अमेरिकामा एक काला जातिका व्यक्ति जर्ज फ्लोइडलाई घाँटी थिचेर एक प्रहरीले हत्या गरेपछि बढेको असन्तुष्टि र प्रदर्शन लगत्तै काला जातिको इतिहास, जातीय विविधता, जातीय इतिहासमाथि लेखिएका पुस्तकको बिक्री ह्वात्तै बढेको छ।
पहिला अमेरिकामा सीमित प्रदर्शन बेलायत र युरोपसम्म फैलिन थालेपछि अमेरिका र युरोपमै पनि यस्ता किताबको माग बढेको देखिएको छ। यतिबेला अनलाइन बिक्री गरिरहेको बर्न्स एन्ड नोबेल्सको बढी बिक्री भएका १० पुस्तकको सूचीमध्ये नौ वटा काला जातिमाथि लेखिएका पुस्तकहरू रहेको वाल स्ट्रिट जर्नलले जनाएको छ।
बढी बिक्री हुने सूचीमा ब्रायन स्टिभेन्सनको ‘जस्ट मर्सीः अ स्टोरी अफ जस्टिस एन्ड रिडम्सन’, माइकल एलेक्जेन्डरको द न्यु जिम क्रोः मास इन्कारसेरेसन इन द एज अफ कलरब्लाइन्डनेस’ रहेका छन्।
आखिर किन यस्ता किताब बिक्री भइरहेका छन् त? ‘बेस्ट सेलरको सूची हेर्ने हो भने सर्वसाधारणलाई अहिलेको प्रदर्शन, आन्दोलन र लुटमारको गहिराई बुझ्ने इच्छा भइरहेको देखिन्छ,’ सिराकस विश्वविद्यालयका मिडिया एन्ड पपुलर कल्चरका प्राध्यापक रोबर्ट थम्सन भन्छन्, ‘अहिलेका लागि यो समाचार यति ठूलो हो कि कोविद १९ लाई पनि यसले माथ खुवाइरहेको छ।’
यता अमेजनको १०० बेस्ट सेलर पुस्तकको सूचीमा गएको शुक्रबार सन् २०१८ मा नै निस्केर थन्किएको रोबिन डिआङ्लोको पुस्तक ‘ह्वाइट फ्राजिलिटीः ह्वाइ इट्स सो हार्ड फर ह्वाइट पिपल टु टक अबाउट रेसिज्म’ अचानक बढी बिक्री हुने सूचीमा उक्लियो। यस्तै इब्राहिम एक्स केन्डीको ‘हाउ टु बि एन एन्टी रेसिस्ट’ जोमा ओलुओको ‘सो यु वान्ट टु टक अबाउट रेस’ पनि सूचीमा देखापर्न थालेका छन्।
‘आन्दोलनले उग्र रूप लिँदै जान थालेपछि धेरैले आफू कसरी यो आन्दोलनको एउटा अंगका रूपमा भाग लिन सक्छु भनी बुझ्न चाहेको प्रस्ट देखिन्छ,’ ३७ वर्षीया केन्डीको भन्छन्, ‘यसले सर्वसाधारणलाई आफू जातिवादी विभेद कम गर्न कसरी भूमिका खेल्न सक्छु भन्ने सोचिरहेको देखिन्छ।’
पछिल्लो समय त डिआङ्लो र केन्डीको पुस्तक अमेजनको प्रिन्ट संस्करण नै रित्तिएको छ।
‘यतिबेला पाठकहरू अमेरिकामा बढ्दो जातिवादी विभेदबाट दिक्क भएको देखिन्छन्। त्यसैले यसको गहिराईलाई बुझ्ने प्रयासमा उनीहरू छन्,’ अमेजनकी पुस्तकसम्बन्धी सम्पादकीय निर्देशक सारा गेल्मनको भनाइ छ।
