‘आधुनिक नेपाली गजल–अभियान’ अहिलेको समयको माग हो । गजलसमेत लेख्दै आएको, एक गजलकृति प्रकाशन गरेको र आधुनिक गजलको उत्थानमा धेरथोर भूमिका निर्वाह गर्दै आएको एक नेपाली स्रष्टाको नाताले मैले यस अभियानलाई साथ–सहयोग, समर्थन दिनु र केही कमी–कमजोरी देखे आफ्नु तर्फबाट सुझाव दिनु आफ्नु कर्तव्य ठानेको छु ।
कविताका साथै गजलविधा पनि ‘छन्द–बहर’ र ‘गद्य–स्वतन्त्र’को कृत्रिम बहसका बीच साँच्चिकैका साहित्यिक रचना चेपुवामा परिरहेको अप्ठ्यारो परिवेश अहिले छ । यस्तोमा छन्द–बहर मिलेन भनेर राम्रा स्रष्टा निरुत्साहित हुने र छन्द–बहर मिलेकै भरमा झासझुस लेखाइ हीरो पल्टिने अवस्थाका बीच यो अभियान प्रकटमा आएको छ । यसका अवधारणाकार बाबु त्रिपाठीका साथै नेतृत्वकर्ता विपिन सलामीलगायतका स्रष्टामित्रहरू धन्यवादका पात्र छन् । यो अभियानको व्यापक सफलताको कामना गर्छु ।
संस्थालाई कानुनी रूपमा स्थापित गरेर कार्यालयसमेत सञ्चालन गर्नुले यसको स्थायित्व र नेतृत्वको जिम्मेवारिता प्रकट भएको छ, जसले अब केही विशेष हुनेछ भन्ने सङ्केत गरेको छ । त्यो स्वागतयोग्य छ ।
पहिलो सार्वजनिक चासोको कार्यका रूपमा मागपत्र प्रस्तुत गरिएको र त्यसलाई सम्बन्धित निकायमा पेश गर्नुपूर्व सार्वजनिक बहसका लागि प्रस्तुत गरिनु पनि मलाई बुद्धिमतापूर्ण र स्वागतयोग्य लाग्यो । यो ठीक छ कि छैन ? केही थपघट वा सुधार गर्नुपर्ने छ कि ? भनेरै सार्वजनिक गरिएको ठानेर उपरोक्त मागपत्रका सम्बन्धमा आफूलाई लागेका केही कुरा भन्नु मैले सान्दर्भिक नै ठानेको छु—
प्रस्तुत गरिएको मागपत्रका सम्बन्धमा—
पहिलो बुँदा (१) को माग एकदमै समयसान्दर्भिक छ । नेपालप्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद्–मा गजलविज्ञ नपुगेकै भने होइन् । पुगेका पनि गजलकार वा गजलविज्ञको हैसियतमा नलगिएकाले तिनले गजललाई कहिल्यै त्यहाँ कोट्याएनन् । यसर्थ, अहिलेको पुस्तामा सबैभन्दा धेरै लेखिने साहित्यिक रचना ‘गजल’ विधालाई सरकारी स्तरबाटै स्वीकार गरिनुपर्छ । यस कार्यले आधुनिक नेपाली गजल अभियानको मर्मलाई आत्मसात् त गर्छ नै, समग्र गजलसाहित्यलाई नै ठूलो टेवा पुर्याउनेछ ।
प्रज्ञाप्रतिष्ठानमा व्यक्ति दोहोरिनु नेपाली साहित्यकै अभिशाप हो, त्यो गजल–अभियानको मात्रै मुद्दा होइन । यस्तो मुद्दालाई अभियानको मात्रै मुद्दा बनाउनुभन्दा विभिन्न साहित्यिक सङ्घसंस्था तथा साहित्यकारहरूसँग सहकार्य गरेर जानु राम्रो हुन सक्छ । बुँदागत रूपमा पनि यो अर्कै बुँदामा उठाउनुपर्ने सवाल हो ।
गजलमहोत्सव गर्ने माग (बुँदा २) एकदमै सान्दर्भिक छ । त्यो हुनै पर्छ । एकेडेमीले अहिलेसम्म गजलसम्बन्धी एकाध निम्छरो कार्यक्रममा हल्काफुल्का सहयोगबाहेक कहीँकतै गतिलो सहकार्यसमेत गरेको छैन ।
