म बर्माको पुरानो शहर प्यूँउल्वीनबाट अर्को शहर लोखु जाँदै थिएँ । वास्तवमा मलाई एक दिनको प्यूँउल्वीन बसाइले त्यति पर्याप्त थिएन । अझ एक–दुई दिन थप्न चाहन्थे । प्यूँउल्वीनको शितल हावापानी, शान्त वातावरण अनि स्वच्छ सडक । एक घण्टा ओरालोमा रहेको माण्डालेमा खपिनसक्नु गर्मी तर प्यूँउल्वीनको शितल हावापानी– वर्माको अलौकिक नमुना । सायद त्यही गुण भएर होला अंग्रेजहरूले प्यूँउल्वीनमा ठूला–ठूला निजी निवास निर्माण गरे । साथै मिलेको शहर बसाए । त्यसो त गोपाल भट्टराईज्यूले मलाई प्यूँउल्वीन शहर कहाँ नडुलाइदिनु भएको हो र ? उहाँले मलाई आफ्नो मोटरसाइकलमा राखेर मुख्य बजार र दुर्गा मन्दिर घुमाइदिनु भएको थियो । एउटा गोरखालीको होटेलमा हामीले दिउँसोको बर्मेली परिकारसमेत खाएका थियौं ।
प्यूँउल्वीनको अर्को रोचकता के छ भने प्यूँउल्वीनको पुरानो नाम “मेम्यो” हो । “मे” नाम गरेका अंग्रेजले बसाएको शहर भएकोले यसको नाम “मेम्यो” रहन गयो । “म्यो” को अर्थ बर्मेली भाषामा “शहर” हो । तर बीसौं शताब्दीको अन्त्यमा यो शहरले आफ्नो शताब्दी वर्ष मनायो र यही समारोहमा यसले आफ्नो पुरानो नाम पायो । अंग्रेज अफिसरको नामबाट चिनिने “मेम्यो” अब “प्यूँउल्वीन” भयो ।
यो शहरको नेपालसँग निकै कसिलो सम्बन्ध छ । राजा महेन्द्र र रानी ऐश्वर्यले सन् १९७१ को अप्रिल महिनामा यो शहरको भ्रमण गरेका थिए । साथ दिए त्यतिबेला परराष्ट्रमन्त्री र बर्माका लागि नेपाली राजदूत ज्ञानेन्द्रबहादुर कार्की । त्यतिबेला प्यूँउल्वीनमा गोरखाली पण्डित यज्ञप्रसाद भट्टराईको जोडबलले निर्माण भएको दुर्गा मन्दिर थियो । तर जब त्यो मन्दिरमा राजा महेन्द्रले भ्रमण गरे तब त्यो दुर्गा मन्दिरको स्वरूप नै बदलियो । राजा महेन्द्रले नेपालको पशुपतिनाथ मन्दिरको दर्शन गर्न नसक्नेहरूका लागि भनेर दुर्गा मन्दिरको आडैमा पशुपतिनाथको मन्दिर निर्माण गरिदिए । अब अर्को चाखलाग्दो के छ भने राजा महेन्द्रले स्वरूप दिएको पशुपति मन्दिरमा उनैका छोरा राजा वीरेन्द्रले वि.सं. २०४० सम्ममा सरोजरेणुः पंचमुखी प्रतिमा नेपालबाट पठाइदिएपछि यसको महत्त्व झन् बलियो भयो ।
