‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार २०७८’का लागि उत्कृष्ट चार काव्यकृतिहरुको नामावली सार्वजनिक गरिएको छ । काव्य विधाका कृतिहरुमध्ये उत्कृष्ट एक कृतिलाई प्रदान गरिने यो पुरस्कारको राशि ५० हजार रुपियाँ रहेको छ ।

पहिलो पुस्तक लेखेर नेपाली भाषा साहित्यमा औपचारिक पाइला चालेका लेखकहरुलाई प्रोत्साहन गर्ने उदेश्यले अघिल्लो वर्ष (वि.स. २०७७) मा स्थापना भएको ‘साहित्यपास्ट उत्तम कृति पुरस्कार’मा २०७८ मा आइपुग्दा ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’ पनि थपिएको हो । ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’ वर्षभरिमा प्रकाशित डेब्यु काव्यकृतिमध्ये उत्कृष्ट एकलाई प्रदान गरिन्छ भने ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’ डेब्यु गैर–काव्यकृतिमध्ये उत्कृष्ट एकलाई प्रदान गरिने छ । दुवै पुरस्कारको राशि समान ५० हजार रुपियाँका साथमा प्रमाणपत्र रहेको छ ।

छानिएका ९ डेब्यु काव्यकृतिमध्येबाट रोशन तिमल्सिनाको कवितासङ्ग्रह ‘चिरिएका पैताला’, पेशलकुमार लुइटेलको छन्द–कवितासङ्ग्र ‘पोल्टाभित्र डिही’, शान्ति प्रियावन्दनाको कवितासङ्ग्रह ‘जिल खाइरहेकी एक्काइसौँ शताब्दी’ र अजित उत्सवको कवितासङ्ग्रह ‘आकाशगङ्गाको किनार’ उत्कृष्ट चार काव्यकृतिका रुपमा छनोट भएका छन् ।

केवल बिनाबिको कवितासङ्ग्रह ‘यादहरुकाे सङ्ग्रहालय’लाई मूल्यांकनमा समावेश गरिएको थिएन । बिनाबिले ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार संवाद; यादहरूकाे सङ्ग्रहालय’मा भनेका थिए, ‘म सुन्ने गर्थेँ, पत्रपत्रिकामा स्थान पाउन चिनजान हुन जरुरी हुन्छ । अश्विनी सर अनि टिमसँग मेरो कहिल्यै भेट भएको छैन । चिनजान छैन । र पनि साहित्यपोस्टले यादहरूको सङ्ग्रहालयलाई धेरै पाठकबिच पुर्‍याएको छ । यही मेरा लागि पुरस्कार ठान्दै अन्य पुरस्कार म अस्वीकार गर्ने कुरा अवगत गराउन चाहन्छु ।’ स्रष्टाकै इच्छाअनुसार ‘यादहरूकाे सङ्ग्रहालय’लाई मूल्यांकनमा समावेश नगरिएकाे हाे ।

यो नामावली, नयाँ लेखकहरुले २०७८ सालभरिमा प्रकाशन गरेका काव्यकृतिहरुबाट छानिएका ९ कृतिहरुको सूचीबाट छानिएको हो । उक्त ९ काव्यकृतिहरु साहित्यपोस्टसँग आवद्ध पत्रकार, साहित्यकार, सम्पादक तथा शुभेच्छुकहरुको मूल्यांकनका आधारमा छनोट गरिएको थिए ।

छानिएका ९ काव्यकृतिलाई साहित्यपोस्टका विषय सम्पादकहरु, स्तम्भकार तथा समीक्षकहरुलाई जिम्ममा लगाइएको थियो । उहाँहरुको मूल्यांकनको आधारमा उत्कृष्ट चार कृतिको छनोट गरिएको हो । साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइराला भन्छन्, ‘अघिल्लो वर्षबाट डेब्यु लेखकको एक कृतिलाई पुरस्कृत गर्ने उदेश्यले स्थापना भएको पुरस्कारले दोस्रो वर्षमै दुई डेब्यु लेखकका दुई कृतिलाई पुरस्कृत गर्न पाउँदा आनन्दित महसुस गरेका छौँ । आउने वर्षहरुमा विधागतरुमा पुरस्कारको सङ्ख्या र राशिलाई बढाउँदै लग्ने हाम्रो उदेश्य रहेको छ ।’

