
कार्तिक १३, २०७७
मन अशान्त हुन्छ । उद्विग्नताले छोप्छ । यो के हुन लागेको होला । मानव जाति निर्मूल पो हुन्छ कि भन्ने भय छ । रातोदिन डरले खाँदिएर रहेका छौँ । हामी दुई । टाढाका सीमितसँग बोली ता हुन्छ, प्रतिदिन ५–१० मिनेट तर त्यसको पहिलो लक्ष ता के कस्तो छ त्यता कति बिरामी परे भन्ने चिन्ताको बतासले ढाकेको हुन्छ । आज स्पेनमा दोस्रो कडा लकडाउन गर्ने खबर आएको छ ।
केही दिनअघि मदन कार्की गए, चार दिनअघि झापाका जयप्रसाद ढकाल र आज पाल्पाका कृष्णदेवको देहावसानको खबर आयो । सबै साहित्यकार भएकाले सम्झना गरेको । फेसबुकले सबै मृत्यु एकै हारमा प्रदर्शन गरिरहन्छ । दशैँको उमङ्ग एक थोपो कहीँ कतै छैन । कोही फोन पनि गर्दैन जरुरी नपरेसम्म, आफूलाई पनि गर्ने मन हुँदैन ।
तीन–चार दिन झण्डै एक हप्ता सार्त्र पढेँ र अलिकति लेखेँ पनि । सार्त्रमाथि एक प्रोजेक्ट बनाइरहेको छु । फ्रान्सको चिन्तन छोपेर एक उपन्यास लेखौँ भन्छु । आज ठूलो डायरी पनि निकालेँ । अब पात्र परिवेश कथानक अलिकति डायरी केवल हेर्छु । मन अशान्त छ ।
आजैदेखि लैनसिंह वाङ्देलको ‘मुलुक बाहिर’ म पढ्न थालेको छु । यो एक मास्टरपिस हो । धेरै पु-याउन त सकिनँ । उनको ४२ दिने यात्रा कलकत्तादेखि लण्डनको, आज कति दिन बित कोलम्बो नजिकबाट जहाज पश्चिम लाग्दैछ । धेरै टाढाबाट शहर प्रकाशले खत्रीको चम्केको देखिन्छ । आजैबाट मैले चिताएको उपन्यास आरम्भ गर्न भनी ठूलो नयाँ डायरी झिकेँ, ठिक पारेँ तर फेरि लाग्यो । यस ग्रन्थको अध्ययन पूरा गरेपछि मात्रै मेरो कल्पनाको पूर्ण चित्र आउँछ । अघि शुरुमै पढेको कुरा धुमिल भइसक्यो, रङ्गाएका पृष्ठवाला पुस्तक कति कसलाई दिएँ र भुलियो । दिनमा एकपल्ट फिर्ता नभएको पुस्तकको गहिरो चिन्ता गर्छु ।
अनि हिजो दुई घण्टा खर्चेर खोज्दा एकप्रति लुकिरहेको भेटेँ । आफ्ना भाइले गरेको तीन वर्षको दुःख तर यसको अध्ययनले कति ज्ञान प्राप्त भयो होला, साहित्यको परिधि कति व्यापक भयो होला ।
हिजोको पठनमै मैले देखेँ— जहाजमा प्रवेश गरेदेखि ने लैनसिंह घरी कलाको चिन्तनमा देखिन्छन्, घरी साहित्यको चिन्तनमा देखिन्छन् । पठनको तिर्खाले उनी बेलाबेला हुरुक्क हुन्छन् । फेरि एक्लै साहित्य विश्लेषण गर्छन्, कल्पनाका भारी खोलेर फुकाउँछन्, कलम कापी लिएर लेख्न थालिहाल्छन् । मनमा उठेका ज्वारभाटालाई शान्त पार्दै जल यात्रामा देखिने विचित्र अनुभूति व्यक्त गर्दै जान्छन्, दृश्यहरुको वर्णन राख्तै जान्छन् ।
हिजो पढ्दा पढ्दै म दोधारिएँ, ठाउँ ठाउँमा भेटिएका पहिलोपल्ट बेलायततिर जाने एक शिक्षित नेपाली लैनसिंहका भावना र अनुभूति टिप्तै जाउँ कि एकपल्ट सबै पढिसकौँ ? यस्तो द्विविधामा परेँ । परे पनि ठिकै छ, यो एकपल्ट होइन अनेक पल्ट पढ्नु पर्ने महाकाव्य हो । मेरो विचारमा आफ्नो भाषाको सौन्दर्य निखार्दै साहित्यको विश्वचेतना भर्ने कृति नै महाकाव्य रामायण, महाभारत मात्र होइनन्, शाकुन्तल, सुलोचना मात्र होइनन् । लैनसिंह वाङदेलको मुलुक बाहिर म पनि एक महाकाव्य नै हो ।
तर नेपाली पाठकले यस कृतिको प्रशंसा गरेको सुनेको छैन । त्यसो त लैनसिंह समग्र नै ओझेलमा पारिरहेका एक महान् प्रतिभा हुन् । कला र साहित्यका विलक्षण संयोग । यत्रो महान् नेपाली को होला ?
