वर्ष २०७८ को ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’ शान्ति प्रियवन्दनाको कवितासङ्ग्रह ‘जिल खाइरहेको एक्काइसौँ शताब्दी’लाई दिइने निर्णय भएको छ । साहित्यपोस्टको सम्पादन मण्डल तथा स्तम्भकारहरू बैठकले निर्णायकहरूबाट प्राप्त अङ्कलाई अनुमोदन गर्दै ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार २०७८’ कवितासङ्ग्रह ‘जिल खाइरहेको एक्काइसौँ शताब्दी’लाई दिने निर्णय गरेको हो ।
साहित्यपाेस्टले पुस्कक प्रकाशन गरेर साहित्यमा प्रवेश गरेका डेब्यु लेखकहरूलाई हरेक वर्ष ५०–५० हजारका दरले पुरस्कार दिँदै आएकाे छ ।
२०७८ वर्षभरि प्रकाशनमा आएका २४ डेब्यु काव्यकृतिहरू पुरस्कारका लागि प्राप्त भएका थिए । वर्षभरि छापिएका ती काव्यकृतिहरूबाट साहित्यपोस्टसँग आबद्ध पत्रकार, विधागत सम्पादक, साहित्यकार एवं शुभेच्छुकहरू गरी १२ जनाको समूहले ‘पहिलो नौ पुस्तक‘ छानेका थिए ।
वर्षका उत्कृष्ट नाै डेब्यु काव्यकृतिहरूमा रोशन तिमिल्सिनाकाे कविताकृति “चिरिएका पैताला”, शरद पोखरेलको कविताकृति “मरूभूमिका डुङ्गा”, पेशलकुमार लुइटेलको कविताकृति “पोल्टाभित्र डिही”, केवल बिनाबीको कविताकृति “यादहरूको सङ्ग्रहालय”, हरिमाया अधिकारीको गजलकृति “छोपिएको भाग्यरेखा”, शान्ति प्रियवन्दनाको कविताकृति “जिल खाइरहेको एक्काइसौँ शताब्दी”, डा. वीरेन्द्र केसीकाे कविताकृति “आमाको काखमा दुखेको देश”, अजित उत्सवको कविताकृति “आकाशगङ्गाको किनार” र शशी भट्टराई श्रेष्ठको “निर्मल तलाउमा तरङ्ग” पर्न सफल भएका थिए ।
‘हामीलाई प्राप्त नयाँ लेखकका काव्य विधाका ती पुस्तकहरू आफैँमा कमजोर थिएनन् । तर त्यसमध्ये यो वर्षका उपलब्धिका रूपमा उत्कृष्ट चार काव्यकृति छनौट गर्यौँ ।’ साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइराला भन्छन्, ‘ती चारमध्ये एउटा पुस्तक छान्नुपर्ने हाम्रो बाध्यता थियो । निर्णायकहरूको अन्तिम रोजाइमा जिल खाइरहकी एक्काइसौँ शताब्दी परेपछि हामीले उक्त कवितासङ्ग्रहका सर्जक शान्ति प्रियवन्दनालाई पुरस्कृत गर्ने निर्णय गरेका हौँ ।’
‘उत्कृष्ट चार डेब्यु काव्यकृति‘का रूपमा रोशन तिमिल्सिनाको ‘चिरिएका पैताला’, शान्ति प्रियवन्दनाको ‘जिल खाइरहेको एक्कइसौँ शताब्दी’, पेशलकुमार लुइटेलको छन्द कविताकृति ‘पोल्टाभित्र डिही’ र अजित उत्सवको ‘आकाशगङ्गाको किनार’ छनोट भएका थिए ।
दुई दशकदेखि कविता लेख्दै आएकी शान्ति प्रियवन्दनाको कवितासङ्ग्रह ‘जिल खाइरहेको एक्काइसौं शताब्दी’भित्रका कविताहरूमा प्रशस्त विविधता पाइन्छ । निजी भावनाका अभिव्यक्तिदेखि राष्ट्रिय राजनीति अनि गरिखाने वर्गको मुक्तिको कामना उनका कविताका विषय बनेका छन् । सङ्ग्रहित अधिकांश कविता सरल भाषा र छोटा आकारमा छन् ।
कविताबाहेक निबन्ध, गजल, मुक्तक र अखबारीय लेखनमा समेत सक्रिय रहेकी कवि प्रियवन्दना प्रगतिशील लेखक सङ्घ, मकवानपुरको निवर्तमान अध्यक्षसमेत हुन् । पुस्तकलाई रत्न पुस्तक भण्डारले प्रकाशनमा ल्याएको हो ।
पुरस्कारको प्रायोजन लोकप्रिय गीतकार एवं कवि उत्तम भौकाजीले गर्नुभएको छ । शिक्षा र स्वास्थमा व्यवसायिक प्रगति गर्नुभएका कवि भौकाजीका दर्जनौँ गीतहरू लोकप्रिय छन् । पुरस्कार घोषणापछि भौकाजीले साहित्योस्टसँग भन्नुभयो, ‘नवीन कार्यमा साहित्यपोस्टसँगको सहकार्य सार्थक बनेको छ । राम्रो कविताकृतिलाई आफ्नो नामको पुरस्कार अर्पण गर्न पाउँदा अत्यन्तै हर्ष पनि लागेको छ । आमागी वर्षहरूमा पनि साहित्यपोस्टले यस्तै राम्रा काव्यकृति र सम्भावना बोकेका सर्जकलाई पुरस्कृत र प्रोत्साहित गर्दै जाने कुरामा आशावादी छु ।’
पहिलो पुस्तक लेखेर नेपाली भाषा साहित्यमा औपचारिक पाइला चालेका लेखकहरूलाई प्रोत्साहन गर्ने उद्धेश्यले वि.स. २०७७ बाट सुरु भएको ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’मा दोस्रो वर्षबाटै ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’ पनि थपिएको हो । ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’ डेब्यु गैर-काव्यकृतिलाई प्रदान गरिन्छ भने ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’ डेब्यु काव्यकृतिलाई दिइन्छ । दुबै पुरस्कारको नगद राशि ५० हजार नेपाली रूपियाँ रहेको छ ।
भदौको पहिला साता, अनुकूल समय मिलाएर एक समारोहको आयोजना गरी पुरस्कृति कृतिका स्रष्टालाई पुरस्कार हस्तान्तर गरिने साहित्यपोस्टका संयोजक कृष्ण ढुङ्गेलले जनाएका छन् । साथै, ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार २०७८’काे घोषणा भाेलि अर्थात् शुक्रबार साँझ गरिनेसमेत उनले जनाएका छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।