(यहाँ हामीले आज भाइरल कथा पस्केका छौं । सामाजिक सञ्जालहरूमा प्रायः भाइरल भइरहने यो कथाले कृतज्ञताको मूल्य बुझाउनेछ ।)
डा. होवार्ड केली
एक दिन एउटा गरिब केटो आफ्नो स्कुलको पढाइको खर्च बेहोर्न केही सामान बेच्दै घरघर हिँडिरहेको थियो । ऊ सामान बेच्दै निकै टाढा आइपुगेको थियो र खाजा वा खानाका लागि ऊसँग केही सिक्का मात्र थिए । र, ऊ भोकले चूर भएको थियो ।
पल्लो घरमा उसले खाजा वा खाना केही पाइन्छ कि भनेर सोध्ने विचार ग¥यो । जसै उसले ढोका ढक्ढक्यायो, घरबाट एक जना सुन्दर युवती निस्किइन् । उनको सौन्दर्यमा मुग्ध केटोले खाना पाइन्छ कि भनेर सोध्नै बिर्सियो र उसले पानी पिउन पाइन्छ कि भन्यो ।
युवतीले यसो केटोतिर हेरिन् । भोकले उसको अनुहार कालो नीलो भएको थियो । उसले पानी मात्रै खान खोजेको देखेर उनले ठूलो गिलासमा दूध ल्याएर दिइन् । उसले बिस्तारै पियो र पिइसके पछि सन्तुष्ट हुँदै सोध्यो, “तपाईंले मलाई ऋणै लगाउनु भयो, कति तिर्नु पर्ने हो ?”
“तिमीलाई मैले केही ऋण लगाएकी छैन”, उनले भनिन्, “भोकको मूल्य हुँदैन भनेर मेरी आमाले सिकाउनु भएको थियो ।”
उसले कृतज्ञ हुँदै भन्यो, “उसो भए मेरो ह्दयबाटै कृतज्ञता ।”
त्यो बालक जब घरबाट निस्कियो, उसमा नयाँ जाँगर, शारीरिक शक्ति मात्र थिएन, ईश्वरप्रति कृतज्ञताको सशक्त भाव पनि थियो ।
यसको कैयौँ वर्षपछि तिनै युवती नराम्रोसँग बिरामी परिन् । उनी वृद्धा भइसकेकी थिइन् । स्थानीय चिकित्सकहरुले ती महिलालाई आफूहरुले बचाउन नसक्ने भन्दै अन्तै जान सुझाव दिए । उनीहरुले ठूलो शहरमा लैजान सुझाव दिए । र, उनलाई पुर्याइयो, डा. होवार्ड केलीको चिकित्सालयमा । अमेरिकाकै चर्चित अस्पताल जोन होपकिन्स अस्पतालमा उनी प्रख्यात चिकित्सक थिए ।
ती महिलाको उपचार यिनै डा. होवार्ड केलीले गर्नुपर्ने देखियो । जसै डा. केलीले ती महिलाको शहरको नाम बताइयो, उनको आँखामा अनौठो चमक देखियो । उनी तत्कालै उठे र ती महिला राखिएको बेडमा पुगे ।
उनले ती महिलालाई तत्कालै चिने । यी महिला तिनै सुन्दर युवती थिइन्, जसले भोकको तोडका बेला एक गिलास दुध पिउन दिएकी थिइन् ।
ती महिलालाई बचाउन उनले तत्कालै परामर्श थाले र हरेक दिन ती युवतीको प्रगतिबारे चासो लिइराखे ।
लामो सङ्घर्षपछि जीवन–मृत्युको दोसाँधमा रहेकी ती महिला बाँचिन् । एउटा युद्ध जितियो । डा. केलीले अस्पताल प्रशासनलाई भने, “यिनको बिल मेरो अफिसमा ल्याएर मात्र उता पठाउनू ।”
जसै अस्पतालको बिल डा. केलीको कोठामा पुग्यो, उनले बिलको पुछारमा केही लेखे । जब महिलाको हातमा बिल पुग्यो, उनले डराउँदै बिल हेरिन् । उनलाई पहिलेदेखि लाग्दैथियो, डा. केलीले कुनै बिरामी हेर्नुको अर्थ, जीवनभर तिरेर तिरिनसक्नुको महँगो उपचार हो ।
अन्ततः ती महिलाले पुछारमा बिलको कूल रकम हेरिन् । रकम त महँगै थियो तर उनको ध्यान डा. केलीले लेखेको कुरामा आँखा गयो । त्यहाँ लेखिएको थियो, “रकम धैरै पहिला नै तपाईंले तिरिसक्नुभएको छ । एक गिलास दूध नै यो उपचारका लागि काफी छ ।”
ती महिलाका आँखाबाट बरर्र आँशु झरे ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।