पृथ्वी स्थिर छ । स्थिरतामा नै परीक्रमण गरिरहेछ सूर्यलाई । मान्छेको तुच्छ अनुभूतिमा स्थिरजस्तो छ पृथ्वी । तर यो प्रतिघण्टा एकलाख किलोमिटरका दरमा आफ्नो किलमा उभिएर फन्को मारिरहेछ अनादिकालदेखि सूर्यलाई । यो आफू आफैँ आफ्नो अक्षमा पनि घुमिरहेको छ । सूर्यलाई पनि अरु ग्रहले झैँ घुमिरहेछ । कक्षमा पनि निरन्तर घुमिरहनु, अक्षमा पनि घुमिरहनु पृथ्वीको स्वभाव हो । पृथ्वी यति तीव्र वेगमा घुमिरहँदा पनि एकरत्ति हल्लिदैन । एकरत्ति टसमस हुँदैन । एक अपूर्व स्थिरता आफूभित्र साँधेर अक्ष र कक्ष दुवै रेखाबाट गोलगोल घुमिरहेछ ।

पृथ्वीको त्यो स्थिरताले आफूभित्र स्थिर बन्ने प्रेरणा भर्दछ । त्वरामा पनि स्थिरता साँध्न सकिन्छ भन्ने सन्देश रोजरोज धराबाट पाइरहेछु । मलाई मेरी आमाले पहाडमा पिन्ने जाँतोको याद आउँछ । जाँतो जसरी घुम्छ, जाँतो घुमाउने मानी बीचमा स्थिर छ । मानी स्थिरतामा छ र जाँतो फनफनी घुम्छ र पिन्नु पर्ने चिजबीज यसले पीठो पार्दछ । मानी स्थिर नहुने हो भने जाँतो सन्तुलनमा घुम्न सक्तैन । एउटा चिज घुम्न अर्को चिज स्थिर हुनुपर्दोरहेछ । स्स्थिर बन्नु पर्दोरहेछ ।

रथ हेरौँ, गोरुगाडा हेरौँ, अहिलेका दुई पाङ्ग्रे चार पाङ्ग्रे सवारी साधनका पाङग्राहरु हेरौँ, ती पाङ्ग्राका बीचमा प्वाल पारी एक फलामे सोठो घुसारिएको हुन्छ । फलाम या काठकै धुर हालिएको हुन्छ । धुर हमेशा स्थिर बस्छ र चक्कालाई त्यसैले फनफनी घुमाइदिन्छ । सोठो आफू अचल बसेर पाङ्ग्रो चलायमान बनाउँछ । त्यसैले जगत्मा चल्ने हर पाङ्ग्राका कील स्थिरतामा छन् । धुर स्थिरतामा छन् । सोठो स्थिरतामा छन् ।

पुण्य कार्की

स्थिरताको ज्ञान र आभास अलिअलि पहाडबाट पनि मिल्छ मलाई । आरोहीहरु शिखर चढ्छन् । फेरि ओर्लिन्छन् । अपितु पहाड आफैँमा स्थिर छ । यो हल्लिँदैन, अटल छ । अचल छ । अगम छ । तर, अधम भने छैन । अधन पनि छैन किनभने पहाडकै अगम गर्भगृहमा नजाने कति कति दुर्लभ मूल्यवान् खजानाहरु, खनिजतत्त्वहरु लुकिबसेका छन् । त्यसैले यो निर्धन छैन । पहाडहरु प्रकृतिका सच्चा तपस्वीहरु हुन् । हिमशैलका शृङ्खलाहरु प्रकृतिका सिद्ध आत्माहरु हुन् । आफैँमा लीन पहाडदेखि भित्री हृदयमा समाधिको भोक जाग्दछ । आफैँमा ध्यानस्थ पहाडबाट मनोयोगको संकल्प उठ्दछ । पहाडको स्थिरताले भित्री विचित्र ढङ्गले खिच्दछ । पहाडको ध्यानमय विलक्षण आभाले आफूभित्र पनि एक अगम अविचल शैल शिखर मूर्तिमान् रहेको अलिअलि अन्दाजा लगाउन सकिन्छ ।

