पहिलो पुस्तक लेखेर नेपाली भाषा साहित्यमा औपचारिक पाइला चालेका लेखकहरुलाई प्रोत्साहन गर्ने उदश्यले स्थापना भएको ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार – २०७८’का लागि पाँच कृतिहरुको नामावली सार्वजनिक गरिएको छ । अघिल्लो वर्षदेखि प्रदान गर्न थालिएको, यसै वर्षदेखि गैरकाव्य विधाका कृतिलाई दिइने यो पुरस्कारको राशि ५० हजार रुपियाँ रहेको छ ।

यो नामावली, वर्षभरिमा नयाँ लेखकहरुले २०७८ सालमा प्रकाशन गरेका २९ गैरकाव्य (आख्यान र गैरआख्यान) विधाका पुस्तकबाट छानिएका ११ पुस्तकहरुको सूचीबाट छानिएको हो । उक्त एघार पुस्तकहरु साहित्यपोस्टसँग आवद्ध पत्रकार, साहित्यकार, सम्पादक तथा शुभेच्छुकहरुको मूल्यांकनका आधारमा निर्णायकहरुको छनोट गरिएको थिए ।

छानिएका ११ कृतिलाई साहित्यपोस्टका विषय सम्पादकहरु, स्तम्भकार तथा समीक्षकहरुलाई जिम्मा लगाइएको थियो । उहाँहरुको मूल्यांकनको आधारमा उत्कृष्ट पाँच कृतिको छनोट गरिएको हो । साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइराला भन्छन्, ‘हाम्रा निर्णायकहरु लेखकको पहिलो पुस्तक नै गतिलो जन्मनु पर्छ भन्नेमा एकमत हुनुहुन्छ । यी उत्कृष्ट पाँचवटा कृतिहरुमध्येबाट पनि सर्वोत्कृष्ट कृतिको छनोट हुने कुरामा सम्पादकीय टिम विश्वस्त छ ।’

छनिएका ११ डेब्यु गैरकाव्य कृतिमध्येबाट दिलिप बान्तावाको कथासङ्ग्रह ‘ताल्चा’, सपना आचार्यको उपन्यास ‘मलिलो माटो’, उदय अधिकारीको अन्तर्वार्ता सँगालो ‘प्रश्न’, भवानी खतिवडाको नियात्राकृति ‘घामभन्दा पहिले’ र लेखराज भट्टको उपन्यास ‘छाइल’ उत्कृष्ट पाँच कृतिका रुपमा छनोट भएका छन् । छानिएका पाँच पुस्तकमध्येबाट निर्णायकहरूले सर्वोत्कृष्ट ठहर्याएको पुस्तकलाई यस वर्षको ‘साहित्यपोस्त उत्तम कृति पुरस्कार’ प्रदान गरिने छ ।

पुरस्कारको प्रायोजन अनुसन्धानदाता एवं शिक्षा व्यवसायी उत्तमप्रसाद पन्तले गर्नुभएको हो । राणाकालमा समाज परिवर्तनका लागि जलसमाधि लिएकी योगमायाका विषयमा विस्तृत अध्ययन गर्नुभएका उत्तमप्रसाद पन्त साहित्यकार पारिजातसँग लामो समय रहनुभएको थियो ।

पढ्नुहोस्, ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कारका लागि उत्कृष्ट पाँचमा छनोट भएका कृतिका स्रष्टासँग कृति तथा पुरस्कारका विषयमा गरिएको संवाद –

१. ताल्चा – दिलिप बान्तावा

म काकताली पर्दा मात्रै लेख्ने मान्छे हुँ – दिलिप बान्तावा

तपाईँको पहिलो कृति “साहित्यपोस्ट उत्तम कृति पुरस्कार”का लागि उत्कृष्ट पुस्तकको सूचीमा पर्न सफल पर्यो । कस्तो अनुभूति गरिरहनुभएको छ ?

