आजभन्दा ४३०६ वर्षअघि अर्थात ईसापूर्व २२८५ सालमा इन्हेडुएनाको जन्म अक्काडको राजा सार्गन र रानी ताश्लुल्तुमको कोखबाट भएको थियो ।

अक्काडको राजा सार्गनलाई विश्वकै पहिलो राजा पनि मानिन्छ । अक्काड, सुमेर, बेबिलोन राज्यहरुलाई नै प्राचीन मेसोपोटामिया सभ्यता भनिन्छ । प्राचीन मेसोपोटामिया सभ्यता हाल इराक देशमा पर्दथ्यो ।

उनको वास्तविक नाम हेडुएना हो । “इन्” चाहिँ उनलाई दिइएको उपाधि हो । इन्को अर्थ पुजाहारी हो । यसरी मुख्य पुजाहारीको उपाधि पाउने उनी इतिहासमै पहिलो महिला थिइन् । उनलाई प्रेम, सुन्दरता, यौन, युद्ध, न्याय र राजनीतिक शक्तिकी देवी र सँगसँगै चन्द्र देव नान्नाप्रतिको पूजाआजा कर्मकाण्ड गर्नलाई मुख्य पुजाहारीको पदमा नियुक्त गरिएको थियो ।

उनी ग्रीक कवि साप्फो क्बउउजय भन्दा १७०० वर्षअघि, होमरभन्दा १५०० वर्षअघि र बाइबलको कुलपिता मानिने अब्राहाम भन्दा ५०० वर्षअघि यस धर्तीमा आएकी थिइन् । उनी अक्काडियन र सुमेरियन दुवै भाषा पढ्न र लेख्न सक्थिन् । गणितमा पनि उनी पोख्त थिइन् ।
सुमेर साहित्यमा इन्हेडुएनाले धेरै योगदान पुर्याएकी थिइन् । उनले काव्यात्मक शैलीमा देवी इनान्नाको नाममा ४२ वटा भजनहरू अनि कविता पनि लेखेकी थिइन् । उनले अक्काडियन र सुमेरियन देव देवीहरूलाई मिलाएर एक बनाएका थिइन् । उनले प्रार्थनाको मापदण्ड स्थापना गरेकी थिइन् । यसबाट प्रभावित भएर होमरले आफ्नो पुस्तकहरू लेखेका थिए । साथ साथै हिब्रू बाइबल पनि यसबाट प्रभावित भएर लेखिएका थिए । मुख्य पुजाहारी रहेकै अवस्थामा उनको पिताको मृत्युपश्चात उनलाई सुमेर विद्रोहीहरुले देश निकाला गरे । उनले ४० वर्षसम्म मुख्य पुजाहारीको रुपमा काम गरेकी थिइन् । उनको मृत्यु कसरी भयो ? यो अज्ञात नै छ । तर उनको लासलाई गिपारुको मन्दिर परिसरमा दफन गरिएको थियो ।

सन् १९२७ साल हाल इराकमा पुरातत्ववेत्ताहरूले ऊर नामको स्थानमा उत्खनन् गर्ने क्रममा शिलालेखहरु भेटेका थिए । त्यहाँ इन्हेडुएनाको नाम पनि उल्लेख थियो । आफ्ना रचनामा लेखक इन्हेडुएनाको आफ्नै नामको सही भएको यो नै पहिलो अभिलेख हो ।

हालसम्म जानकारमा आए अनुसार इन्हेडुएना विश्व इतिहासमा पहिलो महिला पुजाहारी मात्रै थिइनन्, उनी पहिलो राजकुमारी पनि थिइन् । साथसाथै उनी विश्वकै पहिलो लेखक तथा कवि पनि थिइन् ।

उनका उल्लेखनीय रचनाहरू यसप्रकार छन्ः
१. निन्–मे–सारा (द एक्जल्टेसन अफ इनान्ना) १५३ लाइन्
२. इन्–निन् सा–गुर–रा (इपिसिट) २७४ लाइन्
३. इन्–निन् मे–हुस–आ (इनान्ना एण्ड इबि)
४. द टेम्पल हिम् (४२ भजनहरू)
५. हिम् टु नान्ना (नान्ना देवको निम्ति भजन)

स्रोतः विकिपिडिया, युटयुब