साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

पुनर्वास : पीडैपीडाको कहर

भनिन्छ, सामाजिक विकृतिहरूलाई औंल्याइदिनु उपन्यासकारको धर्मिता हो । उपन्यासले समाजमा विकृति ल्याउनु हुँदैन भनेर भन्न खोजेका विषयवस्तुहरू धेरै छन् । यिनै धेरै विकृतिभित्र पर्ने जुवा तास पनि एक हो ।

Chovar Blues Mobile Size

आँसु र पसिनाको पर्यायवाची शब्द हो पुनर्वास । सिखण्डीहरुले दिएको वेदना हो पुनर्वास । पीडै पीडाले विक्षिप्त मानवीय समवेदनाहरुको दृष्टान्त हो पुनर्वास । उपन्यासकारले लगभग चालिस वर्ष अगाडि नै पुनर्वासको बारेमा केही लेख्नुपर्छ भन्ने धारणा बनाउछन् । यी सब कुराहरुले मन छोइसकेपछि पुनर्वासकै बारेमा यौटा शक्तिसाली उपन्यास पाठकसामु किन प्रस्तुत नगर्ने भन्ने कुराले उनलाई रात दिन सताउन थाल्छ र पुनर्वास नामकरण गरेर एउटा शक्तिसाली उपन्यास पाठक सामु प्रस्तुत गरिन्छ । पुनर्वाससँग उपन्यासकारको सम्बन्ध गहिरो रहेको देखिन्छ ।

पुनर्वास सुन्नमा राम्रो भए पनि अति अपहेलित बस्ती हो । यो बस्तीमा भारतका विभिन्न ठाउँहरु जस्तै, आसाम, देहरादुन, गुहाटी, दिल्लीजस्ता स्थानहरुमा मात्र सिमित नरहेर बर्मिज र भुटानिजहरु पनि यस स्थानमा आएर बसोबास गरेको पाइन्छ । पुनर्वासमा जङ्गल फँडानी गरेर बस्ती बसालिएको छ । यो ठाउँ नेपाल र भारतको सिमानामा पर्छ । सिमानामा रहेर भारतीयहरुको सास्ती खेप्नु यहाँ बसोबास गर्नेहरुको नियति नै बनेको छ भन्दा हुन्छ । यो उपन्यासमा अन्धविश्वासका कुरीतिहरु सल्बलाएका छन् । जुवा तासमा फसेकाहरुको मानवीय पिडा छ । पुनर्वास उपन्यासमा मानवीय पीडा पनि त्यत्तिकै सल्बलाएका छन् । पीडै पीडाले भरिएको यो उपन्यासमा प्रशंसा गर्ने विषयवस्तुहरु धेरैछन् । त्यसै भएर नै यो पाठक सामु जन्मिएको हो । यस्ता उपन्यास पाठक सामु ल्याएर पाठकको मन जित्नु उपन्यासकारको नौलो सोँचाइ र नौलो तरिका हो । मेरो विचारमा यो उपन्यास जजसले पढ्नु भएको छ यसबाट अवश्य नै प्रभावित हुनु भएको छ होलाजस्तो लाग्छ । यो उपन्यासले दुःख पीडालाई पीडालाई साथ दिएको छ । यो उपन्यास कस्तो अवस्थामा लेखियो, किन लेखियो र कसरी लेखियो भन्ने बारे जानकारी पाउन यसलाई एक पटक पढ्नै पर्ने हुन्छ । दुःख र पीडाले भरिएका कथाहरु पाठकले थाहा पाइराख्नु पर्छ भन्ने हाम्रो पनि मान्यता हो । यसरी यो उपन्यासको बारेमा साङ्गो पाङ्गो मिलाएर पाठकसामु ल्याउने कुरा पनि कम चुनौतीपूर्ण होइन जस्तो लाग्छ । सर्वज्ञ वाग्लेलाई यो पुनर्वास उपन्यासले एउटा यस्तो सफल उपन्यासकारको रूपमा भनेर स्थापित गरिसकेको छ । उपन्यास लेख्नेहरु थोरै छन् तर यी थोरै लेख्ने मध्येबाट छानिन सफल भएका छन् सर्वज्ञ वाग्ले । उपन्यासभित्र उद्धरण गरिएका विषयवस्तुहरु अत्यन्त पीडादायी र मार्मिक छन् ।

