लेखक जनक रसिकद्वारा लिखित उपन्यास ‘दोरी’ले  सुदूरपश्चिमको एक युवा, जो आफ्नै देशभित्रकै भूगोलको आधारमा गरिने विभेदको कथा जापानसम्म पुग्दा पनि यथावत् रहेको अनुभवलाई सटिक अनि गहन ढङ्गले प्रतिबिम्बित गर्दछ । सपना देख्न न कुनै भूगोलले छेक्ने न त कुनै भाषा र कथित आधुनिकीकरणको  घेराले तारबार लगाउन सक्ने तथ्यमा दृढ एक पात्र देवको कथालाई पाठकसामु राखिएको छ।

भूगोलको आधारमा गरिने विभेदको परिभाषा सधैँ परिवर्तनशील र  सापेक्षिक रहने कुरा उपन्यासले प्रष्ट पार्दछ। नेपाल र भारतका ठूला सहरहरूमा पुग्दा आफू सुदूरपश्चिम र विकट गाउँमा जन्मेको मान्छेको हैसियतले आफूलाई कमजोर, गाउँले र ‘असक्षम’ सोच्ने पात्रले जापान पुगेपछि तेस्रो मुलुकको नागरिकको हैसियतले भोगेको विभेद अनुभव गर्दा उसलाई नेपाल र भारतको ठूला सहरको पहिचान पनि धूमिल लाग्दै जान्छ र आफूलाई सकेजति या सक्नेभन्दा बढी नै तवरले जापानको माहोलमा समायोजन गर्ने प्रयास गर्दछ।

उपन्यासका सबैजसो पात्र मानव भएर पनि एउटा पात्र यन्त्रमानवको नामबाट पूरै उपन्यासको नामकरण गरी ‘दोरी’ राखिनुले वर्तमान विश्वसमुदायमा मेसिनको सर्वोच्चतालाई इङ्गित गर्दछ।  कथाका सजीव पात्रहरूका सपना, दैनिकी र जीवनशैली हुबहु यन्त्रमानवसँगै मिल्दछन् र स्वत: साझेदारी राख्दछन्।  अझै दु:खद् व्यङ्ग्य त के भने, कथाको अन्त्यतिर गएर मात्रै मानव र यन्त्रमानवका केही आधारभूत विशेषता छुट्याउन सकिएको छ। एउटा मानवले मानवीय संवेदना र मेसिनको विशेषताबिच फरक देख्न नसक्नुले स्पष्ट पार्दछ कि अहिलेको परिस्थितिमा कसरी मान्छेले आफ्नै  विकल्प निर्माण गरिरहेकाे छ।

‘फ्रस्ट पर्सन लिमिटेड पोइन्ट अभ भ्यु’बाट न्यारेट गरिएको उपन्यासमा न्यारेटर  ‘लिमिटेड पोइन्ट अभ भ्यु’बाट बोल्दछ। धेरै कुरा उसले पाठकलाई जिम्मा लगाउँछ र त्योभन्दा बढी कहीँ न कहीँ कथाका अरु पात्रहरूको काँधमा छोडिदिन्छ । जसले विज्ञान र प्रविधि युगको दुनियाँमा सबैका सबै कथाहरू सुल्झाउन नसकिने यथार्थ र आधुनिक  मानव बाँचिरहेको अस्तव्यस्त वास्तविकतालाई जनाउँदछ।

उपन्यासको मुख्य सेटिङ् टोकियो सहर रहेको कथावस्तुमा एउटा तेस्रो मुलुकको  विकट क्षेत्रको नागरिक  चाहेर वा नचाहेर विदेशी भाषा, संस्कृति र  चालचलनको हिस्सा बन्न हदैसम्म कोसिस गर्दछ । आफूलाई छिटै रुपान्तर गर्न नसकेकोमा हिनताबोध गरिरहन्छ । उसलाई दैनिक जीवनदेखि व्यवसायिक क्षेत्रमा आफू कमजोर र ‘असक्षम’  महसुस भइरहन्छ । अरु त अरु देव पात्रलाई सडकमा  हिँड्दाखेरि समेत आफ्नो हिँडाइ  र विदेशीको हिँडाइमा असमानता भएको महसुस भइरहनुले ‘इम्पेरियालिजम्’ले गरेको ‘ब्रेन वस्’को झझल्को दिइरहन्छ।