पुरस्कारको प्रायोजन लोकप्रिय गीतकार एवं कवि उत्तम भौकाजीले गर्नुभएको छ । शिक्षा र स्वास्थमा व्यवसायिक प्रगति गर्नुभएका कवि भौकाजीका दर्जनौँ गीतहरू लोकप्रिय छन् ।

पढ्नुहोस्, ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कारका लागि उत्कृष्ट पाँचमा छनोट भएका कृतिका स्रष्टासँग कृति तथा पुरस्कारका विषयमा गरिएको संवाद –

 

१. चिरिएका पैतला – रोशन तिमिल्सिना

नयाँ लेखकलाई प्रोत्साहन गर्ने यो अभियानमा सङ्ग्रह छनोट हुनु नै विजयोपहार हो 

तपाईंको पहिलो कृति “साहित्यपोस्ट उत्तम काव्य पुरस्कार” का लागि छनोट भयो । कस्तो अनुभूति गरिरहनुभएको छ ?

एउटा स्नातक पढिरहेको विद्यार्थीलाई आफ्नै पढाइले केन्द्रित गरेको हुन्छ । “कविता सङ्ग्रह छाप्न प्रकाशक मान्दैनन् , बजार छैन” भन्ने कुराहरू धेरै सुनिरहेका छौँ । यस्तो अवस्थामा कविता मागेर पूर्ण सौजन्यमा कलम प्रकाशनले कविता प्रकाशन गर्दा नै खुसीको सिमा थिएन । २१/२२ वर्ष उमेरको विद्यार्थीले लेखेको कवितासङ्ग्रह यसरी मन पराउनु भएको छ, यो नै सफलताको सुरुवात हो । “साहित्यपोस्ट उत्तम काव्य पुरस्कार”का लागि छनोट हुँदा आह्लादित भएको छु ।

“साहित्यपोस्ट उत्तम काव्य पुरस्कार”को लागि उत्कृष्ट ९ कृति छनोट भएका छन् अर्थात तपाईंका प्रतिस्पर्धाका रुपमा बलिया कृतिहरू छन् । तपाईँले पुरस्कार जित्नु वा नजित्नुले तपाईंको साहित्यिक यात्रामा के अर्थ राख्दछ ?

यो समयका निकै राम्रा कवितासङ्ग्रह “साहित्यपोस्ट उत्तम काव्य पुरस्कार”को लागि छनोट भएका छन् । नयाँ लेखकलाई प्रोत्साहन गर्ने यो अभियानमा सङ्ग्रह छनोट हुनु नै विजयोपहार हो । पुरस्कार जित्नुले अझै थप हौसला त अवश्य नै मिल्नेछ । पुरस्कार नजित्नुले भने लेखनमा असर गर्दैन । भाषा संरक्षण, कलासाहित्यको उत्थानको लागि सदैव लागिरहने संकल्प छ, त्यो संकल्प सदैव रहिरहने छ ।

“चिरिएका पैताला” नै किन लेख्नुभयो ? छोटोमा लेखन अनुभव बताइदिनुहोस् न !