आजभन्दा ६० वर्ष पहिले उच्च अध्ययनको तिर्खाले बेलायत हिँडेका लैनसिंह भर्खर २८ वर्षका थिए । अंग्रेजको पालामा दार्जीलिङ र कलकत्तामा अध्ययन गरेका लैनसिंहभित्र कला साहित्यको ज्ञान कत्रो थियो, त्यसको तिर्खा कत्रो थियो ।
यात्रा शुरु गरेपछि नयाँ विश्व देख्तै गएको, दिनानुदिनको लेख्तै गएको यो १३ वर्षे संग्रह जस्तो अमूल्य ग्रन्थ नेपालीमा अर्को छैन । यसको अध्ययनबाट हाम्रा युवायवतीको साहित्यमा लागेका र लाग्न चाहेकाहरुको दृष्टिकोण परिवर्तित हुनसक्छ । कति अध्ययनले नै कलमको स्तर उठाउन सक्छन् भन्ने कुरा प्रस्ट हुन्छ । अध्ययनविना उठेका नेपाली स्रष्टा छन्, जसको दृष्टिकोणको परिधिभित्र हेर्न कुरा केही हुँदैन उनीहरुको वृथा अभिमान वा व्यर्थ गन्थन बाहेक । त्यसैले नेपाली साहित्यको समग्रता तै जमरा जस्तो पहेलिएको छ । संख्याले के गर्नु चेतना, दृष्टि, परिष्कार गहिराई अनि विस्तृतिमा नापिन्छ । साहित्यका उन्नतिको कुरा पनि भौतिक विकासजस्तै हो; अरु कहाँ पुगे हेर्दै पछिपछि दौडिन सिक्ने पनि हो ।
पढ्ने र लेख्ने बाहेक, कला र साहित्य चिन्तन गर्ने बाहेक उनको अरु कुनै चिन्ता छैन, मन अड्याउने ठाउँ छैन, कल्पना खेल्ने मैदान छैन । यात्रा आरम्भ गरेको बाह्रौँ दिनको डायरीमा उनले लेखेका छन् ।
त्यसपछि मैले सुनेका मात्र नपढेका इभान तुर्गेनभको परिचय पल्टाएँ । लैनसिंह भन्दा एकसय वर्ष पहिलेका टालस्टायका अलिकति दाजु तुर्गेनेभ आख्यानकार, कवि, नाटकार, अनुवादक । यत्रा यत्रा प्रतिभा नामै नसुनी भनेजस्तै पढ्नै नपाई पढनै नभ्याई भ्रान्तिमा जीवन चिप्लिरहेको थाहा पाउँदा आफैँप्रति क्रोध उत्पन्न भयो। पर्तिरको रित्तो घरमा घुर्ने परेवा, झिस्मिसेमै उठेर गाउन थालेका चरा, बास्न थालेका कुरा, भुक्न थालेका कुकुर सारा व्यर्थ लाग्यो म जत्तिकै । फेरि दिनका दिन उनीहरुले नै गाएर नाचेर भुकेर मलाई भुलाइरहेका छन् भन्ने जस्तै आक्रोश पनि उत्पन्न भयो ।
त्यसपछि मेरो मन शान्ति खोज्दै सार्त्र छेउ गयो। उनले यो समयलाई खुरुखुरु निल्ने अजिगंरतिर फर्केर एउटा धारणा व्यक्त गरेका थिए— के म यी दिनहरू गनिरहन्छु होला भन्ने लाग्छ ? अब ता केवल एकैदिन बाँकी हरेको छ, अघि नै शुरु भइसककोछः यो दिन हामीलाई जीवनको प्रभात कालमा दिइएको हुन्छ र साँझ परेपछि यो हामीबाट फिर्ता लगिन्छ । त्यत्ति दिने को हो फिर्ता लाने को हो थाहा छैन अनि त्यो दिनको कति समय कति व्यतीत भयो कति बाँकी छ त्यो पनि थाहा छैन । यतिखेर समुद्रतिरको माछा अटाउने जाल हानेको छ उसैले । कोरोना नामको । को कति बेला मर्छ र कहाँनेर मर्छ थाहा छैन ।
