‘साताका पुस्तक’ स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरुलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उदेश्य हो । अगामी दिनमा पाठक तथा स्रष्टाहरुको सहयोगले यस स्तम्भलाई थप सशक्त रुपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ ।
यसैक्रममा ‘साताका पुस्तक’मा यो साता आठ पुस्तक । ‘नेपाली संक्षिप्त भारत’देखि ‘मौलामा बाँधिएको राँगो’सम्म; पुस्तककाे छाेटाे परिचयसहित ।
=======
१. नेपाली संक्षिप्त भारत – प. चक्रपाणि चालिसे, कविशिरोमणि लेखनाथ पौड्याल
प. चक्रपाणि चालिसेकृत ‘नेपाली संक्षिप्त भारत’ मूलग्रन्थ महाभारतबाट पूर्णतया अनुवाद नगरी बालक विद्यार्थीका लागि उपयुक्त हुनेगरी संक्षेपमा कथांश उल्लेख गरिएको पुस्तक हो । पुस्तकमा आदिपर्व, सभापर्व, वनपर्व, विराटपर्व, उद्योगपर्व, भीष्मपर्व, संक्षिप्त श्रीमद्भगवद्गीता, द्रोणपर्व, कर्णपर्व, शल्यपर्व, गदापर्व, सौप्तिकपर्व, स्त्रीपर्व, शान्तिपर्व, अनुशासनपर्व, आश्वमेधिकपर्व, आश्रमवासिकपर्व, मौशलपर्व, महाप्रस्थानिकपर्व र स्वर्गारोहणपर्वलाई बालक विद्यार्थीले बुज्ने भाषामा प्रस्तुत गरिएको छ ।
‘नीतिज्ञान र धर्मज्ञानका साथसाथै बालकको हृदयमा कर्मयोगशास्त्र श्रीमद्भागवद्गीताका केही उत्कर्ष विचारको छाया जमोस् भन्नाका लागि सुयोग्य पण्डित लेखनाथ शर्मा पौड्यालले बनाएको संक्षिप्त गीतासारको पनि समावेश गरिएको छ ।’, वि.स. १९७५ सालमा पहिलोपटक छापिदाको पुस्तकको भूमिकामा गोरखा–भाषा–प्रकाशिनी समितिको अध्यक्ष ना.सु. पं. राममणि आ. दी.ले लेखेका छन्, ‘त्यसबाट भागवत्गीताको केही आभास बालकहरुमा अवश्य पर्नेछ । मेरो अन्दाजमा गीतासारमा धेरै विषय छुटेको छैन । यो उही गीता हो जसमा अर्जुनले लडाइँको प्रारम्भावस्थामा सारा आफ्ना कुटुम्बहरुलाई समरोन्मुख देखेर एकदम विषादपूर्ण चित्तले म बन्धुहनन गर्दिनँ भनी धनुर्बाण छोडेका बेला श्रीकृष्णबाट आफ्नो कुलको धर्म गर्नु नै जीवनको मुख्य लक्ष्य हो भन्ने यथार्थ कुराको उपदेश पाउँदा श्रीकृष्णको सो उपदेशामृतपानले अर्जुन फेरि समरोद्योगमा लागे, कर्मको प्रधानता स्वीकार गरेर ।’
वि.स. १९७५ सालमा साझा प्रकाशनमार्फत पहिलोपटक प्रकाशनमा आएको यो पुस्तकलाई वि.स. २०७८ चैतमा भुँडीपुराण प्रकाशनले पुनः प्रकाशनमा ल्याएको हो । ४३० पृष्ठमा फैलिएको यस पुस्तकको मूल्य ६ सय ९० रुपियाँ रहेको छ ।
२. बदलिएको कर्तव्य – गङ्गाराम लामिटारे