चिरिएका पैताला समाजको यथार्थ चित्रण गर्ने प्रतिबिम्ब हो । वर्तमान युग अमानवताको बाटो हुँदै लालचमा दौडिरहेको छ । समाजका हरेक बेथितिले गर्दा नै यी पैतालाहरू चिरिइरहेका छन् । चिरिएका पैतालामा समाज परिवर्तन गर्ने वा प्रेरणा गराउने मनोसामाजिक यथार्तता पाइयोस् भनेर कविता सङ्ग्रह लेखेको हुँ ।

कविता मनमा उब्जिएका भावनाको लिखित अमिट रुप हो । कुनै समाज, भुगोल र विश्व परिवेशको ऎना बन्ने साहित्य इतिहासको पाना पनि हो । विभिन्न बेथिति,भेदभाव न्यूनीकरण गर्न प्रयास गर्ने विगुल आवाज पनि हो । भाषाको संरक्षण गर्नेदेखि परिवर्तनका आवाज फैलाउने साहित्यको महत्त्वका कारण नै यो सङ्ग्रह जन्मिएको हो ।

विशेषत नवपुस्ताका स्रष्टाहरू उपन्यासतिर आकर्षित भइरहेको अवस्थामा तपाईं के कारणले कवितातिर आकर्षित हुनुभयो ?

साहित्यमा कुनै सिमाना हुँदैन । जुनसुकै विधा भए पनि हाम्रो साझा सपना भनेको नेपाली भाषाको संरक्षण गर्नु नै हो । कविता र उपन्यास फरक विधा भए पनि दुवैको महत्त्व उत्तिकै छ । २०७४/७५ सालतिर कक्षा १२ मा अध्ययन गर्दै गर्दा नेपाली विषयमा भएका कविताले नै मलाई आकर्षण गरेको हो । जुनसुकै विधा लेखे पनि नवपुस्ताका युवाहरूको साहित्यप्रतिको रुचिमा अभिवृद्धि होस् भन्ने कामना छ ।

“चिरिएका पैताला”ले यो पुरस्कार पाएको खण्डमा प्राप्त आर्थिक राशिले के गर्नुहुन्छ होला ?

हामीले स्रष्टालाई सम्मान त गर्छौ तर पनि कतिपय स्थानमा कृतिको बारेमा कुरा नहुने वा राम्रो लेखकको पनि कृति नकिनिने अवस्था छ । मलाई किताब असाध्यै मनपर्छ । हालै मैले १० दिन १० कवितासङ्ग्रहबाट हातमै कवितासङ्ग्रह लिएर कविता वाचन गर्ने एउटा नवीन अभियानको सुरुवात गरेको थिएँ । यो अभियान सफल भएपछि मलाई अर्को रहर जागेको छ । १०० दिन १०० कविता सङ्ग्रह हातमा लिएर हरेक दिन कविता वाचन गर्दै फेसबुकमा राख्न मन छ । मेरो अध्ययनमा पनि फाइदा हुने, स्रष्टा र कृति दुवैलाई पनि सम्मान हुने । पुरस्कार पाएको खण्डमा यो अभियान सफल गर्ने थिएँ होला । पुरस्कार राशि बाँचेको खण्डमा शैक्षिक सामाग्रीको लागि उपयोग गर्ने थिएँ ।

अन्त्यमा भविष्यको साहित्यिक यात्राका योजनाहरू के के छन् ?

साहित्यमा अनवरत् लाग्ने अठोट लिएर हिँडिरहेको छु । अहिले केही सूक्ष्म कवितामा अभ्यास गर्दैछु । १/२ वर्ष अझै लेखनलाई परिस्कृत गरेर अर्को सङ्ग्रह प्रकाशित गर्ने रहर छ । अरू योजनाहरू पनि बन्दैछन् ।

========

२. पोल्टाभित्र डिही – पेशलकुमार लुइटेल

कविता भावप्रधान विधा हो, लयको पछि लाग्दा कतिपय भावहरू चोइटिएका छन् 

तपाईँको पहिलो काव्यकृति “साहित्यपोस्ट उत्तम कृति पुरस्कार”का लागि छनोट भयो । कस्तो अनुभूति गरिरहनुभएको छ ?