दशगजामा देखिएको सिमापारीका मानिसहरुले दिएका दुःख पीडाको कहानी छ । गरिबको शोषण गर्ने, निमुखा जनताहरुलाई दुःख दिने जस्ता काममा रणप्रताप भन्ने शोषकका कुरा उठाइएको छ । हरेरामले आफ्नो भएभरको सम्पत्ति जुवामा हारेपछि घर छोडी हिँड्नु परेको दर्दनाक कहानीले यसको पहलो भाग यसरी भरिएको छ ।

जुवा हारे पनि हरेरामले आफ्नो इमान्दारिता प्रकट गरेका छन् । जस्तो जे भए पनि छिमेकी हो भनेर सीतारामले मन दुखाउँछ । आफूले जुवामा घर हारे पनि हरेरामले कुनै प्रकारको जाल झेल प्रपञ्च रचेको छैन । त्यसै भएर नै हरेरामले घर छोडिदिएको छ । यस प्रसङ्गमा सीतारामको पनि इमान्दारिता प्रदर्शन भएको छ ।
यस उपन्यासमा लेखकले धरती स्पर्श गरिएका कुरा छन् । धरती टेकेको दुई महिनामा नै आमाको दूधको एउटा स्तनमा थनिनो भएको कुरा गरिएको छ । मावली र घरको सम्पन्नताका बारेमा कुरा उठेका छन् । आफूलाई मावलीकहाँ छोडेपछि जन्मदिने आमाले संसार छोडेको कुरा छ । मावली घर हुर्किएपछि हजुर आमाले नाती नभनेर छोरा हो भन्ने गरेका स्पर्शमयी पीडाले भरिएको व्यथा यो प्रसङ्गमा देख्न सकिन्छ । यस क्रमको अन्त्यमा गाउँ छोडेर काठमाडौं पढ्नका लागि गएको कुरा गरिएको छ ।

काठमाडौं प्रवेश गरेर संस्कृत पढ्न थालेको कुरा गरिएको छ । यसका अलावा जुध्दोदय पब्लिक हाइस्कूलमा रात्रीकालीन शिक्षा लिने कुरा परेका छन् । उपन्यासकार चञ्चले नबन्नुको कारण खुलाइएको छ । आमाले सदा सदाका लागि छोडेर गएको अत्यन्त वियोगान्त समवेदनशील कुराहरुले भरिएको छ ।

sagarmani mobile size
खिमानन्द पोखरेल

हजुरआमाले यो धरतीलाई छोडिसकेपछि काठमाडौं बस्दै आएको मामाले पनि काठमाडौं बस्न नदिएको पछि काठमाडौं छोडेर आफू हुर्कँदै गरेको मामाघर पुग्दा त्यहाँबाट समेत निकालिन पुगेका कुराले प्रसङ्ग पाएको छ । अनि पछि परासी काकाको घरमा पुगेका कुरा छन् । अनि त्यहाँबाट अगाडि भारतको कोलकत्ता पुगेको घटनालाई यसरी जोडिएको छ । कोलकत्तामा नयाँ परिवेशका कुरा गरिएको छ । त्यहाँ बस्दा कुनै दिन खानाखान अनुकूल परे नपरेका कुरा गरिएको छ । त्यस ठाउँमा बस्दा साथी सङ्गातीहरुको लहैलहैमा नलागेर खुरुखुरु आफ्नो काम गरेको पाइन्छ । यो अध्यायको अन्त्यमा कोलकोत्तालाई छोडेर बनारसतर्फ लागेका कुरा परेका छन् ।

बनारस पुगेपछिको जीवन कसरी चलाउन र चल्न सक्छ भन्ने कुराको यथार्थ परिवेशमा झुन्डिएका कुरालाई अगाडि सारिएको छ । त्यहाँ बनारसमै गाउँको एक जना उमेश दाइसँग भेट हुन्छ । ती दाइले बाहिर पिँढीमा सुतिरहेको छोरालाई उठाउन जाँदा त्यहाँ नभेटेर चिन्तित बन्न पुगेको कुराको पोको उमेशले फुकाइदिएका छन् । अन्त्यमा बनारस छोडेर नेपाल फर्केको कुरा गरिएको छ ।