भुटानी मूलका नेपाली साहित्यकार गङ्गाराम लामिटारेको कथासङ्ग्रह हो, बदलिएको कर्तव्य । लामिटारेले आफू बाँचेको समय, भुक्त–भोगाइ, देखेका घटना र पात्रहरुलाई उभ्याएर कथा निर्माण गरेका छन् । भुटानीहरुको विस्थापनदेखि पुनःस्थापनासम्मका सवालहरु, बसाइँसराइले निम्त्याएका कठिनाइ, परिवर्तित समाजको मनोदशा, ह्रासोन्मुख सामाजिक आदर्श र कर्तव्यच्युत हुँदै गरेको नयाँ पुस्ताको चरित्र लामिटारेका कथाका प्रमुख विषयवस्तु हुन् ।
‘खासमा भुटानदेखि नेपालको शरणार्थी शिविर हुँदै तेस्रो मुलक विस्थापित भएका भुटानी समाजभित्रको समग्र भाव, विचार, चिन्तन, दर्शन, पीडा, व्यथा र समस्याहरुको प्रस्तुतिले कथाको भावाख्यानभित्र समेट्ने धेयमा यस सङ्ग्रहका कथाहरुको आयातन निक्कै तन्किएको छ ।’, भूमिकामा त्रिविका सहप्राध्यापक गङ्गाराम ढुङ्गेल लेख्छन्, ‘भाव गहनतामा डुबुल्की मार्दै कथाकारले मनोवैज्ञानिक गहिराइसमेत चुमेको पाइन्छ । यस सङ्ग्रहका प्रायः सबै कथाले भुटानी भूभागदेखि तेस्रो मुलुकको अर्थात सात समुद्रपारिको भूभागसम्मका भौगोलिक, सामाजिक र मनोवैज्ञानिक चरित्र उभ्याउँदा तत्तत् ठाउँको परिवेश सर्लक्क उतारिएको छ ।’
पुस्तकलाई साहित्य परिषद् भुटानले प्रकाशनमा ल्याएको हो । १ सय ४८ पृष्ठमा फैलिएको कथाकृतिको मूल्य ३ सय रुपियाँ रहेको छ ।
३. देशान – बखतबहादुर थापा
बखतबहादुर थापाकृत कोरोना महामारीलाई मूल विषय बनाएर लेखिएको पछिल्लो औपन्यासिक कृति हो, देशान । उपन्यासमा थापा कोरोना महामारीले निम्त्याएको मानवीय सङ्कटका पृष्ठभूमिमा अहिलेको युग नेपाली अवस्थाको कलात्मक चित्रण गर्न सफल देखिएका छन् ।
‘बखतबहादुर थापा लेख्नैलाई जन्मेका हुन् ।’, पुस्तकको भूमिकामा प्रा.डा. गोविन्दराज भट्टराई लेख्छन्, ‘… उनी अत्यन्त मौलिक चेतना र शक्तिका, कलाले तल्लोस्तरको जीवन–चित्र र सूक्ष्म चेतना देख्ने र त्यही लेख्ने समकालीन कलाकारका एक अगुवा हुन् । दुई वर्षदेखि महाव्याधि कोरोनाले मच्चाएको हाहाकार र आतङ्कको यो (देशान नामक उपन्यास) भन्दा हृदयस्पर्शी नेपाली संस्करण अन्यत्र आएको छैन होला । अत्यन्त निर्लज्ज, लुच्चा, ठग, दलाल र अपराधीहरुले सञ्चालित यो देशको समकालीन चित्र यसैमा देखिन्छ । गरीब, निमुखा र विवश नागरिकको यस्तो चित्रण अन्यत्र कतै पाइँदैन ।’
पुस्तकलाई ओरिएन्टल पब्लिकेसनले बजारमा ल्याएको हो । २ सय २२ पृष्ठमा फैलिएको उपन्यासको मूल्य ३ सय ५० रुपियाँ रहेको छ ।
४. समकालीन लघुकथा विवेचना – ममता मृदुल
४३ लघुकथाकारहरुको ४३ वटै लघुकथाहरुको सूक्ष्म समालोचना गरिएको सङ्ग्रह हो ममता मृदुलको ‘समकालीन लघुकथा विवेचना’ । पुस्तकमा मृदुलले नेपाली भाषाका चर्चित कथाकारहरुका उत्कृष्ट लघुकथाको कथानकसहित विभिन्न आयामहरुको चर्चा गरेकी छिन् ।