छनोट एक प्रकारको उपहार, प्रोत्साहन र उत्प्रेरणा हो । उत्प्रेरणा सिकाइको जननी हो त्यसैले मलाई मनबाट खुसीको आभास भएको छ । साथै यो कृति पोल्टाभित्र डिही साहित्यपोस्ट उत्तम काव्य पुरस्कार को लागि छनोटले भएकोमा आनान्दानुभूति भएको छ । यो छनोट समिति र साहित्य पोष्टप्रति आभारी छु ।

“साहित्यपोस्ट उत्तम काव्य पुरस्कार”का लागि नौ कृति छनोट भएका छन् । अर्थात् तपाईँका प्रतिस्पर्धीका रुपमा बलिया कृतिहरु छन् । तपाईँले पुरस्कार जित्नु वा नजित्नुले तपाईँको साहित्यिक यात्रामा के अर्थ राख्छ ?

सिर्जना मेरो मनको खुसी हो । सबैका कृतिभित्र एउटा सिर्जनाको फरक संसार बिराजमान हुन्छ । मेरो साहित्यिक यात्रा पुरस्कार पाउनु र नपाउनुमा निर्भर हुँदैन अद्यापि पुरस्कारले सिर्जनाको बाटामा लम्कन थप ऊर्जा भने अवश्य दिन्छ ।

कानुनी क्षेत्रमा सक्रिय मान्छे, साहित्य लेखनमा, त्यो पनि छन्दोबद्ध कवितामार्फत् कसरी आउनुभयो ?

कानुनी क्षेत्र मेरो व्यवसायीक क्षेत्र हो । मान्छे जुन पेशा व्यवसायमा भए पनि मानव मस्तिष्क चेतनाले भरिएको हुन्छ । कला साहित्य र संगीतले नछोइने मन कसैको हुँदैन । आफ्नो अन्तर्मनको खुसीलाई प्रस्फुटन गर्दै अगाडि बढ्ने क्रममा मैले लयलाई प्रेम गर्न थालेँ र छन्द कविताप्रति अलिकति बढी मोह भयो तथापि म छन्दोमुक्त कविता, गजल, गीत पनि मन पराउँछु साथै आख्यान पढिरहँदा आफैभित्र हराउँछु । कविता भावप्रधान विधा हो, लयको पछि लाग्दा कतिपय भावहरू चोइटिएका छन् यस्तो हुँदा दुःख लाग्छ ।

कविता लेख्नुको तपाईँको मुख्य उदेश्य के हो ?

आजको पुस्तामा कला, साहित्य र सांगितिक स्पर्षको जरुरी छ । सिर्जनाले मानिसको मन मस्तिष्कलाई सत्मार्गतिर प्रेरित गर्दछ । भविष्यका कर्णधारहरुको मुहारमा खुुसी फुल्नु पर्दछ, आँखामा बादल लाग्नु हुँदैन र ओठको मुस्कान ओइलाउनु हुँदैन भन्ने मेरो व्यक्तिगत बुझाइ हो । सिर्जनाले मलाई सुखानुभूति, आनन्दानुभूति र अन्तर्मनको खुसी प्रदान गर्दछ ।

यहाँ मलाई भतृहरिको एक वाक्यांशको याद आयो, “यन्नास्ति नास्ति रुचिरं तस्मिन् तस्य स्पृहा मनोज्ञेऽपि” अर्थात मनले नरुचाएपछि जतिसुकै राम्रो भएपनि त्यसमा मन रमाउँदैन । त्यसैले मान्छेले आफ्नो मनको खुसीको लागि धेरै प्रयत्नहरु गरेको पाइन्छ ।

आख्यानको बजार आकर्षक रहेको अवस्थामा कवितामा पनि छन्द विधा किन ?