जब ठूली आमा र ठूलो बुबाको घरमा बसिसकेपछि र एउटा स्कूलको शिक्षक भएपछि खानाखाने कुरामा भौतारिएर कहिले कसको घरमा खाने त कहिले कसको घरमा गएर खाने गरिएका कुरा छन् । बुवाको घर नजिकैको स्कुलमा काम गर्न थालेपछि आफू बुवाले नरुचाएको मान्छेसँग यसरी भेट भइरहँदा मनमा कता कता आनन्द हुन नसकेका कुरालाई अगाडि सारिएको छ । छँदा खाँदाको मासिक दुईसय रूपैयाँको माष्टरी जागिर छोडेर पुनः भारततिर लागेको कुरा गरिएको छ ।

समयले पुनः भारततर्फ लागे पनि यस पटकको बसाइ आफूलाई जन्म दिने बा र आफ्नी ठूली आमाको मायाले तानेर थोरै समयपछि नेपाल फर्किएको कुरालाई यसरी जोडिएको छः मास्टरको जागिर खानाकोलागि शिक्षा मन्त्रालयमा अन्तर्वार्ता दिने प्रसङ्गमा प्रश्न राख्ने प्रश्न कर्ताहरुलाई कड्केर जवाफ दिएका कुरा छन् । अगाडि रहेको पिपलको बोटमा कतिवटा पात छन् भनेर प्रश्न गरिएकोमा उक्त प्रश्नको जवाफ फर्काउने क्रममा एक करोड पात छन् नपत्याए गएर आफैं गन्नोस् भनेर जवाफ सवाल गरिएका कुरा परेका छन् । अन्तर्वार्ता दिने कुरामा चलाखी गरेकै कारण स्थायी शिक्षक सेवामा नाम निस्किएको छ ।

बाइस वर्षे जवान केटाको बिहे गर्ने कुरा गरिएको छ । केटी दिनुको पछाडि कुनै आधार छ भनी प्रश्न गरिएको छ । शिक्षकमा जागिर खाएर राजाको पालामा व्यवस्था विरोधी काम गरेको थाहा पाएपछि यहीँ छँदा खाँदाको जागिर पनि जान्छ । जागिर गयो भने म उपाय लेस हुन्छु भनेर यसो भन्दा केटी पक्षका मानिसले यस्तो इमान्दार र दृढ विश्वास बोकेका व्यक्तिलाई हामी छोरी दिन्छौँ भन्ने कुरा व्यक्त गरेपछि विवाह हुने पक्का पक्की भएको कुरालाई अगाडि सारिएको छ ।

यहाँ आइपुग्दा विवाह सम्पन्न भएका कुरा छन् । विवाहित जीवन सङ्घर्षमय बनेको छ । विवाह भएपछि अब घर खर्च चलाउन के गर्ने त भन्ने कुरामा विचार मग्न हुँदा ठाँटीमा बसेका बा र दाइहरुको समीपमा गएर बा सम्बोधन नगरी जिम्माल बा मलाई धान दिनुपर्यो जस्ता कुराले प्राथमिकता पाएका छन् । बाले पनि छोरालाई आफ्नो ठाउँ नदिएका कारण यसो भनिएको हो भनेर यसरी बुझ्न सकिन्छ । माष्टरको जागिरले रिन धन गरेर एकतल्ले घर ठड्याइएका कुरा छन् ।

