यस स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरुलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उदेश्य हो । अगामी दिनमा पाठक तथा स्रष्टाहरुको सहयोगले यस स्तम्भलाई थप सशक्त रुपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ ।
यसैक्रममा साताका पुस्तकमा यो साता सात पुस्तक । ‘चोभार ब्लुज’देखि ‘प्रेतात्मासँगको यात्रा’सम्म; पुस्तककाे छाेटाे परिचयसहित ।
१. आजलाई यति नै – प्रकाशमणि दहाल
प्राध्यापक साहित्यकार प्रकाशमणि दहालको नवीनतम निबन्ध कृति हो – आजलाई यति नै । यस सङ्ग्रहमा ५२ वटा विश्लेषणात्मक निबन्धहरु सङ्ग्रहित छन् । आत्मपरक र वस्तुपरक दुवै खाले निबन्ध लेखनको सन्धिस्थलको बाटो भएर यी निबन्धहरु लेखिएका छन् । भावुकतालाई भन्दा चिन्तन र विचारलाई प्रधानता दिइएका सङ्ग्रहित निबन्धहरु बौद्धिक पर्यवेक्षणका साथमा राजनैतिक विसङ्गति र रुढिवादलाई उदाङ्गो पार्दै सही समाधनतर्फ उन्मुख तुल्याउन अग्रसर छन् ।
‘यी निबन्धहरु मूलतः चार मान्यता वा आग्रहमा केन्द्रित देखिन्छन्ः मानवीय नैतिकता, देशभक्ति, विश्वका तमाम स्थावर-जङ्गम वस्तु र व्यवहारमा विद्यमान अन्योन्याश्रम वा सम्बद्धता र नित विकासको मानवीय यथार्थ ।’, पुस्तकको भूमिका प्रा. गोपीकृष्ण शर्मा लेख्छन्, ‘त्यसैले यी निबन्ध बौद्धिक हुन् र यिनले खासगरी पढेलेखेका मानिसलाई पाठकका रुपमा पाउने अपेक्षा गरेका छन् । शिक्षित व्यक्तिका मनमा तरङ्ग पैदा गर्ने चासो रहेका यी निबन्ध ज्यादै पठनीय छन् ।’
पुस्तकलाई भुँडीपुराण प्रकाशन गृहले बजारमा ल्याएको हो । ३ सय ७४ पृष्ठमा फैलिएको निबन्धकृतिको मूल्य ५ सय रुपियाँ रहेको छ ।
२. यात्रा प्रेतात्मासँग – रत्नकुमार श्रेष्ठ
रत्नकुमार श्रेष्ठको नवीनतम निबन्ध विधाको पुस्तक हो, यात्रा प्रेतात्मासँग । पुस्तकमा ‘बाल्यवस्थामा अन्तर्मनको सोचः आत्मादेखि परमात्मासम्म’, ‘दैवी घटनाः सम्झनाको तरेलीबाट’, ‘शरीर र आत्माको सम्बन्ध’, ‘अरुणिमादिदीः दैवीशक्ति’, ‘प्रेतात्माको अधीनमा नेहा’, ‘आहनामा आत्माको प्रभाव’, ‘मेघामा आत्माको प्रवेश’, ‘आहनाको अनौठो क्रियाकलाप’, ‘माहीको घटनाः दैवीशक्तिको प्रभाव’लगायत दैवीशक्ति सम्बन्धी २० वटा अनुभूतिजन्य निबन्धहरु सङ्ग्रहित छन् ।
‘यस पुस्तकभित्रका घटनाहरुमा समावेश गरिएका पात्रहरुको नाम उल्लेख गर्दा व्यक्तिगत जीवनमा असर नपरोस् भनेर सत्य घटनामा आधारित भए पनि काल्पनिक राखिएका छन् ।’, लेखकीय मन्तव्यमा लेखक श्रेष्ठ लेख्छन्, ‘केही स्थानविशेषको नाम पनि सामान्य रुपमा परिवर्तन भएका छन् । मेरा अभिन्न मित्रहरु र आफन्तहरुको लागि यो घटना नौलो होइन, प्रायः सबै यस सम्बन्धमा जानकार छन् । तर पनि लिखित दस्तावेजको रुपमा रहोस् भनेर केही धार्मिक ग्रन्थका कुराहरु र केही वैज्ञानिक आधारहरु समेतलाई सामाञ्जयस्यता कायम गरी लेख्न खोजिएको छ ।’
पुस्तकलाई रत्न पुस्तक भण्डारीले प्रकाशनमा ल्याएको हो । १ सय १६ पृष्ठमा फैलिएको कृतिको मूल्य ३ सय ५० रुपियाँ रहेको छ ।
३. चोभार ब्लुज – बिक्रम भक्त जोशी
