साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

अशेष मल्लको कथा : कागजका टुक्राहरू

गोजीबाट अघि डाक्टरले लेखेको चिठी निकाल्छु । पढ्न खोज्छु। अङग्रेजीमा छ । बुझ्दिनँ । सायद यहाँ लेखिएको होला - फलानालाई राम्ररी अप्रेसन गराउनू ।

“अप्रेसन नगराए पनि हुँदैन सर ?”

म डाक्टरलाई भन्छु । मलाई डर लागिसकेको छ – कतै मैले गल्ती त भनिनँ ? कतै डाक्टर रिसाउने त होइन ? डाक्टरलाई हेर्छु । डाक्टर मुस्कुराउँछ । म अन्योलमा पर्छु । सायद मैले अप्रेसन गराउनै पर्छ । डाक्टर केही बोल्दैन । एक्सरे गरिरहेछ ऊ । म फेरि बोल्न खोज्छु । तर त्यसो गर्ने सक्तिनँ । उठ्छु र भित्ताका तस्बिरहरू हेर्छु । तस्बिरतिर मन जाँदैन । पटक्कै जाँदैन । फर्कन्छु ।

bahulako diary small and inside post

कुर्सीमा बस्छु, डाक्टरलाई हेर्छु । डाक्टर मेरो एक्सरे खामभित्र हालेर टेबुलमा राख्छ ।

“अप्रेसन त गर्नैपर्छ । मैले भनिहाले नि, चाँडै अप्रेसन गराउनुभएन भने…।”

अशेष मल्ल

मलाई त्यसै पनि रून मन लाग्छ । डाक्टर मेरो मर्म बुझ्दैन । बुझ्दैन । कोही पनि बुझ्दैन वा बुझ्ने प्रयास गर्देन र यो पनि हुन सक्छ, बुझेर साध्य पनि छैन । मलाई भन्न मन लाग्छ – डाक्टर ! म अप्रेसन गराउन सक्तिनँ । मसँग अप्रेसन गराउने खर्च छैन । अलिकति पनि छैन । तर त्यसो भन्न नसकेर, नचाहेर वा किन हो, डाक्टरको अनुहार हेरिदिन्छु । चुपचाप ।

“डर मान्नुपर्दैन । अचेल अप्रेसन भनेको साधारण कुरो भइसकेको छ । तर यति हो फी । यो अप्रेसन यहाँ हुँदैन । यसको लागि तपाईंले भारत पुग्नुपर्छ । …भेलोर भारतको प्रसिद्ध सहर जहाँ यसको अप्रेसन सम्भव छ । अँ, तपाईँ यही महिनाभित्र जानोस्‌… म त्यहाँको डाक्टरलाई चिठी लेखिदिउँला, लिएर जानुहोला नि ! अहिले नै लेखिदिऊँ कि !”

म डाक्टरलाई हेर्छु मात्रै । ऊ प्याड निकाल्ल्छ र लेख्न थाल्छ । लेख्छ निकै लेख्छ । लामो चिठी अनि लेखिसकेर आफैँ पढ्छ, पट्याउँछ । खाममा राख्छ र मलाई दिन्छ ।

“यो चिठी त्यहाँको डाक्टरलाई दिनुहोस्‌ । त्यहाँ राम्ररी हेर्छन्‌ । पीर मान्नुपर्दैन ।”

“अहिले जान्छु त सर !”

“हुन्छ… चाँडे जाने प्रयास गर्नुहोला ।”

नमस्ते गर्छु र बाहिर निस्कन्छु। बाहिर आइसकेपछि फेरि भित्र जाने मनलाई थमथम्याएर ढोकाबाहिर बस्छु । लाग्छ, फेरि एकपल्ट डाक्टरलाई आग्रह गरेँ भने अप्रेसन गर्नु पर्दैन भन्ला कि ! तर होइन, अप्रेसन गराउनै पर्छ । यो निश्चित छ । तर म त्यसो गर्न सक्दिनँ । अप्रेसन गराउने खर्च छैन मसँग । भेलोर पुग्ने खर्च मसँग छैन । फेरि मेरो बिदा पनि बाँकी भए पनि मजस्ता मामुली खरदार कसरी भेलोर पुग्न सक्छु ? डाक्टरलाई के थाहा मेरी आमाले यता छ महिनादेखि ओछ्यान छाड्न नसकेको कुरा । हुन सक्छ, औषधिको कमीले होस्‌ । हुनसक्छ, भिटामिनको कमीले…।”

सम्बन्धित पोस्टहरु

सोच्दै म घर फर्कन्छु । घरभित्र पस्छु ।

“के भन्यो डाक्टरले ?”, स्वास्नी सोध्दै आउँछे ।

“अप्रेसन नगराए पनि हुन्छ रे ! औषधि किन्नु भनेको छ । एक महिनाजति खाए पुग्छ रे ।”, म ढाँट्छु ।

“ए ! मलाई त डर लागिसकेको थियो । अप्रेसन गराउन नपरे त के भो र… औषधि किन्नु भो त ?”

“किनुँला नि !”

म आमाको कोठाभित्र पस्छु । आमा मलाई देखेर उठ्न खोज्छिन्‌ । म खाटको छेउमा बस्छु र आमालाई सुताउन खोज्छु ।

“खै डाक्टरलाई ल्याउँछु भनेको होइन ?”

“भोलि आउने रे ! आज फुर्सद कम छ रे ।’?, म यहाँनेर पनि ढाँट्छु ।

सायद आमा विश्वास गर्छिन्‌ । म उठ्छु । कोठाबाहिर निस्कन्छु । कौसीमा उभिन्छु अघाउँजी, मन मर्न लागेर पनि त्यसो गर्न सक्तिनँ ।

गोजीबाट अघि डाक्टरले लेखेको चिठी निकाल्छु । पढ्न खोज्छु। अङग्रेजीमा छ । बुझ्दिनँ । सायद यहाँ लेखिएको होला – फलानालाई राम्ररी अप्रेसन गराउनू । अरू के होला र ? चिठी पट्ट्याएर गोजीमा राख्छु । फेरि निकाल्छु । खोल्छु । पट्ट्याउँछु । फेरि खोल्छु र धुजाधुजा पारेर च्यात्छु अनि कौसीबाट फालिदिन्छु ।

कागजका टुकाहरू क्रमश: एकपछि प्रर्को भएर सडकमा थप्प-थप्प बस्तै जान्छन्‌ । म प्रत्येक टुक्रालाई हेर्दै जान्छु ।

लेखक परिचय
अम
अशेष मल्ल
प्रतिक्रिया
Loading...