समय समयमा कोसली भाषाका चर्चित कवि पद्मश्री पुरस्कार विजेता हलधर नागको बारेमा सामाजिक सञ्जालमा धेरै पोस्ट भाइरल भइरहेका हुन्छन् । अहिले पनि नागसँग सम्बन्धित एउटा पोस्ट भाइरल भइरहेको छ । पोष्टमा हलधर नागसँग पद्मश्री पुरस्कार लिन दिल्ली जाने पैसा नभएको उल्लेख छ । नागले सरकारलाई पत्र लेखेर आफ्नो अवार्ड हुलाकबाट पठाउन आग्रह गरेकाे कुरा उल्लेख छ ।
विगतमा पनि यस्ता दाबीसहितका उनीसँग सम्बन्धित पाेस्ट भाइरल हुने गरेका थिए । गत हप्ता भाइरल भएकाे समाचारलाई नेपालकै पहिलो साहित्यक पत्रिका साहित्यपोष्ट (ई) दैनिकले उक्त समाचार अप्रमाणिक भएको भनी प्रमाणसहित समाचार लेख्यो । हलदर नागबारे वास्तविक समाचार प्रकाशन भएपछि भने बजारमा नागबारे अनेक जिज्ञासा सुरू भएकाे छ ।
काे हुन् त नाग ?
हलधर नाग सम्बलपुरी (जसलाइ काेसल भाषा पनि भनिन्छ) का प्रख्यात कवि हुन् । उनलाई प्रेमपूर्वक लोककवि रत्न पनि भनिन्छ। नागको जन्म मार्च ३१, १९५० मा उडिसाको बरगढ जिल्लाको घेन्सको गरिब परिवारमा भएको थियो । उनी दस वर्षको हुँदा उनको बुबाको मृत्यु भयो । सानै उमेरमा बुबा बितेका कारण उनको काँधमा सिङ्गो पारिवारिक हेरचाहको
जिम्मेवारी आइपर्यो । सानैमा बुबा बितेको कारण उनले तीन कक्षापछि विद्यालय छोड्नुपर्यो । बाँकी उनले स्वअध्ययनमै आफ्नाे बुद्धि तिखारेका थिए ।
हलधर नागका पुर्खा बैदपाली गाउँका थिए । सन् १९४८ मा त्यो गाउँमा अचानक महामारी फैलियाे । केही दिनमा सयौंको ज्यान गयो । गाउँलाई मृत्युले वरपरबाट घेरेपछि भने आफ्नी श्रीमती गुरबारी नागलाई मृत्युबाट बचाउन कविका पिताजी भज नागले ८ घन्टा लामाे पैदल दूरीमा रहेकाे घेन्स भन्ने स्थानमा रहेकाे ससुराली पठाए । रातभरि हिँडेर गुरबरी घेन्स पुगिन् । सन् १९५० मा हलधर नागको जन्म त्यही घेन्समा रहेकाे मामाघरमा भएको थियो । नाग दस वर्षका हुँदा बुबाकाे मृत्यु त्यहीँ ससुरालीमा भयाे । त्यसकाे एक वर्षभित्रै उनकी आमाको पनि पक्षघातबाट निधन भयो । कलिलाे उमेरमा उनलाई अनाथको रूपमा एक्लै छोडियो त्यसैले उनको जीवन पूर्णरूपमा गरिब मामाघरमा बितेको थियो । यसरी उनकाे बाल्यकाल अति नै दारूण अवस्थामा बित्यो ।
विद्यालय शिक्षा नपाएर तेस्रो कक्षासम्म मात्र पढेको व्यक्ति कसरी आज चर्चित कवि बन्न पुगे र पद्मश्री पुरस्कार प्राप्त गर्न सके ? उनी बेला बेलामा भाइरल हुनुकाे पछाडि जम्मा यत्ति नै कारण छ । प्रतिभा व्यक्तिको जन्मजात गुण हो । कवि हलधरको प्रतिभालाई कुनै किताबी ज्ञानको आवश्यकता परेन । उनले जुन स्थानमा जसरी जीवन बाँचे, त्यसलाई नै गहिराे गरी कवितामा उतार्दै गए । बाहिरी अध्ययनले आफ्ना अनुभवकाे कसीमा ढाल्दै गए र त्यसलाई अक्षरहरूमा उतार्न थाले ।
