कविता के हो ? के होइन ? कविताको निश्चित परिभाषा के हो ? कविता किन लेख्छन् कविहरूले ? कोही कवि हरेक दिनजसो कविता लेखिरहेका हुन्छन् भने कोही कवि महिनौँसम्म पनि लेख्न सकिरहेका हुँदैनन् । आखिर किन ? यी सम्पूर्ण प्रश्नका उत्तर भने नभएका होइनन् । परन्तु यी प्रश्नका उत्तर भने समान हुँदैनन् । कविपिच्छे फरकफरक उत्तर पाइन्छन् ।
कला र कवितालाई कवि मनु मन्जिल यसरी व्याख्या गर्छन्– ‘प्रकृतिले हामीलाई जीवन दियो । हामी मानिस उसलाई हृदय दिन्छौँ । प्रकृति बोल्छ गहिरो कुनै भाषामा, त्यसैलाई सायद कला भन्छौँ, कविता भन्छौँ ।’
‘आफूमा भएको ऊर्जा (सीप पनि होइन, ज्ञान पनि होइन) र ब्रह्माण्डमा भएको ऊर्जाबीच सम्पर्क भएर जे आउँछ, त्यो नै कविता हो,’ कवि नवराज पराजुली यसरी कवितालाई दुई ऊर्जाबीच सम्पर्क भएर आएको कुनै अनिश्चत/अज्ञात कुरा भनेर स्वपरिभाषित गर्छन् ।
कवि महेश पौड्याल भन्छन्, ‘कविता निरन्तर आफ्नै गतिमा चल्ने विधा हो । यो ह्वात्तै चुलीमा पुग्ने र ह्वात्तै रसातलमा खस्कने विधा होइन ।’
‘सुन्ने, देख्ने, छुनेभन्दा पनि परको कुरा हो कविता । यो पराभौतिक कुरा हो,’ कवि रमेश क्षितिज कवितालाई यसरी पराभौतिक कुराको रूपमा स्वव्याख्या गर्छन् । स्वपरिभाषित गर्छन् ।
यसरी नेपाली कविताका चार कविहरूः मनु मन्जिल, नवराज पराजुली, महेश पौड्याल र रमेश क्षितिजका कविताका परिभाषा/व्याख्या हेर्ने हो भने पनि कविपिच्छे कविताको व्याख्या असमान रहेको पाइन्छ ।
वर्तमान नेपाली कविताको क्षेत्रमा विशेषतः युवा कविहरूले कवितामा नयाँ प्रयोगहरू गरिरहेका छन् । तिनीहरूले फरकफरक कोणमा फरकफरक शैलीका फरकफरक स्वादका कविताहरू लेखिरहेका छन् । यसले गर्दा नै कविताका पाठकहरू बढेको पनि बुझ्न सकिन्छ । युवा कविहरूमाझ साथसाथै नेपाली कविताको क्षेत्रमै एकदमै मनपराइएका (कविताहरू) र आफ्ना कविताहरूको माध्यमले आफ्नो छुट्टै पहिचान बनाएका युवा कवि हुन्– विवश बाबु ।
कुनै पनि विषयलाई सूक्ष्मरूपमा बुझेर त्यही सूक्ष्मताको वृक्षमा कविताको फल फलाउने कवि हुन् बाबु । उनी कविता लेख्छन् । उनी कविताको साधना गर्छन् । उनी कविताको अनन्त पथमा यात्रारत छन् । उनी कवितालाई (अ)कविता भन्छन् । (अ)कवितालाई कविता भन्छन् । सायद (अ)कविताभित्र विशाल कविता लुकेको हुन्छ भन्ने कवि विवश बाबुको बुझाइ छ । उनी कविता, (अ)कविता सबैप्रति सकारात्मक छन् । सायद यही कारणले गर्दा उनी कुनै पनि विषयलाई गहनरूपमा बुझेर कविताका ढाल्न सक्छन् ।
कवि विवश बाबुको एउटा कविता छ ‘बाटो’ शीर्षकको । यो कवितामा राजनीतिक पदचापहरू कतै पनि आँखाले देखिदैनन् । यो कवितामा क्रूर शासकीय व्यवस्था कतै पनि देखिदैन । परन्तु यो कवितामा ‘कु’राजनीतिक विचरणले कसरी देशका जनताहरू मारमा परिरहेका छन्, शोषित बनिरहेका छन्, भुइँमान्छे बनिरहेका छन्, ती सम्पूर्ण कुराहरूलाई कवि बाबुले विशिष्टरूपमा चित्राङ्कन गरेका छन् ।
लाग्छ, कविले वर्तमान नेपाली राजनीति लेखेका छन् कवितामा जुन राजनीतिले हरेक नेपाली स्वाभिमानी शीरमा आफ्नो भ्रष्ट र अराष्ट्रिय बुट बजारेको छ । यो ‘बाटो’ शीर्षक कविता पढिसकेपश्चात् हामीलाई बाटो भन्नु नै हामी नेपालीहरूको स्वाभिमानी शीर हो भन्ने लाग्न सक्छ । बाटो भन्नु नै हाम्रो जीवन हो भन्ने लाग्न सक्छ । बाटो भन्नु नै हामी हौँ कि भन्ने पनि लाग्न सक्छ । ‘बाटो’ शीर्षक कविताको अन्तिम हरफमा कवि विवश बाबु लेख्छन् –

