साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

साताका सात पुस्तकः ‘जन्मिँदै १६ वर्षे शिशुको कथा’देखि ‘श्रीवल्ली’सम्म

साताका पुस्तकमा योपटक सात पुस्तक । ‘जन्मिँदै १६ वर्षे शिशुको कथा’देखि ‘श्रीवल्ली’सम्म; पुस्तककाे छाेटाे परिचयसहित ।

यस स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरुलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उदेश्य हो । अगामी दिनमा पाठक तथा स्रष्टाहरुको सहयोगले यस स्तम्भलाई थप सशक्त रुपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ ।

यसैक्रममा साताका पुस्तकमा योपटक सात पुस्तक । ‘जन्मिँदै १६ वर्षे शिशुको कथा’देखि ‘श्रीवल्ली’सम्म; पुस्तककाे छाेटाे परिचयसहित ।

bahulako diary small and inside post

१. सातो – ध्रुवचन्द्र गौतम

वरिष्ठ आख्यानकार ध्रुवचन्द्र गौतमको नवीनतम उपन्यास हो, सातो । आख्यान लेखमा विशिष्ठ पहिचान बनाएका गौतमको ‘सातो’ २८ औँ आख्यान कृति हो । उमेरले ८० छेउ पुगेका गौतमको यो उपन्यासको लेखन र शैलीमा अद्भुत शिल्प र शिल्पी पाउन सकिन्छ ।

‘… गौतमको लेखाइमा स्वैरकल्पना, नयाँपन र श्याम–व्यंग्य (ब्ल्याक–ह्युमर) को पूरापूर प्रयोग भएको हुन्छ । यही विन्याससहित आजको युगलाई मानसिक र दार्शनिक रुपमा हेर्ने प्रयत्नमा यो कृति जन्मिएको छ ।’, पुस्तकको ब्याककभरमा लेखिएको छ, ‘सातोमा प्रयुक्त भएको शैली र लेखनलाई ‘आविष्कारी’ (इनोभेटिभ/इन्भेन्टिभ) भनेर चिनिन्छ । … एउटा शिशु जन्मिँदै १६ वर्षे भएर जन्मन्छ । उपन्यास यहीँदेखि थालिन्छ … ।’

पुस्तकलाई रत्न पुस्तक भण्डारले प्रकाशनमा ल्याएको हो । १ सय १४ पृष्ठमा फैलिएको उपन्यासको मूल्य १ सय ९५ रुपियाँ रहेको छ ।

 

२. ज्ञानका कुरा – उत्तमकुमार श्रेष्ठ

उत्तमकुमार श्रेष्ठका ४,४८४ वटा सूक्तिहरुको सङ्ग्रह हो, ज्ञानका कुरा । पुस्तकमा ज्ञानका बारेमा लेखिएका सूक्तिहरुका साथै जीवनका अनेकन पक्ष, अनुभव, विषय र अध्यात्मसँग जोडिएको सूक्तिहरुसमेत सङ्कलित छन् । सङ्ग्रहित सूक्तिहरुमा श्रेष्ठको जीवनका अनुभव, जीवनदृष्टि, शास्त्रज्ञान, स्वसंस्कृति, पुर्खाको आदर्शलगायत तत्त्वहरु प्रतिबिम्बित भएका छन् ।

‘ग्रन्थका ४४८४ थान उक्ति मैले दोहोर्याएर पढेँ । प्रत्येक उक्ति मलाई आप्तवचन लाग्दछन् । प्रत्येक उक्तिमा पूर्वीय चेतनाको आभा छ, हाम्रा ऋषिमुनिले गाएका ज्ञानमार्गका वाणीहरु यहीँ ध्वनित हुन्छन् ।’, पुस्तकको भूमिकामा प्रा.डा. गोविन्दराज भट्टराई लेख्छन्, ‘बिना ज्ञानको शिक्षा आडम्बर मात्र हो । प्रस्तुत ग्रन्थले त्यति भन्छ – भित्र पसौँ ज्ञान चिनौँ । सम्पूर्ण ज्ञानशास्त्रको सारतत्त्व प्रस्तुत गर्ने यी सूक्तिहरु एकपल्ट होइन, अनेकपल्ट पढौँ, आफ्ना प्रियजनलाई पढिदिने आग्रह गरौँ, पढाऔँ । ज्ञानको प्रकार र प्रकृति, ज्ञान प्राप्तिको प्रक्रिया र परिणाम सबै मार्गका द्वार एकैचोटि खुल्नेछन् ।’

पुस्तकलाई ओरिएन्टल पब्लिकेसनले प्रकाशनमा ल्याएको हो । २ सय ६० पृष्ठमा फैलिएको हार्डकभर कृतिको मूल्य ३ सय ५० रुपियाँ रहेको छ ।

 