यो प्रश्नले मलाई चाणक्य नीतिको एक हरफको याद दिलायो-

“शैले शैले न माणिक्यं मौक्त्तिकं न गजे गजे ।
साधवो न हि सर्वत्र चन्दनं न वने वने । ।”

अर्थात सबै पहाडमा मणि, सबै हात्तीमा मोति, सबै ठाउँमा सज्जन र हरेक जङ्गलमा चन्दन पाइन्छ भनेर सोच्नु हुदैन भनेझैँ सबै मान्छेले एउटै मार्गबाट गन्तव्यको खोजी गरिनु हुँदैन । मलाई जता भिड छ त्यसकै पछि लाग्नु पर्दछ भन्ने पटक्कै लाग्दैन । मान्छेले जेलाई र जसलाई प्रेम गर्दछ त्यो उसको लागि अतुलनीय हुन्छ, सर्वाेपरि र सर्वोत्कृष्ट हुन्छ ।

“पोल्टाभित्र डिही”ले यो पुरस्कार पाएको खण्डमा प्राप्त आर्थिक राशिले के गर्नुहुन्छ होला ?
म समाजसेवामा सक्दो सेवारुपी हातहरु अगाडि बढाउन चाहन्छु । अहिलेसम्म पनि मैले पुस्तकालय निर्माण, वृद्धाश्रम, बालाश्रम आदिमा सक्दो सहयोग गर्दै आएको छु । म आफ्नै कानुन व्यवसायबाट सन्तुष्ट छु र यदि पुरस्कार पाएमा कुनै समाजसेवामा कार्यरत सामाजिक संस्थालाई यो सम्पूर्ण रकम हस्तान्तरण गर्ने छु ।

अन्त्यमा, भविष्यको साहित्यिक यात्राका योजनाहरु के के छन् ?

अहिले म खण्डकाव्य “पोखिएको हाँसो”को काम सकाएर सुभेच्छुकहरुलाई सुझावको लागि पढ्न दिएर बसेको छु त्यसपछि एउटा महाकाव्यको काल्पनिक यात्रामा छु ।

==========

३. जिल खाइरहेकी एक्काइसौँ शताब्दी

कविता लेख्दै जाँदा पुरस्कार तथा सम्मानहरू प्राप्त गर्नु कुनै खासै ठूलो उपलब्धी हो भन्ने मलाई लाग्दैन – शान्ति प्रियवन्दना

तपाईँको पहिलो काव्यकृति “साहित्यपोस्ट उत्तम कृति पुरस्कार”का लागि छनोट भयो । कस्तो अनुभूति गरिरहनुभएको छ ?

यो वर्ष कविता विधामा धेरै किताबहरू निस्किएका छन् । मेरो पहिलो कृति साहित्यपोस्ट उत्तम कृति पुरस्कारको छनोटमा परेको कुराले खुसी लागेको छ । खुसी लाग्नु स्वाभाविक पनि हो । सर्जकहरूलाई स्वस्थ समालोचना, पुरस्कार र सम्मानहरूले जिम्मेवारी बोध गराउँछ । आगामी दिनहरूमा लेख्नको लागि थप अभिप्रेरणा दिन्छ । यसरी मेरो कृति छनोटमा पर्नुभनेको कविताको क्षेत्रमा मेरा कविताहरूले पुर्याएको योगदानभन्दा पनि मसँग काव्य विधामा भएका क्षमताले आगामी दिनहरूमा आधुनिक नेपाली कविताको क्षेत्रमा केही गर्नुपर्छ र नेपाली कवितामा थोरै भए पनि योगदान पुर्याउनु पर्छ भनेर कृति छनोटमा पारिएको हो भन्ने लाग्छ ।

“साहित्यपोस्ट उत्तम काव्य पुरस्कार”का लागि नौ कृति छनोट भएका छन् । अर्थात् तपाईँका प्रतिस्पर्धीका रुपमा बलिया कृतिहरु छन् । तपाईँले पुरस्कार जित्नु वा नजित्नुले तपाईँको साहित्यिक यात्रामा के अर्थ राख्छ ?