अलि जानेबुझेका अभिभावकहरू भने बालबालिकालाई जातिवादी बुझाइ बढाउने किसिमका पुस्तक पढाउन यही बेला हतारिएका छन्। रेनी डे बुक्स पसल सञ्चालिका भिभियन जेनिङ्स भन्छिन्, ‘केही अभिभावकले मलाई राम्रोसँग जातीय विभेद बुझाउने पुस्तक छ भनी सोधे। उनीहरू बालबालिकाहरूले विभेदका कुरा सिक्नुअघि नै तिनलाई जातीय विभेदबारे बुझाउन चाहन्छन् ताकि उनीहरूबाट कुनै गल्ती नहोस्।’
अर्का एक पुस्तक पसले रोक्सानी कोडी भन्छिन्, ‘मैले किताब बेच्न थालेको ३० वर्ष भयो तर जातीय विभेद बुझाउने किताबको खोजी यति धेरै भएको पहिलो पटक देख्दैछु।
अमेरिकाको सबैभन्दा ठूलो किताबको चेन पसल बुक्स ए मिलियनले हालै आफ्ना २ सय ४७ पसलहरू पुनः सुचारू गरेको छ। उसले पनि आफ्नो पसलमा रंगभेद र जातीय समस्याबारे लेखिएका पुस्तकको माग चुलिएको जनाएको छ। कम्पनीका प्रमुख कार्यकारी टेरी फिन्ले भन्छन्, ‘पाठकहरूले फराकिलो मुद्दाहरूलाई पुनः एक पटक सम्झिएका छन् र पढ्नुपर्ने सूचीमा राख्न थालेका छन्। यतिबेला हाम्रो पसलमा केही सातादेखि हाउ टु बि एन्टी रेसिस्ट किताब नं. एकमा छँदैछ।’
अमेरिकामा किताब बिक्रीको हिसाब किताब राख्ने स्वतन्त्र नियामक संस्था एनपिडी बुकस्क्यानले केही दिनमै ‘हाउ टु बि एन्टिरेसिस्ट’ एक सातामा नै करिब ९ हजार बिक्री भएको जनाएको छ। यसअघि मुस्किलले १४ सय प्रति बिक्री भएको पुस्तकको खोजी ह्वात्तै बढेको हो।
यस पुस्तकका प्रकाशक पेइन्गुइन रेन्डम हाउसले यसअघि पनि किताब राम्रै बिक्री भए पनि अहिले त मागको बिस्फोट नै भएको प्रतिक्रिया दिएको छ। यो किताब अहिलेसम्म पाँच लाख प्रति बिक्री भइसकेको छ।
खासगरी सबै वर्ग, समुदायलाई लक्षित गरी कसरी विभेदविरोधी बन्ने भनी सिकाएकाले पनि किताब रूचाइएको प्रकाशक क्रिस ज्याक्सन बताउँछन्। यो किताबको राम्रो सम्भावना देखेकैले केही समयअघि नै यसको बाल संस्करणमाथि काम भइरहेको र ‘एन्टिरेसिस्ट बेबी’ नामबाट पुस्तक निकाल्न लागिएको बताइएको छ।
यस पुस्तकका लेखक केन्डीले यसअघि पनि एउटा पुस्तक लेखेका थिए, ‘स्टाम्प्ड फ्रम द बिगिनिङः द डिफिनिटिभ हिस्ट्री अफ रेसिस्ट आइडियाज इन अमेरिका’ किताब २०१६ मा नेसनल बुक अवार्डबाट पुरस्कृत भइसकेको छ।
यस्तै ह्वाइट फ्राजिलिटी शीर्षकको किताब यतिबेला दैनिक चार हजारप्रति भन्दा बढी बिक्री भइरहेको यसका प्रकाशक बिकन प्रेसले जनाएको छ। हुन त यो किताब दुई वर्षअघि पनि पेपरब्याक संस्करणमा बेस्ट सेलर नै बन्न पुगेको थियो। त्यो बेला ९१ सातासम्म यो पुस्तक बेस्टसेलर बन्न सफल भएको थियो।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।