साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

उल्था गजलकार

नेपाली साहित्यमा, विशेषतः गजलमा यस्ता घटना (संयोग) हरू बढिरहेका छन् । चर्चामा आउनकै लागि हिन्दी, उर्दु तथा अन्य भाषाभाषीका साहित्यिक सिर्जनाहरूलाई नेपालीमा उल्था गरेर आफ्नो रचना हो भन्दै विभिन्न कार्यक्रम र सञ्चार माध्यममा गजलकारहरू छाइरहेका छन् ।

Chovar Blues Mobile Size

सदियौँदेखि दुनियाँका हरेक भाषामा, हरेक भू-भागमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको क्षेत्र हो साहित्य । हजारौँ वर्षदेखि उही स्वाद, उही मिठास र उही अन्दाजमा मन पराइने एउटा सुन्दर क्षेत्रलाई यहाँसम्म ल्याइपुर्याउन आआफ्नो ठाउँबाट तमाम साहित्यकारहरूले आफ्नो अलग “अन्दाज”, आफ्नो अलग “शैली” र आफ्नै “रङ्ग”ले रङ्ग्याएको पाइन्छ।

साहित्यका तमाम विधाहरूमध्ये एउटा खास विधा हो “गजल” । गजलले इरान, अरब, फारस हुँदै भारत, पाकिस्तानदेखि अहिले नेपाली साहित्यमा पनि आफ्नो छुट्टै पहिचान बनाइसकेको छ । समयको परिवर्तन सँगै गजलको अन्दाज, शैली र रङ्ग बदलिँदै आइरहेको छ, जुन स्वाभाविक हो । हिन्दी-उर्दू साहित्यका एक प्रख्यात शायर मुनव्वर रानाको शेर छ –

मामूली एक क़लम से कहाँ तक घसीट लाए
हम इस ग़ज़ल को कोठे से माँ तक घसीट लाए

यो शेरले भने झैँ गजलले धेरै नयाँ रूप लिइसकेको छ । यहाँसम्म आजसम्म आइपुग्दा, यसका साथसाथै गजलमा बेला बेला विभिन्न किसिमका विवाद, छलफल भइरहेका हुन्छ्न् । यसको कारण बदलिँदो सोच र समय हुन सक्छन् जस्तो लाग्छ ।

हिमाल सरोवर
sagarmani mobile size

लामो समयदेखि एक विषयले गजल विधामा प्रवेश पाएको छ, र यसले अहिले निकै गम्भीर रूप लिएको छ । यो खालि नेपाली गजलमा मात्र नभएर जहाँ जहाँ गजल लेखिन्छ त्यहाँ त्यहाँ देखिएको समस्या हो । समस्या हो, रचना नक्कल, या पहिले लेखिएको कुरा या अरूले लेखिसकेको कुरालाई तोडमोड गरेर आफ्नो नाममा गर्ने कार्य !

हिन्दी-उर्दू साहित्यका प्रख्यात शायर ‘मुनव्वर राना’ले केही समयअगाडि आफ्नो सामाजिक सञ्जालमार्फत उनको गजलको मतअला हिन्दी-उर्दू साहित्यकै शायर आलोक श्रीवास्तवले तोडमोड गरेर लेखेको आरोप लगाएका थिए । राना र आलोकका शेर हेर्नुहोस्;

मुनव्वर रानाको शेरः

“किसी को घर मिला हिस्से में या कोई दुकाँ आई
मैं घर में सब से छोटा था मिरे हिस्से में माँ आई”

मुनव्वर रानाका अनुसार उनको शेर तोडमोड गरेर आलोक श्रीवास्तवले लेखेको शेरः

‘बाबूजी गुजरे आपस में सब चीजें तकसीम हुईं तब-
मैं घर में सबसे छोटा था, मेरे हिस्से आई अम्मा ।’
तकसीम= बाड्नु,

यो त एउटा उदाहरण भयो । तर यहीँबाट के अन्दाज लगाउन सकिन्छ भने हिन्दु-उर्दू साहित्यमा अर्काको रचनालाई तोडमोड गरेर वा प्रभावित भएर आफ्नो बनाउने परम्परा बढ्दो छ । यही सिलसिला हरेक ठाउँमा छ । यस मामिलामा नेपाली गजल क्षेत्र पनि निकै अगाडि निस्किसकेको छ । नेपाली गजलकारहरू विशेषतः हिन्दी-उर्दू गजल, गीत, डायलोग तथा नेपालीमै लेखिएका तमाम रचनाहरूको प्रभावमा पर्दै अथवा तोडमोड गर्दै आफ्नो रचना बनाउन अभ्यस्त भइसकेका छन् ।