मैले कविता लेखन यात्रा सुरु गर्दैगर्दा एकदिन पुरस्कार जित्छु भनेर सुरु गरेको पटक्कै होइन । निरङ्कुस व्यवस्थामा जस्तो कुनै व्यक्ति र सत्ता विशेषको स्तुतिगान वास्तविक स्रष्टाहरूले लेख्ने पनि होइन मेरा कविताहरूलाई मन पराउने आफ्नै खालका पाठकहरू हुन सक्छन् । यिनै पाठकहरूको सुझाव, आलोचना र आफ्नै साधनाले सिर्जनमा निखारता आउँछ र त्यो निखारता ल्याउँदै जानु पनि पर्छ । कविता लेख्दै जाँदा पुरस्कार तथा सम्मानहरू प्राप्त गर्नु कुनै खासै ठूलो उपलब्धी हो भन्ने मलाई लाग्दैन । मेरा कविताहरूले समाज परिवर्तनमा के कस्तो भूमिका खेलेका छन् र खेल्न सक्छन् भन्नुचाहिँ ठूलो कुरा हो भन्ने मलाई लाग्छ । जुनसुकै क्षेत्रमा पनि कर्म गदै गएपछि फल मिल्छ भन्ने हो । मेरो कवितासङ्ग्रह बजारमा आइसकेपछि विष्णु आचार्य भन्ने एक जना दाइले मैले केही वर्ष पहिले फेसबुकमा पोस्ट गरेको कविता सम्झाउँदै भन्नुभएको थियो – तिमीले त्यो कविता यो कवितासङ्ग्रहमा समावेश गरेकी रहेनछौ, मलाई त्यो कविता औधी मनपरेको थियो । मैले त्यति नै बेला एउटा ठूलो पुरस्कार पाएको अनुभव गरेको थिएँ । “साहित्यपोस्ट उत्तम काव्य पुरस्कार”का लागि छनोटमा परेका सबै कृतिहरू बलिया छन् । यो पुरस्कार मैले पाउँछु पाउँदिनँ, त्यो मलाई थाहा छैन । पुरस्कार पाए पनि नपाए पनि, मेरो कविता लेखनको यात्रा पटक्कै रोकिने छैन ।

“जिल खाइरहेकी एक्काइसौँ शताब्दी” लेख्नुको तपाईँको मुख्य उदेश्य के हो ? कविता लेखनको अनुभूतिबारे बताइदिनुहोस् न !

“जिल खाइरहेकी एक्काइसौँ शताब्दी”मा समवेश भएका अधिकांश कविताहरू सामाजिक विषयवस्तुमा आधारित छन् । मैले सामान्य विषयवस्तु जो तपाईँ हाम्रा अगाडि हुन्छन्, त्यस्ता विषयवस्तु र घटनाहरूलाई आफ्ना कविताहरूमा स्थान दिएको छु । हाम्रो समाजमा विद्यमान सामाजिक विसङ्गतिहरू जस्तो जातीय विभेद, लैङ्गिक विभेद, वर्गीय विभेद, धार्मिक अन्धविश्वास, रुढीवादी परम्परा आदिलाई कविताको माध्यमबाट उठान गर्नु र तिनै विभेदका सिकार भएकाहरूसामु पुर्याउनु मेरो कृति प्रकाशनको उदेश्य हो ।

धेरै अघिदेखि उत्कृष्ट कविताहरू लेख्दै आए पनि ढिला गरी सङ्ग्रह ल्याउनु भयो । कारण के होला ?

कविता लेख्दै आएको भए पनि मलाई कवितासङ्ग्रह निकालिहाल्नु पर्छ भन्ने हुटहुटी कहिल्यै लागेन । मलाई जहिले पनि मेरा कविताहरू अझै परिष्कृत हुनपर्छ । विचार र कलाको संयोजनमा अझै जोड दिनुपर्छ भन्ने लागिरह्यो । त्यसको अलावा मेरा केही व्यवहारिक कठिनाइहरू पनि थिए जसको कारणले कृति प्रकाशनमा ढिला भएको हो । भन्नेहरूले कृति प्रकाशनमा ढिला भयो भनेका छन् तर मलाई यही उपयुक्त समय रह्यो भन्ने लागेको छ ।

“जिल खाइरहेकी एक्काइसौँ शताब्दी”ले यो पुरस्कार पाएको खण्डमा प्राप्त आर्थिक राशिले के गर्नुहुन्छ होला ?

