तपाईंले बेबी हल्दारको नाम सुन्नु भएको होला । हुन पनि उनको जस्तो प्रेरणादायी कथा कसले पो थाहा नपाएको होला, त्यो पनि लेखन र पठनमा रूचि हुनेहरूलाई ।
फेरि पनि यहाँ एक पटक दोहोर्याउनै परेको छ । किन भने, यो जति पटक पढे पनि पढिरहूँ लाग्ने कथा छ ।
अच्छा त, हामी यिनको कहानी शुरूदेखि नै कहौँ क्यार !
पश्चिम बंगालको दुर्गापुरमा जन्मिएकी बेबीले जिन्दगीमा बाल्यकालमा नै हादसा भोग्नु पर्यो । चार वर्षकी हुँदा उनकी माताजीको निधन भयो । १२ वर्षको उमेरमा उनको बिहे भयो । र, १२ वर्षीया बेबी सुहागरातका लागि तयार हुनु पर्यो । उमेरमा जवान लोग्नेले उनलाई विवाहको पहिलो दिन बलात्कार गर्यो ।
२५ वर्षको उमेरमा अचानक बेबीलाई लाग्यो, यत्तिको नरक लोग्नेसँग भोग्नुभन्दा बरू एक्लै भोग्छु । त्यसपछि आफ्ना दुई सन्तान लिएर उनी लोग्नेको घरबाट भागिन् । रेलका लागि तिर्नुपर्ने पैसा नभएकाले उनी रेलको पाइखानामा यात्रा गरिन् । उनी कहाँ जाउँली, कता जाउँली भनेर सोचेकी थिइनन् । मात्र उनी दुर्गापुरबाट भाग्नु थियो र पुगिन्, दिल्ली ।
दुई सन्तान लिएर दिल्ली आएपछि दुई चार दिन ठक्कर खाएपछि उनी एउटा घर पुगिन् । यो एक जना मानव विज्ञान प्राध्यापनबाट रिटायर्ड भइसकेका प्राध्यापकको घर थियो । घरमूली थिए, प्रबोध कुमार । प्रबोध नजिक पुगेपछि उनले रूँदै आफू मिहिनेतले काम गरी खाने भएकाले कुनै काम दिन आग्रह गरिन् ।
एउटी मामुली आइमाईमा के देखे कुन्नी यी प्रबोधले ! हुन त उनी महान् लेखक प्रेमचन्दका नाति थिए, केही अवश्य देखेको हुनुपर्छ । उनले यी अबलालाई काम दिए ।
प्रबोधकुमारको घर सरसफाई गर्ने बेबीलाई त्यो घरभरि किताबका चाङ देख्दा रूमानी कल्पनामा हराउने गर्थिन्, यी सारा किताब पढिसक्न पाए, कति गज्जब हुन्थ्यो होला । एक दिन बेबीले बाङ्लाभाषाका किताबको चाङ नै देखिन् । त्यो देखेर उनी बडो खुसी भइन् र घरको काम छाडेर उनी किताब पढ्न थालिन् । उनले पढ्न थालेको किताब उनलाई यति मन पर्यो कि उनले कुनै नानीलाई काखी लिएझैँ च्याप्प पारिन् । प्रबोधले त्यो किताबलाई च्यापेको देखेर सोधे, ‘तिमीलाई लेखपढमा रूचि छ ?’
‘छ, मैले गाउँमा हुँदा ७ कक्षासम्म पढेकी थिएँ तर थप पढ्न पाइनँ,’ डराउँदै बेबीले भनिन् ।
‘अहिलेलाई तिमीले अरू किताब होइन, यो पढ्नुपर्छ,’ प्रबोधले बेबीलाई तसलिमा नसरिनका किताबहरूको चाङ देखाउँदै भने, ‘फुर्सद पाउनेबित्तिकै यी किताब पढ । पढिसकेपछि आफ्नो मनमा लागेको कुरा लेख ।’
बेबीले आफूले पढेका कुराहरू लेख्न थालेपछि रमाइलो लाग्न थाल्यो । उनलाई पढ्न भन्दा लेख्न सजिलो लाग्यो । स्कुलबाट निस्केका दिनदेखि उनले कलम समातेकी थिइनन् तर लेख्न थालेपछि उनमा यति ऊर्जा आयो कि उनले कयौँ दिनसम्म लेखिरहिन् ।
डायरी भरिएपछि प्रबोधलाई पढ्न दिइन्, बेबीले । प्रबोधले पनि चाख लिएर डायरी पढ्न थाले । चासोपूर्वक बेबीले प्रबोधलाई बेलाबेलामा चोर नजरले हेरिरहन्थिन् ।
पढ्दै गर्दा प्रबोधकुमारका आँखामा आँशु थिए । बाङ्लाभाषामा लेखिएका ती डायरीका प्रत्येक अक्षरलाई उनले हिन्दीमा अनुवाद गरे । त्यसपछि प्रबोधले त्यो अनुवाद आफ्ना साथीहरू र परिचित साहित्यकारहरूलाई पढ्न दिए । पढ्नेहरूले पनि लेखनीको प्रशंसा नै गरे ।
प्रबोधले किताब प्रकाशकलाई छाप्न दिए र पहिलो पटक आफ्नो नाममा किताब निस्केको देख्दा निकैबेरसम्म बेबी रोइरहिन् । उनलाई पनि आफूले यति राम्रो लेखेकी हुँली भन्ने विश्वासै लागेन ।
सन् २००२ मा उनको प्रथम कृति आलो आंधारी बाङ्लाभाषामा बजारमा आयो । यसलाई अङ्ग्रेजी अनुवाद पनि गरियो । यतिबेला साहित्य संसारमा बेबी हल्दारलाई कसले पो नचिन्ला !
उनको प्रथम कृति आलो आंधारी २४ भाषामा अनुदित भइसकेका छन् । कयौँ देशका साहित्य महोत्सवमा भाग पनि लिइसकेकी छन् । २००२ यता उनका चार पुस्तक निस्किसकेका छन् ।
उनी चर्चित साहित्यकार त हुन् नै, घरेलु नोकरका रूपमा अहिले पनि उनी काम गरिरहेकी देखिन्छिन् । उनलाई धेरैले अचेल सोध्छन्, ‘तपाईं चर्चित लेखिका भएर पनि किन घरेलु नोकरका रूपमा काम गरिरहनु भएको ?’
खासमा उनी अझै पनि प्रबोधको घर सफा गरिरहेकी भेटिन्छिन् । उनले सो प्रश्नको जवाफमा भनिन्, ‘जसले मलाई काम दिनुभयो, लेख्न प्रेरित गर्नुभयो, उहाँलाई छाडेर म जान सक्दिनँ ।’
बेबीले लेखनीमार्फत आफ्नो दोस्रो जन्म भएको मान्छिन् । र, यो दोस्रो जन्मले उनको सपना पूरा गर्लाझैँ लाग्छ ।
उनको एउटा सपना छ, किताब बेचेर आएको पैसाले कोलकातामा एउटा घर बनाउन सकूँ र भविष्यमा कोलकाता फर्कन सकूँ । त्यो सपना भने अझै पनि पूरा हुन सकेको छैन ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।