पहाडमा मात्र किन आकाश पनि स्थिर छ । बादलका बिम्बहरु आउँछन् जान्छन् । बादल गतिशील छ । बादल चलायमान छ । तर, आकाश आफैँमा स्थिर अनि अलिप्त छ । आकाशको निर्मल, निर्विकार स्वभावले मानव हृदयको अन्तराकाशतिर त्यही भाव छ भन्ने कुरा संकेत गरिरहेको छ । मान्छेको अन्तराकाशमा पनि देख्न सक्यो भने डुब्न सक्यो भने त्यही निर्मल शुद्धिको अखण्ड चैतन्य विराजमान छ भन्ने कुरा अनुभूत गर्न सकिन्छ ।
सायद त्यही आकाशको स्थिरता पैँचो लिएर बाजले व्योममा उडान भर्न सकेको होला । कतिपय बेला बाज आकाशमा उडेको देखेको छु । सो बखतमा बाजका पखेटा हावामा फिँजारिएका त हुन्छन् तर चलेका हुँदैन्न । पखेटालाई फ्याटफयट हल्लाएको हुँदैन । पखेटालाई एक स्थिरतामा स्थिर अड्याएर सलल उडान भरिरहेको हुन्छ । त्यो स्थिरता त्यो शून्याकाशमा कहाँबाट मिल्यो होला ? सायद अस्तित्वले आकाशबाटै त्यस पंक्षीलाई अवदानको रुपमा टक्र्यायो होला । यस शिकारी चरोले चिदाकाशको स्वाद कसरी भेट्यो होला ? मनमा प्रश्नहरु उठिरहेका छन् । प्रकृतिले हरेक जीवनलाई विलक्षण बुद्धि, चातुर्य, गुण, स्वभाव र धर्म दिएको छ । त्यही गुणले अस्तित्वमा टिक्छ प्राणी, त्यही स्वभावले उसलाई छुट्टै व्यक्तित्वमा उभ्याउँछ, त्यही धर्मले उसलई प्रकृतिमा अद्वितीय अजोडा बनाएको हुन्छ ।

आकाशको त्वरित उचाइमा हवाइजहाजभित्र बसेर उड्दै गर्दा अनुभूत गरेको छु– अखण्ड गतिमा उडिरहेको हवाइजहाजभित्र पनि एक स्थिरताको विन्दु छ । अलिकति लक्पकिने, हल्लिने, जोल्टिङ खाने स्थिति छैन । उडिरहेको छु भने अलिकति पनि बोध हुँदैन । आखाँ चिम्लेर भित्रबाट हेर्दा उडिरहेको आभास पाउँदिन । लाग्यो एक स्थिरता मै उड्दोरहेछ प्लेन । असीमित गतिमा उडिरहेको वस्तु पनि अविचल स्थिरतामा अडिएको हुँदोरहेछ ।

त्यो शिकारी चरो चीलको आकाशमा उड्ने होइन, तैरिने शक्तिबाट मात्रै म विमोहित छैन, एक अखण्ड स्थिरतामा उडान भर्ने कलादेखि मात्र कायल छैन, नदीतटको बकुल्लो पनि अपूर्व स्थिरतामा डुबेको दृश्यले मोहित गर्दछ मलाई । यसले त झन् स्थिरतामा नै आफ्नो आहारा जुटाउँछ । बकुल्लो चकचक गरुन्जेल माछीगण टाढाटाढा भाग्छन् । यो जति चलायमान हुन्छ, त्यति भोको पर्ने सम्भावना हुन्छ ।

जबजब पानीदहमा स्थिरतामा उभिन्छ । जबजब सिमसार क्षेत्रमा यसका खुट्टा स्थिर गाडिन्छन् । तबतब माछीगण खुट्टाखुट्टामा लोटपोट गर्न थाल्छन् । मुण्डक उफ्रिपाफ्री गर्न थाल्छन् । तबतब चञ्पु अश्त्रले तिनलाई सजिलै डङ्क मार्न थाल्छ । यसलाई थाहा छ स्थिरताबाटै भोजन मुखमा आउँछ । त्यसैले त बकु ध्यानम्को महिमा बडा गर्विलो छ । बकु ध्यानम् भनेको बकुल्लागणको परम् स्थिरता नै हो । कतिपय सन्दर्भमा त्यो स्थिरता मनुष्यको निम्ति प्रेरक तत्त्व पनि बनेको छ । विद्यार्थीहरु त त्यही बकु ध्यानम्को अनुप्रेरणाले अध्ययनलाई ध्यान बनाउन सक्तछन् ।