निश्चय नै, लेखनमा भर्खर कोसिस गरिरहेकाहरूका लागि यो अत्यन्तै सुखद् कुरा हो । यति सुन्दर सुरुवातका लागि साहित्यपोस्टलाई धेरै धेरै धन्यवाद । मैले जुन विषय आम पाठकलाई सुनाउन चाहेको थिएँ, ती विषयहरू पनि सुनाउन योग्य रहेछन्, पाठकका लागि रुचिकर नै रहेछ्न् भन्ने लागेको छ । यो नोमिनेशनले लेखनमा अझ जिम्मेवार बन्न झक्झक्याएको महसुस गरेको छु ।

“साहित्यपोस्ट उत्तम कृति पुरस्कार”का लागि ११ कृति छनोट भएका छन् । अर्थात् तपाईँका प्रतिस्पर्धीका रुपमा बलिया कृतिहरु छन् । तपाईँले पुरस्कार जित्नु वा नजित्नुले तपाईँको साहित्यिक यात्रामा के अर्थ राख्छ ?

पुरस्कार एउटा साधन हो । प्राप्त भयो भने त्यसले अलिकति ऊर्जा अवश्य थप्छ नै । उत्कृष्ट ११ भित्र पर्नु पनि मेरो लागि पुरस्कार नै हो । लेखनमा अत्यन्तै खारिएका लेखकहरूको लहरमा उभिनु त्यो कुनै पुरस्कारभन्दा कम होइन मेरो लागि । पुरस्कारलाई भौतिक वस्तुमा मात्रै मापन गरिनुहुन्न भन्ने लाग्दछ । यसले मलाई एउटा आत्मविश्वास भने बढाइदिएको छ । म जुन विषय लेख्ने प्रयास गरिरहेको छु, त्यो विषय लेखिनुपर्छ भन्ने पाठकहरू पनि धेरै हुनुहुँदो रहेछ, त्यसैले अझ मेहनत गरेर लेखिरहनुपर्छ भन्ने महसुस गरेको छु ।

“ताल्चा”का सङ्ग्रहित कथाहरुले के कस्ता विषयवस्तुहरु समेटिएका छन् ?

ताल्चाभित्रका कथाहरू मुख्यतः पूर्वी नेपालको किराँत बस्ती र त्यहाँका आम मान्छेहरूको जिन्दगीका भोगाइ र व्यथाहरू हुन् । उनीहरूले विद्रोह गरेका छैनन्, ठुला ठुला परिवर्तनका नारा र जुलुस उठाएका छैनन् । आफ्नै लयमा आफ्नो जिन्दगी घिसारिरहेका छन् । तर त्यहाँ राज्यको उपस्थिति कुन स्तरमा छ ? राज्यले आफ्नो दायित्व बहन गरेको छ कि छैन ? भन्ने कुराहरूलाई उठाउन खोजिएका कथाहरू छन् । त्यहाँका अलिखित तर गर्विलो इतिहासका खण्डहरू जो कहिल्यै लेखिदैनन्, ती खण्डहरूको उठान गर्ने कोसिस पनि गरिएको छ । साथै हाम्रो पुस्ताले झेलेको सबैभन्दा महत्त्वपूर्ण कालखण्ड – माओवादी विद्रोह, आफ्नै सुखदुःख गरिखानेहरूका लागि कस्तो भएर गाउँ पुग्यो र त्यहाँका आम मान्छेले त्यसलाई कसरी झेले भन्ने विषय पनि समेट्न खोजिएको छ । समग्रमा मुलधार भनिने लेखनको ध्यान खासै पुग्न नसकेको सुदुर बस्तीका मान्छेहरूको आम जिन्दगी बोल्ने कोसिस गरेको छ यो सङ्ग्रहले।

आफू वैदेशकि रोजगारीमा हुनुहुन्छ । कथाले वैदेशिक रोजगारका सुखदुखलाई पनि सम्बोधन गरेका होलान् नि ?

हजुर, खासै धेरै कुरा त छैनन् त्यस्तो । केही प्रसंगहरू छन् जहाँ वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता, त्यो बाध्यतासँगै मानवीय सम्बन्धहरूमा उत्पन्न हुने दरारहरूका कुराहरु समेट्ने कोसिस गरिएको छ।

“ताल्चा”ले पुरस्कार पायो भने आर्थिक राशिले के गर्नु हुन्छ ?

म खासै पूर्वयोजना नबनाउने मान्छे। अहिलेसम्म त त्यस्तो केही सोँचिहालेको थिएन । तर यो प्रश्नपछि भने सम्झेँ, लेखन र पठनमा रुचि भएकोले सायद भविष्यमा प्रकाशन गर्ने अर्को कुनै कृतिको तयारीका लागि प्रयोग गरुँला कि !

