वर्ष ०७८ को ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’ भवानी खतिवडाको पुस्तक ‘घामभन्दा पहिले’लाई दिइने निर्णय गरिएको छ । साहित्यपोस्टको सम्पादन मण्डल तथा स्तम्भकारहरूकाे बैठकले निर्णायकहरूबाट प्राप्त अङ्कलाई अनुमोदन गर्दै गैर-काव्यकृतिलाई दिइने ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार ०७८’ नियात्राकृति ‘घामभन्दा पहिले’लाई दिने निर्णय गरेकाे हो । पुरस्कृति कृतिको लेखकले ५० हजार रुपैयाँ नगद एवं ताम्रपत्रको सम्मान पत्र प्राप्त गर्नेछन् ।

साहित्यपोस्टले पुस्तक प्रकाशन गरेर साहित्यमा प्रवेश गरेका डेब्यु लेखकहरूलाई हरेक वर्ष ५०–५० हजारका दरले पुरस्कार दिँदै आएको छ । अघिलो वर्ष यो पुरस्कार केदार वशिष्ठकृत ‘नेपाल विद्या’लाई प्रदान गरिएको थियो । यसै वर्षबाट दिन थालिएको ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’को घोषणा भने हिजै (असार ३० गते, बिहीबार) भइसकेको छ ।

२०७८ वर्षभरि प्रकाशनमा आएका २९ डेब्यु गैर-काव्यकृति (आख्यान र गैरआख्यान) हरू पुरस्कारका लागि प्राप्त भएका थिए । वर्षभरि छापिएका ती गैर-काव्यकृतिहरूबाट साहित्यपोस्टसँग आबद्ध पत्रकार, विधागत सम्पादक, साहित्यकार एवं शुभेच्छुकहरू गरी १२ जनाको समूहले ‘पहिलो एघार पुस्तक‘ छानेका थिए ।

यसरी छानिएका डेब्यु गैर-काव्यकृतिहरूमा लोकराज भट्टको उपन्यास “छाइल”, मीरा गोतामेको उपन्यास “निती”, दिलिप बान्तावाको कथासङ्ग्रह “ताल्चा”, सपना आचार्यको उपन्यास “मलिलो माटो”, विश्व कुइकेलको कथासङ्ग्रह “सुगन्धपुर”, उदय अधिकारको अन्तर्वार्ता सँगालो “प्रश्न”, भवानी खतिवडाको नियात्रा “घामभन्दा पहिले”, प्रा.डा. अजय रिसलाको निबन्धसङ्ग्रह “गीतामा मनका कुरा”, सत्या अधिकारीको लघुकथासङ्ग्रह “उमङ्ग”, कृष्णमुरारी ढुङ्गेलको यात्रावृत्तान्त “हाहाहोला” र झम्क तिमल्सिनाको उपन्यास “अन्धकूप” रहेका थियो ।

‘हामीलाई प्राप्त नयाँ लेखकका गैरकाव्य विधाका ती पुस्तकहरू कमजोर थिएनन् । तर त्यसमध्ये यो वर्षका उपलब्धिका रूपमा उत्कृष्ट पाँच गैरकाव्यकृति छनौट गर्यौँ ।’ साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइराला भन्छन्, ‘ती पाँचमध्ये एउटा पुस्तक छान्नुपर्ने हाम्रो बाध्यता थियो । निर्णायकहरूको अन्तिम रोजाइमा ‘घामभन्दा पहिले’ परेपछि हामीले उक्त नियात्रासङ्ग्रहका सर्जक भवानी खतिवडालाई पुरस्कृत गर्ने निर्णय गरेका हौँ ।’

उत्कृष्ट पाँच डेब्यु गैर-काव्यकृतिका रूपमा दिलिप बान्तावाको कथासङ्ग्रह ‘ताल्चा’, सपना आचार्यको उपन्यास ‘मलिलो माटो’, उदय अधिकारीको अन्तर्वार्ता सँगालो ‘प्रश्न’, भवानी खतिवडाको नियात्राकृति ‘घामभन्दा पहिले’ र लेखराज भट्टको उपन्यास ‘छाइल’ छनोट भएका थिए ।