हिजो सुनिएका झापाली जयप्रसाद ढकाल जस्तै, पाल्पाली कृष्णदेव शर्मा जस्तै, केही दिनअघि सुनिएका स्याङ्जाली केदारनाथ ढकाल जस्तै । सबै साहित्यकार भएकाले आफूलाई छुँदै जान्छन् यो अम्मलडम्मल खैरेपात भन्ने खेलमा ।
फेरि पनि सार्त्रकै आवाजतिर म तानिन्छु । बिहानको राति छ । अब एकैछिनमा उज्यालो फाट्छ । लैनसिंह वाङ्देल पढ्दापढ्दै मन अनेकतिर भँगालिएर बग्न खोज्छ । यसो गरेको भए पो हुन्थ्यो कि उसो भए हुन्थ्यो कि जीवनलाई त्यो बाटो लगेको भए हुन्थ्यो कि ? तर उनले भनेझैँ— जीवनको कुनै पूर्व निर्दिष्ट अर्थ छैन । यसलाई अर्थ दिने काम तपाईं आफैँमा निहीत छ । अनि मूल्य भनेको पनि कुनै कुरा होइन आफूले जुन अर्थ रोज्यो त्यही हो । हो पनि म आफैँले रोजेर उच्च शिक्षामा लागेको हुँ, आफैँले आफूलाई शिक्षणमा लगाएको हुँ, धैर्यसाथ फकाउँदै सेवा निवृत्तिसम्म पु-याएको हुँ । हुनसक्ने प्रमोशनहरुले यसलाई सन्तुष्टि गराएको हुँ । बीचमा रोकिएर विवाहमा लागेँ, सन्तानमा लागेँ । सबै काम सल्लाहले भए । सबै काम सक्तै गएँ । मलाई नियतिले संकेत गरेको बाटोतिर मनले अह्राउँदै लग्यो । साहित्यमा लाग भन्यो र त्यता लागेको हुँ । यही हो सुखशान्ति भन्यो र त्यो भ्रान्तिमा रमाएको मात्र हो । प्रत्येक व्यक्ति भीडमा देखिए पनि ऊ बेलाबेलै बेग्लै छ, आफ्नै कर्म भोग्दै आफ्नै इच्छालाई कोक्रामा हालेर हल्लाउँदै । मलाई कसैले अह्राएको होइन आफ्नै रोजाइको परिणाम— मानिस केही होइन, तर आफूले आफैँलाई जे बनाउँछ त्यही मात्रै ।
क्षितिजको घेराबाट उज्यालो पसिसक्यो यस्तो बेलामा वाङ्देल पढ्दापढ्दै म अलिक विदिशा भएँ तर यो बाटो पनि एक टुङ्गा लगाएपछि मात्रै निबन्ध टुङ्गिएको जस्तो लाग्छ । यो शारदी प्रभातकालमा खप्न सकिने खालको १३ डिग्री जाडो । आज एक ऊनी सर्टमा छु अब पातला स्वेटर झिक्नु पर्ला । दोस्रो कप चिया ठीक पारेको छु, मेरो प्रतीक्षामा छ । सात बजेदेखि व्यायाम छ, त्यसपछि मात्र पुस्तक खोल्न सकुँला । दिनका दिन उनै चिन्ताका रेखा उनै उत्साहका थोपा, उनै आशाका बत्ती, उनै भ्रान्तिका तिर्मिर, उनै मायाका पोका, भयका डोका फुकायो बन्द ग-यो, लुकायो अरुसँग, अलिकति हाँसेजस्तो ग-यो । जीवन कस्तो नि ! आखिर म कहाँतिर पुग्दैछु । दिनका दिन तिनै भोक र तिर्खा ओछ्याउँदै, तिनै तृष्णा र चिन्ता ओढ्दै, तिनै तृप्तिका भ्रान्तिहरु शरीरमा दल्दै हिँड्ने यो मानव जीवन