अन्त्यमा, भविष्यको साहित्यिक यात्राका योजनाहरू के के छन् ?

म काकताली पर्दा मात्रै लेख्ने मान्छे हुँ । कुनै पनि लेखनलाई “अब लेख्नुपर्छ” भन्ने सोचेर लेख्न सक्दिनँ । यतिकै मनमा कुरा खेलाउँदै लेख्न थाल्छु र लेखिरहन्छु । त्यस कारण यही नै लेख्छु भन्ने कुनै योजना छैन । तर लेखिरहन मन पर्छ । लेखिरहँदा केही प्रकाशनयोग्य लाग्ने चिज लेखिहालेँ भने बाहिर आउला ।

======

२. मलिलो माटो – सपना आचार्य

नारीको अस्तित्व, महिमा, गरिमा झल्काउने प्रयासमा मलिलो माटो लेखेकी हुँ – सपना आचार्य

तपाईँको पहिलो कृति “साहित्यपोस्ट उत्तम कृति पुरस्कार”का लागि शीर्ष एघार पुस्तकमा पर्न सफल भयो । कस्तो अनुभूति गरिरहनुभएको छ ?

सर्वप्रथम त साहित्यपोस्ट परिवार र पुरस्कार प्रायोजकलाई धेरै धेरै धन्यवाद ! जीवनमा धेरै कुरा पहिलोपटक नै हुने त हुन् । मेरो अनुभूति पनि पहिलोपटक शब्दमा परिणत भएर जगत् दर्शनमा निस्कियो । आफ्नो कर्मको परिणाम सार्थक होस्, सबै मानिसमा हुने स्वभाविक र प्राकृतिक चाहना हुन् । ममा पनि मेरो पुस्तकले पाठकको मस्तिष्कमा तरङ्ग पैदा गर्न सकोस्, पाठकबाट आउने प्रतिक्रियाबाट उत्साह थपियोस भन्ने मनोकांक्षा छ ।

पुरस्कार आफैँमा पवित्र कुरा हो, यसले व्यक्तिलाई प्रेरित गर्छ । पुरस्कारको प्रक्रिया अन्तर्गत मलाई उत्कृष्ट एघारमा छनोट गर्नुभएकोमा पुरस्कारसँग सम्बन्धित व्यक्तिलाई धन्यवाद व्यक्त गर्छु । यसअघि मैले यस पुरस्कारका बारेमा सुनेकी थिइनँ, नयाँ प्रतिभालाई प्रेरित गर्ने यस पुरस्कारबारे यसपालि सुनेर खुसी लागेको छ । यसले मलाई एक प्रकारको खुसी महसुस भएको छ । धेरै शब्दसिल्पीको कलमबाट मलाई उत्प्रेरित गर्ने काम भएको छ । साहित्यपोस्टको पुरस्कारको कोटीमा पुगेको छ भन्दा मन फुरुङ्ग भएको छ ।

“साहित्यपोस्ट उत्तम कृति पुरस्कार”का लागि एघार कृति छनोट भएका छन् अर्थात् तपाईँका प्रतिस्पर्धीका रुपमा बलिया कृतिहरु छन् । तपाईँले पुरस्कार जित्नु वा नजित्नुले तपाईँको साहित्यिक यात्रामा के अर्थ राख्छ ?

छनोट भएका सबै कृतिका लेखकलाई बधाई भन्न चाहन्छु । बलिया भएरै छनोट गरिएको होला । मैले कुनै पुरस्कारका लागि लेखेकी त होइन, तर साहित्य मेरो रुचिको विषय हो । साहित्यमा समाजका विकृति, विसंगति आउनुपर्छ । साहित्यमा समाज परिवर्तनका लागि विषयवस्तु ल्याइनुपर्छ भन्ने मेरो बुझाइ हो । यही बुझाइमा साहित्यमा लागेकी हुँ र लागिरहने मेरो प्रतिबद्धता पनि हो । तर जीवनमा आफ्नो लक्ष्यअनुसार काम गर्दै जाँदा कहाँ कता पुगिन्छ, यसै भन्न सकिँदैन । यति मात्र हो कि आफ्नो काम र कृतिलाई कसैले पुरस्कृत गर्छ भने त्यसले अवश्य प्रेरणा मिल्नेछ । मानव मस्तिष्कका उद्वेलित हुने कुराहरु नै रचनाको माध्यमबाट बाहिरिने कुरा हुन् । कुनै कुनै धेरै मर्मस्पर्शी हुन्छन् । जसले पाठकको मर्ममा नयाँ लय भर्न सक्छ, त्यो बलियो हुने हो । यस अर्थमा तपाईँको भनाइअनुसार म बलियोसँग छु । स्तरीयको साथ हुनु र स्तरीय हुनु मेरा लागि रोमान्चकारी क्षण हुन् ।

