दोस्रो विश्वयुद्धको अन्त्यपछि हिटलरको यातना शिविरमा अमानवीय तरिकाले हत्या गरिएका सर्वसाधारणका सरसामग्री खोज्ने, हत्या नभएकालाई उद्धार गर्ने क्रममा शिक्षकहरूलाई सम्बोधन गरिएको एउटा पत्र फेला परेको थियो। सो पत्र सार्वजनिक भएपछि पढ्नेहरू गम्भीर बन्न पुगेका थिए। नेपाली भाषामा पहिलो पटक हामीले सो सन्देश यहाँ अनुवाद गरी पस्केका छौँ। यसको अनुवाद साहित्यकार तथा प्राध्यापक एलबी क्षेत्रीले गर्नु भएको होः

क्याम्पमा जीवित केही व्यक्ति

प्रिय शिक्षक,
म यातना शिविरबाट बाँचेको एउटा मान्छे हुँ। यस शिविरमा मेरो आँखाले जे देख्यो, त्यो कसैले देख्न नपरोस्।
मैले देखेँः विद्वान इन्जिनियरहरूद्वारा बनाइएका ग्यास च्याम्बरहरू,
मैले देखेँः शिक्षित चिकित्सकहरूद्वारा बच्चाहरुलाई गराइएको विषपान,
मैले देखेँः प्रशिक्षित नर्सहरूद्वारा गरिएको शिशु हत्या,
मैले देखेँः हाईस्कुल र कलेज स्नातकहरूद्वारा महिला र बालबालिकाहरूलाई गोली हानी मारेको र जलाइएको
मैले आफ्नै आँखाले यी अविश्वसनीय कृत्य देखेँ।
यसर्थ, अहिले शिक्षाका नाममा जेजस्ता पढाइएको छ, त्यस्तो शिक्षाबारे म सशंकित छु कि वास्तवमा हामीले दिइरहेको शिक्षा साँच्चिकै उम्दा छ त?
त्यसैले मेरो अनुरोध छ: आफ्ना सन्तानलाई डाक्टर, इन्जिनियर, नर्स होइन, मानव बन्न मद्दत गर्नुस्।
तपाईंको प्रयासले कहिले पनि विद्वान राक्षस, कुशल मनोरोगी, शिक्षित निरक्षरको उत्पादन नहोस्।
पढ्नु, लेख्नु, अंक गणित जान्नु त्यो बेला मात्र महत्त्वपूर्ण हुन्छ, जब त्यसले हाम्रा ससाना बालबालिकाहरूलाई बढी भन्दा बढी मानव बन्न मद्दत गर्छन्।