“युगौँदेखि
हामीले बनाएको समयको यो बाटोमा
हाम्रै पैतालाहरू नहिँडेर
किन कुद्छन् ?
सभ्यताका टायलहरू ।
जसले हाम्रा आँखाहरूमा भ्रमको हिलो छ्यापेर जान्छन् ।”

एउटी गृहिणीको दिनचर्या, उसको जीवन, उसको घर र घरका प्रत्येक परिवारजन साथसाथै बस्तुभाउ प्रतिको अपार समर्पण, उसको सपना, उसको विपना आदिइत्यादि कुरालाई कवि विवश बाबुको ‘सुन्तली’ शीर्षक कवितामा प्रस्तुत गरिएको छ । यस कवितामा गाउँले जीवन, परम्परावादी आचरण र विचरण, एउटी महिलाको महान् समर्पण आदि कुरालाई देखाइएको छ । सुन्तली जो सुकै कुनै गाउँले महिला हुन सक्छिन् । परन्तु उनी सहरकी महिला कदापि हुन सक्दिनन् । यो कविताले एकातिर मान्छेले आफ्नो कर्मप्रति वफादार हुनुपर्छ, घरपरिवारको भलो हुने काम गर्नुपर्छ आदि कुरा बताएको छ भने यो कविताले महिलाहरूलाई केवल घरमा घरकै काम मात्र गराएर राख्नु हुँदैन, उनीहरूलाई पनि स्वतन्त्र भएर बाँच्न दिनुपर्छ भन्ने कुरा अप्रत्यक्षरूपमा बताएको छ । यसै ‘सुन्तली’ कविताको एक हरफ यस्तो छः

“हुँदाहुँदा कहिलेकाहीँ समयले
सुन्तलीको चप्पल लुकाएर आफू पर पुग्छ
फुटाएर छर्दै छर्दै बाटाभरि
सुन्तलीले अनुहार हेर्ने ऐनाका टुक्राहरू
धूवाँले पोतेको अनुहार लिई,
खाली खुट्टा किन कुद्छे सुन्तली ?
समयको पछिपछि
सायद उसलाई कसैले सुनाइदिन्छ
समयले लगिगयो
उसको छोराको जुत्ता ।”

कवि विवश बाबुको कविता यसप्रकार छः

 

१. बाटो
हाम्रा नङ्ग्राहरूले भित्तो उधिनेपछि
बनेको हो यो बाटोको बनोट ।

हामीले आफ्नो टाउको ढोक्काएर फुटाएका हौँ चट्यानहरू ।
र चाक्लो बनाएका हौं यो बाटोलाई ।

हामी खाली खुट्टा दौडेर हाम्रा पैतालामा कोपाएका हौँ सिसाहरू, खिलहरू ।
र, बाटोलाइ नबिझाउने बनाएका हौँ ।

हामीले पसिना पोखाएर यो बाटोमा धूलो उड्न दिएनौँ ।

हाम्रो निद्राले ननिदाई खनिरह्यो यो बाटोका नालीहरू ।

हामीले आफ्नो उमेरलाई रगतले मुछेर
बिछ्याएका हौँ यो बाटोमा र पो यो बाटो बलियो बनेको हो ।