यो शहरसँग मेरो व्यक्तिगत छुट्टै सम्बन्ध छ । म बर्मामा नै भएको बेला (२००९ अक्टोबर) नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमण हुनगयो साथै उहाँको पनि प्यूँउल्वीनमा नै स्वागत कार्यक्रम राखियो । तर म त्यतिबेला प्यूँउल्वीनबाट माण्डले (अर्को शहर) आइसकेको थिएँ । बर्माका गोरखाली दाइभाइको साथ लागेर पुनः प्यूँउल्वीन गएँ र राष्ट्रपतिको कार्यक्रममा सामेल भएँ । यस प्रकार प्यूँउल्वीनमा मेरो दुईपल्ट भ्रमण हुन गयो । यसबारे अलगै अर्को लेख लेख्ने नै छु ।
आज म ऐतिहासिक र गरिमामय शहर– प्यूँउल्वीनबाट बिदा हुँदै थिए । बिहानको सामान्य खाना खाएर होटेलको लबीमा बसेको मात्र थिएँ । तीनजना गोरखाली मित्रहरू देखा पर्नुभयो । शुरुमा मलाई ज्ञान नै भएन कि मप्रति मित्रहरूको त्यति धेरै चाख छ, साथै उहाँहरूसँग सहज अनुभव गर्न सक्छु । वास्तवमा के भने कुनै एउटा नेपाली बर्मा मुलुकमा पसेको थाहा पाउनेबित्तिकै त्यो व्यक्तिप्रति गोरखाली बन्धुको विशेष ध्यान जानु नेपालीको लागि सौभाग्य नै हो । त्यो सौभाग्य मैले पनि पाएँ । अझ गोरखालीको स्वामित्वमा रहेको होटेलमा बसेपछि मेरो सौभाग्य अझ बलियो भयो । मैले पालैपालो उहाँहरूसँग हात मिलाएर परिचय गरेँ । उहाँहरू हुनुहुन्थ्यो– मनबहादुर खनाल, कासीराम न्यौपाने र कृष्ण पन्थी । सामान्य गफपछि हामीहरू बाहिर निस्क्यौ । मलाई त्यतिबेलासम्म थाहै थिएन, तर बाहिर निस्केर चाँदी रङ्गको गाडीमा सामान राखेपछि पो थाहा भयो उहाँहरूले आफ्नो निजी कार ल्याउनु भएको रहेछ । हुन त शंकरजीले रंगुनमा नै जानकारी गराउनु भएको थियो– “साथीहरूसँग भेट भएन भने गोरखालीको दूध ओसार्ने गाडी आउँछ, त्यसैमा जानु होला” तर उहाँहरूले त दूध ओसार्ने गाडी होइन, आफ्नो निजी कार पो ल्याउनु भएछ !
हाम्रो गाडी प्यूँउल्वीन शहरबाट पूर्व लाग्यो । र, केहीबेरको शहर गुडाइपछि ओरालो लाग्न थाल्यो । त्यो असीमित फाँट, हरियो खेतीपाती अनि फराकिलो सडकमा गुडेको हाम्रो गाडी– वास्तवमा मानव सभ्यताले प्राकृतिक सभ्यतासँग जोडेको सिङ्गो अस्तित्व थियो त्यो, अनि सुन्दरताको नमुना । हुन त मैले रंगुनदेखि प्यूँउल्वीनसम्मको बस यात्रामा यस्ता फाँटहरू कहाँ नदेखेको हो र ? यस्ता फाँटहरूमा आँखा नपरेका हुन् र ? तर अहिले देखिएको सडक वरिपरि हरियो खेती र पशुपालनको घाँसे मैदानले म उकुसमुकुसिन थालें, मेरा आँखा तिरमिराउन थाले । सायद त्यो उकुस–मुकुसलाई नेपालबाट बर्मा पसेका गोरखालीहरूले नियन्त्रण गर्न सकेनन् होला र उनीहरू बर्मा पसेपछि फर्केर गएनन् । उनीहरूलाई त्यो हरियो फाँटले लोभ्यायो, अनि लोभको औडाहालाई नियन्त्रण गर्न उनीहरूले घर–टहरा बनाउन शुरु गरिहाले । त्यहाँ खेती गर्न थाले । नेपालको ढुङ्गा र गेग्ग्रेनसँग खेलेका हातहरूले त्यो कमलो माटोमा चल्न थालेपछि उनीहरूले छोड्न सकेनन् । उनीहरू त्यहीँ रमाएर बस्न थाले ।