“मलिलो माटो” नै किन लेख्नुभयो ?

नारीको अस्तित्व, महिमा, गरिमा झल्काउने प्रयासमा मैले मलिलो माटो लेखेकी हुँ । सृष्टि सञ्चालनमा नारीको अहं भूमिका छ । त्यस्तै सिर्जना र आविष्कारमा पनि नारी अब्बल हुन्छन् । यही विषय मलिलो माटोमा ल्याउने मेरो प्रयास हो । यो कृति लेखिरहँदा मैले आनन्द र पीडा दुबै महसुस गरेँ । मानव जीवन धुलोबाट उत्पन्न भएर धुलोमै विलय हुने हो । माटो अथाह रहस्यको श्रोत , यही माटोमा मौलाउने अनेक रूप मध्य मातृरुप र माटो बिच हुने तादात्म्यमा घोत्लिँदा निस्केको मेरो स्वर हो मलिलो माटो ।

“मलिलो माटो”मा तपाईँको व्यक्तिगत जीवनको प्रतिबिम्बहरू के कति होलान् ?

कृतिमा मानिसका व्यक्तिगत चिन्तन, अनुभव, भोगाइ, ज्ञान र जानकारी आउने हुन् । मेरो यो कृति काल्पनिक हो र समाजको प्रतिबिम्ब पनि हो। भाव छन्, प्रशस्त छन् । भावहरु आफ्ना सन्तानजस्तै त हुन् । यसरी बुझियो भने यी सबै मेरा आफ्नै कथा हुन् । म चाहन्छु यो पढ्नेलाई लागोस् कि लेखकको आफ्नै जीवन भोगाइ पढिरहेछु । पढ्दा उहाँहरुको मनमा करुणा जगोस् । आवाजविहीनको जिउने तृष्णाको अंश जागोस् । हामी हाम्रा संस्कार, प्रचलन र यथार्थबिच तुलना गरेर जिउने नवमार्ग पहिल्याउन मेरा अनुभूति प्रेरक बनून् । म चाहन्छु, मैले आँखा चिम्म गर्दा देखिने बिम्ब यही हो तर पात्र मन्जु म होइन, हाम्रो समाजको प्रतिबिम्ब हो । म देख्छु अनि लेख्छु । शब्दको योजन मेरो हो, चित्रचाहिँ ती जीवन नबुझी बिताइदिने मन्जुको हो । मन्जु मभित्र को मातृत्वसार भने अवस्य हो । मेरो लेखाइको जगत यही हो । जननी यही हो ।

“मलिलो माटो”बाट लेखस्वमार्फत् आफ्नो जन्मदिन बालआश्रममा बालबालिकाका बिच मनाउनु भयो । यदि यो पुरस्कार पाउनु भयो भने आर्थिक राशिले के गर्ने योजनामा हुनुहुन्छ ?

गत महिना जन्मदिन मनाउन एउटा संयोग मिलेको थियो । कुनै पुरस्कार पाउँला र यो गरौँला भन्ने त मेरो कुनै सोच छैन । सामाजिक काम मेरो रुचिको विषय हो । जहाँसम्म यस पुरस्कारको राशि के गर्ने भन्ने तपाईंको प्रश्न छ, यसमा पुरस्कार पाएछु भने भनौँला ।

सबै बालापन स्वाभाविक रुपले यौवनमा रूपान्तर हुन पाउनुपर्छ भन्ने मेरो दृढ निश्चय हो । र मेरो धेय हो सुखी जीवनको खोज । म खुसी खोज्दै जाँदा दुखमा पुगेँ । जब दुख भेटाएँ त्यहीसँगै रहेछ खुसी । मलाई लाग्छ, म जन्मनुमा मेरो भूमिका छ । म जन्मनु मेरो चाहनाको उपज हो त ! होइन,
जन्म एक संयोग मात्र हो । जन्म मेरो नियन्त्रणमा थिएन तर कर्म मेरो नियन्त्रणमा छ । रुग्ण र दारुण मानव मनमा पसेर आफ्नो खुसी चियाउने धुनमा बाँचिरहेछु ।

अन्त्यमा, भविष्यको साहित्यिक यात्राका योजनाहरु के के छन् ?

