भागः १६

मुनि सुतिरहेको थियो। मलाई यस्तो आनन्दको अनुभव भयो जुन शब्दद्वारा बताउनै सक्तिनँ । कही बच्चाको नींद नटुटोस्‌ भनेर म हलचलसम्म पत्ति नगरेर पल्टिरहेको थिएँ। तर मेरो यो कोशिश व्यर्थ भइरहेको थियो। म बीच बीचमा बिस्तारै उठ्ने गर्थे, किनभने धैर्य गरेर पल्टिरहने तागत ममा छँदै थिएन। म बिस्तारै सलाई कोर्दथेँ र उसको अनुहारमा चियाएर मनमनै प्यारो गरेर मुसार्दथेँ .. . ।

उज्यालो हुनुभन्दा केही अगाडि नै म ब्युँझिएँ। किन हो कुन्नि, मलाई उकुसमुकुस भएर आयो। तर केही बेरपछि नै कारण थाहा भइहाल्यो। मेरो छोरो त चद्दरबाट बाहिर तिस्किसकेको रहेछ र मेरो आङमाथि नै मजासंग गोडा पसारेर पल्टिरहेको रहेछ। अनि उसको सानो गोडाले मेरो घाँटी थिचिराखेको रहेछ। उससंग एउटै पलङमा सुत्दा जहिले पनि यस्तै अप्ठ्यारो परिरहन्छ। तर अब त मलाई यसको पनि बानी परिसक्यो। बरू उ मसंगै सुतेको छैन भने मलाई निद्रा नै लाग्दैन । अक्सर राति म उसलाई कहिले सुतिरहेको बेलामा पुलुक्क हेर्ने गर्छु त कहिले उसको कपालको बुल्बुली सुँघ्ने गर्छु। यसो गर्दा मेरो मनको बोझ कम हुन्छ र जीउ नै हलुंगो भएर आउँछ। नत्न त पीडा सहँदा सहँदा मेरो मुटु नै कडा पत्थर बनिसकेको हुँदो हो…।

शुरू शुरूमा त उ पनि मसँगै ट्रकमा सफर गर्दथ्यो । यसरी काम चल्दैन भन्ने पछि मैले बुझें । म एक्लोको निम्ति त के चाहिरएको थियो र ? एक टुक्रा रोटि, एक दाना प्याज र अलिकति नून ! बस्‌, यत्ति भए सिपाहीको पूरै एक दिनको काम चलिहाल्छ। तर जब उ साथमा हुन्थ्यो त कुरै अर्को हन्थ्यो। कहिले उसलाई दूध चाहिन्थ्यो त कहिले एउटा उमालिएको फुल नभई हुँदैनथ्यो । केही न केही तातो खाना ख्वाउनु जरूरी नै हुन्थ्यो । तर मैले काम पानि त नगरी हुँदैनथ्यो । त्यसैले मैले आफ्नो मुटु दरो पारें र उसलाई घरपट्टिनीको हेरचाहमा छोड्न थाले। तर उ दिनभरि रोइरहन्थ्यो र साँझपख मलाई भेट्न घरबाट भागेर अन्नभण्डारसम्म नै आइपुग्थ्यो। राति निकै बेरसम्म मलाई त्यहाँ नै उ पर्खेर बसिरहन्थ्यो। शुरू शुरूमा मैले उसको निम्ति काफी तकलीफ उठाउनु पर्यो। एक चोटि हामी सबेरै नै पलंगमा सुत्न गयौं। दिउँसो मैले खूब काम गर्नु परेको थियो त्यस दिन। परन्तु सधैं भँगेरा झैँ चुलबुल गरिरहने केटो त्यस दिन निकै दिक्क र शान्त देखियो। मलै सोधें छोरा के कुरा सोच्न लागिस् हँ? ” उसले दलिनतिर हेरेको हेर्यै भन्यो “बा, तपाईंले आफ्नो छालाको कोट के गर्नु भयो नि?” जीवनभरि कहिल्यै पनि मसित छालाको कोट थिएन ! कुरा अजमाएर जवाफ दिनु पर्यो। तसर्थ मैले भने “त्यो कोट त भोरोनेजमा नै छुट्यो ! ”

“मलाई खोज्न यतिका दिन किन लगाउनु भयो त?”