‘समयको अभावमा रुमलिएको खण्डहरजस्तो समयलाई मलिलो बारी बनाउन सजिलो छैन । घटना, दुर्घटना समेटेर लेखिएको संक्षिप्त रुपमा पनि पूर्ण कथा पाउन सकिन्छ यहाँ ।’, पुस्तमा ममता मृदुल लेख्छिन्, ‘सूक्ष्म दृष्टिकोणको लघुकथा लेखनमा महत्त्व रहेको हुन्छ । शैलीमा धेरै कुरा पर्छन्, व्यङ्ग्य शैली लघुकथामा रुचाइन्छ । शैली कथामा अभिव्यक्ति दिने माध्यम हो । यसले लघुकथालाई डोर्याएको हुन्छ । लघुकथाकारले प्रयोग गरेका बिम्ब, प्रतीक र सूक्ष्म विश्लेषणको लघुकथामा विशेष महत्त्व हुन्छ ।’
पुस्तकलाई रत्न सागर प्रकाशन प्रा.लि.ले प्रकाशनमा ल्याएको हो । १ सय ८८ पृष्ठमा फैलिएको समालोचना कृतिको मूल्य ३ सय ८० रुपियाँ रहेको छ ।
५. हाम्रो बाटो – म्यामरा राई
केही समयबाट जापान बसोबास गर्दै आएका म्यामराज राईको लघुकथाकृति हो, हाम्रो बाटो । श्रमलाई सम्मान गर्ने, मानवलाई सम्मान गर्ने, सहकार्यमा सक्रिय रहने, वाङ्मय सेवामा रमाउने स्वभावका म्यामराज राईले लघुकथाका माध्यमबाट नेपाली जनजीवनका बेथिति बढार्न चाहेका छन् । उनी समाजबाट सद्भाव, सहिष्णु व्यवहारको सपेक्षा पनि सँगसँगै गर्छन् ।
‘हाम्रो लघुकथा पाठशालाबाट आफ्नो परिचय प्रारम्भ गरेका नवोदित लघुकथाकार राईले थोरै समयमा आफ्नो उपस्थितिलाई प्रभावकारी बनाउने प्रयास गरेका छन् ।’, भूमिकामा ध्रुव मधिकर्मी लेख्छन्, ‘… उनका लघुकथाहरुले सामाजिक, शैक्षिक, ग्रामीण समाज, महामारी र राजनीतिक जीवनका विविध पक्ष सुन्दर ढङ्गले केलाउने प्रयत्न गरेको छ । उनका हाम्रो बाटो, पुरुष, किनारको मिहिनेत, पुन्टे, म्यानेजर, भाइटीका, सफलता, इच्छा, राष्ट्रियता, न्याय आदि लघुकथाहरु सम्भावनाका नमूना हुन् ।’
पुस्तकलाई अक्षरधाम प्रकाशन प्रा.लि., नेपालले प्रकाशनमा ल्याएको हो । १ सय १८ पृष्ठमा फैलिएको लघुकथाकृतिको मूल्य २ सय ६५ रहेको छ ।
६. आनन्दको भण्डारः सुखी जीवनका स्वर्णिम सूत्रहरु – दिपेन्द्र शाह
दिपेन्द्र शाहको सुखी जीवनका लागि उपयोगी सूत्रात्मक कृति हो, ‘आनन्दको भण्डारः सुखी जीवनका स्वर्णिम सूत्रहरु’ । शाहले पुस्तकमा सुखी जीवनका लागि आवश्यक ५४ वटा सूत्रहरु व्याख्यासहित प्रस्तुत गरेका छन् ।