मेरो विशेष योजना र लक्ष्य लेखपढ नै हो । पढ्दै जाने, बुझ्दै जाने र लेख्दै जाने हो । हेरौँ, कति गर्न सकिन्छ ।

जीवन यात्राको भोगाइ योजनामा कहाँ चल्ला र ! कसको चलेको छ र ? म बस मेरो मनले खोजेको ,रोजेको बाटो हिँड्न पाऊँ । यात्राका परिदृश्यले मेरो मानस पटलमा समेटेका चित्र शब्दमा उतार्न पाऊँ । मेरा भावमा प्राण होस् शब्दमा आवाज होस् । यस्तै मनोवेग उकेल्न पाऊँ देख्दै अनि लेख्दै जिउन सकुँ ! बस यही तृष्णा छ । बिना कुनै राग द्वेष ! जीवनका अवयव पूरा गरुँ ! र यतिखेर म नयाँ रचनाको प्लटमा काम गर्दै छु । हो यही यस्तै आफैँ सपना र मेरा सपना यत्ति त हुन् ।

========

३. प्रश्न – उदय अधिकारी

यो मौलिक कृति हो – उदय अधिकारी

तपाईँको पहिलो कृति “साहित्यपोस्ट उत्तम कृति पुरस्कार”का लागि उत्कृष्ट पुस्तकको सूचीमा पर्न सफल पर्यो । कस्तो अनुभूति गरिरहनुभएको छ ?

गौरवको महसुस भैरहेको छ ।

“साहित्यपोस्ट उत्तम कृति पुरस्कार”का लागि ११ कृति छनोट भएका छन् । अर्थात् तपाईँका प्रतिस्पर्धीका रुपमा बलिया कृतिहरु छन् । तपाईँले पुरस्कार जित्नु वा नजित्नुले तपाईँको साहित्यिक यात्रामा के अर्थ राख्छ ?

प्रतिस्पर्धीका रूपमा उभिनु नै एक प्रकारको जित हो । यदि पुरस्कार जितियो भनेँ अगाडिको बाटो अलि बढी उत्साहले भरिने छ ।

“प्रश्न” अन्तर्वार्ताहरुको सँगालो हो, के कारणले अन्तर्वार्ताहरुलाई पुस्तकाकार दिनुपर्ने भयो ?

यो नेपाली साहित्यमा लेखेर आफ्नो इतिहास बनाइसक्नुभएका छ जना स्रस्टाहरसँगको सार्थक संवाद र कता कता यो युनानमा सोक्रेटसको पालामा हुने डायलग र जनकपुरमा यक्षवल्लभ र गार्गीहरूको बीचमा हुने संवादको नजिक छ । यसमा ती स्रस्टाहरूमाथि मेरो अनुभूती पनि भएकोले या अन्तरवार्ता संग्रहभन्दा बढि केही हो । मलाई एक समयको साहित्यिक कथा भन्नु थियो र केही जिज्ञासाहरू मेटाउनु थियो । त्यो काम मेलै गरेँ ।

मैलिक कृति नल्याएर किन अन्तर्वार्ता सँगालो ल्याउनु भयो ?

अन्तर्वार्ताको सँगालोसँगै यो मौलिक कृति पनि हो । मेरो आत्मपरक निबन्ध जस्ता रचनाहरू र थुप्रै धारणासहित गरिएका लामा प्रश्नहरूले यस कृतिलाई अन्तर्वार्ता सङ्ग्रहका रूपमा मात्र रहन दिएनन् ।

“प्रश्न” पुरस्कार पायो भने आर्थिक राशिले के गर्नु हुन्छ ?

म आफूलाई सँधै एउटा प्रतिवद्ध पाठक बनाउने प्रयासमा छु । यदि मैले पुरस्कार पाएँ भनेँ प्रशस्त किताबहरू किन्ने छु ।

अन्त्यमा, भविष्यको साहित्यिक यात्राका योजनाहरु के के छन् ?