मालिकको दुर्व्यवहार, बेलाबेला कामको सिलसिलामा खेपेका हण्डरहरू, मेसिनसँगको आफ्नो तुलना र मनोवैज्ञानिक/शारिरीक दासत्व पैसाकै लागि स्वीकारेको कुरा न्यारेटरले बारम्बार कन्फेस गरिरहनुले ‘ग्लोबल क्यापिटालिजम्’ अर्थात् भूमण्लीकृत पूँजीवादले निर्माण गरेको कुरुप (अ)सामाजिक चित्र झल्काउँछ।

विज्ञान र प्रविधिमा लगानी अनि लाभ धनी देशहरूले मात्रै गरे/लिए पनि  त्यसको नकारात्मक असर र मानव जीवन  तथा वातावरणमा परेको प्रभावको क्षतिपूर्ति गरिब देशहरूले  पनि व्यहोर्नुपरेको भूमण्डलीकरणको अन्यायपूर्ण नतिजा उपन्यासले बडो भावुक ढङ्गले चित्रण गरेको छ।  जसरी तेस्रो मुलुकको, कम पढेलेखेको एउटा युवा जीवन परिवर्तनको अपेक्षा लिएर विकसित मुलुक पस्दछ र मेसिनसँगको दिनरातको सहकार्यको कारण आफ्नै शरीर र मस्तिष्क हानिकारक परावैजनी किरणहरूको सिकार बनेर उसको निर्दोष संसार क्षतविक्षत् हुन्छ, त्यसरी नै उद्योग कलकारखानाको स्थापना, उपयोग र लाभ धनी देशहरू केन्द्रितमात्रै रहे पनि त्यसले निम्त्याउने औजोन तहको विनाश, ‘ग्लोबल वर्मिङ्, ‘एसिड रेन’लगायतका पर्यावरणीय क्षति गरिब देशहरूले पनि बेहोरिरहनुपरेको तथ्य मानवीय संवेदनासँग जोडेर चित्रण गरिएको छ।

उपन्यासको सुरुवातमै एउटा कलिलो युवा अनगन्ती सपना बोकेर हवाइजहाज चढेर विदेशिन्छ। उसले हवाइजहाजमा चढिसकेपछि आफ्नो तुलना हरेक शक्तिशाली, धनाढ्य वर्ग, राजा अनि महाराजासँग  गर्दछ। पात्रको अवचेतन मनमा रहेको दबिएका सपना पूरा गर्ने रहर अनि वर्गसंघर्षको भोकले पाठकलाई मार्क्स र फ्राएड दुवैलाई एकैपटक सम्झाइदिन्छ।

अर्को, उपन्यासभरि ‘हाइलाइट’ भएको पाटो भनेको  A Layman’s Utmost Effort to Avoid Destiny अर्थात् एउटा भुइँमान्छे नियतिको धारलाई बदल्ने अभुतपूर्व प्रयास थालेको भेटिन्छ।  मुख्यपात्रले आफूलाई गरिबीको रेखामुनिबाट माथि उठाउन हरएक प्रयास गर्दछ, सपना देख्दछ र सार्थक बनाउनपट्टि लाग्दछ, तर पनि कथाको अन्त्यसम्म उसको जीवनमा उसले चाहेजस्तो परिवर्तन आउँदैन । उल्टै विभिन्न उल्झन र दुर्घटनाको सिकार भइरहन्छ ।

पात्रको जिन्दगीमा केही आनन्दमयी बदलाव नआए पनि कथाको अन्त्यमा जीवनप्रतिको उसको दृष्टिकोण बदलिएको अवस्थाले पाठकले केहीहदसम्म पात्रले न्याय पाएको महसुस भने गर्दछन्।

