युरोपमा यतिबेला समर याम चलिरहेको छ । समर याम अर्थात् घमाइलो समय । गर्मीको यो बेला प्रायः युरोपमा स्कुलहरू लगभग बढीमा दुईदेखि अढाई महिनासम्म बिदा हुने गर्छ । विद्यार्थीहरूले यही बेला कलेज वा स्कुल शुल्क जुटाउन बाहिरतिर काम गर्ने गर्छन् । यतिबेला होम वर्कको कुनै तनाव हुँदैन ।

यो फुर्सदिलो याममा भने पुस्तक व्यापारीहरूले राम्रा किताबहरू बजारमा ल्याउने गर्छन् । खासगरी पुस्तक प्रकाशकका लागि गर्मी याम र जाडो याममा हुने बिदा र क्रिसमस तथा नयाँ वर्षको बिदा पुस्तक बिक्री गर्ने औधि राम्रो अवधि हो । यही बेला प्रख्यात लेखकहरूले फिक्सन पुस्तक बजारमा ल्याउने गर्छन् ।

पठन संस्कृति विस्तार गर्न राम्रा किताबको प्रचार गर्ने दायित्व प्रकाशकको मात्र होइन, मिडियाको पनि उत्तिकै हो । त्यसैले त यो साताभर बेलायती अखबारहरूले समर रिडिङको लागि एउटा प्याकेज नै तयार गर्ने गर्छन् । उदाहरणका लागि हामीले यहाँ फाइनान्सियल टाइम्स र द गार्डियन दैनिक पत्रिकाले प्रकाशन गरेका पुस्तक चर्चाको पृष्ठ नै तपाईंहरूका लागि रोचक हुनसक्ने ठानी प्रकाशन गरेका छौँ ।