३. नेपालको भूगोल – डा. गोपीकृष्ण पाण्डे

पद्यकन्या बहुमुखी क्याम्पसका, भूगोल विभागका सहप्राध्यापक डा. गोपीकृष्ण पाण्डेको अनुसन्धानमूलक कृति हो, नेपालको भूगोल । पाण्डेले पुस्तकलाई ‘परिचयात्मक भाग’, ‘नेपाल भूमिको निमार्ण एवं नेपाल शब्दको उत्पत्ति, स्थिति, सिमाना एवं आकार’, ‘नेपालको प्रशासनिक तथा प्रादेशिक विभाजन’, ‘नेपालको प्राकृतिक स्वरुप’, ‘नेपालको हावापानी’, ‘नेपालमा प्राकृतिक वनस्पति’, ‘नेपालमा जीवजन्तु’, ‘नेपालका नदीनाला एवं तालतलैयाहरु’, ‘नेपालमा माटो’, ‘नेपालमा प्राकृतिक स्रोत एवं शक्तिका साधनहरु’, ‘प्राकृतिक स्रोत एवं साधनले मानव जीवनमाथि पार्ने प्रभाव’लगायत तेइस अध्यायमा प्रस्तुत गरेका छन् ।

‘वर्तमान समयमा कोभिड–१९ को महामारीले गर्दा धेरैजसो नेपालको उत्तरी नाकाहरु चीन सरकारले बन्द नै गरेको छ ।’, लेखकीयमा डा. पाण्डेले लेखेका छन्, ‘त्यहाँका जनताहरु केन्द्रबाट प्रवाहित हुने सेवासुविधाबाट समेत बञ्चित छन् । यी पिछडिएका क्षेत्रहरुको विकास गर्नका लागि यातायातको सुविधा वृद्धि गरी दक्षिणी प्रदेशहरुसँग धेरै आवतजावत गराउनु र तिब्बती क्षेत्रसँगको व्यापारलाई जगाउनु आवश्यक छ । जुन कुराको सामान्य उल्लेख पनि यस पुस्तकमा गरिएको छ ।’

पुस्तकलाई भुँडीपुराण प्रकाशन गृहले बजारमा ल्याएको हो । ३ सय ७० पृष्ठमा फैलिएको पुस्तकको मूल्य ५ सय ९० रुपियाँ रहेको छ ।

 

४. समका दुःखान्त नाटकमा द्वन्द्वविधान – प्रा.डा. कुमारप्रसाद कोइराला

‘समका दुःखान्त नाटकमा द्वन्द्वविधान’ प्रा.डा. कुमारप्रसाद कोइरालाको विद्यावारिधि शोधग्रन्थको सङ्क्षेपीकृति र सरलीकृति पुस्तकाकार रुप हो । समका नाटकहरुको द्वन्द्वविधानलाई मसिनो गरी केलाइएका यस पुस्तकलाई डा. कोइरालाले ‘प्रस्तावना’, ‘समको नाट्यव्यक्तित्व निमार्ण र विकासमा द्वन्द्वको भूमिका’, ‘समको नाट्ययात्रा र दुःखान्त नाटकको पहिचान’, ‘तानसेनको झरीमा द्वन्द्व’, ‘मुटुको व्यथामा द्वन्द्व’, ‘अन्धवेगमा द्वन्द्व’, ‘प्रेमपिण्डमा द्वन्द्व’, ‘स्वानीमान्छेमा द्वान्द्व’, ‘भीमसेनको अन्त्यमा द्वन्द्व’ र ‘निष्कर्ष तथा उपसंहार’ गरी दस खण्डमा प्रस्तुत गरेका छन् ।

‘यो कृति मेरो विद्यावारिधि शोधग्रन्थको सङ्क्षेपीकृत र सरलीकृति रुप हो । शोधअनुशासन कायम गरी मूलरुपमा रहेका अन्य औपचारिक पक्ष र अंशसमेत हटाएर यथाशक्य यसलाई सबै पाठकका लागि उपयोगी बनेउने प्रयास गरेको छु ।’, कृज्ञताज्ञापनमा लेखक कोइराला लेख्छन्, ‘त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत वि.स. २०६० मा विधिवत् आरम्भ गरेर २०६५ मा पूरा गरेको समका दुःखान्त नाटकमा द्वन्द्वविधान शीर्षकको विद्यावारिधि शोधकार्यमा मलाई सहयोग गर्ने महानुभावहरु, आफन्तजन तथा सङ्घसंस्थाप्रति कृतज्ञता ज्ञापन गर्नु मेरो परम् कर्तव्य हो ।’

पुस्तकलाई ओरिएन्टल पब्लिकेसनले प्रकाशनमा ल्याएको हो । ५ सय ६१ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ७ सय ५० (सफ्ट कभर) रुपियाँ रहेको छ ।

 

५. बुद्धका पाइला पछ्याउँदै – पूर्णबहादुर अधिकारी

सप्तगण्डकी बहुमुखी क्याम्पसका सेवानिवृत्त उप–प्राध्यापक पूर्णबहादुर अधिकारीको नियात्राकृति हो, बुद्धका पाइला पछ्याउँदै । अधिकारीले पुस्तकमा ‘जागिरले मनाङ पुर्यायो’, ‘आकाश यात्रा’, ‘घर फर्कदै’, ‘चरीकोट, जिरी र नगरकोट यात्रा’, ‘राहत लिएर बारपाक फेदीसम्म’, ‘नाकाबन्दीको सकसमा पश्चिम यात्रा’, ‘एकचोटि पुग्नै पर्ने फूलबारी, घान्द्रुक’लगायत १६ शीर्षकका नियात्रा–निबन्धहरु सङ्ग्रहित छन् ।