पढ्ने, धेरै प्रश्नहरू सोध्ने र आएका उत्तरहरूलाई कठाघरामा उभ्याएर जाँच्ने ।

=======

४. घामभन्दा पहिले – भवानी खतिवडा

जेहेन्दार विद्यार्थीका लागि एक “मेधावी प्रतिभा पुरस्कार” स्थापना गर्ने योजनामा छु – भवानी खतिवडा

तपाईँको पहिलो नियात्रा कृति “साहित्यपोस्ट उत्तम कृति पुरस्कार” का लागि उत्कृष्ट पुस्तकको सूचीमा पर्न सफल भयो । कस्तो अनुभूति गरिरहनुभएको छ ?

‘घामभन्दा पहिले’ले यो तहको सफलता पाउला भन्ने कल्पनै नगरेकी मैले जब उत्कृष्ट पुस्तकको सूचीमा आफ्नो पुस्तकको पनि नाम पढ्न पाएँ, असाध्यै खुशी भएँ ।

“साहित्यपोस्ट उत्तम कृति पुरस्कार” का लागि ११ कृति छनोट भएका छन् । अर्थात् तपाईँका प्रतिस्पर्धीका रुपमा बलिया कृतिहरु छन् । तपाईँले पुरस्कार जित्नु वा नजित्नुले तपाईँको साहित्यिक यात्रामा के अर्थ राख्छ ?

एउटा सर्जकका लागि पुरस्कारको प्राप्ति भनेको उत्प्रेरणाको स्रोत हो तर साधना उसको कर्म, धर्म र आस्था सबै हो । पुरस्कार जित्नु र नजित्नुले सर्जकको कर्म, धर्म र आस्था कहिल्यै पनि डग्मगाउनु हुँदैन भन्ने मेरो मान्यता रहिआएको छ ।

‘घामभन्दा पहिले’ मा सङ्ग्रहित नियात्राहरूमा के कस्ता विषयवस्तु र अनुभूतिहरू समेटिएका छन् ?

‘घामभन्दा पहिले’ नियात्रासङ्ग्रहमा हाम्रो देशका हिमाली भेगको उज्यालो भूगोल, संस्कृति, पर्यावरण र जनजीवनलाई समेट्ने प्रयास गरेकी छु । नियात्रा लेखनको माध्यमबाट देशप्रेम र आन्तरिक पर्यटनको भोक जगाउने प्रयत्न पनि हो मेरो ।

कथा र उपन्यासप्रति साहित्य बजारको झुकाव भएको अवस्थामा नियात्रा विधालाई, त्यो पनि पहिले पुस्तकको रुपमा किन प्रकाशन ल्याउनु भयो ?

म भ्रमणशील स्वभाव भएकी मानिस हुँ । भ्रमणमा निस्कनु भनेको कुनै नवीन विश्वविद्यालयमा भर्ना हुनुजस्तै रोमाञ्चक क्षण लाग्दछ मलाई । किन किन भ्रमणले जति मीठो आनन्द अरू कुनै कुराले दिनै सक्दैन मलाई । त्यही आनन्दमय भ्रमणलाई अक्षरमा उतार्ने प्रयत्न गरेँ र प्रकाशनमा ल्याएँ । कथा र उपन्यास पढ्न म पनि रुचाउँछु । पढ्छु । तर यी स्वैरकल्पनामा आधारित हुने भएकाले यसको प्रभाव क्षणिक मात्र हुन्छ । तर नियात्रा चाहिँ शाश्वत साहित्य हो भन्ने लाग्छ मलाई । यसमा परिकल्पना होइन, पाइला पाइलामा मन र तथ्य मिसाएर लेखिने विधा भएकाले मैले यसलाई नै प्राथमिकतामा राखेँ । मैले बजारको माग हेरेर होइन, मनको रोजाइलाई प्राथमिकतामा राखेर लेखेँ र प्रकाशमा ल्याएँ ।

‘घामभन्दा पहिले’ ले पुरस्कार पायो भने त्यो आर्थिक राशिले के गर्नु हुन्छ ?