कस्तो अपरिभाष्य छ । प्रत्येक दिन उही पुनरावृत्तिको । सुखको सर्वोच्च शिखरमा उही पुग्छ चेतनाले, दुःखको अतल गहिराइ भर्ने उही चेतनाले चेतना ता पशुप्राणी अन्य जीवन पनि छ तर अति प्रारम्भिक, अपरिस्कृत भूत भविष्य वर्तमान बनाएर तिनमा पुग्न नसक्ने । फेरि पनि घामा झुल्किँदा एक नयाँ दिन उदाएझैँ लाग्छ । यो उक्लिँदा चर्किंदा, ओर्लिंदा यसैका गति हिसाब गर्दै बसिन्छ । बेलुकीपख बल्ल यो बिमार निको भयो जस्तो हुन्छ । फेरि उस्तै । भोलि त कस्सिएर काम गर्छु भन्छु फेरि उस्तै, पर्सि ता धेरै माथि पुग्छु भन्छु फेरि उही । फेरि एकपल्ट उनै सार्त्र पुकार्छु — तिमी बाँचुन्जेल कुनै घटना घट्तैन । केवल दृश्यावली बदलिहुन्छ, मान्छेभित्र पस्छन्, बाहिर निस्कन्छन्, त्यत्ति मात्रै । कुनै आरम्भहरू छैनन् दिनहरु माथि नै खप्टिँदै जान्छन्, त्यसको कुनै कारण र परिणाम छैन, एक अनन्त निरसपनको योग मात्रै ।
धेरैमाथि फुलचोकी पर्वत उज्यालो भयो । अझै पर माथि हिउँका सेता टोपी टल्किए । अब त अञ्जना पूजामा आउने बेला भयो । पूजा कोठाबाटै यता आउलिन् । म पनि यति चिया सकेर व्यायामको लागि ठिक पार्छु ।
वाङ्देलको पठन
म यो पुस्तक अर्कोपल्ट दोहो-याउँछु तर त्यसपल्ट अर्कै थोक खोज्ने अभिप्रायले । यस पल्ट भने उनले सम्झना गरेका पुस्तक जतिको मात्रै उल्लेख गर्न चाहन्छु । जसले गर्दा नेपाली साहित्य प्रेमीलाई ती पुस्तक पढ्ने तिर्खा जागोस् ।
अर्को पुस्तक हो जोन गल्सवर्दीको उपन्यास द एपल ट्री । अर्का स्रष्टा समर्सेट मम अनि जर्ज वर्नाड शा । यी दुई कृति वर्नार्ड शाका कथासँग तुर्गनेभका कथा शैलीको तुलना गर्छन् । अस्कर वाइल्डको महान कला र उनको विशेष गरी पिक्चर अव् डोरियन ग्रेको उच्चताको वर्णन गरेका छन्, प्रशंगवश फोरसिट सागा पनि तर समयले ओस्कार वाइल्डलाई चिनेन । उनी बितेको ५२ वर्ष पछि २९ फरवरी १९५२ का दिन वाङ्देलले यस्तो लेखेका छन्ः अस्कर वाइल्ड मरेको आज ५२ वर्ष पूरा भयो । जति समय बित्तै जाँदो छ, त्यति वाइल्डको चिहानमा सुनको जलप बढ्दो छ । अनि जति उनको चिहानमा सुनको जलप आउँदो छ, उति अंग्रेज समाज धन्य सम्झन्छ ।
मनमा भावना खेल्छन् हृदयमा चिन्तनको आँधि । खालि साहित्य सिर्जना र अध्ययनको कुरा उठ्छ । मार्च १२ तारिका दिन घरी ओस्कार वाइल्डको कुरा निकाल्छन् फेरि घरी ओमर खैयामका रुवाइयतको । ओस्कर वाइल्डप्रति उनको कति उच्च सम्मान छ । उनको कलाचेतनाप्रति कत्रो आदरभाव । उनको पिक्चर अव् डोरिएन ग्रेको कत्रो प्रशंसा !