हामीले आफ्ना मुटुहरू भित्तामा टाँसेर
जोगाएका हौँ यो बाटोलाई पहिरोबाट ।

बेलाबेलामा हाम्रो थकानलाई छेउतिर बिछ्याएर बनाएका हौँ पार्किङस्थल ।

हामीले आफ्नो शीर ढड्याएर स्वाभिमान बालेका हौँ
यो बाटोलाई उज्यालो बनाएका हौँ ।
अनि
हाम्रा हत्केलामा आफ्नै बैँस फुलाएर राखेका हौँ छेउछाउमा
यही बाटोलाई सुन्दर बनाउन ।

हिजो
नालीमा कुहिएको न्यायको साँगुरो सोच सफा गर्न
हाम्री भाउजूले आफ्नी दूधे बच्चीलाई सडकमा सुताइन् ।
तर,
यो युग बोकेको घोडाको टाप बजारियो
हाम्री छोरीको हृदयमा ।

आज
सडकको छेउमा उम्रिएको झार उखेल्दै गरेकी
हाम्री बिरामी आमालाई धकेलेर
अघि बढ्यो यो व्यवस्थाको एम्बुलेन्स ।

र, सायद भोलि
हाम्रा छोराहरूले गुर्जेगानोको गाडी कुदाएर
बाटो बिगारेको आरोपमा
कलिला आङहरूमा यो विधानले र्कोरा बजार्नेछ ।

युगौँदेखि
हामीले बनाएको समयको यो बाटोमा
हाम्रै पैतालाहरू नहिँडेर
किन कुद्छन् ??
सभ्यताका टायलहरू ।
जसले हाम्रा आँखाहरूमा भ्रमको हिलो छ्यापेर जान्छन् ।

२. सुन्तली

बिहान ब्युँझनु पूर्व
सकिन्छ सुन्तलीको सपनाको शृङ्खला ।
र त बिहानै अलार्म लगाउन पाउँदैनन्
गोठका भोकहरूले

आदिम संगीत निकाल्दै
मूलको पानी बोलाइरहेको छ,
सुन्तलीको गाग्रीलाई
अँगेनालाई पनि त जाडो भैसक्यो
सबैका बिस्ताराले कुरेका छन्
एक कप तातो चिया ।
ठूलो छोराको ट्युसन क्लास,
छिटो पठाउनु पर्ने !
हेर्नुस न,
निफनेको आटो सकिएछ।

उता
खरबारीमा खरले प्रत्येक दिन कुरिबस्छ
सुन्तलीको आँसीले दिने मृत्युदण्ड
श्रीमान्ले टाईको गाँठो पार्न त सिके हुने,
बाटुलीले आजै हुड्डा बोलाएकी छिन्।

साँझमा पूजाकोठाले बोलाउँछ फेरि,
दिनभरिको गोबर गोठमै छ
फेरि भैंसी पनि त एकहाते छ
ससुरा बाले बेलुकी सुक्खा रोटी खोज्नुहुन्छ
ढिला भए छोराछोरी नखाई सुतिदिन्छन्

र, पनि
कहिलेकाहीँ निस्किहाले,
सुन्तलीको फुर्सदले किन निद नबोलाएर कुरुस बोलाउँछ ?
नचुँडाई फुकालेर
आफ्नै गुजुल्टिएको जिन्दगी,
किन बुन्छन् सुन्तली र सुन्तलीको कुरुसले
अरुका लागि मात्र स्विटर अनि सपना?

हुँदा हुँदा कहिलेकाहीँ समयले
सुन्तलीका चप्पल लुकाएर आफू पर पुग्छ
फुटाएर छर्दैछर्दै बाटाभरि
सुन्तलीले अनुहार हेर्ने ऐनाका टुक्राहरु
धूवाँले पोतेको अनुहार लिई,
खाली खुट्टा किन कुद्छे सुन्तली ?
समयको पछिपछि
सायद उसलाई कसैले सुनाइदिन्छ
समयले लगिगयो,
उस्को छोराको जुत्ता ।

यतिखेर,
मेरो सिरानीमा एक बोतल ख्याल राखेर
मेरो निधारमा एक सागर प्यार राखेर
चाँडै निदाइसकी मेरी सुन्तली
भोलि बिहानै मलाई बजार जानु छ।