निकथासङ्ग्रह ‘चोभार ब्लुज’ इन्जिनियर बिक्रम भक्त जोशीको पहिलो कृति हो । बैंकरसमेत रहेका जोशी केही समययता व्यवसायिक कार्य छाडेर साहित्य साधनामा लागेका छन् । जोशीका कथाभित्र वाग्मती सभ्यताका कुराहरु छन् । वाग्मती सभ्यताको केन्द्रमा रहेको काठमाडौँको आञ्चलिकता छ । नेवारी जनजीवन, सभ्यताका अंश छन् र आधुनिकता पसेसँगै काठमाडौँले गुमाएका अर्गानिकीकरणको अनौठा पीडा पनि छन् ।
‘बिक्रम भक्त आफ्ना कथाहरु अनौठो पारामा भन्छन् ।’, भूमिकामा साहित्यकार अश्विनी कोइराला लेख्छन्, ‘हरेक कथा प्रायोगिक छन् । स्वैरकाल्पनिकता र निकथा यस सङ्ग्रहका प्राण हुन् । यिनै विशेषताभित्र रहेर कथाकारले रमाइलो पारामा कथा भन्दै जान्छन् । हामीलाई काठमाडौँ उपत्यका र वरपरका नयाँ नयाँ कुराहरु थाहा हुँदै जान्छ । यसले ज्ञान बाँड्दैन, इतिहास भन्दैन । संस्कृतिको व्याख्या पनि गर्दैन । तर पनि कताकति सबै कुरा भन्दै जान्छन् । नयाँ नयाँ शैलीमा… ।’
पुस्तकलाई साहित्यपोस्ट समूहले प्रकाशनमा ल्याएको हो । १९ कथा सङ्ग्रहित २ सय २६ पृष्ठमा फैलिएको निकथासङ्ग्रहको मूल्य ४ सय ५० रुपियाँ रहेको छ ।
४. जीवनको अभिनन्दन – ज्ञानू पाण्डे
नेपाली साहित्य, साहित्यमा प्रयुक्त विभिन्न सिद्धान्त एवं लैङ्गिक अध्ययनजस्ता विषयगत क्षेत्रमा प्राध्यापन गर्दै आएकी डा. ज्ञानू पाण्डेको नवीनतम निबन्धसङ्ग्रह हो, जीवनको अभिनन्दन । यस सङ्ग्रहमा पाण्डेले आत्मपरक शैलीमा जीवनको आरोह-अवरोह, सपना-मिथ्यादेखि स्वैरकल्पनिक वैचारिक तर्कनाहरुलाई आकर्षक शैली र शिल्पमा प्रस्तुत गरेकी छिन् ।
‘विषयको बिउ पाएपछि सिर्जनाको राम्रो खेती गर्नसक्ने सामथ्र्य छ डा. ज्ञानू पाण्डेमा ।’, पुस्तकको भूमिकामा साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ लेख्छन्, ‘उनी नेपाली साहित्यको भण्डारमा समालोचना, कविता र निबन्धमार्फत उज्यालोसँग स्थापित नाम हुन् । प्रस्तुत जीवनको अभिनन्दनका निबन्धहरुमा नभनेजस्तो गरेर जीवनलाई गहिरोसँग अथ्र्याउन सकेकी छन् । बोली नफुटेको बालकको मुस्कानले भित्रसम्म छोइउजस्तै हृदयसँग साक्षात्कार गराउन सकेकी छन् ।’
रत्न पुस्तक भण्डारले प्रकाशनमा ल्याएको प्रस्तुत कृति पाण्डेको पहिलो पुस्तकाकार कृति हो । १ सय ६७ पृष्ठमा फैलिएको कृतिको मूल्य २ सय ९५ रुपियाँ रहेको छ ।
५. खल्तीका कुरा चल्तीका सूत्र – छायादत्त न्यौपाने ‘बगर’
छायादत्त न्यौपानेको नवीनतम कृति हो, खल्तीका कुरा चल्तीका सूत्र । पुस्तकको कभरले प्रश्न गर्छ – ‘हामी अरुलाई अनुशासित बन, अनुशासित बन भनिरहन्छौं, तर आफैँतिर फर्केर विश्लेषण गर्दैनौं, किन ?’ यो प्रश्नबाट प्रष्ट हुन्छ – कृतिले जीवनलाई अनुशासित, सहज र सरल बनाउने अनगिन्ती सूत्रहरु दिएको छ ।
‘धानको गुदी र बोक्राको दूरी कति टाढा हुन्छ ? ठुलो बतास चल्यो भन्दैमा बढी अक्सिजन लिन पनि त सकिन्नँ !’, पुस्तकको भूमिकामा प्रभात सापकोटा लेख्छन्, ‘निष्कर्षचाहिँ यसमा रन्दा लगाउन बाँकी रहेका प्रश्न उठ्ने उठ्ने विपरीत पाटाहरु र सच्याउनुपर्ने पक्षहरु पनि छन् । कसिला, रसिला एवं मानसिक तागत बढाउन नभई नहुने सूत्रको त मूल ! कतिपयः सूत्रले हामीलाई चस्काउँछन् र लठ्याउँछन् पनि । कतिले चाहिँ दर्शनको भर्याङ चढाएर सन्तुष्टिको यात्रा गराउँछन् । पाठकलाई विभिन्न ढङ्गले अध्ययनमा पल्काइरहने सूत्राचार्य छायादत्त न्यौपानेका यस्ता दृष्टिसूत्र हाम्रो वाङ्मयका ताजा सृष्टि हुन् ।’