ओस्कर वाइल्डलाई हामीले पनि ठूलो श्रद्धाले पढ्यौँ तर वाङ्देल जति होइन रहेछ । २८ वर्षको उमेरमा उनले बारम्बार ओस्कार सम्झेका छन्, हृदयमा छुने कुरा उद्धरण गरेका छन् ।
त्यसो त उनको नाम लामो छ ओस्कार (फिङ्गल ओफ्लाहर्ति विल्स) वाइल्ड, हामी दुई शब्दमात्र उच्चारण गर्दछौँ । अल्पायुमै बित्ने वाइल्ड (सन् १८५४–१९००) आइरिश कवि तथा नाटकार हुन् । उनको पिक्चर अव् डोरियन ग्रे नामको विश्व प्रशिद्ध उपन्यास छ । यो गोथिक उपन्यास हो । यसमा गम्भीर दार्शनिकता छ । भय, त्रास, रोमान्स, मृत्यु जोडिएको अंग्रेजी उपन्यासलाई गोथिक नोभेल भनिन्छ ।
यसमा ती दिनमा मान्य भएको कला कलाको लागि भन्ने सिद्धान्तको सन्तुलित ? छ । अत्यन्तै सुन्दर रुपका वाइल्ड एकपल्ट समलिङ्गी कर्ममा लागेका बेला पक्राउ परे । त्यसबेलाको समाजमा त्यो गैरकानूनी र निन्दनीय कर्म थियो । परिणामस्वरुप दुई वर्षे जेल सजाय पाए ।
लैनसिंहले त्यही प्रसंग छुँदै पृ २५ मा लेखेका छन्— आस्कर वाइल्डका पात्रहरू जो उनले जेलबाट लेखेका थिए, ती पढ्दा हृदय बडो उदास हुन्छ । “म चाहिँ आफ्नो युगको कला र संस्कृतिसँग प्रतीकात्मक सम्बधमा बाँचेको व्यक्ति थिएँ । मेरा पुरुष्त्वको उदयकालमा पनि यो कुरा मैले आफ्नो निम्ति महसूस गरेको थिएँ ।
अनि फेरि एउटा ठाउँमा लेखेका छन्— म झन्डै दुई वर्ष जति झ्यालखाँदमा बसेँ । मेरो आफ्नै स्वभाववश घोर निराशाले छोप्यो ।
यी कुरा पनि अनुवाद गरेर राखिदिएको भए सबै पाठकको निम्ति सुबोध्य हुन्थ्यो होला, वाइल्डको पनि अलिकति जीवनी दिएको भए झन् सन्दर्भ आउँथ्यो होला तर यतिको सङ्केतले आफैँ कुरा खोल्ने छ, वाङ्देल वाइल्डको कला आदर्श र साहित्य सिर्जनाबाट कति प्रभावित थिए । अरु कुरा सुपाठकले आफैँ विस्तारित गर्नेछ । एउटै कुरा हाम्रो दृष्टि बारम्बार विश्वसाहित्यतिर परिरहनुपर्छ ।