करिब एक घण्टाको यात्रापछि सडकको बीचमा लहरै चार–पाँच वटा जति ढोकाहरू देखिए । ती ढोकाहरूमध्ये एउटा ढोकाको मुखैमा गाडी चालक मानबहादुर खनालज्यूले गाडी रोक्नुभयो । तर गाडी रोक्नुको कारण बताउनु भएन बरु कुरोलाई अन्तै बटार्दै बोल्नुभयो–
“यो माण्डाले र साङ्ग प्रदेशको सिमाना हो । यहाँबाट साङ्ग प्रदेश शुरु हुन्छ, यहाँबाट शुरु भएको साङ्ग प्रदेश ठ्याक्कै चीनमा जोडिन्छ ।”
“अनि यहाँ किन गाडी रोकिएको त ! के यहाँ चेकिङ्ग हुन्छ ?” मैले सोधेँ ।
“यहाँ गाडी चेकिङ्ग हुन्छ कर पनि तिर्नुपर्छ,” भन्दै उनले गाडीलाई काउन्टरको नजिकै रोक्नुभयो तर पैसा तिर्नुभएन, काउन्टरमा उभिने व्यक्तिले पनि हामीलाई हात हल्लाउँदै जान इसारा गर्यो । मैले सोधिहालेँ, “खै त हामीले त पैसा तिरेनौँ त ?”
“मेरो गाडी साङ्ग प्रदेशमा दर्ता भएको हो, साङ्ग प्रदेशको गाडीले आफ्नो प्रदेशभित्र पस्दा पैसा तिर्नुपर्दैन ।”
भर्खरै नेपालमा संघीयताको कुरो चलिरहँदा बर्मामा चाहिँ पहिलेदेखि नै थियो । एउटै देशमा पनि कुनै गाडीले कर तिर्नुपर्ने । कुनैले नपर्ने ! म यो परिपाटीमा अभ्यस्त थिइनँ । मलाई केही अनौठो लागे पनि बर्मामा सामान्य नै थियो । प्रदेशअनुसार आफ्नै नियम छन् ।
हामीहरू अगाडि बढ्यौं । गाडीबाट देखिने टाढा–टाढासम्मको हरियो फाँट, अनि सडक वरिपरिको गाई–गोरुको विशाल–विशाल चरन देख्दा लाग्थ्यो, कृषिको विकास त्यसरी पो हुनुपर्छ, पशुपालनको स्याहारसुसार त्यसरी पो गर्नुपर्छ । अझ रोचकता यो थियो कि, हामीले त्यत्तिको सडक पार गर्दासम्म न टुटे–फुटेको सडक भेट्यौँ, न धुवा–धूलो । सफा फराकिलो !
केही अगाडि पुगेका थियौं, सडक दायाँ–बायाँ टिनका छाना भएका दुई–तीन तले घरहरू लहरै देखिए । घरका छेउछाउमा गोठ–कटेरा, लहरै मिलेका आँप र मेवाका बोटहरू अनि आँगनको डिलमा सुकाइएका राता–पहेँला पेटीकोट र साडीले नेपालको झल्को दिएको थियो । अनि वरिपरि हिँडडुल गरेका मान्छेको भेषभूषाले मलाई पक्का भयो र सोधिहालेँ ।
“के यो गोरखालीको बस्ती हो ?”
“हो सर ! यहाँ गोरखालीको बाक्लो बस्ती छ । यस ठाउँलाई बम्बै भन्छन् ।”
“बम्बै ?”
