्न सक्षम छन् । पोखरेलले यी कथाहरुमा गहिरोसँग आर्थिक, सामाजिक, राजनीतिक, पारिवारिक र यौनजन्य समस्याहरु खुलेर राखेका छन् ।
“कथाकारको भाषाशैली कसिएको छ । वणर्न शैली सललल बग्छ ।”, कथासङ्ग्रहको भूमिकामा भागीरथी श्रेष्ठमा लेख्छिन्, “घत लाग्ने भाषाशैली र संवाद भएकाले पढ्दा मजा लाग्छ । कथाहरु विभिन्न स्वाद दिन समर्थ छन् । मान्छेलाई विभिन्न स्वादको खाना मन परेझैँ कथा साहित्यमा पनि विभिन्न स्वाद भएको कथा हुनु पर्छ । मैले यी कथाहरुमा विभिन्न स्वादको अनुभव गरेँ ।”
पुस्तकलाई मोलुङ् फाउन्डेसनले प्रकाशनमा ल्याएको हो । १८ वटा कथाहरु सङ्ग्रहित, १ सय ७० पृष्ठमा फैलिएको पुस्तकको मूल्य २ सय ५० रुपियाँ रहेको छ ।
२. विदुर नीति – दिपेन्द्र शाह
दिपेन्द्र शाहद्वारा नेपालीमा अनूदित कृति हो, विदुर नीति । महाभारतको भयावह स्थितिमा जब धृतराष्ट्र रातको अन्धकारमा आफ्नो एक्लोपनसित जुधिरहेका थिए, तब उनले मानसिक शान्ति पाउने उदेश्यले परम् नीतिवान् एवं धैर्यवान् विदुरलाई याद गरे । महात्मा विदुरले यस अवसरमा धृतराष्ट्रसित भनेको वचनलाई महाभारतमा “विदुर नीति”को नामले चिनिन्छ । महाभारतको आठ अध्यायमा विदुर नीतिको लोककल्याणकारी प्रसङ्ग व्याप्त छ ।
पुस्तकको भूमिकामा अनुवादक शाह लेख्छन्, “जसरी भगवान् श्रीकृष्णले सर्वश्रेष्ठ धनुर्धर अर्जुनलाई स्वजनको मोहबाट मुक्त गर्न र धर्मयुद्धका लागि तयार गर्ने उदेश्यले उनलाई श्रीमद्भागवद्गीताको उपदेश दिएका थिए, त्यसरी नै नीति मर्मज्ञ विदुरको हस्तिनापुर नरेश महाराज धृतराष्ट्रलाई पुत्र-मोहबाट मुक्ति दिलाउन, कर्तव्य-अकर्तव्य बोध गराउन तथा आशंका र चिन्ताबाट मुक्ति दिलाउने उदेश्यले, युद्धको बादलले घेरिनु पहिले जीवनको सैद्धान्तिक एवं व्यवहारिक पक्षसित सम्बन्धित विभिन्न प्रकारका नीतिहरु अवगत गराएका थिए ।”
पुस्तकलाई भुँडीपुराण प्रकाशन गृहले बजारमा ल्याएको हो । १ सय ७४ पृष्ठमा फैलिएको पुस्तकको मूल्य २ सय ८० रुपियाँ रहेको छ ।
३. फेरिएको माया – सुबिन खरेल
अस्ट्रेलियामा बसोबास गर्दै आएको सुबिन खरेलको प्रेमिल उपन्यास हो, फेरिएको माया । खरेलले उपन्यासमा वर्तमान समयको परिवेश, प्रेम, गरिबी, राजनीति, भ्रष्ट्रचार, वैदेशिक राजगारीजस्ता विषयलाई सरल र सहज भाषामा विविधतापूर्वक प्रस्तुत गरेका छन् ।
“… कथाहरु काल्पनिक हुन् । तर, कल्पनाको पनि वास्तविकता हुन्छ, नियालेर हेरे । नभएको र नभोगेको दुनियाँको कल्पना मनुष्यले गर्न सक्दैन । यस अर्थमा कल्पना भोगेकै दुनियाँको अर्को अभिव्यक्ति हो, विचारको तहमा ।”, पुस्तकको भूमिकामा घनश्याम खड्का लेख्छन्, “फेरिएको माया त्यस्तै औपन्यासिक कथा हो । सरसर्ती पढेपछि कस्तो लाग्छ भने यो कथा होइन, वास्तविकता हो । र, यसो गम खाएपछि फेरि थाहा लाग्छ, यो वास्तविक हुँदाहुँदै पनि आखिर हो त काल्पनिक ।”
पुस्तकलाई अल्केमी पब्लिकेसनले बजारमा ल्याएको हो । १ सय १५ पृष्ठमा फैलिएको पुस्तकको मूल्य २ सय ५० रुपियाँ रहेको छ ।
४. घामका पाइला – नरेश शाक्य
नरेश शाक्यकृत कवितासङ्ग्रह हो, घामका पाइला । यो कृतिमा वर्तमान समाजले भोग्नु परेका विसङ्गतिहरुलाई सचित्र बयान गरिएको छ । असुरक्षा, अभाव, असहजता, अशान्तिजस्ता नकारात्मकताले घेरेको वर्तमान नेपाली समाजलाई कवि नरेश शाक्यले विभिन्न बिम्बहरुमा उनेर निर्माण गरेका छन् ।