त्यसपछि उनले ओमर खैयामका दुई रुबैयातको अंग्रेजी अनुवाद दिएका छन् । हिन्दी/नेपालीमा रुबाइ मात्र भन्ने चलन छ । मुक्तक गजल जस्तै तर भिन्नै फारसी मूलको रुबाइ नेपालीमा पनि प्रचलित छ। विशेष गरी एघारौँ शताब्दीका फारसी शन्त महाकवि ओमर खैयामले यसलाई उच्च स्थानमा पु-याए । ओमर खैयामका गजल नपुगेको विश्वको कुनै भाषा नहोला । नेपाली साहित्यमा मात्रै विगतका असी वर्षभित्र ओमर खैयामका रुबाइका आठवटा भिन्दाभिन्दै संस्करण आएका छन् । मैले प्रकाश आङ्दम्बेको रुबाइको परिचयमा त्यो कुरामाथि सविस्तार प्रकाश पारेको छु ।
महान् बेलायती कवि एडवार्ड फिज्गगेराल्ड (१८०९–१८८३) ले द रुबैयात अव् ओमर खैयाम शीर्षकमा अंग्रेजी अनुवाद गरे । दुईसय वर्ष पुग्नै लाग्यो । सारा पाश्चात्य जगत्मा त्यसले महान् कवि र स्वप्न दृष्टा खैयामलाई कहाँ कहाँ पु-याए । यहाँ वाङ्देलले तिनै ओमर खैयामका दुईवटा रुबाईको उद्धरणद्वारा आफ्नो उदासी मनोभाव व्यक्त गरेका छन् ।
अहा, प्रेयसी ! त्यो प्याला भरिएदेऊ, जसले
अतीतका पश्चात्तापहरू अनि भविष्यका भयहरू
समाप्त गरोस्— भोलि ? भोलिको के कुरा
हिजोको शक्तिले म सात हजार वर्ष बाँचौँला ।
कठै ! गुलाबसँगै वसन्त पनि विभ्रंश हुने
यौवनको सुवासित अक्षरहरू बन्द गर्नुपर्ने
ती हाँगामा बसेर गाउने बुलबुलचरी
कहिले र कता उड्यो को भन्ला कठैबरी
हिजो पृ. ३१ सम्म पु-याएँ । अबाध यसैमा लाग्न पाए ता दिनको ६०–७० पृ. जान्थ्यो होला । ठूलो पेजी पुस्तक छ, डबल डिमाई बुझेर ५०० पृ. पूरा गर्न कति लाग्छ । आठ–दश दिनमा सम्पन्न गर्थें तर लेख्ने कुरा पनि भएपछि मुख्य कुरामा हाइलाइटर गर्दै हिँड्नु परेपछि ढिलो हुन्छ । मनन गर्नुप-यो, कति टिप्नु पनि नोटको रुपमा । त्यसो गर्दा दुई दिनमा ३२ पृ मात्रै सरेछ ।
आज ता दिनभरि त्यता फर्किन भ्याइनँ । सर्वप्रथम जानु काङ्बाङतिर लागेँ । बेलायतमा बसेर कति मिठो साहित्य गर्ने गाउँले बैनी । उनको फ्ल्याण्डर्स फिल्डमा तमोरका सुसेली शीर्षक यात्रा र संस्मरण संग्रहको १९ औँ यात्रा निबन्ध बढेँ । खोक्लिङको आलु कति हृदय तान्ने निकै लामो । पढिसकेँ । लेखाइ उत्पात राम्रो छ तर लिङ्ग र वचन मिल्दैन लिम्बू जिब्रातिर जान्छ । पढ्न दुई घण्टा लाग्यो । रङ दलेर पठाएको थिएँ हिजो उनीसित बसेर आज मिलाउन लाग्यो एक घण्टा । तर मलाई साँच्चै आनन्द लाग्छ । केही सुधार्नै पर्ने ठाउँ यस्ता छ—
बुबाका आँखा उध्रेला कि ?