“छोरा, मैले तँलाई जर्मनीमा खोजेँ, पोल्याण्डमा खोजेँ, सारा बेलारूस चहारेर खोजें । तर तँलाई मैले यहाँ उर्यूपिन्स्कमा पो पाएँ त !”

“के उर्यू्पिन्स्क जर्मनीभन्दा नजीक छ र ? हाम्रो घरबाट पोल्याण्ड कति टाढा होला त ?”

यसरी हामी त्यतिन्जेलसम्म कुरा गर्दै रह्यौं जबसम्म दुबै जना भुसुक्क निदाएनौं ।

तर भाइ, कोटको कुरा केटोले त्यसै बिनाकारण उठाएको होला भन्ने ठान्छौ त? अहँ, वास्तवमा यस्तो थिएन। उसले यस्तो प्रश्न सोध्नुको खास कारण थियो। कुरा के होला भने उसको साक्खै बाबुसित छालाको कोट हुँदो हो । त्यसैले त उसलाई छालाको कोटको सम्झना भएर आयो। केटाकेटी हरूको स्मरणशक्ति गर्मीमा चम्किने बिजुली जस्तै पो हुन्छ त। झलक्क बिजुली चम्किन्छ , तुरून्त सबै चीज छर्लङ्ग देखिन्छ र तत्कालै सबै कुरा बिलाएर जान्छ। भान्याको सम्झनामा पनि यस्तै बिजुली चम्कियो होला र त्यसको उज्यालोमा उसलाई पहिलेको कुरा याद भएर आयो होला ।

के सम्भव छ भने हामी उर्यूपिन्स्कमा अरु एक साल जति अझ बस्न सक्ने थियौं। तर नभेम्बरमा मैले एउटा दुर्घटनाको सामना गर्नु पर्यो। एक दिन एउटा गाउँमा म ट्रक हाँकेर जाँदै थिएँ। मेरो ट्रक हिलोमा चिप्लेर जान थाल्यो । यत्तिकेमा सडकमा एउटा गाई पनि आइपुग्यो र उसको टाँगमा ट्रकले चोट पुर्यायो। थाहा भएकै कुरा हो, आइमाईहरूले ठूलो खैलाबैला मच्चाए । धेरै मानिसहरू यताउतिबाट आएर त्यहाँ जम्मा भए। यत्तिकैमा एक जना ट्रैफिक इन्सपेक्टर पनि त्यहाँ टुप्लुक्क आइपुग्यो । सानोतिनो घटना हो, छोडिदिनोस्‌ भनेर मैले उसलाई कति बिन्तीभाउ गरेँ। तर केही सीप लागेन । उसले मेरो लाइसेन्स खोसेर लिइहाल्यो । गाई त उठेर पुच्छर हल्लाउँदै उफ्रेर गल्लीतिर पसिहाल्यो , तर मैले भने आफ्नो लाइसेन्स गुमाइसकेको थिएँ। त्यसपछि हिउँदभरि मैले सिकर्मीको काम गरेँ। आखिर ड्राइभरकै काम गर्ने एक जना मेरा पुराना फौजी साथीसंग पत्न-व्यवहार भयो र उनले मलाई आफूकहाँ पाहुना बन्न आाउने निम्तो पठाएका छन्‌ । उनी पनि तपाईंहरूको जिल्लामा काशारी इलाकामा बस्छन्‌ र ड्राइभरी गर्छन्‌ । उनले लेखेका छन्‌ – छिटै आइहाल ! एक साल जति सिकर्मीको काम गर्नु पर्ला । त्यसपछि हाम्रो इलाकामा ट्रक चलाउने अर्को लाइसेन्स पाइहाल्ने…….
क्रमश…..