उदाहरणका लागि हालमा चर्चित गजलकार प्रदीप रोदन यो शेर पढ्नुहोस्;

जिन्दगी के हो भनेर सोध पहरालाई,
तिमीले जे प्रश्न गर्यौ त्यही उत्तर फर्किन्छ ।

अब डा. निरज भट्टराईको ‘तलाश’ गजलसङ्ग्रहमा सङ्ग्रहित यो शेर पढ्नुहोस्;

पहाडको टुप्पोमा उभिएर चिच्याइरहेथ्यो,
उसको आवाज गुन्जिदै फिर्ता आइरहेथ्यो ।

बिपिन सलामी र प्रदीप रोदनका यी दुई मिल्दाजुल्दा शेर पनि पढ्नुहोस्;

सधैँ लोहटासामु गाग्रो निहुरिन्छ,
लोहटा निहुरिँदैन दुनियाँमा कतै – बिपिन सलामी

महोदय झुक्न चाहँदैनन् केही नहुनेहरू,
लोटा भरिदिन पनि गाग्रो नै ढल्किनु पर्छ – प्रदीप रोदन

पछिल्लो केही समयदेखि मैले उल्था प्रवृत्तिका विरुद्ध सामाजिक सन्जाल फेसबुकमा थुप्रै उदाहरणहरू राखेको थिएँ । यसैक्रममा चर्चित गजलकार प्रदिप रोदन, महेन्द्र देवकोटा, बिपिन सलामी, निरज भट्टराई र अन्य केही लेखकका मिल्दोजुल्दो शेरहरूबाहिर आए । तर गजलकार प्रदीप रोदनले यसबारे कुनै प्रतिक्रिया जनाउन आवश्यक ठानेनन्, बरू गैरजिम्मेवारीपूर्ण ढङ्गले नेपाली गजलका थुप्रै लेखक तथा पाठकहरूलाई फेसबुकमा ब्लक हान्दै पन्छिन चाहे ।

रोदनकै अर्को एक गजलको शेर पनि पढ्नुहोस्;

चाहिनेभन्दा निकै बढी भर परेको छ,
म के भनौँ ? ऊ भर्खर प्रेममा परेको छ ।

अब धिरज भट्ट सरोवरको यो शेर पढ्नुहोस्;

यसकारण केही खुसी पलायो केही डर पलायो,
हाम्रो सम्बन्धमा प्रेमको कोपिला भर्खर पलायो ।

केही समयअघि अर्का एक गजलकार कृष्णप्रसाद अर्यालको र उर्दू शायर जोन एलियाको मिल्दोजुल्दो शेर मैले फेसबुकमा राखेको थिएँ । त्यसमा अर्यालले ‘म प्रभावित छु, मैले उल्था गरेकै हो । कसले के गर्छ ?’ भन्ने अभिव्यक्ति दिएका थिए । अर्यालको शेर पढ्नुहोस्;

अझै पनि ऊ विश्वासको कुरा गरिरहेकी छे, 

किन जिब्रो थुत्दैनन् मुख बन्द गराउँदैनन् काेही ?

जोन एलियाकाे शेर पनि पढ्नुहाेस्;

इक शख्स कर रहा है अभी तक वफा का जिक्र,

काश उस जबाँ-दराज का मुँह नाेच ले काेइ ।

फेरि अर्को पनि कृष्णप्रसाद अर्यालकै शेर पढ्नुहाेस्;

बाध्यताले निक्लिएको हुँ तिम्रो दिलबाट,
घर छोडेर हिँड्न कुनै मान्छे आतुर हुँदैन ।

अब उर्दू शायर तहजिव हफिको शेर पढ्नुहोस्;

बहुत मजबुर हो कर मे तेरी अँखो से निकला,
खुशी से कौन अपने मुलुक से बाहर रहा है !

यिनै दुई शेरसँग मिल्दोजुल्दो महेश के भट्टराईको अर्को शेर पनि पढ्नुहोस्;

लाचार भएर म तिम्रो दिलबाट निस्केको हुँ,
सुख मिल्दामिल्दै घर छाडेर को निस्किन्छ ?