पन्छी मात्र किन स्वमै स्थीत छ वृक्षवन । अखण्ड ध्यानमै हुन्छ वृक्ष । वनस्पति जगत्को परम् स्थिरता अव्याख्येय छ । हुन त घरि न घरि पवन पाखुरीले हाँगाबिगाँ हल्लाउन खोज्छन् । पातहरुलाई लिरबिर लिरबिर पार्दछन् । तर पनि भित्री चुरोमा प्रत्येक गाछी स्थिरतामा उभिएको हुन्छ । मेरुदण्डलाई नब्बे डिग्रीको कोणमा लम्ब बनाएर ध्यानस्थ बनेको हुन्छ । हजारौँ वर्षदेखि परम् तपमा लीन छन् वृक्षहरु । अपूर्व शान्तिमा धीरस्थिर खडा छन् । नित्य निर्विकार गुण देख्न सकिन्छ यिनको स्थिरतामा । यिनको अखण्ड शान्ति र स्थिरताले एक अगोचर आनन्दलाई अविर्भाव गर्दछ ।

बुद्धले खोजी गरेको तत्त्व पनि यही स्थिरता थियो । आफैँभित्रको स्थिरता अन्वेषण गरी त्यसैमा अडिन सकेकाले बुद्ध बुद्ध भए । आफूभित्रको स्थिरतालाई दर्विलो ढङ्गले समातेको कारणले पछि शुद्धोदनले विचलित गराउन खोज्दा पनि रत्तिभर विचलित भएनन् । पुनः दरबारमा भित्र्याउन खोज्दा पनि त्यसलाई परित्यक्त आखाँले हेर्न सके । आफ्नै अकम्प चैतन्यमा स्थिर रहिरहे । आज पनि संसारलाई बुद्धले दिएको शिक्षा स्थिरताकै शिक्षा हो । वर्धमान स्थिरमा रहेर वीर भए । स्थिरतामा अडिनु साँच्चै साहसिक कार्य रहेछ । त्यसैले त उनी वर्धमानबाट महावीर बने । महावीरले आफनो बाहुबल प्रयोग गरेर वीर बनेका थिएनन् । उनले अस्त्र,आयुध खेलाएर शुरवीर कहलाएका होइनन् । उनले सिर्फ आफू आफैँभित्र स्थिरता साँधेर महावीर बनेका थिए ।

बुद्धले दौडधुपमा शान्ति देखेनन् । बुद्धले उछलकुदमा आनन्द पाएनन् । स्थिरताकै मुलमा शान्ति र आनन्दको स्रोत भेटे । आफैँभित्रको स्थिरतामा टिक्नसक्दा, आफैँभित्रको स्थिरतामा उभिन सक्दा भित्री उज्यालो भेटिनेरहेछ, भित्रको धुमिल कालो पर्दा पुछिनेरहेछ । तमाम् बुद्ध पुरुषहरुले भेटेको त्यही उज्यालो हो । बुद्ध हुन् कि बोकोजु हुन् त्यही स्थिरता पक्रिने ध्यानमा रहे । लाउत्सु हुन् कि च्वाङ्ग्सु हुन् त्यही स्थिरता भेट्न कुदिरहे । महावीर हुन् कि महाकाश्यप हुन् त्यही स्थिरता छुन तपस्यारत रहे । कृष्ण हुन् कि कवीर हुन् स्थिरताकै परम गीत गाइरहे ।

उहिल्यै मन्दिर मन्दिर थिएन । मन्दिर मन्स्थिरको पर्याय थियो । जहाँ गएर मान्छे एक बिन्दुमा मन अड्याउन सक्थ्यो । जहाँ पुगेर मान्छे मनलाई स्थिर बनाउने अभ्यास गर्थ्यो । त्यसलाई मन्थिर भनिएको थियो होला । तर, कालान्त्तरमा अर्थहरु अपभ्रंश भए । मर्महरुमा विरुपीकरण भयो । अनि त कुनै समय मन्थिर कहलाइएको ठाउँ मन्दिर बन्यो होला । मनलाई स्थिर र शान्त बनाउने थलो, पूजापाठ र काटमारको थलो बन्यो होला । मूर्ति स्थापना हुदाँ पनि मूर्तिको स्थिरताबाट सिक भनिएको थियो होला । मूर्तिको जस्तै स्थिरता साँध भनिएको थियो होला । मान्छे लालबुझक्कड पल्टेर उल्टै निर्जीव मूर्तिलाई धुप सुघाउँन थाल्यो । प्रसाद चढाउन थाल्यो । न निर्जीव मूर्तिको नाकले सुगन्ध थाहा पाउँछ । न निर्जीव मूर्तिको पेटमा भोक लाग्दछ । मान्छेले मान्छेलाई नै बेवकुफ बनायो । मान्छेले मान्छेलाई नै मूर्ख बनायो र अचेतन मान्छेको जमातलाई लुट्ने, शोषण गर्ने थलोको रुपमा मूर्ति र मन्दिरको प्रयोग गर्न थाले । भनिन्छ, जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बीडँ, त्यो पनि नजान्नेलाई के को लीँड भनिन्छ । श्रीखण्डलाई हेर्दाहेदै खुर्पाको बिँड र सुगुरको लीडँ बनाएका अनेकन उदाहरण हामीसामु छन् ।

