गएको मार्च महिनामा जब कोरोनाभाइरसको आतंक शुरू मात्र भएको थियो तर अवस्था गम्भीर बनिसकेको थिएन, त्यतिञ्जेल पुस्तक प्रकाशकहरूसँग कार्यक्रमको चाङ थियो। यस्तै चाङमध्येमा उभिएका थिए बालबालिकाको बेस्ट सेलर लेखक जेफ किने। विम्पी किड सिरिजको नयाँ पुस्तक ‘रअली जेफरसन्स असम फ्रेन्डली एड्भेन्चर’ अप्रिल महिनामा निस्कने तयारी भएकाले उनले अमेरिकाका विभिन्न ६ सहरमा एउटा किताबयात्रा तयार गरिरहेका थिए।
यसअघिका विम्पी किड शृंखला निकै हिट रहेका कारण उनका लागि यो पुस्तक पनि महत्त्वको थियो। उनलाई बजारले कसरी मूल्याङ्कन गर्ला भन्ने चासो बढेर गएको थियो तर कोविद १९ रोगले सबै कुरा गडबड गरिदियो। चुक्चुकाउँदै जेफ भन्छन्, ‘किताब निस्कन पाएको भए यो बन्दाबन्दीमा केटाकेटीहरू कति रमाइलो मान्थे होलान्!’
तर उनको यो किताबयात्रा अब अगस्त महिनासम्म लम्बिएको छ। यो सूचीमा उनी मात्र होइन, अन्य चल्तीका लेखकहरू एलेना फेरेन्ते, डेभिड मिसेल, हास्यकलाकार माइकल इयान ब्ल्याकदेखि आयान हिर्सी र पंकज मिश्रसम्म परेका छन्।
गर्मी महिनामा निकाल्न तयार पारिएका किताब त रोकियो नै आउँदो जाडो यामका लागि ठिक्क पारिएका पुस्तकहरू पनि अड्किए। यस्तो अवस्थालाई केही पुस्तक व्यापारीहरूले पुस्तक बजारमा आएको हिउँपहिरो नामकरण गरेका छन्। यहाँ त कोरोनाभाइरस मात्र होइन, अब हुने राष्ट्रपतीय निर्वाचन, संकटापन्न स्वास्थ्य समस्या, आर्थिक संकटजस्ता कयौँ कुरा एकसाथ किताबको व्यापारमाथि थोपरिने हुनाले व्यापारीहरूले हिउँपहिरो गइरहेको बताएका हुन् ।
हार्परकोलिन्सका जोनाथन बर्नहाम भन्छन्, ‘यो जाडो यामका लागि पुस्तक निकाल्न र बेच्न पाइएन भन्ने कुरा त एउटा सामान्य समस्या मात्र हो, कोविद १९ ले पारेको समष्टिगत समस्यालाई हेर्नुभयो भने हिउँपहिरोको अर्थ बुझ्नुहुन्छ।’
हार्परले हालै अमेरिकी सेनाका राष्ट्रिय सुरक्षा सल्लाहकार लेफ्टिनेन्ट जनरल एचआर म्याकमास्टरको आत्मकथा ‘ब्याटलग्राउन्ड’ निकाल्न लागेको थियो तर अड्किन पुग्यो।
संकटको घडीमा सबैभन्दा मार पर्ने भनेको साना लेखकलाई हो। साना लेखक भन्नाले जसको प्रशंसक समूह सानो छ, ठीकै बिक्री हुन्छ, त्यस्ता पुस्तक बजारमा सबैभन्दा कम प्राथमिकतामा पर्छन्।
किताब कति बिक्री हुन्छ भन्ने कुरा त्यसलाई कसरी डिस्प्ले गरिन्छ भन्नेमा पनि भर पर्छ। यस्तो अवस्थामा किताबको भिडमा नाम कम सुनिएका लेखकको किताब प्राथमिकतामा पर्दैन र त्यस्ता किताब नदेखिई वा नसुनिई ओझेलमा पर्ने गर्छन्। झन्, यस्तो बन्दाबन्दीका बेला एक्कैचोटि धेरै पुस्तक बजारमा निस्किएको खण्डमा राम्रो बिक्री हुने पुस्तकहरू एकअर्कामा प्रतिस्पर्धा गर्ने हुनाले तुलनात्मक रूपमा कम बिक्री हुने आशंका बढेर गएको प्रकाशकहरू बताउँछन्।