उपन्यासको पुरुष पात्र धेरैजसो समय भान्सामा र घरको काममा मात्रै व्यस्त भइरहेको देखिन्छ। दोरीले घरबाहिरको काम आफूभन्दा राम्रोसँग गर्नसक्ने तथ्यलाई  बिनाहिच्किचाहट स्वीकार गरेको अवस्था हेर्दा पात्रलाई समयसँगै नारीशक्ति र अस्तित्व स्वीकार्न अहमले नछेक्ने पुरुषको रूपमा बुझ्न सकिन्छ। सदियाैँदेखि महिलाहरूले रोबोटकै रूपमा घरधन्दाको  काम गरिरहेको र समयसँगै भूमिकाहरू विनिर्माण हुँदै गएको प्रसङ्गलाई (अ)प्रत्यक्ष रूपमा  देख्न सकिन्छ।

विज्ञान र प्रविधिको अतिप्रयोग, यसले मानवजीवनमा निम्त्याएका हानी नोक्सानी, वैदेशिक रोजगारीको क्रमका दु:ख/पीडा, बढ्दै गइरहेको यान्त्रिकीकरणसहितका विषयवस्तु वरिपरि कथावस्तु घुमेको पाइन्छ।

मेसिनको बराबर काम गर्नुपर्ने र एकपटक फुर्सद नभएर पनि देव पात्रलाई प्रेम गर्ने फुर्सद जतिबेला पनि भइरहनु र विज्ञानलाई सघाउन धर्मको गुहार लगाउनु उपन्यासका रोचक पाटो हुन् । साथै कथाका पात्र देव र दोरीबीचको प्रेम अनि त्यसले निम्त्याएको दुखद् निराशालाई धर्म र विज्ञानबीचको द्वन्द्व  अनि आधुनिक समाजमा चलिरहेको शक्तिसंघर्षको अवस्थालाई बुझ्न सकिन्छ।

देव टोकियो सहर पुगेपछि विजयको  प्रवचन  केहीहदसम्म पट्यारलाग्दो लाग्न सक्छ। लोकसेवा तयारीका लागि सामान्यज्ञानको किताब पढेजस्तो आभास दिन्छ उपन्यासका दुई/तीन पृष्ठसम्म।  र, यो क्रम बीचबीचमा दोहोरिरहन्छ पनि।  आफूले यति  जानेको छु  भनेर देखाउन/पाठकको विश्वास जित्न जता पनि सबैकुरा जान्ने हुन खोजेको पात्रलाई  पाठकवर्गले त्यति नरुचाउने  कुरा बिर्सिएको आरोप लेखकलाई लगाउन मिल्ने आधारहरू थुप्रै ठाउँहरूमा छन् ।

भाषालाई एउटा सञ्चारको माध्यमभन्दा पनि ज्ञान, बाैद्धिकता, सभ्यता, आधुनिकता या भनाैँ जीवन जिउने  एकमात्र आधार हो भन्ने तवरले बारम्बार प्रसङ्ग दोहोरिरहनुमा पाठकीय असन्तुष्टि रहनु स्वाभाविक हो ।

विगत डेढ दशकयता लेखिएका र प्रकाशित भएका लगभग सबैजसो कृतिहरूमा प्रसङ्ग मिल्नु र नमिल्नुभन्दा पनि जनयुद्धको एक दृश्य जसरी पनि  राख्नैपर्छ भन्ने किसिमको मनोवृत्तिबाट प्रेरित लेखकको मनशाय यो उपन्यासमा पनि एक दुई ठाँउमा भेटिन्छ, जसले खासै नयाँपन  दिएजस्तो केही पनि लाग्दैन।

डोटेली भाषाको अर्गानिक शब्दहरू, संस्कृतिको चित्रण, टोकियो सहरमा बजेको देउडाको धूनहरू, पात्रको जन्मभूमिको दृश्यचित्रणले  सुन्दरता थपेको छ । उपन्यासले साहित्यका अन्य विधाका विशेषताहरू ट्राभल डायरी र मेमोएरका क्षेत्र पनि छोएको छ। उपन्यास साहित्य र विज्ञानको फ्युजन भएर पनि होला, पाठकीय काैतुहलता अन्त्यसम्मै स्थापित गर्न सफल भएको छ । र, उपन्यासको अन्त्यमा न्यारेटरको  मोनोलगहरू निकै विचारणीय छन्।