“बम्बै ! तर यो भारतको बम्बै होइन । गोरखालीको बम्बै हो । बर्मेली भाषामा यो ठाउँको नाम “भाम्ब्बे” हो तर हाम्रो जिब्रोले यसलाई समाउन नसकेपछि हामीले बम्बै भन्न थाल्यौँ । यो कुरो बर्मेलीलाई थाहा छैन । हामी आफ्नैले राखेका यस्ता नामहरू बर्मामा थुप्रै छन् ।” बम्बैबाट उत्तर गुडेको गाडी “ओमतिमा” पुगेर देब्रे लाग्यो । केही साँघुरो हुँदै विशाल फाँटभित्र पस्यो । गाडीको झ्यालबाट देखिने उखु खेतीको बाक्लो आवादी । अनि बेला–बेलामा आउने पुल–पुलेसा, नाला नाग्दै “तौजे” पुग्यौँ । पुनः देब्रे लाग्नेबित्तिकै सडक छेउको एउटा लामो आकारको भवन अगाडि रोकियो । बाहिरबाट हेर्दा लाम्चो र साँघुरो देखिए पनि भित्र गएपछि पो थाहा भयो, त्यो घर त एउटा विशाल खाद्यान्न स्टोर (पसल) पो रहेछ! पसलमा निकै भीड थियो । ग्राहक बर्मेली, कामदारहरू बर्मेली, पैसा लेनदेन गर्न बर्मेली, सामान मिलाउने बर्मेली, झट्ट हेर्दा त्यो स्टोर बर्मेलीको देखिए पनि त्यसका मालिक थिए गोरखाली– गोपाल पाण्डे । कुनाको टेबुलमा केही लेखिरहेका गोपालजी हामीलाई देख्नासाथ आइहाले । शुरुमा मैले उनलाई गोरखाली हुन् भनेर चिन्न सकिनँ, अझ उनले मनबहादुरसँग पनि बर्मेलीमा नै कुरा गर्न थालेपछि त गोरखाली भएको शंका गर्न ठाउँ नै भएन तर उहाँ त शुद्ध गोरखाली हुनुहुँदो रहेछ । शुद्ध नेपाली भाषा बोल्नु हुँदोरहेछ । सामान्य परिचयपछि मैले गोपालजीलाई सोधेँ–
“तपाईंको स्टोर त ठूलो रहेछ हगि !”
“बजारको यो सबैभन्दा ठूलो पसल हो,” उहाँले केही उत्साहित भएर बोल्नुभयो ।
उनको स्टोरदेखि कता–कता गौरव लाग्यो । घमण्ड लाग्यो । त्यति टाढाबाट आएर पनि यसरी जमेर बस्नुमा म हर्षित भएँ । फेरि कता–कता डर पनि । म कमजोर बनेँ । केही वर्षअगाडि (सन् २०१२) कङ्गोमा भेटिएका नेपाली व्यापारीको दर्दनाक मानसिकता सम्झिएँ । त्यतिबेला मैले उनलाई सोधेको प्रश्न मेरो दिमागमा नाच्न थाल्यो । मैले उनलाई पनि यसरी नै सोधेको थिएँ । “त्यति टाढाबाट आएर पनि व्यापार निकै फष्टाएको छ हगि !” उनले निराश हुँदै जवाफ फर्काएका थिए, “व्यापार के फस्टाउनु ! अर्काको देशमा बसेर धन कमाउन गाह्रो छ । आफू भित्र बस्नुपर्छ, पैसाको कारोबार सबै कङ्गेलीकै नाममा छ । कङ्गोलीले हामी विदेशीले पैसा गनेको देख्न चाहँदैनन् ।”
तर गोपाल पाण्डेको आशय त्यस्तो आएन बरु निर्धक्कसँग बोले–
“सर ! बर्मेलीलाई कजाएरै खाइएको छ । मेरो कामदार सबै बर्मेली छन्, ग्राहक बर्मेली । अहिलेसम्म जमेर नै बसिएको छ । राम्रो काम गरेनन् र इमान्दारिता देखिएन भने आजै कामबाट निकालिदिन्छु । उनीहरूले गरेको कामको पारिश्रमिक दिएपछि कसले के गर्न सक्छ ?” फेरि केही गम्भीर भएर बोले– “सबैलाई मिलाएर राखेको छ ।”
केहीबेर गफ गरेपछि हामीहरू त्यहाँबाट निस्कनै लाग्दा गोपालजीले रोकिने संकेत गर्दै बोल्नुभयो, “सर ! एकछिन पर्खनुहोस् त !”