अर्को बुँदा (३) अन्तर्गत साझा प्रकाशनबाट पुनर्प्रकाशन हुन थालेको ‘गरिमा’ पत्रिकामा अनिवार्य रूपमा गजल प्रकाशित गर्नुपर्ने माग जायज छ । तर, कृतिप्रकाशनको सन्दर्भचाहिँ अहिलेको साझा प्रकाशनको नीतिनियम नबुझेर गरिएको हुनुपर्छ । ५०० प्रतिको लेखकश्व पुस्तक छाप्नासाथ दिने साझाले आजकल ‘नीति नै बनाएर’ उल्टै लेखकसँग पैसा असुल्ने गरेको छ । छापिने पुस्तक ५०० प्रति लेखकले नै किनिदिनुपर्ने नियम लादेको छ । ‘पैसा लिएर पुस्तक छपाउने’ संस्थाले वर्षमा २ वटा के, २०० वटा गजलकृति लगिदिए पनि छापिदिन्छ, माग राख्नै पर्दैन ।
शैक्षिक पाठ्यक्रमहरूमा अनिवार्य रूपमा गजल समावेश गराउने माग जायज छ । त्यसमा मेरो पनि समर्थन छ ।
‘नगरपालिका, गाउँपालिका तथा वडाहरूले गजललाई उच्च स्थानमा राखी कार्यक्रम गर्दै आइरहेको’ बुँदा (५) व्यावहारिक छैन । साहित्यिक एवम् अन्य सङ्घसंस्थाले व्यापक रूपमा गजलकार्यक्रम गर्दै आएका हुन् र छिटफुट गजलकार्यक्रममा स्थानीय निकायले साथ, सहकार्य पनि गरेका छन् तर अहिलेसम्म कुनै पनि स्थानीय निकायले कतै पनि ‘गजललाई उच्च स्थानमा राखी’ कुनै कार्यक्रम गरेको जानकारी कमसेकम मलाई छैन । गरेको रहेछ भने म अहिले नै माफी माग्छु ।
अर्को कुरा, वर्षमा एक पटक एक दिवसीय (सातै प्रदेशबाट गजलकारहरूको प्रतिनिधित्व हुने गरी) गजलगोष्ठी गरिनु स्वागतयोग्य कदम हो । तर, आयोजना गर्नका लागि गुहार्ने निकाय काठमाडौँ महानगरपालिका अवश्य होइन । यौटा नगरपालिकाले आफ्नो क्षेत्रभित्रमात्र सरोकार राख्छ, राख्नुपर्छ । त्यसभन्दा बाहिरको क्षेत्रमा उसको भूमिका अपेक्षा गर्नुले आह्वानकर्ताकै परिपक्वतामा औँला उठ्न सक्छ । त्यो राज्यले गर्नुपर्ने काम हो, राज्यलाई नै गुहारौँ ।
अन्त्यमा,
कुनै पनि अभियानको गुणदोषको जिम्मेवारी अभियानको ‘अवधारणाकार’ ले लिनु अनिवार्य हुन्छ । यसर्थ कि ‘अभियान’ को मूल मर्म जति अवधारणाकारले बुझेको हुन्छ, आत्मसात् गर्नेलाई त्यो बिन्दुसम्म पुग्न मुश्किलै हुन्छ । बिपीको ‘साम्यवाद’, महेन्द्रको ‘गाउँ फर्क’ होस् या मदन भण्डारीको ‘जनताको बहुदलीय जनवाद’ होस्, अवधारणाकार प्रत्यक्ष रहेको अवस्थामा जति प्रभावकारी थिए, त्यसपछि रहेन सकेनन्, सक्तैनन् पनि । यस्तो हुनुमा विचारक स्वयम्ले जुन विचार प्रतिपादन गरेको हुन्छ, सञ्चारित हुँदै जाँदा त्यो हुबहु नहुन सक्छ, तोडमोड भइदिन सक्छ । त्यस्तो हुँदा त्यसको प्रभाव त विस्तार हुँदै जाला तर त्यसको मूलमर्ममाथि हुनुपर्ने जति न्याय अवश्य हुँदैन । यस्तोमा अभियानको छेउछाउमा बसेर सल्लाह, संरक्षण दिएर अवधारणालाई कार्यान्वयन गर्नु, गराउनुभन्दा अवधारणाकारले नै नेतृत्व लिने हिम्मत देखाउनु मेरो विचारमा प्रभावशाली हुन सक्छ । राम्रो हुँदै गयो भने ‘मैले गरेको’ भन्न पाइने, नराम्रो भयो, बिग्रिँदै गयो भने ‘म नेतृत्वमा छैन’ भन्न सकिने अवस्थाको सुविधा अवधारणाकर्तालाई दिने कि नदिने ? त्यो अभियानकर्ताहरूले सुरुवातमै सोच्नु बुद्धिमानी हुनेथियो कि !
poetprollas@gmail.com
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।