खेतमा कसरी काम गरियो, धान कसरी रोपियो, कसरी काटियो, कसरी थन्काइयो भन्ने कुरालाई अगाडि सार्दै त्यसपछि खेतमा बाली लगाउने ठूली आमाको खेतमा खेतीपाती गर्न थालेका कुरा छन् । इच्छाहरु बढेकाले व्यापार गर्नेतर्फ ध्यान आकृष्ट हुन पुग्यो तर व्यापारमा पोख्त हुन नसकेर लगानी डुब्यो । मास्टरको जागिरमा व्यवस्था विरोधी भन्ने अनेक आँच आउन थाले । ठूली आमाको खेत कमाइ राखेकोमा अचानक बाढी आएर खेतको नामो निसाना नराखी बाढीले सम्पूर्ण ध्वस्त पारिदिएका कुरा परेका छन् । जिन्दगीले धोका दिए पछि के गर्नू ? सरकारले तराईमा निःशुल्क जग्गा बाँड्छ रे भन्ने सुनेपछि मधेसतर्फ लाग्ने कुरा गरिएको छ । यसै बिचमा घरमा भएको सम्पत्ति एकहल गोरु र एउटा भैँसी बेच्दा सात सय रूपैँया लिएर मधेसतर्फ झरेका कुरा छन् ।

महाकालीको पुनर्वासमा तिन बिगाहा जमिन जङ्गल फँडानी गरेर बसेका कुरा छन् । खानदानी मान्छेको परिवारको हालत झुपडीको बास भयो । सुरुमा त बा जिम्वाली पेशा सम्हालेको छोराको पनि यो अवस्था हुन्छ र भनेर जमिन नै मिलेन । रहँदै बस्दै जाँदापछि मात्र जमिन मिल्यो । त्यसपछि भने घरतिरका र मावलीतिरका मामाहरुलाई बेस्सरी सम्झिने काम भएको छ । यहीँ बस्तीमा नै छोरा छोरीहरु हुर्किँदै जान थालेको कुरा उठाइएको छ । कहिले श्रीमती बिरामी, कहिले आफैं बिरामी तिन वर्षसम्म थलिएर उपचार गर्न परेका कुरा छन् । साथीभाइको सहयोग मिलेको छ । आमा र हजुरआमाले बेला बेलामा सपनीमा भए पनि झक्झकाउने काम गर्नुभएको कुरा उल्लेख गरिएको छ । यसरी जीवनको दर्दनाक कथाले केही कोल्टे फेरेको छ ।

यस प्रसङ्गमा पीडै पीडाको भुमरी छ । आङमा लगाउने कपडा प्रशस्त नभएर त्यहीँ एकजोर लुगालाई बेलुका धोएर बिहान लगाउने गरेका कुरा छन् । ऐंसेलुको काँडाले श्रीमतीको साडी च्यातिदिएको प्रसङ्ग छ । बाबुको नामबाट होइन आफ्नै कामको आधारमा चिनिएको कथा छ । छिमेकमा कुनै किसिमको साह्रो गाह्रो पर्दा काममा सघाइपघाइ गर्ने हुँदा अलिकति आफैँले आफैँलाई चिनाउने प्रयास गरिएको छ । छोराछोरीलाई राम्रो संस्कार दिन सकेका कुरा छन् ।

सितारामले कसरी सुकुम्बासी जग्गा पाए भन्ने कुराको फेहरिस्त पोको फुकाएका छन् । सुकुम्बासी जग्गा वितरण गर्ने हाकिमले सितारामले सुकुम्बासी जग्गा गरिखाने मानिस होइन पो भन्ने जस्तो लागेर पहिलो पटक उसले जग्गा किन स्वीकार गरेन सिताराम फेहोरी नुहाइधुवाइ नगरी फोहोरी भएर बसेपछि जाँदा पनि जग्गा पाइएन । कृष्णबहादुर कार्कीको नाम हाकिमले सुनेपछि जग्गा दिने कार्य बल्ल अगाडि बढ्यो । कृष्णबहादुरले भनेका थिए कि जमिन पक्का दिने भएपछि पाँच ठाउँमा ल्याप्चे सहीछाप गर्न लगाउँछ । कागजमा पाँच पाँच ठाउँ ल्याप्चे लगाउँदा अब जग्गा पाइने भो भन्ने आशामा सिताराम ढुक्क भएको देखिन्छ ।