आफ्ना जीवनबारे उनले भनेका छन्, ‘मेराे बाल्यकाल र किशाेरकाल अत्यन्त कष्ट वा भोकसँगको संघर्षमा थियो । मेराे आमाबाबुको मृत्युपछि मैले लामाे समयसम्म पेटभरि खाना खाएकाे सम्झना छैन । म कुल्हिया काण्ड खाएर मात्रै बाँचेका दिनहरू अहिले सम्झन्छु । यी जङ्गली बिरुवाका जरा हुन्, जसको स्वाद तितो हुन्छ । तिनीहरू यति तीतो र अखाद्य छन् कि जङ्गली बँदेल र भालुहरूले पनि त्यसलाई खानको लागि जमीन खन्दैनन् ।’
आमाबुवाकाे मृत्यृुपछि उनले मामाघर छाडे । जीवन चलाउन उनी नजिकैकाे सानाे गाउँमा रहेकाे होटलमा भाँडा माेल्न काममा लागे । जुठाे र फाेहाेर भाँडाकाे डंगुरमा पुरिएर काम गरिरहेको बेला घेन्स गाउँका निर्वाचित प्रमुख ब्रजमोहन साहुले उनलाई देखे । उनले आफ्नाे गाउँपालिकाकाे अधिनमा रहेकाे घेन्स हाई स्कूलको छात्रावासमा भान्छेका रूपमा काम गर्न बोलाए । हलधरले त्यहाँ मासिक ८ रूपैँया तलब पाउँथे । पाँच वर्षपछि उनको मासिक तलब ८ बाट बढेर १६ रूपैँया भयो । उनले १६ वर्षसम्म उक्त विद्यालयमा काम गरिरहे । स्कुल छोड्नुभन्दा अघि उनको तलब ४० रूपैँया पुगेको थियो । उनी याे पैसाले आफ्नाे जीवन सुखमय नै भएकाे बताउँछन् । उनी भन्छन्, पैसा ठूलाे कुरा हाेइन, सन्तुष्टि ठूलाे कुरा हाे ।
स्कुल छोडेको केही वर्षपछि उनले बैंकबाट एक हजार रुपैयाँ ऋण लिएर विद्यालय अगाडि प्रतिलिपि (फोटोकपी), किताब, कलम, पेन्सिलको सानो पसल खोले । यसबाट उनले धेरै वर्षसम्म आफ्नो जीविकोपार्जन गरिरहे । यस अवधिमा उनले केही न केही लेखिरहे र लेखनप्रतिको आफ्नो जोशलाई कहिल्यै मर्न दिएनन् । उनकाे लेख्ने बानी स्कुलकाे भान्साकाेठादेखि नै सुरू भएकाे थियाे । लेख्ने लत विद्यालयका केटाकेटीले लेखेकाे देखेर सुरू भएकाे थियाे ।
सन् १९९० मा हलधर नागले आफ्नो पहिलो कविता ‘धोधो बर्गाजी’ (पुरानो बन्यान) नामक पहिलो कविता छापाए । त्याे कविता स्थानीय पत्रिकाले प्रकाशित गरेको थियो । याे कविताले निकै चर्चा पायाे । त्यसपछि स्थानीय पत्रिकाहरूले हलधरका कविताहरू खाेजीखाेजी छाप्न थाले । हलधरको कवितालाई मानिसहरूले यति मन पराए कि उनलाई “लोक कविरत्न” भन्न थाले । त्यसपछि उनको लेखनको प्रक्रिया झन् तीव्र रूपमा सुरु भयो । उनको लेखन यात्रा आजसम्म जारी छ ।
कवि हलधर नाग विद्यावारिधि वा उच्च ततकाे शिक्षा लिएका व्यक्ति हाेइनन् तर उनले जे गरे, त्यो शिक्षितले पनि गर्न सक्दैनन् । उनले ज्ञानको नयाँ परिभाषा विकसित गरेका छन् । आफूभित्र लुकेको जन्मजात ज्ञानलाई उनले आफ्नो लेखनबाट उजागर गरे । उनले अहिलेसम्म सयाैँ कविता र २० वटा महाकाव्यहरू लेखेका छन् । उनका विचारमा ज्ञान त्यो होइन, जो किताबको पानामा भेटिन्छ, वास्तविक ज्ञान त त्यो हो जुन हामीभित्र छ र त्यो ज्ञानलाई प्रकट गर्न आवश्यक छ ।