पुस्तकलाई भुँडीपुराण प्रकाशन गृहले बजारमा ल्याएको हो । ८८ पृष्ठमा फैलिएको कृतिको मूल्य १ सय ७० रुपियाँ रहेको छ ।
६. रानीतलाउ – कल्पना खरेल
कल्पना खरेलको नवीनतम उपन्यासकृति हो, ‘रानीतलाउ’ । समाजमा रहेका अन्तरविरोध र सङ्घर्षलाई भित्रैसम्म पसेर गहिरो अन्तर्दृष्टिका साथ उपन्यासको विषयवस्तु बुनिएको छ । समाजमा रहेका अनेकौँ विकृति र विसङ्गतिमाथि प्रहार गर्दै स्वच्छ र न्यायपूर्ण समाज कस्तो हुनुपर्छ भन्दै उपन्यासमार्फत उपन्यासकार खरेलले टिप्पणी गरेकी छिन् ।
उपन्यासले नयाँ युगका लागि आह्वान गरेको छ । जनताको स्वच्छ भावनाहरूलाई थिच्ने र किच्ने कुपरम्परा जात, धर्मविरूद्ध सशक्त उनको कलम निर्भिक भएर अगाडि बढेको छ । उपन्यासले युवा-युवतीहरूको हृदयमा कहिल्यै नमर्ने जोश र उत्साह भर्ने काम गरेको छ । जीवनमा अचानक विभिन्न कठिनाइ आउँछन् तर तिनको समाधान वैज्ञानिक तरिकाले गर्न सकिन्छ भन्ने तर्क र उपायहरू उपन्यासमा पाइन्छ । मानव जातिलाई स्नेह गर्नु, प्रेम गर्नु र मानवजातिको स्वतन्त्रलाई सम्मान गर्नु यो उपन्यासको विशेषता रहेको देखिन्छ । यस उपन्यासले आजको नयाँ यथार्थलाई पक्रेको छ । स्वार्थ र अज्ञानताको कारणले गर्दा श्रेष्ठता भएको मान्छेलाई मान्छेले नै अपमान गर्न पुग्छ । सत्यको लागि सबै त्याग गर्न सकिन्छ तर कुनै पनि चिज प्राप्त गर्नका लागि सत्य त्याग्न सकिन्न । यही कुराको गहन सन्देश यो उपन्यासले दिन सकेको छ ।
खरेलको उपन्यास ‘रानीतलाउ’ मञ्जरी प्रकाशनले बजारमा ल्याएको हो ।
७. पानीघट्ट – सुरेश प्राञ्जली
लेखक सुरेश प्राञ्जलीको दोस्रो उपन्यास हो, ‘पानीघट्ट’ । तीस र चालिसको दशकको गण्डकी भेगको ग्रामीण समाजमा एउटी महिलाले विवाहअघि र पछि बेहोर्नुपरेको कहरलाई ‘पानी’ र ‘घट्ट’को बिम्बात्मक चित्रमा उतारिएको उपन्यास कथ्य भाषाको मीठो प्रयोग र आञ्चलिक शब्दावलीको सुगन्धित हरकले पठनीय बनेको छ ।
लैङ्गिक विभेदको कठोर सामाजिक यथार्थबाट सुरु भएको उपन्यास पानीघट्ट गुरुङ जातिमा प्रचलित रोधी संस्कृति र लाहुरे परम्परासँगै हुर्किएकी एउटी बाहुनी ठिटी जूनमाया र गुरूङ ठिटो रनबहादुर बीचको रोचक प्रेमकथा हो । यस अर्थमा पानीघट्ट आफैंमा सामाजिक मूल्य रुपान्तरण तथा सांस्कृतिक अन्तर्घुलनको साक्षी हो ।
मूलधारको अखबारी लेखनमा चिनिएको नाम हो, सुरेश प्राञ्जली । सामाजिक, आर्थिक, राजनीतिक, कूटनीतिकलगायत समसामयिक मामिलामा उनका थुप्रै लेख/टिप्पणी राष्ट्रिय दैनिकमा छापिएका छन् । नेपाली साङ्गीतिक क्षेत्रमा समेत दरिलो स्थान बनाउनु भएका प्राञ्जलीले म्युजिक अवार्ड पनि जितेका छन् । दश वर्षे सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा लेखिएको उनको ‘तुइन’ अत्यधिक रूचाइएको पहिलो उपन्यास हो ।
पुस्तक फाइनप्रिन्टले प्रकाशन गरेको हो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।