प्रतिस्पर्धामा अरू पनि बलिया प्रतिस्पर्धीहरू छन् । यो पुरस्कार मैले नै प्राप्त गर्न सफल हुन्छु भन्ने छैन त्यसैले पुसस्कार पाएको खण्डमा प्राप्त आर्थिक राशि के गर्ने भन्नेतिर मेरो पटक्कै ध्यान गएको छैन । तर आजका दिनसम्म सजिलो अर्थमा भन्नु पर्दा लेखेर कमाएको पैसा लेखपढकै क्षेत्रमा खर्च गर्ने गरेको छु । किताब किन्नमै यस्ता पैसाहरू खर्च भएका छन्, यो पुरस्कार प्राप्त भएमा साहित्यकै क्षेत्रमा खर्च भने अवश्य हुनेछ ।

अन्त्यमा, भविष्यको साहित्यिक यात्राका योजनाहरू के के छन् ?

भर्खरै कृति प्रकाशन भएको छ सुझाब, सरसल्लाह आउने क्रम जारी छ । यो कृतिको समीक्षाले पनि भविष्यको साहित्यिक यात्रालाई गतिदिनको लागि पक्कै मद्धत गर्ने छ भन्ने मलाई लाग्छ । आगामी साहित्यिक यात्राका योजनाहरू बनाएको छैन तर लेख्नेक्रम निरन्तर रहने छ । मेरो जीवनमा अब फुर्सदका दिनहरू आएका छन् । आगामी दिनहरूमा सिर्जनात्मक कार्यमा आफूलाई व्यस्त भने अवस्य राख्ने छु ।

========

४. आकाश गङ्गाको किनार – अजित उत्सव

समाजको ऐनाले जहिल्यै उज्यालो मात्र देखेको छ 

तपाईँको पहिलो काव्यकृति “साहित्यपोस्ट उत्तम काव्य पुरस्कार”का लागि छनोट भयो । कस्तो अनुभूति गरिरहनुभएको छ ?

यो मेरो लागि खुसीको कुरा हो । साथसाथै भर्खर कविता लेख्दै गरेका या कवितासङ्ग्रह निकाल्ने तर्खर गरेका युवाहरूको लागि पनि हौसलाको कुरा हो । पहिलो कविता कृतिले यसरी पाठक र चर्चित प्रकाशन गृह आदिको नजरमा पर्नु मेरो लागि पुरस्कार जितेसरह ठानेको छु ।

“साहित्यपोस्ट उत्तम काव्य पुरस्कार”का लागि नौ कृति छनोट भएका छन् । अर्थात् तपाईँका प्रतिस्पर्धीका रूपमा बलिया कृतिहरू छन् । तपाईँले पुरस्कार जित्नु वा नजित्नुले तपाईँको साहित्यिक यात्रामा के अर्थ राख्छ ?

वर्षभरिमा नेपाली भाषामा दर्जनौँ काव्य कृति बजारमा आइरहेका हुन्छन् । तीमध्येमा उत्कृष्ट नौ कृतिमा अटाउनु मेरो लागि जितसरह नै हो ।सबै कृतिहरू एकसे एक अब्बल छन् । यसमा कसले हार्‍यो कसले जित्यो भन्नूभन्दा पनि जसले जिते पनि लेखकले जित्ने हो, काव्यकृतिले जित्ने हो । मलाई आफूले जिते पनि या अरू कसैले जिते पनि तात्विक भिन्नता महसुस हुने छैन । मैले जितेसरह महसुस गरेको अघि नै भनिसकेँ ।

“आकाश गङ्गाको किनार” लेख्नुको तपाईँको मुख्य उदेश्य के हो ? कविता लेखनको अनुभूतिबारे बताइदिनुहोस् न !