हुनुपर्ने— बुबाका आँखा उघ्रेलान् कि ?
बुबा त बिती गए ।
हुनुपर्ने— बुबा त बिती जानुभयो ।
यात्रुहरू अझै आउँदैछ
हुनुपर्ने— यात्रुहरू अझै आउँदैछन् ।
चन्द्रकला बैनीले आफ्नै झोला र मेरो ब्याग बोक्यो
हुनुपर्ने— चन्द्रकला बैनीले आफ्नै झोला र मेरो ब्याग बोकिन् ।
त्यो बहिनीले हाम्रो भाइलाई हेर्दै हाँस्न थाल्यो ।
हुनुपर्ने— हाँस्न थालिन्/थाली आदि
म आफैँ करेक्शन गर्दिनँ तर लेखकलाई यस्ता गल्ती देखाएपछि उनको पनि सुधार हुँदै जान्छ । एउटा राम्रो लेखकको जन्म भयो भने उसले परिष्कार पाटो राम्ररी सिक्यो भने त्यसको फाइदा हामीलाई नै हुन्छ ।
जानुको त्यति सकेर म दलाइ लामातिर लागेँ । दलाई लामाको पुस्तक दुवाई अ ट्र किन्शिप अव् फेथलाई पशुपति न्यौपाने भाइले अन्तरधार्मिक विमर्श शीर्षक दिएर अनुवाद गरेका छन् । यसको सारतत्व बोध गराउने उपशीर्षक छ— संसारका धर्महरू कसरी एक अर्कासँग मिल्नसक्छन् । वास्तवमा परम पावन दलाइ लामाका फ्रिडम फ्रम एग्जाइलबाट केही च्याप्टर हामीले बी एडको पाठ्यक्रममा पनि राख्यौँ । अंग्रेजी साहित्यको पाठ्यक्रमले सधैँ विश्वसाहित्यतिर दृष्टि लगाउँछु । कीर्तिपुर अंग्रेजी शिक्षामा विषयप्रमुख भए यताका बार वर्षहरू मैले केवल एक चिन्तामा बिताएँ । गुरु जनलाई निवेदन गरेँ, समकालीन मित्रहरूलाई विश्वसाहित्यतिर प्रवेशको महत्व सम्झाएँ, नयाँ पुस्तालाई हातमा समाएँ । त्यस तहका सात पुस्तक बनायौँ यहाँ मेरो आत्मा तृप्त भएको आवाज सुनिने छ । एकदिन म त्यसको पनि कुरा लेख्ने छु ।
आज त्यता ढल्किने समय छैन । बेलुका सुत्ने बेलामा ढल्केर एकछिन मनमनै पालो मिलाउँछु । भोलि उठेर यो कर्म पहिले गर्नेछु अनि यो र ती छोटा कर्म सकेर दिनभरि यो भन्ने भाग लाउँछु । कामहरू पालो लागेपछि शान्त भएर निदाउनु छ म पनि ।
आज चाँडै उठेँ मन छ्याङ्ग थियो । बेला भयो होला भन्ठानी बत्ती बालेँ । झलमल भयो। अञ्जनाले सिरक तानेर सोधिन् कति भएछ ?
तीन पचपन्न ।
बत्ती मारौँ ?