यहाँ आइपुग्दा एक जना थारु साथी बन्छ । ऊ पनि समाजसेवी मानिसको रुपमा चिनिएको हुन्छ । यस अध्यायमा थारु संस्कृति, रितिरिवाज, बेशभुषा, लवाइखवाइको बारेमा कुरा गरिएको छ । थारुहरुको मुख्य पर्व होली हो भनिएको छ । होलीमा एक महिनासम्म रमाइलो गर्ने प्रचलन भएको र हाल यो प्रचलनमा केही सिथिलता आएको कुरा समेत उल्लेख गरिएको छ । आफ्नो भूमिमा पराइको बुट बज्रिँदा अमरसिँह खिन्न मान्छन् । देश बनाउँछौ भनेर कस्सिएका नेताहरुले चुनावमा मात्र आफ्नो मुख देखाउँछन् । देश लुटिरहँदा उनीहरुलाई कुनै सरोकार छैन । देश लुटिँदा सिमानामा बसेका हामीलाई मात्र पिर पर्छ जस्ता कुरा मात्र देख्न सकिन्छ यहाँ ।

अबको सत्रौँ श्रृङ्खलामा नेपाली पुलिसलाई सिमापारी लगेर मारिएको छ । जीवनमा धेरै सङ्घर्ष गर्न परेका कुरा छन् । यत्तिकैमा बा बिमारी परेका कुरा सुनेर पहाडतर्फ लागेका कुरा छन् । बालाई आफूसँगै राख्ने धोको बाले नमान्दा पूरा हुन नपाएका कुरा छन् । अन्त्यमा बाले पनि संसार छोडेको कुरा गरिएको छ । परासी बस्ने काकाले मैले जग्गा दिन्छु आएर बस भनिएकोमा काकालाई यस्तो जवाफ फर्काइएको छ ।

“मैले बासँग त सम्पत्ति लिइन, तपाईं काकासँग सम्पत्ति लिएर बस्छु होला त ? छोरो भनेर मलाई माया गर्न भएकोमा धन्यवाद ” भनेका कुरालाई प्राथमिकता दिइएको छ ।

नेपाल भारतको सिमानामा बस्ने नेपालीहरुले कति सास्ती पाएका छन् सिमानामा लड्दा लड्दै ज्यान गुमाउनु परेका घटना छन् । भारतीय पुलिसले दुःख दिएका कुरा छन् । सिमा रक्षार्थ राजा महेन्द्रले पुनर्वास बसाउनु परेका कुरा छन् । छद्म भेषमा डुलेर जनताका कुरा बुझ्न चाहने राजाले यस प्रकारको देश संरक्षण गर्ने योजना बनाएर सिमानामा पुनर्वास राख्नु पर्ने खाका कोरेर यस किसिमको बस्ती बसाएका हुन् भनिएको छ ।

युवाहरुको शक्ति खाडी मुलुकमा गएर अन्यौल ग्रस्त बनेको छ । यस्तो जीवनलाई यहीँ हाम्रा पाखा पखेरु, भिर कान्लामा लगाएर आफ्नो जनशक्ति कहीँ जान हुन्न भन्ने कुरा दर्साएको छ । साहित्यको विकाश गर्न सकियो भने भाषामा टेवा मिल्ने कुरा छन् । अनेक जातजातिले बोल्ने भाषाको संरक्षण गर्नपर्छ भनिएको छ । यस्तै शारीरिक विकासको लागि खेल खेल्नु आवश्यक भनिएको छ भने केही युवाहरुमा देखिएको लागू औषधको लतका बारेमा पनि कुरा उठाइएको छ । यस्तै गास, बास, कपासको कुरा उठाइएको छ । अशुरक्षित यौन सम्पर्कका कुराहरु छन् । नदी किनारमा गिटी बालुवामा बाध्य भएर रमाउनु पर्ने आर्तनाद छन् । मन्दिरै मन्दिरमा देखिने गरेका कला कौशलताले परिपूर्ण यो देश हो भनिएको छ । यस्तै मानव तस्करी हुने गरेको देशको रुपमा चिनिएका कुरा छन् । विज्ञानले भने फड्को मारेका कुरा छन् । सञ्चारको माध्यममा भने तीव्र गतिले प्रगति गर्न पुगेका कुरा छन् । यस्तै पर्यटकका कुराहरु जोडिएका छन् । प्राकृतिक सुन्दरतालाई विरुप बनाउन थालिएका कुरा परेका छन् ।