मेरो एउटा दृढ सङ्कल्प छ— साहित्य साधनाबाट प्राप्त पुरस्कारवापतको आर्थिक राशिलाई मैले कहिल्यै पनि नुन, भुटुनमा मिसाउने छैन । यसअघि पनि आर्थिक राशिसहितको पुरस्कार प्राप्त गरेका रकमहरू प्रतिभा निकुञ्ज नामक साहित्यिक संस्थामा साहित्यक्षेत्रमै खर्चिने गरी अर्पण गरेकी थिएँ । र, यस वर्ष म आफूले अध्ययन गरेको उदयपुरको आधारभूत विद्यालयमा अक्षयकोषमार्फत् जेहेन्दार विद्यार्थीका लागि एक “मेधावी प्रतिभा पुरस्कार” स्थापना गर्ने योजना बनाएकी छु । ‘घामभन्दा पहिले’ले पुरस्कार पायो भने त्यो आर्थिक राशि यही अक्षयकोष निर्माणमा प्रयोग गर्ने विचारमा छु ।

अन्त्यमा, भविष्यको साहित्यिक यात्राका योजनाहरू के के छन् ?

मेरो लक्ष्य आफ्नै देश देख्ने, टेक्ने र लेख्ने हो । म अहिले पनि खुम्बुक्षेत्रको यात्रामा छु । सगरमाथा आधारशिविर, कालापत्थर मात्र होइन; संसारभरिका पदयात्रीहरूले अत्यन्त महत्वपूर्ण गन्तव्यका रूपमा सम्मान गर्ने गरेका यही क्षेत्रका तीन पासहरू (खोङ्माला, चोला र रेञ्जोला) का चुलीहरू हुँदै नाम्चेबजारमा आइपुगेकी छु । मेरो काँधमा यी र यस्तै वैभवले भरिपूर्ण भूगोलको यात्रा गरेर अझै पनि लेख्नुपर्ने दायित्व छ भन्ने लागिरहन्छ ।
मेरो लेखनको माध्यम भने फरक हुन सक्ला तर विधागत रुपमा यसलाई नै अँगालिरहनेछु भन्नेमा छु । कहिले गद्यशैली त कहिले पद्यशैली पनि हुन सक्ला । तर मैले लेख्ने नियात्रा नै हो भन्ने लाग्छ ।

=======

५. छाइल – लेखराज भट्ट

बजारको लोभ र पुस्तक लेखाइ मेरा लागि फरक कुरा हुन् – लोकराज भट्ट

तपाईँको पहिलो कृति “साहित्यपोस्ट उत्तम कृति पुरस्कार”का लागि उत्कृष्ट पुस्तकको सूचीमा पर्न सफल पर्यो । कस्तो अनुभूति गरिरहनु भएको छ ?

खुसी छु । साहित्यपोस्टले नयाँ लेखकका लागि गरेको यो पवित्र कर्म हो । पुरस्कारका लागि पुस्तक छनोट भैसकेपछि छाइलमाथि पाठकले गरेका प्रतिक्रिया मलाई खुसी बनाउनलाई मात्र गरेको हैनन् जस्तो लागेको छ । म उत्साहित छु ।

“साहित्यपोस्ट उत्तम कृति पुरस्कार”का लागि ११ कृति छनोट भएका छन् । अर्थात् तपाईँका प्रतिस्पर्धीका रूपमा बलिया कृतिहरू छन् । तपाईँले पुरस्कार जित्नु वा नजित्नुले तपाईँको साहित्यिक यात्रामा के अर्थ राख्छ ?

पुरस्कार जित्नु र पुस्तक लेख्नु फरक कुरा हुन् । पुरस्कारका लागि विभिन्न मापदण्डहरू होलान् । त्यो प्रावधिक पाटो हुन सक्छ । सबै लेखक र कृतिप्रति मेरो उत्तिकै सम्मान छ । जसले जिते पनि म त खुसी छु । लेखन कर्ममा रमाउन प्रयास गरिरहेको बेला एउटा उर्जा थपिएको छ । यो एक अवसर पनि हो । म त अवसरहरूमा पनि आफ्ना कम्जोरीहरू खोज्ने मान्छे हुँ । अझै जिम्मेवार भएर लेख्नुपर्छ लागेको छ ।

“छाइल” किन लेख्नु भयो ? कृति लेखनका अनुभूति र प्रकाशनका बारेमा थोरै बताइदिनुहोस् न !