अब भरत प्रमोद दाहाल र अनुराग बम क्षेत्रीका यी दुई शेर पनि पढ्नुहोस्;

कात्रो किन्ने तयारी गरेर आएछ मित्र,
यो भेटमा पनि मेरै शरीरको लम्बाइ नापेर गयो

(भरत प्रमोद दाहाल)

मित्रजस्तै नजिकै आएर दुश्मनले यसो भन्यो
कात्रो किनेर ल्याउँछु तपाईँको लम्बाइ दिनुहोस्

(अनुराग बम क्षेत्री)

नेपाली साहित्यमा, विशेषतः गजलमा यस्ता घटना (संयोग) हरू बढिरहेका छन् । चर्चामा आउनकै लागि हिन्दी, उर्दु तथा अन्य भाषाभाषीका साहित्यिक सिर्जनाहरूलाई नेपालीमा उल्था गरेर आफ्नो रचना हो भन्दै विभिन्न कार्यक्रम र सञ्चार माध्यममा गजलकारहरू छाइरहेका छन् । पछिल्लो समय एउटा हिन्दी गजललाई चन्द्रकान्त पौडेल भनिने एक व्यक्तिले जस्ताको त्यस्तै नेपालीमा उल्था (अनुवादी) गरेर आफ्नो रचना भन्दै जनता टेलिभिजनमा सुनाएका छन्, र चर्चामा छन् । उनले सुनाएको गजल प्रत्येक शेर सुन्दै तल उल्लेखित मोहसिन नकवीको हिन्दी गजलका शेरहरू पढ्नुहोस् ।

समंदर सारे शराब होते तो सोचो कितना फसाद होते
हक़ीक़त सारे ख़्वाब होते तो सोचो कितना फसाद होते

किसी के दिल में क्या छुपा है ये बस ख़ुदा ही जानता है,
दिल अगर बेनक़ाब होते तो सोचो कितना फसाद होते

थी ख़ामोशी हमारी फितरत में तभी तो बरसो निभ गयी लोगो से,
अगर मुँह में हमारे जवाब होते तो सोचो कितना फसाद होते

हम तो अच्छे थे पर लोगो की नज़र में सदा बुरे ही रहे,
कहीं हम सच में ख़राब होते तो सोचो कितना फसाद होते

(मोहसिन नकवी)

हामी जन्मिएको र हुर्किएको धरातल, भूगोल एउटै हो । हामीले भोगेका, देखेका अनुभूतिहरू पनि उस्तै उस्तै हुन्छन् । कहिलेकाहीँ लेखनमा पनि भाव मिल्नु संयोग हुनसक्छ । तर जस्ताको त्यस्तै हूबहू कपी गरेर असली सर्जकलाई मारमा पार्ने प्रवृति हावी भइरहेको बारे सर्जक र पाठ दुबै सजग हुनुपर्छ । अर्को कोण के पनि हुनसक्छ भने, हाम्रा लेखकहरूमा अरूका रचनाहरू पढ्ने परम्पराको कमी छ । पढे पनि निश्चित घेराभित्र रहेर त्यहीँ रूमलिने प्रवृति हावी छ । यस्तो अवस्थामा आफ्नो क्षेत्रमा ‘के के लेखिए ? कसरी लेखिए ?’ जस्ता कुराको जानकारी हुँदैन । सिधाभन्दा लेखकहरूमा अध्ययन र साधानाको कमी हुनाले अनुभूतिजन्य कुराहरू लेखनमा अरू कसैसँग मिल्न पुगेका छन् । यसबारेमा लेखकहरू समझदार बन्नुपर्छ । रातारात चर्चित हुने ध्यानलाई त्यागी सर्जकभन्दा पहिले असल पाठक बन्न सके यस्ता विकृतिहरू धेरै हदसम्म न्यूनीकरण भएर जाने मेरो बुझाइ रहेको छ ।

केही समयअघि मात्र भुपेन्द्र खड्का र अर्जुन पराजुलीबिच चर्किएको कविता चोरीको काण्ड ताजै छ । केही चलाख व्यक्तिहरूले अरूको सिर्जना तोडमोड गरेर आफ्नो बनाएर स्टेजमा सुनाइहाल्ने वा प्रकाशन-प्रसारण गरेर आफ्नो बनाइहाल्ने गर्ने गरेका छन् । यस किसिमको कार्यले असली सर्जक मारमा परेको युवापुस्ताका लेखक/कविहरूले म स्वयंसँग गुनासो गर्ने गरेका छन् । कति त यस किसिमको कुरालाई ‘व्यक्ति’को संज्ञा दिएर पन्छिन चाहन्छन्, तर यो व्यक्तिगत कुरा होइन। व्यक्ति जोसुकै होस्, नेपाली साहित्य र साहित्यप्रेमीमाथिको अन्याय हो यस किसिमको कार्य । अझ भनौँ पाठकमाथिको अवमूल्यन र अविश्वास हो । सोझासाझा पाठक, स्रोतामाथिको भावनात्मक खेलबाड हो । त्योभन्दा माथि अर्काको बौद्धिक सम्पत्ति तोडमोड गरेर आफ्नो बनाउनु अपराध हो ।

प्रतिक्रिया
Loading...