हलधर नाग निकै साधारण जीवन बिताउँछन् । उनको विचार जति उच्च छ उनको जीवन पनि उत्तिकै सरल छ । उनले निकै सादा जीवन बिताइरहेका छन् । उनी चप्पल किन्न नसक्ने व्यक्ति हाेइनन् तर उनले खुट्टामा चप्पल लगाउँदैनन् । उनी सेतो धोती र कुर्तामा रमाउँछन् । उनी आज सबैका लागि प्रेरणाको स्रोतभन्दा कम छैनन् । समय जस्तोसुकै किन नहोस्, आफ्नो भित्री प्रतिभालाई चिन्न सक्नु भयो भने एक दिन अवश्य प्रसिद्धिको चुचुरोमा पुग्नुहुनेछ । उनी समाजमा लुकेका विकृतिलाई आफ्नो लेखनबाट हटाएर राम्रो समाज निर्माण गर्न चाहन्छन् ।
२२ वर्षको उमेरमा हलधरले पार्वती नामक युवतीसँग विवाह गरे । पार्वती लामो समयदेखि बिरामी थिइन् र लामो समयसम्मको बिमारीकै कारण उनले सन्तान जन्माउन सकिनन् । आफूले सन्तान जन्माउन नसकेजछि उनले हलधरलाई अर्को केटीसँग विवाह गर्न बाध्य पारिन्। हलधर नागको विवाहको लागि उनी आफैंले मौलाभर (अभिभावकले बाेक्ने भाँडाे) बोकेकी थिइन् । यो एक उडिया अनुष्ठान हो, जहाँ विवाह समारोहमा दुलहाको मामाले काँधमा विभिन्न वस्तुहरू बोक्नुपर्छ ।
सन् १९७६ मा हलधर नागको दोस्रो विवाह सफलतापूर्वक सम्पन्न भयो । विवाहपछि श्रीमान् र साैताकाे जीवन सुखमय हाेस् भनेर पार्वती स्वेच्छाले आफ्नो माइती गएकी थिइन् । हलधरले मालतीसँग नयाँ जीवन सुरु गरे। अर्को वर्ष नाग दम्पतिले एउटी छोरी जन्माए ।
हलदर नाग दलित परिवारमा जन्मेका थिए । छुवाछुतको तत्कालीन कानुनले उनी हुनसम्मको पीडित भएका थिए । उनको अचियन शीर्षकको कवितामा छुवाछुतको सशक्त भाव झल्किन्छ । कवितामा रामायणको एक श्रृङ्खलालाई विस्तृतीकरण गरिएकाे छ । त्यहाँ शबरी नामक वनवासीले छोएको फल भगवान रामले कसरी ग्रहण गरे तर एक्काइसौं शताब्दीमा आइपुग्दा पनि हामी हिन्दूहरू तल्लो जातका मानिसहरूको घरमा पस्दैनौं । याे कविता निकै चर्चित भयाे ।
हिन्दू धार्मिक ग्रन्थहरूमा आधारित उनका सतिया बिहा, तारा मन्दोदरी, करम सानी, आदि धेरै कृतिहरू उच्चकाेटिका मानिन्छन् । धार्मिक ग्रन्थहरूबाहेक उनले सन्त कवि भीमा भोई, गंगाधर मेहर वीर सुरेन्द्र साई आदिमा पनि कविता रचना गरे ।
नागलाई भारतका प्रसिद्ध कवि गंगाधर मेहरसँग तुलना गरिन्छ । गंगाधर मेहर उन्नाइसौं शताब्दिका चर्चित भारतीय कवि हुन् ।
बीबीसीले नागको जीवन र कामको बारेमा डकुमेन्ट्री फिल्म पनि बनाएको छ । काव्यञ्जली, नागका चुनिएका कविताको अंग्रेजी अनुवादको सङ्ग्रह २ अक्टोबर २०१६ मा सार्वजनिक भएको थियो ।