अन्त्यमा, अन्तर्राष्ट्रिय वर्ष मनाउने कुरामा जनशक्ति कारणको मामलालाई लिएर राज्य सचेत हुनु पर्ने कुराको प्राथमिकता छ भनिएको छ ।

पुनर्वास कञ्चनपुरकै बस्ती एकता प्रदर्शन चिनाउन सफल स्थान हो भनेर यसरी चिन्ने गरिन्छ । आवाज नआउने गाडी आएर राती रामलालको पसल भारतीयहरुले लुटेका कुरा छन् भने अर्कोतर्फ उताका मान्छेले बारीमा पिलर गाडिदिएका घटना सहन नसकेर रामलालले पिलर जुन ठाउँबाट आएको हो त्यहीँ ठाउँमा लगेर गाडिदिएको घटना सहनै नसक्ने गरी देखिएको छ । भारतीयहरुले नेपाली सोझा भएका कारण के गरेनन् र श्रीमतीहरुलाई बलात्कार गरे छोरी चेलीबेटीहरुलाई अभद्र व्यवहार गर्दै उनीहरुको स्तन काटी दिएर जहाँबाट लगेको हो त्यही ठाउँ फर्काइदिएका घटना छन् । यस्तै आमालाई बलात्कार गरी मारी दिएको र बच्चालाई झाडीमा फालिदिएर सम्बन्धित मान्छेले खोजी ल्याएका कुराहरु पनि ताजै छन् ।

एक्काइसौँ पाटोभित्र किडीको आमा छोरालाई किडी सुत्केरी हुँदा घरभित्र ल्याउन नपाइने यदि यसो गरेमा घरका देउता रिसाउने प्रकृयाले गोठमा गोमन सर्पले डसेर आमा छोरालाई मारी दिएको घटना छ । त्यसपछि शाशुले फलाकी फलाकी रोएर आँसु झारेको घटना यहाँ मुखरित भएको छ ।

यहाँ आइपुग्दा सुख दुःख जीवनका दुईवटा पाटा हुन् भनिएको छ । दुःखभन्दा पनि सुख झिलिक्क देखा पर्छ दुई दिनको जिन्दगीमा आउँदा रित्तै आएको हो भने जाँदा पनि रित्तै जाने हो झगडा टन्टा गरेर जीउलाई सास्ती भयो भने आखिर यो मनले शान्ति पाउन सक्दैन भनिएको छ ।

टिमर कर्पोरेसनको पैसठ्ठी बिगाहा जमिन भएको चर्चा छ । सल्लाघारी डम्मै भएको अति घना जङ्गल जहाँ भोर्लाका लहराहरु हुन्थे तर अहिले भने यी सब चिज छैनन् । यस्तै वयर पाक्ने बेलामा बयरका रुख साना ठूला रुखको कुरा गरिएको छ । भारतीयहरुले सिमानामा गरेको ज्याजादीले सिमानाका पिलर तिन किलो मिटर भारततर्फ पारिएको दर्दनाक व्यथा झुण्डिएको छ । हाम्रो देशमा प्राकृतिक सुन्दरता छ । कृतिम सजावट गर्न नै पर्दैन भनिएको छ । यस्तो स्वर्गजस्तो देशको बारेमा बिडम्बनाको कुरा उठाइएको छ । सिमा हेर्नु पर्ने प्रशासनको दायित्व बारे कुरा उठाइएको छ । तर नेपाली बस्तीप्रति प्रशासन मुकदर्शक भएर बसेको कुरा छ । सिमा मिची रहँदा भारतले विभिन्न ठाउँमा उसको तजविजले पुनर्वासनाम बस्तीको राखे पनि तर खास पुनर्वास नगरपालिका अझसम्म नेपालमै कायम छ भनेर यसरी भनिएको छ । सुकुम्बासी बस्तीमा जसले जति मान्छे ल्याउन सक्यो उसलाई एक हेक्टर जमिन दिने कुरा छन् । जमिन पाएर पञ्जावीहरु धनी बनेका कुरा छन् । मेची महाकालीको यात्रा पनि रोचक देखिन्छ । थारु जनजाती भारतको राजस्थानबाट आएका हुन् भनिएको छ । डोटेली राजा पाँच छ सय वर्ष अगाडि ताम्रपत्र प्रदान गरिएका कुरा छन् । सुनाहा थारुहरुले बालुवाबाट सुन निकाल्ने काम गर्छन् भनिएको छ । यी जातीहरुको बस्ती बर्दियाको राजापुरतर्फ भेटिन्छ भनिएको छ । छाउपडीका बारेमा पनि कुरा उठेका छन् । यस्तै देउकीहरुले घरजम गरेर बस्न थालेका कुरा छन् । कर्णाली वारीका मान्छेले कर्णाली पारीका मान्छेलाई कपासभन्दा रहेछन् । कपासको अर्थ हुँदो रहेछ समाज ।