मैले सुदूरपश्चिकै कथा लेख्नु थियो । जति न्याय मैले सुदूरपश्चिम लेख्दा गर्न सक्छु, अरू परिवेश लेख्दा मबाट अहिले नै अन्याय पो हुन सक्छ कि लाग्यो । अब पनि लेखिएन भने हाम्रो सभ्यता कसरी पुस्तान्तर हुन्छ ? हाम्रो माटोको कथा कसले लेखिदिन्छ ? हाम्रो भाषा कहाँ गएर बिलय हुने हो ? यी सोचनीय कुराहरू थिए । तब मैले “छाइल”मार्फत सुदूरपश्चिमको भाषा, संस्कृति, सभ्यता, त्यो जीवनशैली र ती भुइँमान्छेका कथाहरू लेख्ने कोसिस गरेँ ।

पुस्तक प्रकाशनको पाटो मेरा लागि निकै सुखद् रह्यो । पुस्तक प्रकाशनका बेला जति उत्साह ममा थियो, बुक्स हिमालयले त्योभन्दा बढी उत्साह देखायो । मैले सुनेको छु, लेखकहरूले प्रकाशनका चरण धेरै सास्तीहरू भोग्छन् । तर यी कुराहरू सम्झिँदा लाग्छ प्रकाशनको मामलामा “छाइल” भाग्यमानी पुस्तक हो । मेरो पहिलो कृति नै प्रकाशकले निकै महत्त्वका साथ छाप्नु भयो । प्रकाशन गृहले एउटा कृति र कृतिकारका लागि गर्नु पर्ने कुनै कसुर बाँकी राखेन । मैले प्रकाशनको अवधिमा हाम्रो सम्पूर्ण टिमबाट धेरै राम्रो सहयोग प्राप्त गरेको छु ।

पहिलो कृतिमा डोटेली सभ्यताको कथा, त्यो पनि उपन्यासमा – उपन्यासको बजारले लोभ्याएको हो ?

मैले जुन विषयमाथि कथा तयार गरेँ, त्यसबाट खुसी हुन सकिनँ भने लेख्नुको अर्थ रहँदैन । त्यसपछि त्यो पाठकका लागि पनि खास हुँदैन होला । नेपाली साहित्यमा पूर्वी नेपालको संस्कृति र सम्बन्धलगायतका कुराहरू धेरै लेखिएका छन् । दार्जीलिङ्, सिक्किम र आसामसम्मका लेखकहरू र त्यो परिबेश नेपाली साहित्यमा छ । तर सुदूरपश्चिमले सधैँभरि काठमाण्डौलाई पनि नैपाल भनेर चिन्नुपर्यो । आफ्नै देश पनि परदेशजस्तो भयो ।
डोटेली भाषा अर्थात खस भाषालाई नेपाली भाषाको उद्गम भनिन्छ । तर उक्त भाषाले नेपाली साहित्यमा पकड जमाउन निकै सङ्घर्ष गर्नुपर्यो । अझै पनि कयौँ कठिनाइ छन् । तसर्थ मैले यी कुराहरूलाई थोरै भए पनि उपन्यासमार्फत प्रवेश गराउन सकिएलाकी भन्ने लाग्थ्यो । डोटेली भाषा, साहित्य, कला, संस्कृति, नेपाली साहित्यका पाठकसमक्ष पुगोस् भन्ने हेतुले पनि यो पुस्तकले यो रूप निर्धारण गरको हो । पुस्तक लेखिसकेपछि पाठकहरूले मन पराइदिउन भन्ने अपेक्षा त हुन्छ । बजारको लोभ र पुस्तक लेखाइ मेरा लागि फरक कुरा हुन् ।

“छाइल”ले पुरस्कार पायो भने आर्थिक राशिले के गर्नु हुन्छ होला ?

यो त सोचेकै छैन । पाइयो भने सोचौँला ।

अन्त्यमा, भविष्यको साहित्यिक यात्राका योजनाहरू के के छन् ?

भविष्यको बाटो कतिबेला कहाँ मोडिन्छ थाहा हुँदैन । परिस्थिति खराब भएन भने केही न कही त लेखिएला । तर यो नै लेख्छु भनेर योजना भने बनाएको छैन । र, नलेखी पनि म बस्न सक्ने मान्छे हैन ।