ओडिशा र छत्तिसगढमा लाखौं अनुयायीहरूसहित, कोही-कोहीले नागलाई मसिहाको रूपमा सम्मान पनि गर्छन् । उनको कोसली कविता सुन्न उनीकहाँ ठूलो संख्यामा मानिसहरू भेला हुने चलन आजसम्म पनि छ । उनले सुरुमा कोसली लोककथा पनि लेखेका थिए । सन् १९९० को दशकमा उनले कोसली भाषामा कविता लेख्न थाले । सयौं कविहरूले पश्चिमी उडिसामा एक बलियो “हलधारधारा” लाई बढावा दिन उनको शैली र प्रविधिको अनुकरण गर्छन् । कोसली भाषालाई संविधानको आठौं अनुसूचीमा समावेश गर्नका लागि सम्बलपुरी–कोशली भाषा आन्दोलनमा उनको स्थान अग्रपंक्तिमा रहेको छ । उनका साहित्यिक कार्यहरूमा प्रायः आफ्नै अधिकारमा लडाकु, मानव मर्यादाको रक्षा गरेर सामाजिक सुधार समावेश गरेका छन् । हिन्दुका अनुसार सम्बलपुरी शैलीमा उनको साहित्यिक काम मन पराउने मानिसहरूबाट उनी धेरै प्रोत्साहित भएका थिए । यसरी सबै मानिसहरूबाट प्रोत्साहन पाएपछि उनले भनेका थिए, ‘यो मेरो लागि ठूलो सम्मानको कुरा थियो र यो घटनाले मलाई थप लेख्न प्रेरित गरेको छ । त्यसपछि उनी गाउँ–गाउँमा गएर जनतालाई कविता सुनाउन थालेँ । यस क्रममा जनताबाट पनि सकारात्मक प्रतिक्रिया पाएको छु । म आजसम्म लेखिएका सबै कुरा सम्झन्छु । सम्झन सक्छु । हलधर नागको सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि उनले २० वटा महाकाव्यहरू बाहेक उनले अहिलेसम्म लेखेका सबै कविताहरू सम्झन्छन् । उनले एकपटक लेखेको कविता उनले कहिल्यै बिर्सँदैनन् ।
नाग भन्छन्– ‘कोसली भाषा’मा लेखिएका कविताप्रति युवापुस्ताले धेरै चासो राखेकोमा म खुसी छु । मेरो विचारमा कवितालाई वास्तविक जीवनसँग जोड्नु र त्यसमा सामाजिक सन्देश राख्नु अति आवश्यक छ । ओडिशामा ‘लोककवि रत्न’ को रूपमा लोकप्रिय, हलधर नागका कविताहरूको विषयवस्तु प्रायः प्रकृति, समाज, पौराणिक कथा र धर्ममा आधारित छन्। उनी आफ्नो लेखनबाट समाज सुधारका लागि पनि तयार छन् । उनका लेखहरूको संकलन ‘हलधर ग्रन्थवाली-२’ लाई पनि ओडिशाको ‘सम्बलपुर युनिभर्सिटी’ मा पाठ्यक्रमको हिस्सा बनाइएको छ । उनका कवितालाई अहिले पाँच डाक्टर विद्वानहरूले अनुसन्धानको विषयको रूपमा लिने गरेका छन् । सम्बलपुर विश्वविद्यालयले पनि हल्दार ग्रन्थावली-२ नामक पुस्तकमा उनका कृतिहरू संकलन गरेको छ । सन् २०१६ मा, उनले सम्बलपुरी भाषामा गरेको योगदानको लागि भारतका १३ औं राष्ट्रपति प्रणव मुखर्जीबाट भारतको चौथो सर्वोच्च नागरिक पुरस्कार पद्मश्री पनि प्राप्त गरे ।
राष्ट्रपति प्रणव मुखर्जीबाट ‘पद्मश्री पुरस्कार’ लिन उनी नाङ्गो खुट्टा आएका थिए । कारण खाली खुट्टा हिँड्नु नै उनकाे ब्राण्ड हाे । त्याे बेला उनको आङमा एउता सेतो धोती, भेस्ट र गम्छा थियो । उनी नाङ्गै खुट्टा पुरस्कार थाप्न आएको देखेर, त्यहाँ उपस्थित सबैको आँखा रसाको थियो । यसै क्रममा यो घटना देशका प्रमुख टि.भी. च्यानलहरूमा एउटा सक्षम व्यक्तिले यस्तो दयनीय जीवन जिउन किन बाध्य छ भन्ने विषयमा बहस पनि चलेको थियो । उनले ६६ वर्षको उमेरमा पद्मश्री पुरस्कार प्राप्त गरेका थिए ।
उनी अहिले ७२ वर्षका भएका छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।