म रोकिएँ ।
उनले आफ्नो दराजबाट एउटा नोट कापी मेरो हातमा थमाउँदै बोले–
“सर, लेखक हुँनुहुँदो रहेछ । अब यो नोट कापीमा लेख्नुहोला यो मेरो तर्फबाट उपहार ।”
मैले त्यो नोट कापी निकै गौरव साथ झोलामा राखेँ । म बर्मा बसुन्जेल मसँग रह्यो । त्यसमा नै सबै टिपोट गरेँ ।
तौजेबाट हाम्रो गाडी देव्रे हानियो र दायाँबायाँका नेपालीको बस्ती पार गर्दै रामेश्वर धाम, लोखुको मुलद्वारभित्र पस्यो । चार–पाँच जना बटुकहरूले हामीहरूलाई घेरा हाल्न आइहाले ।
त्यतिबेलासम्म मलाई थाहा थिएन कि ! मनबहादुर खनालजीहरू अर्को कामले पनि त्यहाँ आउनुभएको छ भनेर । शारदा संस्कृत महाविद्यालय, रामेश्वर धामका श्री १००८ स्वामी डा. विष्णुबल्लमानन्दलाई भेट्ने कार्यक्रम बनाउनु भएको रहेछ । उहाँहरू हतार गर्दै स्वामीजीको निवासतिर गइहाल्नुभयो भने म चाहिँ महाविद्यालयका सहसचिव मनबहादुर घिमिरेको साथमा भएँ । मनबहादुर घिमिरे– एक सरल, मृदुभाषी अनि सोझो व्यक्तित्व । अब संस्कृत महाविद्यालय लोखु बसुन्जेल म उहाँके साथमा हुनेछु । उहाँले शुरुमा नै मलाई भन्नुभयो–
“सर ! खाना तयार भएको छैन, बटुकहरूले तयार पार्दैछन्, म तपाईंलाई हरिद्वार, गंगासागर तथा लक्ष्मणझुला घुमाइदिन्छु ।”
मलाई अचम्म लाग्यो र सोधिहालेँ–
“हरिद्वार, गंगासागर, लक्ष्मणझुला त भारत होइन र ? कसरी आयो बर्मामा ?”
उनी केही बोलेनन्, बरु मलाई अगाडि–अगाडि हिँड्ने इशारा गरे । हामीहरू पैदल नै ओरालो लाग्यौँ । हरिद्वार, गंगासागर नगएको व्यक्ति म, मेरो कौतुहल बढ्दै गयो ।
वास्तवमा मैले त्यहाँ हरिद्वार, गंगासागर मात्र देखिनँ, हिन्दुहरूका चारै धाम देखें । लक्ष्मणझुला, गौमुखीद्वार, शिवमूर्ति तथा भारतका सम्पूर्ण तीर्थस्थल त्यहीँ थिए । सय बिघा जमिनमा फैलिएको त्यो विशाल हरियाली, बीच–बीचमा बनेका सुन्दर आवास–गृह अनि बीच भागमा बगेको कृत्रिम गंगासागर । गोरखालीको त्यो उत्साह, त्यो मिहिनेत देख्दा लाग्थ्यो, त्यहाँ अद्भुत शक्तिको उदयमान भएको छ । विश्वका सम्पूर्ण देवी–देवताको आशीर्वाद लागेको छ ।
मैले अनुभव गरेँ– यो शारदा संस्कृत महाविद्यालय, महाविद्यालय मात्र नभई दानै–दानको महासागर रहेछ । दक्षिणै–दक्षिणाको नमुना रहेछ । व्यापारी होस् वा सामान्य किसान, शिक्षक होस् वा पशुपालक सबैले केही न केही दान गरेकै रहेछन् ।
बल्ल मेरो पालो आयो श्री १००८ स्वामी डा. विष्णुवल्लभानन्दलाई भेट गर्न । हामीहरू गंगासागरमा नै टहलिरहेको बेला एउटा बटुक छिटोछिटो हिँड्दै आयो र मलाई संकेत गर्दै मनबहादुर घिमिरेतिर हेर्दै बोल्यो–