हिटाची कम्पनीले यस पटक २० प्रतिशत पुस्तक ननिकाल्ने निर्णय गरेको छ। प्रमुख कार्यकारी अधिकारी माइकल पिच भन्छन्, ‘धेरै किताब निकालेर पनि के गर्नु? ती भिडमा थिचिने पक्का छ।’
यसरी कुन निकाल्ने र कुन ननिकाल्ने निर्णय गर्नु चाहिँ अँध्यारोमा ढुंगा हान्नुसरह भएको ग्रोभ एटलान्टिक प्रकाशनका प्रमुख कार्यकारी मोर्गन एन्ट्रेकिन बताउँछन्। उनी भन्छन्, ‘पाठकले के खोजिरहेका छन्, कसैलाई थाहा छैन। अनि, केही चाहिँ यो निकाल्ने र त्यो ननिकाल्ने भनेर गुना गरेर बसिरहेका छन्।’
कयौँ पुस्तक पसल बन्द भएको भन्दै युरोपा बुक्सले एलेना फेरेन्तेको बहुप्रतिक्षित उपन्यास जुन महिनाको रिलिज स्थगन गरेर सेप्टेम्बरमा पुर्यायो। आफ्नो पुस्तकको व्यापार साना पसलेको आडमा धेरै हुने र बन्दाबन्दीमा त्यस्ता पसल बन्द भएका कारण उपन्यासले बजार पाउला भन्नेमा शंका रहेको भन्दै रिलिज मिति सारेको हो। यतिबेला फेरेन्तेको उपन्यास ‘द लाइङ लाइफ अफ एडल्ट्स’ पहिलो संस्करणमा नै एक लाख ५० हजार प्रति छापेर ठिक्क पारिएको छ।
यो स्थगनलाई भने केही ठूला बिक्रेताहरूले आफूहरूमाथि धोका भएको बताइरहेका छन्। यस्तो संकटको घडीमा बहुप्रतिक्षित उपन्यास स्थगन गर्दा बिक्रीले दिने राहतबाट वञ्चित तुल्याएको महसुस तिनले गरेका छन्। यति मात्र होइन, पुस्तक कुरेर बसेका प्रशंसकहरूमाथि धोका नै भएको युरोपा बुक्सका प्रमुख सम्पादक माइकल रेनोल्ड्स बताउँछन्।
सबैभन्दा खुसीको कुरा चाहिँ बन्दाबन्दीको यो अवस्थामा पनि पाठकहरूले किताब किन्नुलाई भने नियमित नै गरेका छन्। हालै गरिएको एक सर्भेले अघिल्लो वर्षको तुलनामा पुस्तक बिक्री उति घटेको भने छैन।
खासगरी हंगर गेम्स शृंखलाकी सुजाने कोलिन्स, थ्रिलर लेखकहरू जोन ग्रिसम, स्टेफन किङजस्ता लेखकका पुस्तक यस्तो संकटको घडीमा बढी पढिएका छन्। सुजाने कोलिन्सको नयाँ उपन्यास द ब्यालेड अफ सङबर्ड्स एन्ड स्नेक्स एक हप्ताअघि रिलिज भए पनि बिक्री संख्या पाँच लाख बढी भइसकेको छ। ग्रिसमको कमिनो विन्ड्स उपन्यास अप्रिल अन्त्यबाट शुरू भए पनि दुई लाख सात हजारभन्दा बढी बिक्री भइसकेको छ। यस्तै स्टेफन किङको नयाँ उपन्यास हार्डकभरमा पनि एक महिनाभित्रै दुई लाख प्रति बिक्री भइसकेको एनपिडी सर्भेले जनाएको छ।
तर प्रशंसक बिनाका लेखकहरूले यो दिन भने देख्न नपाउनु स्वाभाविक भएको केहीको धारणा छ। जस्तो कि रेन्डम हाउसले नयाँ उपन्यासकार नमिना फोर्नाको किशोर उपन्यास द गिल्डेड वन्सको रिलिज सारिएको छ। त्यस्तै माइकल सियर्सको थ्रिलर टावर अफ बाबेल २०२१ मा मात्र निस्कनेछ । केही सीमित पुस्तक पसल खुलेका र यस्तो अवस्थामा पाठकले नयाँ लेखकमाथि झट्टै विश्वास गरिनहाल्ने र मिडियाले पनि पर्याप्त ठाउँ नदिने हुनाले सम्भावना भएका उपन्यासलाई सार्नुको विकल्प नभएको प्रकाशकहरूको धारणा छ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।