“नरेश शाक्यजस्ता समर्पित लोकतन्त्रकर्मी रचनाकारका ढाडमा टेकेर केहीले रचे आफ्नो इतिहास । त्यस्ता बुज्रुकहरुले यिनको बलियो पिठ्युँमा चढेर जंघार तरे र आफू किनार लागेपछि यिनलाई लौरालाई झैँ नदीमा हुत्याइदिए ।”, पुस्तकको भूमिकामा कवि श्यामल लेख्छन्, “नरेश शाक्य त्यस जलप्रवाहमा कतै हुत्तिँदै र कतै थामिदै एक कठिन यात्रामा छन् तर, थाकेर किनारमा सडिरहेका छैनन् । यही आत्मबल र विश्वासले नै उनको काव्यकर्म जारी छ । राज्य उदासीन छ, राज्य बनाउनेहरुलाई आफ्नो आधारभूमिको पत्तो छैन । चिनिएका निजी क्षेत्रका साहित्यिक मठहरु पनि उनलाई खोज्न चाहँदैनन् किनभने अब नरेशसँग दिनलाई जनतामाथि अत्यधिक भरोसा राखिएका कविताबाहेक केही बाँकी छैन ।”
पुस्तकलाई आकृति प्रकृति प्रकाशन गृहले बजारमा ल्याएको हो । १ सय २ पृष्ठमा फैलिएको कविताकृतिको मूल्य दुई सय रुपियाँ रहेको छ ।
५. सिरानमा बस्नेहरु – लोकनाथ पुडासैनी
साहित्कार लोकनाथ पुडासैनीकृत कवितासङ्ग्रह हो, सिरानमा बस्नेहरु । सङ्ग्रहमा लामा-छोटा गरी ६० थान कविता सङ्ग्रहित छन् । कविताहरु कलात्मक छन्, तर पुडासैनीले कवितालाई कलात्मक बनाउने नाममा जटिल बिम्ब र प्रतीकहरुको भारी कवितालाई बोकाएका छैनन् ।
“व्यङ्ग्यार्थ वा अभिधेयार्थबाट आफ्नो भाव स्पष्ट रुपमा व्यक्त गर्ने कला कवि पुडासैनीको विशेषता हो ।”, पुस्तकको भूमिकामा प्रा.डा. रविलाल अधिकारी लेख्छन्, “समाजमा व्याप्त विसङ्गति र विकृतिलाई व्यङ्ग्यात्मक रुपमा वा सोझै भनेर वा आलोचना गरेर समाजलाई स्वस्थ बनाउनुपर्छ भन्ने चाहनामा उहाँका भाव र विचारहरु व्यक्त भएका छन् । उहाँका आख्यानात्मक अभिव्यक्तिमा पनि यिनै विचारहरुको प्रभाव पाइन्छ । कवितामा सटीक रुपमा छोटो र मिठो बनेर समाज सुधारोन्मुख भएर भाव र विचारहरुले आफूलाई सम्प्रेषित बनाएका छन् ।”
पुस्तकलाई भुँडीपुराण प्रकाशन गृहले बजारमा ल्याएको हो । १ सय ३३ पृष्ठमा फैलिएको कविताकृतिको मूल्य २ सय ५० रुपियाँ रहेको छ ।
६. रिटायरमेन्ट एट फिप्टी – भुवन दाहाल
पूर्वबैंकर भुवन दाहालको संस्मरणात्मक कृति हाे, ‘रिटायरमेन्ट एट फिप्टी’ । बैंकर्स संघका पूर्वअध्यक्ष तथा सानिमा बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत दाहालले यो पुस्तकमा आफ्ना अनुभवहरू विस्तारमा प्रस्तुत गरेका छन् ।
दाहालले पुस्तकमा नबिल बैंक र सानिमा बैंकमा तीन दशकभन्दा बढी समय काम गर्दाका अनुभव, नेपाल बैंकर्स संघको अध्यक्ष हुँदा संघीय संसदको अर्थ समिति, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, सिबिफिनलगायतमा काम गर्दाका अनुभव समेटेका छन् । त्यस्तै, पुस्तकमा २७ वटा वाणिज्य बैंकको पछिल्लो आठ वर्षको तुलनात्मक वित्तीय कार्य सम्पादन, सानिमा बैंकका सफलताका कथालगायत विषयवस्तु उल्लेख गरिएको छ ।
पुस्तकमा दाहालले स्कुल पढ्दा विज्ञान शिक्षकबाट खाएको पिटाइ, नबिल बैंकमा आफ्नो बढुवा छिटोछिटो हुनुको कारण तथा युवा पुस्ताले सफल हुन गर्नुपर्ने कार्य पनि खुलाएका छन् । दाहालले पुस्तकबाट प्राप्त हुने सम्पूर्ण पारिश्रमिक सामाजिक संस्थालाई प्रदान गर्ने घोषणासमेत गरेका छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।