“उहाँ ! सरलाई लिएर जानुहोस् अरे ।”
हामीहरू तीनैजना स्वामीज्यूको निवास पुग्यौ । शरीरमा पूरै पहेलो रङ्ग वस्त्र, अग्लो कद अनि गम्भीर स्वभाव मैले सोचेकोभन्दा मीठो अनुभव गरेँ– उहाँसँग । मेरो बारेमा केहीबेर पहिल्यै केही जानकारी पाइसक्नु भएको थियो उहाँले । म नेपालबाट आएको भनेपछि स्वाभाविक उहाँको चासो बढ्नु स्वाभाविक पनि थियो । अझ मनबहादुर घिमिरेज्यूले मलाई लेखक भनेर चिनाइदिएपछि उहाँ निकै उत्साहित हुनुभयो । मनबहादुर घिमिरेले मलाई लेखक मात्र भनेर चिनाइदिनु भएन, बरु केहीबेर अगाडि उहाँलाई दिएको उपहार मेरो किताब “दरबार बाहिरकी महारानी” स्वामीज्यूलाई दिनुभयो । स्वामीज्यूले लिनुभयो र खुशी हुँदै बोल्नुभयो–
“यो किताब यो संस्कृत महाविद्यालयको पुस्तकालयमा रहन्छ ।”
त्यो बेलासम्म खानाको लागि जानकारी आइसकेको थियो । हामीहरू हतारिँदै भान्साघरतिर लाग्यौँ । लामो आकारको जस्ताले छाएको भवन, बीच भागमा लहरै होचा–होचा टेबुलहरू अनि बस्नको कुसन । हामीले दिउँसो खाना त्यहीँ खायौँ र दिनभरि महाविद्यालय वरिपरि नै घुम्यौँ । त्यसो त दान–दक्षिणाले बनेको त्यो विशाल परिसर, अनि चन्दा र प्रसादले उभिएका ठूला–ठूला भवनहरू । आज मेरो रात चन्दाले बनेको भवनमा बित्यो । त्यही महाविद्यालयबाट स्नातक भएर गएका विद्यार्थीको दानबाट निर्माण भएको एउटा अजङ्गको आवास–गृहमा उपभोग गरेँ ।
त्यो अग्लो अनि ठूलो दुईतले घर । कोठै–कोठा भएको तला, तलैपिच्छे बाथरुम, अनि म एक्लो यात्रीले रोजी–रोजी पाएको बिछ्यौना । शुरुमा मैले निकै भाग्यमानी ठानें । कोठाको चुकुल लगाएर सुतेँ तर निदाउन सकिनँ । जब रात छिप्पिँदै गयो वरिपरिका झ्याल–ढोका आफैँ गफ गर्न थाले । आफू–आफूमा छलफल गर्न थाले । छानामा गुड बनाएर परेवाका जोडीहरू झगडा गर्न थालेपछि निदाउन सक्ने कुरै भएन, अझ आँगनमा मान्छे बोलेको आवाज आएपछि मलाई डर बढ्दै गयो । अघिसम्म गचक्क फुलेको मेरो भाग्य अहिले सामसुम्म भयो । मैले आफैँले आफैँलाई धिक्कार गरें । मनमनै सोच्न थालेँ– जस्तोसुकै सफा र उज्यालो भए पनि आफूलाई चाहिनेभन्दा बढी छ भने त्यसैले पोल्न थाल्दो रहेछ हगि ! आफूलाई आवश्यक पर्नेभन्दा बढी वस्तुले आफैँलाई तर्साउँदो रहेछ । एउटा कोठा भए पुग्ने म एक्लो व्यक्तिलाई सिङ्गो भवन नै पाएपछि त्यसैले अत्याउँदो रहेछ । म आधा रात ढल्किँदासम्म पनि निदाउन सकिनँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।