‘पूर्णबहादुर अधिकारीको यो नियात्रा पढेपछि मलाई लाग्यो, उहाँको सृजनात्मक अभिरुचिको मूल क्षेत्रचाहिँ यात्रा–निबन्ध नै हो ।’, शुभकामना मन्तव्यमा बाबुराम पाण्डेले लेखेका छन्, ‘छन त उहाँका कथा र कविता पनि प्रकाशित छन् । यस पुस्तकमा प्रकृति, राजनीति, समाज र संस्कृति अनि जीवनजगत्का समग्र विषयलाई सरल र अन्वेषणात्मक शैलीमा प्रस्तुत गरिएको छ । भविष्यमा अझै सुन्दर र गहन कला–साहित्य सृजनामा सफलता मिल्दै जाओस् ।’

पुस्तकलाई भुँडीपुराण प्रकाशन गृहले बजारमा ल्याएको हो । १ सय ८७ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ३ सय रुपियाँ रहेको छ ।

 

६. सागरमणि दाइ नेपाल फर्किनु भयो – विश्वराज अधिकारी

विश्वराज अधिकारीकृति ‘सागरमणि दाइ नेपाल फर्किनु भयो’ अमेरिकी नेपाली प्रवासी कथाहरुको सङ्ग्रह हो । कृतिमा जुनसुकै हालतमा अमेरिका छिर्न खोज्ने नेपालीहरुको प्रवृत्ति, अमेरिका पुगेपछि पाएका शारीरिक तथा मानसिक दुःख–पीडाहरु, गैरकानुनी रुपमा बस्नु पर्ने बाध्यतालगायत विभिन्न पक्षहरुमाफत् डायस्पोरिक पीडा अभिव्यक्त गरिएको छ ।

‘सङ्ग्रहमा १६ वटा कथा छन् । प्रायः सबैजसो कथाको कार्यपीठिका अमेरिका हो, यद्यपि कतिपय कथामा क्यानडाका केही सहर छन् भने अप्रत्यक्ष सन्दर्भको रुपमा बेलायत पनि तानिएको छ ।’, कृतिको भूमिकामा महेश पौड्यालले लेखेका छन्, ‘बाध्यताले, रहरले, अध्ययनको हुटहुटीले, सुनिश्चित भविष्यको चाहनाले वा अन्य कारणले नेपाल छोडेर विदेशिएका पात्रहरुको दिनचर्या, पहिचानको सङ्कट, भविष्यको भिन्तन, अतीतमोह, वर्तमानप्रतिको अस्पष्ट दृष्टि र देशप्रेम यी कथाले उठाउन खोजेका केही महत्त्वपूर्ण विषय हुन् ।’

पुस्तकलाई मोलुङ फाउन्डेसनले प्रकाशनमा ल्याएको हो । १ सय ५६ पृष्ठमा फैलिएको पुस्तकको मूल्य २ सय रुपियाँ रहेको छ ।

 

७. श्रीवल्ली – खेमराज पोखरेल

केही समयदेखि अमेरिका बसोबास गर्दै आएका स्रष्टा खेमराज पोखरेलको नवीनतम लघुकथासङ्ग्रह हो, श्रीवल्ली । श्रीवल्ली पोखरेलको छैठौँ लघुकथाकृति हो भने समग्रमा चौधौँ हो । यस सङ्ग्रहमा पोखरेलका ७१ शीर्षकका लघुकथाहरु सङ्ग्रहित छन् ।

‘… श्रीवल्ली भनेको मनीप्लान्ट हो । म हजुरबा–हजुरआमाको एक्लो छोराको जोठो छोरो भएर जन्मेँ । स्वभाविक छ, हजुरबा–हजुरआमा तथा बुबाआमाले मलाई मनीप्लान्टको रुपमा कल्पना गर्नुभयो होला,’ लेखकीयमा पोखरेल लेख्छन्, ‘पढ्दै जाँदा मैले पढाइलाई ज्ञान प्राप्त गर्ने माध्यमभन्दा मनीप्लान्ट रोपणकै रुपमा बुझेँ । बिहे गर्दा पनि ससुरालीले सायद मेरो पढाइ र जागिरलाई मनीप्लान्ट सम्झे होलान् । … र पनि श्रीवल्ली मेरो आसा हो जीवनको । त्रास हो । भ्रम हो । बाँच्ने बहाना हो । जीवनको अनुभूति हो मेरो ।’

पुस्तकलाई मोलुङ पाउन्डेसनले प्रकाशनमा ल्याएको हो । ७९ पृष्ठमा फैलिएको कृतिको मूल्य ३ सय ५ रुपियाँ रहेको छ ।

प्रतिक्रिया
Loading...