जसरी हामी पृथ्बीबाट आकाश देख्छौं, आकाशका तारा, जून र सूर्यको उज्यालो देख्छौं, तर आकाशगंगामा रहेको अँध्यारो पाटो हामीले देख्दैनौँ । त्यस्तै समाजको ऐनाले जहिल्यै उज्यालो मात्र देखेको छ । यही समाजमा रहेको अँध्यारो पक्ष, अँध्यारो जीवन बाँचिरहेकाहरूको यथार्थता, राजनीति र वर्तमान समयको अँध्यारो पक्ष आकाशगंगाको किनारजस्तै रहस्यमयी रूपले दबिंदै र दबाइदै गइइएको छ । मैले त्यही कमजोर पक्षको प्रतिनिधित्व गर्दै बिम्बात्मक रूपमा यो नाम राखेको हुँ ।

कविता लेखन मेरो बालापनदेखिकै सोख हो । म रामायण, महाभारत, गीता, श्रीस्वास्थानी, देवीभागवत्, चन्डी श्लोक र ती श्लोकमा बुबाले हाल्नुभएका लयले प्रभावित हुने गर्थेँ, र यस्तै कहिले लेखुँला ठान्थेँ । पछि विद्यालयमा कविता लेखेर एकाध पुरस्कार पनि पाएको थिएँ ।

पछि बिए पढ्ने क्रममा काठमाडौँमा रहँदा कविता छपाउन पत्रिकाको कार्यालयमा धाउने क्रममा म आफैँ पत्रकार बन्न पुगें । पछि पत्रकारिता लेखन, समाचार वाचन, सम्पादन सिकेर करिब एक दशक पत्रकारितामा पनि संलग्न रहेँ । २०५८ सालमा साहित्य सन्ध्या र गरिमा मासिकमा कविता छपाएर औपचारिक रूपमै यो क्षेत्रमा प्रवेश गरेँ । जनआन्दोलनमा मेरो कविता र गीत लेखेकी डायरी हराएपछि लामै समय कविता लेख्ने जाँगर चलेन । २०७० पछि भने निरन्तर कविता लेखिरहेको छु ।

तपाईँ कविता किन लेख्नुहुन्छ ? कविताको बजार न्यून भएको चर्चा चलिरहँदा कवितासङ्ग्रह नै किन ?

कविता मेरो मनको आवाज हो । वर्तमान समयको विकृतिमाथिको मेरो आवाज र आन्दोलन पनि हो । म कवितामार्फत बोल्छु, चिच्याउँछु, खबरदारी गर्छु । यही कवितामार्फत प्रेम बाँड्छु, देशप्रेमको सन्देश फैलाउँंछु । कविता बिक्रीका लागि लेखिंदैनन् । कविता बिक्रीको लागि राखिने वस्तु पनि होइनन् । मैले लेखेको कविता देश र जनताप्रति समर्पित गर्नका लागि, एउटा दस्ताबेजीकरणका लागि प्रकाशित गरेको हुँ र आगामी दिनमा पनि यो क्रम जारी नै रहन्छ ।

“आकाश गङ्गाको किनार”ले यो पुरस्कार पाएको खण्डमा प्राप्त आर्थिक राशिले के गर्नुहुन्छ होला ?

यो पुरस्कार प्राप्त गरेँ भने त्यो रकममा आफ्नो पनि केही पैसा थपेर नयाँ सर्जकलाई हौसला प्रदान गर्ने साहित्यिक पुरस्कार स्थापनाकै लागि अक्षयकोषमा राख्ने छु ।

अन्त्यमा, भविष्यको साहित्यिक यात्राका योजनाहरू के के छन् ?

एउटा कवितासङ्ग्रहका लागि कविताहरू सम्पादन गरिरहेको छु । कथासङ्ग्रह पनि यही वर्षको अन्त्यसम्ममा बजारमा आइपुग्ने अपेक्षा छ । त्यसबाहेक केही अरूका लागि कथा लेखिरहेको छु । केही नयाँ सर्जकका कविता सम्पादन गरिरहेको छु । यो लेख्ने क्रम निरन्तर रहनेछ ।