‘जटिलताले खचाखच भरिएको यस समाजमा हामी आफ्नो चेतनालाई एक बिल्कुल स्वतन्त्र पन्छीजस्तै कसरी उन्मुक्त राख्न सक्छौँ, यो नै आनन्दको मार्गमा सबैभन्दा ठूलो चुनौति हो ।’, पुस्तकको भूमिकामा लेखिएको छ, ‘…यो एक आनन्दको रसले भरिएको कचौरा हो । तपाईँ जति–जति यस कचौराको खजानापान गर्नुहुन्छ, तपाईँमा त्यति–त्यति आनन्दको मात्रा बढ्दै जानेछ । तपाईँको सोच्ने तरिका विस्तारै–विस्तारै बद्लिँदै जानेछ । तपाईँभित्रको भड्काव विस्तारै–विस्तारै रोकिँदै जानेछ । तपाईँलाई चेतनाको एक यस्तो ठोस र वैज्ञानिक दृष्टि मिल्नेछ, जसलाई आधार बनाएर सही निर्णय लिन सक्षम बन्नु हुनेछ ।’
पुस्तकलाई भुँडीपुराण प्रकाशन गृहले बजारमा ल्याएको हो । १ सय ६४ पृष्ठमा फैलिएको कृतिको मूल्य २ सय ५० रुपियाँ रहेको छ ।
७. मौलामा बाँधिएको राँगो – नवीन अभिलाषी
फुटकर रुपमा कथाहरु लेख्ने नवीन अभिलाषी मुलतः कवि र पत्रकार हुन् । उनको नवीनतम कविताकृति हो, मौलामा बाँधिएको राँगो । सङ्ग्रहमा ‘शून्य सुरुवात’, ‘बुबा’, ‘ढुङ्गा’, ‘उदास अक्षर’, ‘चैत’, ‘यादहरुमा आमा’लगायत ४८ शीर्षकमा कविताहरु सङ्ग्रहित छन् ।
‘मान्छेद्वेषी व्यवस्थाले निमार्ण गरेको दुःख र शोकले गरिखाने वर्गलाई निःशब्द बाँच्नै दिएन ।’, पुस्तकको अन्तिम पृष्ठमा लेखिएको छ, ‘जसका कारण पृथ्वीको एउटा कुनामा सुक्सुकाइरहेको दारुण आन्दोलनको सबुत हो, मौलामा बाँधिएको राँगो । यसमा वर्तमान व्यवस्थाको पुछारबाट देखिने कुरुप मानवीय समवेदना, उपभोग्य प्रेमको मरण, खास एउटा वर्गमा देखिएको भयको कम्प र व्यवस्थाको असिनाले क्षतविक्षत बनाएको भुइाफूलहरुको कारुणिक उपस्थिति छ । समग्रमा मानिसलाई दुखाउने व्यवस्थाको नियोजित हत्याको परिकल्पना छ ।’
पुस्तकलाई बीएन पुस्तक संसारले प्रकाशनमा ल्याएको हो । १ सय ३० पृष्ठमा फैलिएको पुस्तकको मूल्य २ सय ५५ रुपियाँ रहेको छ ।
८. झोलुङ्गे पुलमा मेरो जीवन – मुकुन्दप्रसाद उपाध्याय
विभिन्न पद र परियोजनामा रहेर सरकारी सेवा गरेका मुकुन्दप्रसाद उपाध्ययको जीवनका अनेकन भोगाइहरुको सँगालो हो, झोलुङ्गे पुलमा मेरो जीवन’ । पेसाले इन्जिनियर उपाध्यायले नेपाल सरकारअन्तर्गत पहाडी क्षेत्रमा झोलुङ्गे पुल निमार्णमा धेरै काम गरेका छन् । उक्त कामको प्रतिबिम्ब बनेर यो कृति आएको छ ।
‘झोलुङ्गे पुलमा मेरो जीवनका संस्मरणहरु पढ्दा कतै इतिहास पढेजस्तो, कतै त्यतिबेलाको समाज बुझेजस्तो, संस्कार र संस्कृति थाहा पाएजस्तो अनुभव हुन्छ ।’, भूमिकामा श्रीओम श्रेष्ठ ‘रोदन’ लेख्छन्, ‘त्यतिबेलाको अप्ठ्यारा भौगोलिक अवस्थाको यात्राको रोचकता, गाउँगाउँमा हुने असुविधा, प्रशासनिक झन्झटका साथै गाह्रा–अप्ठ्यारा सन्दर्भहरुलाई पनि रोचक शैलीमा संस्मरण गरिएको छ ।’
१ सय ७२ पृष्ठमा फैलिएको कृतिको मूल्य ३ सय ५० रुपियाँ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।