म किशोर वयको विद्यार्थी हुदाँ केही समय बूढा काफ्ले गुरुको संगतमा रम्न पाएँ । हुन त उनी मेरा औपचारिक गुरु थिएनन् । अनौपचारिक तबरका यी गुरुबाट मैले अनेकन शिक्षा लिएको छु । उनी ज्योतिष शास्त्रमा निष्णात ज्ञानीपुरुष थिए । साथै पुरेत्याइँबाट उनको जीविका चलेको थियो । छन्दोबद्ध पद्य रचनामा पनि उनी सिपालु थिए ।

त्यो बेला मलाई एउटा पद्य रटाएका थिए –

कागजवारी कलम कोदाली मसी छरे बीउ ।
स्थिर आसन बसी रहे बसी बसी पाले जिउ ।।

उनले उबेला मलाई कण्ठ गराएको त्यस पद्यका शब्द शब्दका अर्थ अहिले पर्गेल्न थालेको छु । उनले त्योबेला यसको अर्थ लाएका थिए– विद्या अध्ययन गर्नु पनि एक किसिमको कृषि कर्म नै हो । यो पनि एक किसिमको खेतीपाती हो । कागजलाई खेतवारी ठान्नुपर्छ । किताबलाई जमिन मान्नुपर्छ । कलमलाई कोदाली बनाउनुपर्छ । मसीलाई बिउ मान्नुपर्छ । शब्द र अक्षरका बिउहरु जति हुर्काउन सक्यो त्यति नै विद्याव्यसनीको खेतीपाती सप्रिन्छ र जीवनमा सुख वैभव आउँछ ।

अहिले उनका अर्थका पोयाहरु एकएक खुल्दै गएका छन् । र स्थिर आसन पदावलीभित्रको अर्थ अभिव्यञ्जनालाई बुझ्न प्रयत्नरत छु । स्थिर आशनले विद्याप्रतिको अटल भक्तितिर संकेत गरेको हुँदो हो । ज्ञानार्जनमा दृढ संकल्प र भगिरथ प्रयत्नको खाँचोतिर औँल्याएको होला । विद्धान्र ज्ञानी पुरुषले शारीरिक श्रमको चर्को धपेटीमा नपरी सुखशान्तिका साथ ज्ञानको काम गरेर बाँच्न सक्ने कुराको अर्थ लाएका होलान् ।

स्थिर आसन अर्थात् स्थिरताले मानिसलाई साक्षी बनाउँछ । स्थिरताले चैतन्यको शिखर चढाउँछ । चिदाकाशको उज्यालो संसार चुमाउँछ । आफ्नो चेतनाको शिखर छुनुछ भने स्थिर आसन अर्थात् स्थिरतामै अडिनुपर्छ ।
जुनदिन अरुअरु चिज पाउन लालायित बन्ने मन ज्ञान पाउन, आत्मज्ञान पाउन लालायित बन्छ, त्यसपछि स्थिरताको आरम्भ हुन्छ । त्यति स्थिरताको ज्योतिले मान्छेलाई जगमग उज्यालो पार्छ । यसले भित्रको तमस मासिँदै जान्छ ।

शीतनिद्रामा सुतेको भ्यागुतो पनि माटोमुनि स्थिरतामै बाँचिरहेको छ । स्थिरताले धीरता दिन्छ । स्थिरताले शूरता दिन्छ । स्थिरताले जीवनको बेढङ्गे चञ्चलतालाई समत्व दिन्छ । त्यही समत्वमा सत्य प्रकट हुन्छ । सत्यमा बाँच्न समत्व चाहिन्छ । समत्व ल्याउन स्थिरता आवश्यक पर्छ । त्यसैले आजभोलि कसरी स्थिर बन्ने त्यसकै ध्याउन्नमा छु ।