उपन्यासकार जुवाको लतमा नफस्ने कुरा गरिएको छ राणाप्रतापसँग जमिन धितो राखेर जुवा खेल्दा सबै हार्न पुगेको घटना जुवामा सबै हारेपछि घर छोडेर गएका कुराहररुलाई यहाँ सजिमूल उतारिएको छ ।
रणप्रतापको छोरा रोजप्रताप जापानबाट काठमाडौँ आएपछि पनि आफ्ना बाबु आमालाई भेट्न आफ्नो घर पुनर्वासमा नजानुको कारण ऊ क्यासिनो जाने र जुवा खेल्ने, जुवा खेलेपछि घर नगएर जापान जाने कारण यस्तो रहेछ । यस पटक पनि आमाको स्वास्थ्य ख्याल गर्न आएको छोरा क्यासिनो छिरेर जुवा तासमा रुमलिन पुगेका कुरा छन् । रोजप्रतापले रणप्रतापको सम्पत्ति उडाउन थालेपछि रोजप्रतापमा केही चेत खुलेको देखिन्छ । घर जान भनेर गाडीमा चढेको मान्छे जलविरेको घुम्टीमा पुग्ना साथ रोजले चलाउने गरेको जीपमा हलचल आउनाको कारण रोज अनिँदो भएको संकेत मिल्छ । त्यसैले उसले चलाउने गरेको जीपको गतिले अर्कै मोड लिन्छ र जीपसँग ट्रक बेतोडले ठोकिन्छ । ट्रकले हानेर जीप चकनाचुर हुन्छ । यहीँ दुर्घटनामा परेर आमा छोरा र छोरीको इहलीला समाप्त भएको घटनालाई सार्थक रुप दिइएको छ ।

छोरा छोरी र श्रीमतीको इहलीला समाप्त भएपछि पुलिस आएर घटनास्थलमा आफ्नो जाँच पड्ताल गरिएका कुरा छन् । यस बिचमा दुर्घटनामा परेका रणप्रतापको परिवारलाई यस्तो कुरा सुनाए पश्चात् रणप्रताप मुर्छा पर्छन् । नर्स शान्ता नेपालीद्वारा उनका जीवनमा उद्दार गरिएका कुरा छन् । अन्त्यमा शान्ता नेपालीलाई अपहरण गरिएको छ । आखिर के रहेछ र जीन्दगी, दुईदिनको जिन्दगीको भरोसा नै हुँदो रहेनछ । रणप्रतापले कमाएको सम्पत्तिको कुनै औचित्य नै नहुने भो । जसरी उनी कमाउन उद्दत देखिन्थे त्यसरी नै आज उनीसँग कुनै चिजको औचित्य रहेन । अन्तिममा जसले साथ दिन्छ सम्पत्ति उसैको नै हुने कुरा समयले पुष्टि गरिदिएको छ ।

