साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

दोस्तोएभ्स्की र शब्दकोशका पारखी

Chovar Blues Mobile Size

जुलियन बार्न्स बेलायतका प्रख्यात उपन्यासकार हुन् । उनी दोस्तोएभ्स्की र शब्दकोश भनेपछि हुरूक्क हुन्छन् । उनीसँग गार्डियन पत्रिकाले गरेको कुराकानीको सारसंक्षेपः

म बच्चादेखि नै पढ्न भनेपछि हुरूक्क थिएँ । जस्तासुकै किताब, जहाँसुकै देखूँ, पढ्न थालिहाल्थेँ । खासगरी म बाल पुस्तक नोडीको त यति प्रशंसक थिएँ कि बच्चा बेलामा मलाई नोडीमा बयान गरिएको टोयल्यान्ड भन्ने ठाउँ छ, त्यहाँ खेलौनाहरू प्रशस्त पाइन्छन् भन्ने सोच्थेँ । कुनै दिन म त्यो ठाउँमा गाडी लिएर जान्छु र मस्ती गर्छु भन्ने सोच्थेँ ।

म हुर्कंदै गर्दा ब्रुस कार्टरको स्पिड सिक्स भन्ने पुस्तकको प्रशंसक थिएँ । त्यस पुस्तकमा विश्वयुद्धपछिका अनेक कारहरूको प्रसंगहरू र तिनको रोचक प्रतिस्पर्धा हुन्थे र म एउटा बेलायती ठिटोका लागि ती कुरा रोचक लाग्थे ।

किशोर अवस्थामा कुनै किताबले मलाई भित्रैसम्म हल्लायो भने त्यो दोस्तोएभ्स्कीको क्राइम एन्ड पनिस्मेन्टले हल्लायो । भाषा, सामाजिक अवस्था, दुरी, समय अनेक कुराले अलग र फरक हुँदाहुँदै पनि यसले मलाई छोयो । त्यो बेला म सैन्य तालिममा थिएँ । युनिफर्म लगाएको थिएँ र हातमा पेइन्गुइनले प्रकाशन गरेको पुस्तक थियो । धेरै दिनसम्म यसका पात्र र कथानकले मलाई हानिरह्यो ।

मलाई प्रभाव पार्ने लेखकहरूमा विलियम सेक्सपियर फ्लउबर्ट र अक्सफोर्ड इङ्लिस डिक्सनरीका सम्पादकहरू हुन् ।

sagarmani mobile size

मलाई लेखकका रूपमा प्रभाव पार्ने वा लेखक बन्न घच्घच्याउने एउटै मात्र किताब त पक्कै पनि थिएन । तर मलाई कहिल्यै पनि म लेखक बनूँला भन्ने लागेको थिएन । मलाई त्यो तहको आत्मविश्वास नै थिएन । तर कुरो मेरो हातबाट फुत्क्यो । अहिले त पक्कै म लेखक बनेँ जस्तो लाग्छ ।

मेरो नजरमा अलि ढंग नपुगेका लेखक इएम फोस्टर हुन् । उनका किताबहरू म २० वर्षको उमेर र त्यसपछि पनि निकै पढेँ । उनी अझै हास्य पुट दिन सक्थे भन्ने लाग्छ यतिबेला । उनी लेखनीमा गम्भीर छन्, सहज छन् तर हास्यपुट दिइरहन्छन् ।

मलाई धेरैले दोहोर्याएर पढ्ने पुस्तकको नाम सिफारिस गर्न भन्छन् । प्रायः म पाँच पाँच वर्षमा पुराना किताबहरू पढिरहेको हुन्छ । खासगरी फोर्ड म्याडक्स फोर्डको द गुड सोल्जर,मिखाइल लर्मोन्तोभको अ हिरो अफ आवर टाइम अनि पेनेलोप फित्जगेराल्डको द बिगिनिङ अफ स्प्रिङ दोहोर्याउने गर्छु । यिनमा म रहस्य र चमत्कार पाउँछु र यतिञ्जेल ती रहस्य र चमत्कारले अझै काम गरेको पाउँछु ।

केही किताब चाहिँ म छुन पनि मन पराउँदिन । जस्तो लरेन्स डुरेलको अलेक्जेन्ड्रिया क्वार्टेट ५० वर्षअघि पढ्दा मैले उत्तेजक पाएको थिएँ । अचेल चाहिँ अलि बढी ढोंग पाउँछु त्यसमा ।

मैले सबैभन्दा ढिला पढेको पुस्तक चाहिँ जेन आयर हो । १९ औँ शताब्दीका महान् उपन्यासहरूको सूचीमा पर्ने अन्य दुई किताब पर्सुएसन र मिडलमार्च पनि मैले ढिला नै पढेँ ।

अहिले के पढ्दैछु म ? डेभिड स्टोरीको अ स्टिङिङ डिलाइट पढ्दैछु । यो ज्यादै पीडादायी संस्मरण हो । स्वेतलाना एलेक्सभिचको लास्ट विटनेस पनि सँगै पढिरहेको छु ।

जुलियन बर्न्को एलिथाबेथ फिन्च नामक पुस्तक हालै प्रकाशित छ ।

लेखक परिचय

सन् १८२१ मा म्यान्चेस्टर गार्डियन नामबाट प्रकाशन हुन थालेको यो बेलायती अखबारले आफ्नो नाम सन् १९५९ बाट नाम परिवर्तन गरी द गार्डियन राखेको हो । यसका सहप्रकाशन द अब्जर्भर र द गार्डियन विक्ली अखबार प्रकाशन गर्ने गर्छ । यसलाई गार्डियन मिडिया ग्रुपले प्रकाशन गर्ने गर्छ भने यो अखबारको माउ संस्था स्कट ट्रस्ट हो । यो संस्थाले नाफा सेयरहोल्डरहरूबीच बाँडफाँड गर्दैन । हालै यो संस्था संस्थापना भएको २०० वर्ष पूरा भएको छ ।

प्रतिक्रिया
Loading...