पर्दैन म पनि उठ्छु
हिजो बेलुका मलाई सोधेकी थिइन्— लीलबहादुर छेत्रीको बसाइँमा एउटा पात्रको नाम थियो नि के होला ।
रिकुटे
होइन अर्को चाहिँ ।
मलाई फ्याट्ट आएन । पुस्तक खोज्यौँ ‘लीलबहादुर’ लेखेको पोकामा । अनि भोलि हेरौँला, माइकल हटको अनुवाद छ त्यहाँ माउन्टेन पेन्टिङ विद टर्मेरिक । यति बोलेर छुटेका थियौँ । म उनै परम पावन दलाई लामातिर निहुरेको थिएँ ।
अञ्जनाले केही लेख्तै होलिन् मलाई भनेकी छैनन् । कतिपल्ट ता सरप्राइज गरिदिन्छिन् । कहिले कहिलेदेखि सभासम्मेलन छैनन्, क्याम्पस भेटघाट छैनन्, दशैँको मध्य छ ढोका थुनेर काम्दै बसेका छौँ । सातादिनमा एकपल्ट ट्याङ्ला चोक पुगेर एकझोला सर्दाम भ-यो, दबाई ओखती, साग, विस्कुट, बीरे नून, दाल चामलको अर्डर ग-यौँ, घरमा फि-यो, सबै बाहिरै राख्यो, कोही पानीमा डुबायो, हात गोडा धोयो, लुगाफाटा फे-यो, कहिले नुहायो, यस्तो भ्रान्तिले स्नान गर्दै हामी जोगिए जस्ता छौँ । दिनानुदिन माथि जानेहरु थपिँदै छन्, अरु कति पालो पर्खेर सुतेका छन् ।
ब्रश गरेर चिया पानी उमाल्न बसाएँ र एकछिन कौशीमा निस्केँ । आज कोजाग्रत पूर्णिमाको चन्द्रमा चन्द्रागिरी पर्वत माथि ओर्लिनै लागेको देख्छु । हामी उठ्ने बेलामा उनको सुत्नेबेला जस्तो । सारा स्वच्छ सफा सङ्लो छ निर्मल । सृष्टिको रहस्य झन् गहिरो हेर्दाहेर्दै भ्रान्तिले मनै घुम्यो र भित्र पसेँ ।
चिया छेउमा राखेर ल्यापटप ब्यूँझाएँ जानु बहिनीका छानिएका १८ यात्रा निबन्धको शीर्षक सूची आई बसेको रहेछ, ज्ञानबहादरजीलाई सबै पठन पठाएँ । रेनुका खरेल बैनीले मेरो … शीर्षक निबन्ध टाइप गरी सकेर राति पठाइछन् । त्यसलाई प्रिन्ट गर्न अह्राएँ । तर्छेर जसरी प्रिन्टरले सिरक फ्याँक्यो अनि गाउन थाल्यो— सनन…झ्याइँ सनन…झ्याइँ स्वरमा ।
आज ता परम पावन दलाई लामालाई अघि बढाउनु प-यो भन्ने अठोटले सुतेको हुँ तर बीचमा बारम्बार अर्थोक केही आइदिन्छ अनपेक्षित कुरा । त्यसलाई ध्यान दिनुपर्ने हुन्छ । आज सर्वप्रथम ता यी छापिएका निबन्धको करेक्शन सकेर मात्रै दलाई लामातिर प्रवेश गरौँला । कस्तो हृदय छुने कुरा छ । यो विश्वग्रामीकरणले व्याप्त दुनियाँमा विश्वधर्महरु एक गरौँ, नसके पनि प्रत्येक धर्मको नजिक पुगौँ, सबैमा समन्वयविन्दु पत्ता लगाऔँ, साश्वत सत्य भेट्ने विन्दु एउटै होला भन्ने छ । प्रत्येक नेपाली पाठकले पढ्नै पर्ने कुरा ।
आज वाङ्देल ग्रन्थ बीचैमा रोकियो । हिजो अनुवादक पशुपतिले फोन गरे। दशैँ–तिहारपछि भटौँला भाइ भनेको थिएँ । अर आधि कामहरू बिसाएर यसैलाई पारि तार्नुप-यो— अन्तरधार्मिक विमर्श हिजै पढेको एउटा कथा पढेँ । बीपी कोइरालाको शत्रुमा आधारित भई शरच्चन्द्र वस्तीद्वारा नवलेखन गरिएको कथा । कस्तो अद्भूत कल्पनाले, कत्रो कलाले त्यो सिर्जित छ । म छक्क परेँ । उहाँलाई फोन गरेँ— इथिक्स इन डिकस्ट्रक्शनको कुरा गरेँ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