‘मूल्याङ्कनका लागि मलाई उपलब्ध गराइएका कृतिहरु नयाँ लेखकका भए पनि कतिपय अनुभवी र परिपक्क मानिएका सर्जकका कृतिभन्दा न्यून क्षमताका थिएनन् ।’, निर्णायकमध्येका एक, केदार वाशिष्ठले साहित्यपोस्टलाई बताए, ‘यिनले नेपाली साहित्यमा नयाँ पुस्ताको सम्भावना सशक्त रहेको देखाएका छन् । यस्तै नयाँ पुस्ताका नयाँ लेखक र नयाँ कृतिलाई पुरस्कृत गरेर हौसला प्रदान गर्ने साहित्यपोस्टको कार्य सह्रानीय छ ।’

भवानी खतिवडाले पुस्तकमा मुक्तिनाथ-यात्राका चार, हलेसी-यात्राको एक र रारा-यात्राका दस नियात्राहरू ‘घामभन्दा पहिले’मा सङ्ग्रहित गरेकी छिन् । नेपाली छन्द कवितामा आफूले अब्बल साबित गरिसकेकी खतिवडाले “घामभन्दा पहिले”बाट नियात्रा लेखनमा पनि आफूलाई अब्बल प्रस्तुत गरेकी छिन् । नियात्रा कृतिमा पनि उनको काव्यिक व्यक्तित्व झुल्किएको छ, जसले कृतिलाई थप पठनीय बनाएको छ ।

केही समयअघि पहिलाे सूचीमा पर्दा भवानीसँग लिइएकाे अन्तरवार्तामा नियात्राकार खतिवडाले पुरस्कार प्राप्त गरेमा ‘मेधावी प्रतिभा पुरस्कार’ स्थापना गर्ने बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘यस वर्ष म आफूले अध्ययन गरेको उदयपुरको आधारभूत विद्यालयमा अक्षयकोषमार्फत् जेहेन्दार विद्यार्थीका लागि एक “मेधावी प्रतिभा पुरस्कार” स्थापना गर्ने योजना बनाएकी छु । ‘घामभन्दा पहिले’ले पुरस्कार पायो भने त्यो आर्थिक राशिले यही अक्षयकोष निर्माणमा प्रयोग गर्ने विचारमा छु ।’ पुस्तकलाई शिखा बुक्सले प्रकाशनमा ल्याएको हो ।

निजामति सेवामा रहेकी खतिवडा कविता वाचन र लेखनमा पनि अब्बल छिन् । उनकाे दाेस्राे नियात्रा संग्रह र पहिलाे कविता संग्रह पनि तयारी अवस्थामा रहेकाे बुझिएकाे छ ।

‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’को सौजन्य चर्चित साहित्यकार पारिजातका सहयोगी उत्तमप्रसाद पन्तले गर्नुभएको हो । पन्त आफैँ खारिएका लेखक हुनुहुन्छ । उहाँले लामो समय राणाकालमा जलसमाधि लिएकी क्रान्तिकारी योगी योगमायाका विषयमा अनुसन्धान गर्नुभएको थियो ।

‘राम्रो कृतिलाई पुरस्कृत गर्न पाउँदा मलाई अत्यन्तै हर्ष लागेको छ ।’, पुरस्कार घोषणपछि पन्तले साहित्यपोस्टसँग भन्नुभयो, ‘आमागी वर्षहरूमा यस्तै डेब्यु लेखकका राम्रा कृतिहरूलाई पुरस्कृत गर्दै प्रोत्साहन गर्न पाइयोस् भन्ने मेरो इच्छा छ ।’

भदौको पहिला साता, अनुकूल समय मिलाएर एक समारोहको आयोजना गरी ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’ र ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’ प्राप्त कृतिका दुबै स्रष्टालाई पुरस्कार हस्तान्तर गरिने साहित्यपोस्टका संयोजक कृष्ण ढुङ्गेलले जनाएका छन् ।

पहिलो पुस्तक लेखेर नेपाली भाषा साहित्यमा औपचारिक पाइला चालेका लेखकहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले वि.स. २०७७ बाट सुरु भएको ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’मा दोस्रो वर्षबाटै ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’ पनि थपिएको हो । ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’ डेब्यु गैर-काव्यकृतिलाई प्रदान गरिन्छ भने ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’ डेब्यु काव्यकृतिलाई दिइन्छ । दुबै पुरस्कारको नगद राशि ५० हजार नेपाली रूपियाँ रहेको छ ।