प्रकाश गुरागाइँ

म काली छु
हो हाँडीको पिँधजस्तै काली
मलाई कालो हुनुको पीडा छैन ।

मेरो कपाल
कपाल होइन घोडाको जगर हो
त्यो जगरमा छ घोडा हुनाको पहिचान ।

मेरा आँखा चिम्सा छन्
एकदमै चिम्सा र कुना चाउरिएका
यो उर्वर बैंसमा पनि बूढी देख्नु
तपाईंको दृष्टि हो ।

मेरो नाक थेप्चो र बाङ्गो छ
हो एकदमै बाङ्गो
नागबेली नाक

माथिल्लो ओठ सुकेको छ
तल्लो ओठ ठूलो छ
जस्तो निग्रोहरूको हुन्छ

छाला बाक्लो र फुस्रो छ
जस्तो गोहोरोको सुन्दरता छालामा छ
तर, म गोहोरो होइन ।

निधार झोलुङ्गे पुलजस्तो छ
बायाँ कानमा टुसो पलाएको छ
दुब्लो भएर गाला सुकेका छन्
अनुहारभरि भुत्लाहरू छन्
यी तारजस्ता भुत्ला ठडिइरहन्छन् ।

यति भनिसकेपछि
तपाईं मेरो अनुहारको चित्र बनाउन सक्नुहुन्छ
मलाई त्यो चित्र सुन्दर लाग्नेछ

हो, मलाई थाहा छ
मेरो चित्र प्रदर्शनीमा राखिने छैन
न त बिक्नेछ र्.याम्पमा

म बिक्छु केवल सर्कसमा
जहाँ नाचिदिन्छु
तपाईं मलाई मन पराउनुहुन्न
तर, मेरो नाचमा खूब रमाउनुहुन्छ ।

म तपाईंजस्तो छैन
म, मजस्तै छु
साँच्चिकै सुन्दर छु
म जुलिया प्रास्टाना हुँ, यो समयको ।

 

(‘खुट्टामा श्रीपेच’ कवितासंग्रहबाट)