धेरै वर्षपछि हरेराम र नन्दप्रसादको भेट हुन्छ । हरेरामले नन्दप्रसादसँग कुनै कुरा नलुकाई बोली विस्तार गर्छ । यसै बिचमा नन्दप्रसादले तिमी धन्दा नमान तिम्रोपछि म छु भन्छन् । शान्ता एउटा नर्सको पेशा समालेकीलाई आफ्नी छोरी बनाएपछि रणप्रतापले एउटा विश्वकर्मा थरको केटासँग विवाह तर्जुमा गरिएका कुरा छन् ।
यस उपन्यासको अन्तिम शृङ्खलामा के छ भने भारतीयहरुले सिमा सिच्दै गरेको दादागिरी गरेका कुरा छन् । पिलर सारेको कुरा छ । सुगौली सन्धिको कुरा छ । हाम्रो राष्ट्रलाई ग्रेटर नेपाल बनाउनु पर्छ भन्ने कुरा छन् । अन्त्यमा आएर रणप्रतापले शान्ता नेपालीलाई आइतबहादुर वि.क. सँग विवाह गरिदिने सिलसिलामा आफैं रणप्रतापले छोरी ज्वाईको खुट्टाको जल खाएर विवाह सम्पन्न गरिदिएका कुरा छन् । सानो जात ठूलो जात भन्ने हुँदैन भन्ने कुराको अन्त्य स्वयम् रणप्रतापबाटै भएको छ ।

निष्कर्षमा, दुःख र कष्टबाट जेलिएको यो उपन्यासले समाजमा देखिएका विकृतिहरुको भण्डाफोर गरेको छ । भनिन्छ, सामाजिक विकृतिहरूलाई औंल्याइदिनु उपन्यासकारको धर्मिता हो । उपन्यासले समाजमा विकृति ल्याउनु हुँदैन भनेर भन्न खोजेका विषयवस्तुहरू धेरै छन् । यिनै धेरै विकृतिभित्र पर्ने जुवा तास पनि एक हो । यसको लतले मानिसलाई घरबार विहीन बनाएको छ । कुसंस्कारमा लाग्नेहरुसँग आफू तर्केर हिँड्दा राम्रो नै हुन्छ । राम्रो सङ्गत नपाएर सर्वस्व गुमाउन पुगेका हरेरामको पछि आएर राम्रो सङ्गत भएको देखिन्छ । सङ्गत राम्रो पाएपछि हरेरामको प्रगति भएको छ । मिहेनत गरी प्रगति गर्न सफल हरेरामलाई आफू धोती न टोपी भएर हिँड्नु परेका हरेरामलाई पुनः पुनर्वास जान मन लाग्छ । पुनर्वास उपन्यासमा पीडै पीडाको व्यथा छ भने अर्कोतर्फ भारतीयहरुले सिमाना मिच्दै गरेका पीडाहरुलाई ज्यादति गरेको भनेर स्वीकारिएको पनि छ । उपन्यासले सामाजिक उँच निचताको बारेमा समानता हुनुपर्छ भनेर आवाज उठाएको छ । सामाजिक अन्याय माथि कसैले पनि थिचोमिचो सहेर बस्नु हुँदैन भन्ने कुराको सन्देश दिएको छ । “रङ्कम् करोति राजानाम् राजानाम् रङ्कमेव च ” को नीति अवलम्बन गरेको छ । समाजमा मेरो दौलत सम्पत्ति छ भन्ने जस्ताको नौनाडी सुकाइदिएको छ । खराब कामको पछि लाग्नु हुँदैन भन्ने जस्ता कुराको सन्देश दिएको छ । सिमानाको पीडा भोगिरहेका नेपालीहरुको आर्तनाद छ । भारतीयहरुको हेपाहा प्रवृत्तिको उजागर भएको छ । राजनीतिज्ञहरुले सिमानामा रहेर कष्ट जेलिरहेकाहरुप्रति आवाज नउठाइदिएको गुनासो पोखिएको छ । रातारात सिमा मिचेर नेपालको नागरिक भारतीय हुन पुगेको छ । सिमा अतिक्रमणको सास्ती बेहोर्नु परेको दुःखदायी पीडाले भरिएको कहानी छ । नेताहरु सिमानाको पीडा बुझ्दैनन् भनिएको छ । नेपाली चेलीबेटीहरु बलात्कार बन्न पुगेको व्यथा छ । सिमानाको आवाज उठाउने यताका मानिसलाई सिमा पारी लगेर मारेर फालिदिएको घटना छ । यस्तै अनेकौं घटनाको परिदृश्य हो पुनर्वास उपन्यास ।

प्रतिक्रिया
Loading...